जिल्ला ट्राफिक कार्यालय रसुवाले गत आर्थिक वर्षभरिमा ४२ लाख ९७ हजार बराबरको राजस्व सङकलन गरेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी सहायक निरिक्षक रामशरण कुमालका अनुसार गत वर्षको २०७५ श्रावणदेखि २०७६ असार मसान्तसम्म जिल्लाभित्र ट्राफिक नियम उल्लङ्घन गरी गुड्ने यातायतका साधनहरुलाई कारवाही गरी उक्त राजस्व संकलन गरेको हो ।
आर्थिक वर्षभरिमा ट्राफिक नियमको उल्लङ्घन गरेका कुल ५ हजार ६ सय १० सवारी साधनहरु कारवाहीमा परेका थिए ।
त्यसैगरी आर्थिक वर्ष भरिमा ट्रक ३ हजार ५ सय ३६, बस २ सय २३, कार/जिप सात सय ८६, र ट्रयाक्टर २ कारवाहीमा परेका थिए भने मापसेमा एक हजार ६२ जना परेका थिए ।
गत वर्ष ट्राफिक कारवाहीमा सबैभन्दा धेरै रातो प्लेटका जीप तथा कार परेका थिए ।
आर्थिक वर्षभित्र जिल्ला ट्राफिक कार्यालयले सचेतनाका लागि गाउँपालिकाहरुमा डकुमेन्ट्री प्रदर्शन, पर्चा-पम्पलेट वितरण गरी ट्राफिक नियमहरुको समेत जानकारी दिइएको थियो ।