मंगलबार रातीदेखिको बर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिकतर्फका सबै उडान अवरुद्ध भएको छ । आन्तरिक उडानमा समस्या भए पनि अन्तर्राष्ट्रिय उडान भने भइरहेको छ । विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले भने, ‘मध्य र पूर्वी भेगका अधिकांश विमानस्थलको सेवा अवरुद्ध छ ।’
अहिले भैरहवा, नेपालगञ्ज र धनगढी विमानस्थल मात्रै सञ्चालनमा छ । पूर्वका चन्द्रगढी, विराटनगर, जनकपुर, सिमरा, लुक्ला तथा भरतपुर, पोखरालगायत विमानस्थल बन्द अवस्थामा छन् ।
मनसुनको न्यूनचापीय रेखा नेपालको तराई भू–भाग नजिकै अवस्थित रहेकाले मनसुनी वर्षा केही दिन सक्रिय हुनेछ, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिए । देशका पूर्व, मध्य र पश्चिमका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।