धनकुटाको महालक्ष्मी नगरपालिका वडा नंं. ८ मा निर्माण हुँदै गरेको निगाले चितुवाको स्तम्भ विवादित बनेको छ ।
भाषिक पहिचानलाई समाप्त पार्न निगाले चितुवाको स्तम्भ निर्माण गर्न थालेको भन्दै नेपाल मगर संघ जिल्ला समन्वय समिति, धनकुटाले बुधवार एक प्रेस विज्ञप्ती जारी गरेर निर्माण कार्य तत्काल रोक्न माग गरेको छ ।
धनकुटा जिल्लाको महालक्ष्मी नगरपालिकाको मगर भाषिक पहिचान रहेको स्थान निगिलिया (निगाले)मा भाषिक पहिचानलाई समाप्त पार्न खोजिएको विज्ञप्तीमा जनाइएको छ । विज्ञप्तीमा भनिएको छ, ‘तथ्यहिन, आधारहिन, कपोलकल्पित, मनोगत रुपले नगरपालिकाको वडा नं. ८ मुर्तिढुङ्गाको निगिलिया (निगाले) भन्ने स्थानमा वडाको गौरवको योजनाको नाममा प्रदेश सरकारको अनुदान सहयोगमा वडा कार्यालयले निगाले चितुवाको स्तम्भ निर्माण कार्य शुरु गरेको प्रति नेपाल मगर संघ जिल्ला समन्वय समिति, धनकुटाको आपत्ति छ ।’