बौद्धमा दिवङ्गतको परिवारका बीच रोपाइँजात्रा

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
काठमाडाैं

उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढेसँगै प्रत्येक वर्ष भाद्र कृष्ण द्वितीयाका दिन विश्व सम्पदा सूचीमा सूचीकृत बौद्ध क्षेत्रमा मनाइने रोपाइँजात्रा सीमित मानिसका बीच गरिने भएको छ ।

बौद्धनाथ क्षेत्र विकास समितिको संयोजनमा बौद्धमा रहेका सङ्घ संस्थाले सक्रियरुपमा मनाउने सांस्कृतिक महत्वको रोपाइँजात्रा यस वर्ष कोरोना फैलन सक्ने भयले सीमित मानिसका बीच मनाउन लागिएको हो । साउन २१ गते बुधबार दिउँसो ३ बजेपछि बौद्ध चैत्य परिसरमा एक वर्षअघिदेखि दिवङ्गत भएका परिवारका सीमित सदस्यलाई मात्र छिराएर सांस्कृतिक जात्रा सम्पन्न गर्न लागिएको समितिका अध्यक्ष चन्द्रमान लामाले राससलाई जानकारी दिए ।

यसवर्ष बौद्ध क्षेत्रमा २० जनाको निधन भएको तथ्याङ्क प्राप्त भएको समितिले जनाएको छ । २० परिवारका सीमित सदस्य, थोरै सङ्ख्यामा बाउसे र रोपाहारका बीच रोपाइँ जात्रा गर्न लागिएको हो । जात्राका समयमा सर्वसाधारणलाई बौद्ध चैत्य परिसर प्रवेशमा रोक लगाइने अध्यक्ष लामाले बताए ।

जात्राको विधिअनुसार बौद्ध चैत्य एक पटक घुमाएर जात्रा सम्पन्न गरिने छ । विगतमा वर्षमा यो जात्राका क्रममा सांस्कृतिक झाँकीसहित बौद्ध–चुच्चेपाटी–चावहिल–महाँकाल–तीनचुले–जोरपाटी हुँदै पुनः बौद्धमै आएर सकिन्थ्यो । यस वर्ष भने सीमित लाठे र रोपाहारका बीच लाखे नाच नचाएर जात्रा सम्पन्न गरिने छ । एक घण्टामा सबै कार्यक्रम सकिने गरी समितिले तयारी गरेको जनाइएको छ ।


तपाईको प्रतिक्रिया