कृष्णका कुरा र अरू कुरा

0 Shares

आर्यभट्टयअनुसार महाभारत युद्ध ३१३७ ई.पू.(मा भएको थियो । रोहिणी नक्षत्र तथा अष्टमी तिथिको संयोगले जयन्ती नामक योगमा ३११२ ईशापूर्व ९अर्थात् आज १२ अगस्त २०२० (भन्दा ५१३२ वर्षपूर्व) श्रीकृष्ण्को जन्म भएको मानिन्छ । यही गणितले त महाभारतकाल सिन्धुसभ्यताभन्दा अघिको ठहरिने हुन्छ । इतिहासबारे पश्चिमको अवधारणाले गर्दा क्यालेण्डरी कुरालाई नै इतिहास मान्ने भइएको छ । यो वर्ष, यति महीना, यी(यी दिन यसो(यसो भए भन्ने इतिहास मान्ने पश्चिमको हेरोडोटसीय परम्परा हो । यस्तो इतिहास भारतमा लेखिएन । उपजीव्य काव्य रामायण र महाभारतलाई भारतमा इतिहास भनिएको छ । भारतीय इतिहासका स्रोतचाहिँ वेद, उपनिषद् र स्मृतिलाई मानिएको छ । जुनै कालखण्डमा पनि उपयोगी हुने कुरा भएका हुनाले विभिन्न कालमा रामायण र महाभारतका उपाख्यानहरूलाई लिएर आख्यान बनाइन्छन् । त्यसैले यी उपजीव्य मानिए ।

गाँस(वास(कपासका लागि भारतीय अरू देश गइबस्नु परेन । भारत सम्पन्न थियो । भारतलाई सुनचरी ठानेर यहाँ आर्य, यूनानी, इरानी, कुषाण, शक, हुण, अरब तथा तुर्क आदि आएर बसे। हर प्रजातिले भारतीय शिल्प कला, वास्तुकला र साहित्यको विकासमा आ(आफ्ना योगदान दिए । प्रसिद्ध विद्वान् आर जी कालिङवुडको वाक्यांशमा ‘सम्पूर्ण इतिहास विचारधाराको इतिहास हो’। प्रसिद्ध लेखक रेनियरअनुसार ‘इतिहास सभ्य समाजमा रहने मनुष्यका अनुभवको कथा हो’। के इतिहासविचार नै इतिहास हुन्छ भन्ने अवधारणा विद्वान्‌हरूमाझ विवादको विषय रहेकै छ । महान् इटालियन दर्शनिक क्रोचेअनुसार, ‘सम्पूर्ण इतिहास समसामयिक इतिहास हुन्छ’ । यसको अभिप्राय के हुन्छ भने प्रत्येक वर्तमान इतिहासकारले अतीतलाई आफ्नो दृष्टिले हेर्दछन् । अतीत जस्तो थियो त्यस्तो पाराले नहेरेर अहिलेको पारामा पो इतिहास भन्दा रहेछन् भन्ने बुझिन्छ । उनीहरू वर्तमानका समस्याहरूको प्रकाशमा पो अतीत हेर्दारहेछन् । वास्तवमा इतिहासकारको मुख्य कार्य विवरण दिनु होइन अपितु मूल्याङ्कन गर्नु हो । ‘इतिहासमा तथ्य हुन्छ सत्य हुँदैन’ ( वैज्ञानिक रेने दकार्थले त्यसै भनेका होइनन् ।

अरू कुरा हुँदै गर्छन्, अब कृष्णका कुरा गरौँ । भारतीय धर्म र संस्कृतिको इतिहासमा कृष्णलाई सदैव एकजना अद्भुत वा विलक्षण व्यक्तित्व मानिन्छ । इतिहासै हेर्नु हो भने आर्यको भारत आगमन हुनुभन्दा अघिको घटना हो महाभारत । यसो हुनाले कृष्ण द्रविड़ हुन् भन्ने मान्नेहरू पनि छन् । कृष्णको जाति खोज्ने नृशंसविज्ञानको कुरो भनी साध्य छैन । यहाँका प्राचीन ग्रन्थहरूमा यत्रतत्र कृष्णका उल्लेख पाइन्छ । यिनीहरूबाट उनको जीवनका विभिन्न रूप पत्तो लाग्दछ । वैदिक वा संस्कृत साहित्यको आधारमा हेरेमा कृष्णका तीन रूप अघि आउँदछन् ( १. बाल र किशोर रूप, २. क्षत्रिय नरेश, ३. ऋषि तथा धर्मोपदेशक ।

श्रीकृष्ण आफ्ना विभिन्न रूपमा लौकिक र अलौकिक लीला गर्ने अवतारी पुरूष भए । गीता, महाभारत वा विविध पुराणमा यिनका विविध रूप देखिन्छ । महाभारत कालमा नै कृष्णलाई समाजमा पूजनीय मानिन्थ्यो तर विरोधीहरूले खोइरो खन्थे । उनले समय समयमा परामर्श दिएर धर्म र राजनीतिलाई समान रूपले सञ्चालन गर्दथे ।

श्रीकृष्ण भगवान् विष्णुको आठौँ अवतार मानिन्छ । कन्हैया ९कान्छा०, श्याम, गोपाल, केशव, द्वारकेश वा द्वारकाधीश, वासुदेव आदि कृष्णका पर्याय हुन् । कृष्ण निष्काम कर्मयोगी, एकजना आदर्श दार्शनिक, स्थितप्रज्ञ एवं दैवी सम्पदाले सुसज्ज महान् पुरुष थिए। उनको जन्म द्वापरयुगमा भएको थियो । उनी त्यस युगका सर्वश्रेष्ठ पुरुष, युगपुरुष वा युगावतार मानिन्छ । कृष्णका समकालीन महर्षि वेदव्यासद्वारा रचित श्रीमद्भागवत र महाभारतमा कृष्णको चरित्र विस्तृत रूपमा वर्णित छ । भगवद्गीता कृष्ण र अर्जुनको संवाद हो । यो ग्रन्थ आज पनि पूरै विश्वमा लोकप्रिय छ। यस कृतिमा कृष्णलाई जगद्गुरुको सम्मान दिइएको पाइन्छ । कृष्ण वसुदेव र देवकीका आठौँ सन्तान थिए । मथुराको कारावासमा उनको जन्म भएको थियो अनि गोकुलमा उनको लालन पालन भएको थियो । यशोदा र नन्द उनका पालक माता पिता थिए ।

उनको बाल्यकाल गोकुलमा व्यतित भएको थियो । यिनले बाल्य अवस्थामै सामान्य मानिसले गर्न नसक्ने महान् कार्य गरे – मथुरामा दुष्ट मामा कंसलाई वध गरे, दुष्ट कालेनाग मारे … । सौराष्ट्रमा द्वारका नगरी स्थापना गरे अनि त्यहाँ आफ्नो राज्य बसाए । पाण्डवहरूलाई सहयोग गरेर विभिन्न आपत्तिबाट उनीहरूको रक्षा गरे । महाभारतको युद्धमा उनले अर्जुनका सारथीको भूमिका लिए अनि भगवद्गीताको ज्ञान दिए । गीतालाई उनको जीवनको सर्वश्रेष्ठ रचना मानिन्छ । १२४ वर्षको जीवनकालपश्चात् उनले आफ्नो लीला समाप्त गरे । उनको अवतार समाप्त भएपछि परीक्षितको राज्यको कालखण्ड आउँदछ । राजा परीक्षित अभिमन्यु र उत्तराका छोरो तथा अर्जुनका नाति थिए । परीक्षितको समयदेखि कलियुग आरम्भ भएको मानिन्छ ।

कृष्ण साह्रै सुन्दर थिए । महाभारतअनुसार यिनका आठजना पत्नी थिए – रुक्मिणी, सत्यभामा, जाम्बवती, कालिन्दी, लक्ष्मण, मित्रवृन्दा, नाग्नजिती र भद्रा । कति कथामा यिनका १६,१०८ पत्नी भएको चर्चा पनि छ । यी सबैका लाक्षणिक अर्थ छन् । धर्म स्थापनामा यी सबै उपयुक्त भएका कुरा पनि छन् । कृष्ण यौगिक अनुशासनमा बस्दथे । यिनमा संगीत प्रेम थियो । बाँसुरी सम्मोहन, आनन्द र आकर्षणको प्रतीक हो । सौन्दर्य बढाउन मजुरको प्वाँख टाउकामा लाउँदथे – नौग्रह र चिर ब्रह्मचर्यको प्रतीक । संसारमा रहेर आध्यात्मिक बन्नको प्रतीक कमल । मक्खन र मिश्री प्रेमको प्रतीक । कमलवीजको वैजयन्ती माला अमरताको प्रतीक । क्षेत्ररक्षाको प्रतीक सुदर्शन चक्र । गाई धरतीकी प्रतीक । यिनी सोह्र कलाले सम्पन्न ।

कृष्णले जीवनभरि धर्मस्थापना र धर्मरक्षाका कुरा गरे – धर्मसंस्थापनार्थाय सम्भवामी युगेयुगे भने । आफ्नो धर्म श्रेयस्कर हुने तर अर्काको धर्म भयङ्कर हुने कुरा गरे – ‘स्वधर्मे निधनं श्रेयः परधर्मो भयावहः’। अचेल भन्छन् – ‘कृष्णले हिन्दू मात्र राम्रो अरू धर्म नराम्रो भनेर क्रिस्तान(मुसलमानहरूको निन्दा गरे’। पूर्वमा धर्म भनेको गुण हो । आगोको जलाउनु धर्म, पानीको भिजाउनु धर्म, हावाको सुकाउनु धर्म, पशुको धर्म पशुता र मानवको धर्म मानवता । मान्छे भएर पशुत्व ग्रहण नगर्ने कुरा छ । अर्को सम्प्रदायलाई निन्दा गरेकै भए पनि त्यस बेला क्रिस्तान र मुसलमान धर्म बनिएकै थिएन । बुद्धको ५६३ वर्षपछि ईशु जन्मे, ईशुको ५७० वर्षपछि महम्मद ।

कृष्णलाई लिएर कतिवटा धार्मिक सम्प्रदाय बनिएका छन् । दर्शन रचिएका छन् । कृष्णकथाले भारतीय साहित्यकला, संगीतकला, चित्रकला, वास्तुकला, धातुकला, प्रस्तरकला, नृत्यकला, थिएटरकला, चलचित्रकला, सिरियलकलाको इतिहासमा महत्त्वपूर्ण भूमिका खेलेको छ । जैन, बौद्ध, सिख, बहाई, अहमदिया सम्प्रदायका कथाहरूमा पनि कृष्णका प्रसङ्ग पाइन्छन् । विभिन्न भारतीय भाषाका साहित्यमा कृष्णभक्ति धाराका विभिन्न सम्प्रदाय बनिएका छन् । नेपाली साहित्यमा इन्दिरस र विद्यारण्यकेशरीले कृष्णको रतिरागात्मक रूप वर्णन गरेका छन् भने वसन्त शर्मा र यदुनाथ पोखरेलले रतिरागेतर रूप । नेपालीभाषी लोकजीवनमा कृष्णकथा महाभारतको बालुन भन्ने चलन थियो । नानी जन्मँदा, हुर्काउँदा, बिहामा, मरौमा कृष्णकथा भनिन्छ । कृष्ण भनेपछि नानीहरूले पनि सुन्छन् । महिलाहरूलाई कृष्ण विशेष मन पराउँछन् । कृष्ण सबैका प्यारा पात्र हुन् । कति अन्वेषकहरूले कृष्णको शरीर केटीको जस्तै थियो पनि भन्छन् ।

भारतीय इतिहासका विभिन्न कालमा कृष्णकथा लेखिए । हामीले मानेको कृष्णलगायत रामायण(महाभारतको रङ्गरूप अधिकांशतः मध्यकालको इस्लामी प्रक्षेपण ९प्रोजेक्सन० हो । सिन्धु सभ्यताका नर(नारीले अधोवस्त्र, परिधान ९कमरदेखि मुनि अघिल्तिर मुजा पारेर लाउने० उत्तरीय ९कमरमाथि ढाक्ने०, उपवित ९कुममा झुण्डाउने० आदि लाउँथे । राज परिवारले गन्धारबाट ल्याइएका भेड़ाका भुत्लाले बनाइएका लुगा, कानमा निस्क, गलामा रुक्म, गहनामा रजत(हिरण्य, गेढीमाला, रेशमी वस्त्र लाउँथे । त्यो चिनिञा रेशम होइन भनिन्छ । सिल्क रूट मौर्यकालदेखि यताको हो । टीभी र सिनेमामा देखाइने रामायण(महाभारतका पात्र(पात्राका चालचलन, लुगा लगाइ, सोचाइमा मध्यकालीन आदर्श नै झल्किँदछ । मध्यकालीन मोगल कला चित्रमा जे देखाइएको देखे र देखेपछि साँच्चिकै महाभारतकालमा त्यस्तै लाउँथे भन्ने विश्वासमा नाटक(सिनेमा बनाइए । यसको मुख्य कारण हो मध्यकालमा भक्ति साहित्य धेर लेखिनु र भक्तिचित्र धेर बनाइनु । हिन्दीका रीतिकाव्यहरूमा रासलीला वर्णन अति आलङ्कारिक हुनु पनि इस्लामी देन हो – शरद् ऋतुमा पूर्णेको रात, माथि आकाशमा जून, तल धरतीमा जूनकीरी, वरिपरि गोपिनी, माझमा कृष्ण र हेर्दाहेर्दै सबै गोपिनीमा कृष्णको उपस्थिति – उसैउसै रागात्मक । कविताका शासक र सामन्ती श्रोताले सराहना गर्दथे । आध्यात्मिक अर्थ अनर्थको गर्वमा विलुप्त ।

सुरदास(तुलसीदासहरू पनि मध्यकालकै कविहरू हुन् । यिनीहरूकै रचना पढेर हाम्रा भानुभक्तादिले पनि नेपालीमा लेखे । भारतीय मध्यकालीन अरबी प्रभावमा समाज शोषण बढेको बेला शासकहरूले भन्थे – ‘ए पुरोहित र कविहरू, तिमीहरूले जनतालाई भक्तिमा भुलाइराख्नू, म लुटिरहन्छु, तिमीहरूले पनि कमिशन पाउनेछौ ।’ यसरी समाजमा अन्ध भक्तिवाद बढ्यो । कृष्णदर्शनबारे समाजलाई शिक्षा दिइएन । बरू उल्टो शोषित हुने उपदेश दिए । कृष्णको उदाहरण दिएर बहुविवाहलाई प्रश्रय दिइयो । कृष्णले कृपा गरिहाल्नेछन् भन्ने विश्वासमा नरको हेपाइ सहन नारी उद्यत हुन्थे । नारी र शुद्रलाई जति हेपे पनि हुन्छ भन्ने अवधारणा मोगलकालकै देन हो । भारतमा सतिप्रथा, बालविवाह, पुत्रीहत्या, जौहर ९दुष्टको हातमा पर्नुभन्दा आत्महत्या उचित० बनिएका पनि त्यत्ति बेलै हो । समाजमा आदर्शको प्रचार गरे भनिने भानुभक्तले समेत प्रश्नोत्तरमालाका कतिपय स्थानमा नारीलाई स्वर्गको मूल ढोका थुनी नरकको ढोका खोल्ने, रक्सीजस्तै नशालु हुने, सङ्गत गर्न अयोग्य, पुरुषलाई बाँधेर राख्ने, चरित्रमा खोट भएका भन्नेजस्ता आक्षेप लगाएका छन् । प्रश्नोत्तरमालाका मूल रचयिताको आशय थियो नारीप्रति आशक्ति रहित भएर संन्यासी बन्नू । अघि पनि बुद्धले यसै भनेर भिक्षु हुने प्रेरणा दिएका थिए । भिक्षु र संन्यासी भएर युवाहरू वैरागी भएको लाभ विदेशी आक्रमणकारीले उठाए । हुन ता भानुभक्तले कविता लेखेका बेला भारतमा ब्रिटिश राजले सतिप्रथा, बालविवाह, पुत्रीहत्या आदिविरुद्ध अधिनियम ( १८२१ बनाइसकेका थिए । भानुभक्त जन्मेको १८१४(मा । राजा राममोहन रायको समाज सुधारले सतिप्रथा हटेको ईशाब्द १८२१(मै हो । भारतमा सतिप्रथा र विधवा पुनर्विवाह अधिनियम अनुमोदन भएको १०० वर्षपछि अर्थात् १९२१(मा बल्ल चन्द्र शमशेरले सतिप्रथा हटाउने आदेश दिए । भारतीय समाजसुधार भानुभक्तलाई थाहै भएन किनभने त्यो सुधार बङ्गालमा मात्र आएको थियो, काशीतिर पुगेकै थिएन ।

पश्चिममा जस्तो समाजले विज्ञानलाई स्वीकार गर्ने अवसर भारतीयले पाएन । यसो हुनाले दर्शनका कुरा लोकविश्वासका आधारमा कथा भन्ने क्रममा पुराणहरू रचिए । व्याख्याताहरूले दार्शनिक आधारमा समाजलाई बुझाएनन् । यसो हुँदा बुद्धिवाद मर्योच, अन्धभक्तिवाद बढ्यो । काशी पढेर फर्केका युवाहरूका सामन्ती अभिभावक गर्व गरेर भन्दथे – ‘मेरो छोरोले भागवत भन्न जान्दछ’ । युवाले भागवत भन्थे । भागवत कथा सुनाउँदा मेलैसित भन्दैजान्थे तर सुन्न आएका तरुणीहरू देखेपछि कथा सुनाउनेले दशम स्कन्धको रास लीला वर्णनचाहिँ कवितामै अनुवाद गरिगरी सुनाउनेभए । यसरी इन्दिरसको गोपिकास्तुति, विद्यारण्यकेशरीको युगलगीतहरू बनिए । पृथ्वीनारायण शाहका नाति रणबहादर शाहका प्रासादकवि सुंशले ब्रजभाषामा ‘शृङ्गार चूड़ामणि’ नामको कृष्णकाव्य लेखेका थिए । दुष्ट र विलासी शासकहरूको विरोध गर्नुभन्दा शृङ्गारीभक्ति लेखे कविहरू जोगिने बाध्यता थियो । ‘के लेख्यौ कवि’ भनेर सोधिहाले ‘भगवान्‌का कुरा’ भन्यो ढुक्क । कृष्ण परमात्मा हुन्, गोपिनीहरू जीवात्मा हुन्, एउटै परमात्मा सबै जीवात्मामा प्रस्तुत हुन्छन् भन्ने दर्शनको कुराकन्थै निकालेनन् ।

कृष्ण मूलतः संस्कृत शब्द हो ( कालो, अँध्यारो वा गहिरो नीलो(को समानार्थी । अन्धकार शब्दबाट ढल्दैगरेको चन्द्रमाको समयलाई कृष्ण पक्ष भनिएबाट पनि बोध हुँदछ । कृष्ण नाम अनुवाद गर्दा कहीँ(कहीँ अति(आकर्षक भन्ने अर्थ पनि लाग्दछ ।

श्रीमद्भागवत पुराणको वर्णनअनुसार कृष्ण बाल्यावस्थामा हुँदा नन्दबाबाको घरमा आचार्य गर्गाचार्यद्वारा उनको नामकरण संस्कार भएको थियो । नाम राख्ने समयमा गर्गाचार्यले भनेका थिए ( ‘यस केटोले प्रत्येक युगमा अवतार धारण गर्दछ । यसको वर्ण कहिले सेतो, कहिले रातो, कहिले पहेँलो हुन्छ । अघिल्ला युगमा शरीर धारण गर्दा यसको तीन वर्ण भइसकेका छन् । यसपालि कृष्णवर्णको भएको छ, अतः यसको नाम कृष्ण हुनेछ ।’ भारतमा कृष्ण प्रख्यात भए । भारत प्रवासमा रहेका यदुईशलम्‍ ९यरुसलेम०(का ग्वाल परिवारका विद्यानुरागी किशोरले वेदोपनिषद र बौद्धविद्या सिके, कृष्ण चिने, क्राइस्ट बने । गोपाल अर्थात् गाईका संरक्षति भारतमा देखे । उता गएर मेष संरक्षक ९भेँड़ा गोठाला० सेफर्ड बने । बाइबलको नवनियम धम्मपदकै हिब्रु संस्करण मान्दा पनि हुन्छ । त्यहाँ गीता दर्शन पनि पाइन्छ । यता गो(गोप(गोपीपति भएजस्तै उता उनी नारी शोषणको विरोध गर्ने पहिलो उद्धारक बने ।

सनातन धर्ममा मूलतः पाँचवटा सम्प्रदाय प्रसिद्ध छन् – शैव, वैष्णव, शाक्त, सौर्य र गाणपत्य । वैष्णव सम्प्रदायको प्रमुख आराध्य पात्र नै कृष्ण हुन् । वैष्णवले विष्णुका दशावतार मान्दछन् ( मत्स्य अवतार, वराह अवतार, कूर्म अवतार, नृसिंह अवतार, वामन अवतार, परशुराम अवतार, राम अवतार, कृष्ण अवतार, बुद्ध अवतार, कल्कि अवतार । ईश्वरले पृथ्वीमा अवतरण (जन्म लिनु) अथवा ओर्ह्लनु अवतारु हो । सनातनी विश्वास के छ भने ईश्वर यद्यपि सर्वव्यापी, सर्वदा सर्वत्र वर्तमान छन्, तथापि समय(समयमा आवश्यकतानुसार पृथ्वीमा विशिष्ट रूपमा स्वयं आफ्नो योगमायाद्वारा उत्पन्न हुन्छन् । अवतारवादलाई सहयोग गर्न कृष्ण आफैले गीतामा भने – सम्भवामी युगेयुगे । शङ्कराचार्यले बौद्धहरूलाई हिन्दू बनाउन बुद्ध पनि विष्णुकै अवतार भनी प्रचार गरे । हिन्दू पसेरै बनिएको महायान र वज्रयान बौद्धले अवतारवादलाई अझ अघि बढाए ।
मध्यकालका कति रचनाले कृष्णलाई भोगी देखाए पनि दर्शनको क्षेत्रमा कृष्ण योगी मात्र नभई योगयोगेश्वर पनि प्रमाणित गरिएको छ ।

दक्षिणको महाराष्ट्र विशेषमा वारकरी सम्प्रदायका सन्त कविहरूमा ज्ञानेश्वर , नामदेव , जनाबाई , एकनाथ र तुकारामले विठोबाके पूजालाई प्रोत्साहित गरेका छन् । दक्षिणी भारतमा कर्नाटकका पुरन्दरा दास र कनकदासले उडुपीका कृष्णको छविप्रति समर्पित गीतहरू रचेका छन् । गौड़ीय ९बङ्ग० वैष्णववादका रूपा गोस्वामीले भक्ति(रसामृत(सिन्धु नामक भक्तिविषयक व्यापक ग्रन्थ संकलित गरेका छन् । दक्षिण भारतमा श्री सम्प्रदायका आचार्यहरूले आफ्ना कृतिमा कृष्णबारे धेरै लेखेका छन् ( यीमध्ये अण्डालद्वारा थिरुपावई र वेदान्त देसिकाद्वारा गोपाल विमशती मुख्य छन् । तमिलनाडु, कर्नाटक, आन्ध्र प्रदेश तथा केरलमा कैञौ प्रमुख कृष्ण मन्दिर छन् । कृष्णाष्टमी त्यता पनि मनाउँछन् । कति कृष्णकाव्यका कविहरू आफू राधा वा गोपी भएर नारी नाममा पनि कविता लेखेको पाइन्छ । कति नर श्रद्धालुले नारी भेष धारण गर्ने गर्दछन् ।
एशियाबाहिरको कुरो गर्दा १९६५(सम्म कृष्ण(भक्ति आन्दोलन भक्तवेदान्त स्वामी प्रभुपाद ९उनका गुरु , भक्तिसिद्धान्त सरस्वती ठाकुरद्वारा निर्देशित ०(द्वारा फैलाइएको थियो । आफ्नो वासभूमि पश्चिम बङ्गबाट उनी न्यूयोर्क नगर गए । एक वर्षपछि १९६६(मा केही अनुयायीहरू लिएर कृष्ण चेतनाको अन्ताराष्ट्रिय सोसायटी ९इस्कोन० निर्माण गरे, जसलाई हरे कृष्ण आन्दोलनको रूपमा चिनिन्छ । यसमा विदेशी कुइरे श्रद्धालुहरू बिट्टिटी लागेका छन् । तीमध्ये बीटल्स रक ब्यान्डका जर्ज हेरिसन र जोन लेनन पनि थिए । हेरिसनले १९६९(मा लण्डनस्थित राधा कृष्ण मन्दिरमा भक्तहरूसित मन्त्र पनि रिकर्डिंङ गरे – ‘हरे कृष्ण मन्त्र’ । इस्कोनले गौड़का गौड़ाङ्ग स्वामी चैतन्य पन्थ प्रचार गर्दछ ।

भर्खर_भर्खर मुसलमानहरू पसेर बङ्गालमा उत्पट्याङ गरिरहेको बेला हुसेन राजाहरूको पालामा वैरागी भई वनमा एक्लै भजन गाइबस्ने चैतन्य ९१४८६(१५३४०(लाई हामी भए बौलाहा भन्ने थियौँ तर चतुर बङ्ग समुदायले भक्तिवादका सन्त बनाएर महाप्रभु माने । जातीय धर्मसम्प्रदायलाई अन्ताराष्ट्रिय बनाए । हुन ता हामी भए रामकृष्ण परमहंसलाई पनि झाँक्री मात्र मान्नेथियौँ । विवेकानन्दले अन्ताराष्ट्रिय बनाइदिए ।
कृष्णले गाई चराउँदै(चराउँदै नेपाल भ्रमण गरेको कथा पनि छ । त्यो नेपाल भनेको अहिलेको काठमाड़ौँ । त्यस बेला सबैभन्दा धेर दूध दिने ‘ने’ नामका गाईले दूध दिनै छाड़ेछ । गोठालाहरूले लुकेर हेर्दा त नेले एउटा ढिकोमा पो दूध चुहाइदिँदो रहेछ । ढिकोमा के छ भनी एउटा ग्वालोले खन्ने हुँदा उज्यालो ज्वाला निस्केर ग्वालो त्यहीँ डढेर खरानी बने । पछि उनकै छोरो धर्माकरलाई मञ्जुश्रीले नेपालका पहिलो राजा बनाइदिए । उज्यालो ज्वाला निस्केको ढिको भएको स्थालमा कृष्णले पशुपति ज्योतिर्लिङ्ग पुनरुद्धार गरिदिएको कथा छ । यस्ता आफ्नै कृष्णकथालाई संसारसामु प्रस्तुत ९प्रोजेक्ट० र प्रोन्नत गर्नुपर्ने हो । हुन ता हाम्रो रोम(रोममा तन्तु(तन्तुमा कृष्ण बसेका छन् तर आफ्नै लोककृष्ण बसे त हामी महान् हुनेथियौँ । दुःखको कुरो तर हामी धेरैमा आयातित कृष्ण धेर छ । ती दक्षिण भारत, मध्य भारत अनि मूलतः गुजरात र बङ्गबाट आएका छन् । ‘श्रीकृष्ण शरणं श्रीकृष्ण अर्पणम्’।।

(प्रोफेसर प्रधान भारतीय भाषा विभाग, काशी हिन्दू विश्वविद्यालय, वाराणसी, उत्तर प्रदेश, भारतका विभागाध्यक्ष तथा नेपाली प्रभागका प्राध्यापक हुन् ।)

तपाईको प्रतिक्रिया

पत्रपत्रिका