नयाँ क्षितिज

काठमाडाैं

साउनको महिना ।
पूर्वतिर फर्किएको भिरालो गाउँ ।
बारी, पाखा, भित्ता, डाँडा जताततै हरियै देखिन्थ्यो । खेतीपातीको असाध्यै चटारो ।

मकै दोहोर्याउने (दोस्रोपल्ट गोड्ने), दलहन बाली छर्ने, बेँसी खेतहरुमा पाकेको वर्षे धान भित्र्याउने काम सँगसँगै गर्नुपर्ने बाध्यता थियो । त्यहीमाथि खेतालाको अभाव थियो । धेरैजसो युवाहरु पैसा कमाउन विदेशिएका, लाहुरे लागेका (भर्ती गएका) र बाँकी थोरै भने पढ्ने नाउँमा भोजपुर सदरमुकाम बस्ने, धनकुटा, धरान र मधेसतिर झरेका थिए । गाउँमै भएका युवाहरुमा पनि खेतीकिसानीप्रतिको रुचि र लगन घट्ने क्रम बढ्दो थियो । खेताला पाउन राम्रो खाजा-पानी गराउने होडै चलेको थियो गाउँभरी । पहिलेझैँ ज्यालादारीमा खेताला आउने क्रम घटेको र पर्मको चलन बढेको थियो । साँझ बिहानको समयमा घरधन्दा सानीआमाले, बस्तुभाउ र घाँसपातको काम मैले भ्याउनै पर्थ्यो । बिहानको खाना खाइवरी मेलापातमा बढी, स्कूलतिर कमै जान्थेँ म । घर फर्केपछि पनि पुनः उही आ-आफ्नो जिम्मेवारी सम्हाल्यो र थप ढिकी र जाँतोको काम गर्नु त बाँकी नै हुन्थ्यो । यन्त्रवत् तिनै काम… काम… अनि काम मात्रै हुन्थ्यो, मेरो दिनचर्यामा ।

वर्षामास लागेपछि स्कूलको मुख देख्ने मौका सायदै जुर्थ्यो । वैशाखदेखि मंसिरसम्म खेतीकिसानीबाहेकका कुरा गौण हुन्थे । पढ्न स्कूल जाने भनेको अतिरिक्त सहुलियतको कुरो हुन्थ्यो । त्यस्तो सहुलियत मेरो लागि कहिल्यै उपलब्ध थिएन । खेतीकिसानी, घाँस दाउरामै मेरो समय बित्थ्यो ।

धेरैजसो घरबाहिरै घुमडुल, समाजसेवा र राजनीतिमा व्यस्त हुने आपा (बाबा)को शुरुदेखि नै घर व्यवहारमा चासो थिएन । घरमूली सानीआमा । उनको विशेष पकड र रुचि भान्सामा हुन्थ्यो । म चाहिँ सानीआमाको दिमाग र खटनबमोजिम चल्ने एक बिनाज्यालाको कामदार थिएँ । आफ्नो आमा गुमाएपछि मैले उनमा नै आमाको प्रतिमा खोज्थेँ । त्यहीअनुरुप दायित्व पूरा गर्ने प्रयत्न पनि गर्थेँ र केही माया र स्नेहको अपेक्षा पनि राख्थेँ । तर ती केही पनि कामकारी नै भएनन् । सौतेलो नाता हैन अर्घेलो बानीव्यहोराको कारणले झिनामसिनादेखि अनेक खालका कुराहरुमा बारम्बारजसो किचलो र भनाभनसँगै हाम्रो दिनचर्या चल्ने गर्थ्यो । मनको भँडास पोख्ने, आक्रोश व्यक्त गर्ने दुबैको आ-आफ्नै शैली र स्वभाव थियो । सामुन्ने भएका वा गर्नुपर्ने भनिएका जे जस्ता कामहरु हुन्थे तिनै काममा एकोहोरो जोतिएर लाग्थे म चुपचाप । त्यत्ति बेला अरु केही गर्नै आउँथेन मलाई । मैले जानेको, सिकेको र गर्दै आएको जे हो त्यही गर्थेँ । उनी भने प्रायः भातभान्सामा सीमित हुन्थिन् । साथमा उनको गनगन पनि बढ्थ्यो । आपासँग भने मेरो प्रत्यक्ष दोहोरो कुराकानी नगण्य हुन्थ्यो । बिभिन्न कारणले आपाछोरीबीच खुलेर कुराकानी गर्ने सहज सम्बन्ध नै बनेन । भौतिक रुपमा सँधै सँगै हुने भएपनि सानीआमासँगको मेरो सम्बन्ध अकाट्य तर सकसपूर्ण खालको थियो ।


दश लिटरे जर्किनमा मकैको छिप्पिएको जाँड, अलि सानो जर्किनमा पानी, चार मानाजति हुँदो हो- पछ्यौरामा पोको पारेको भुटेको मकै-भटमास, तीनवटा ठूल्ठूला सर्लक्क परेका हरिया काँडासरिका हरिया काँक्रा, काँचो आँप र पिसेको हरियो नुन खुर्सानी र भोर्लाको पातको दुना टपरी बोकेर खेतालाहरुसँगै ओरालो लागेँ म । पिखुवा खोला किनारको धान बोक्नलाई झुल्के घामसँगै नहिँडे त्यही दिन फर्किन सकिन्नथ्यो । आधा बाटो पुगेपछि छेउकै ओडारमा खाजापानी राखेर खेतमा झर्यौ ।

आपा दुई दिन अघि झरेका थिए । राती आएको हावाहुरीले गोठ लडेर किचेछ । दाहिने खुट्टा डम्मै सुन्निएको र ठाउँठाउँमा निलडामहरु परैबाट देखिन्थे । पछाडिपट्टि तिघ्रानेर ठूलै चोट लागेको थियो । त्यहाँनेर मासुको चोक्टै थिएन । बाँकी हातखुट्टा, गाला र ढाडमा पनि निलडाम र कोतरिएका चिन्हहरु देखिन्थे । ढाडमा पनि धुरीको बलो (धुरी जोड्ने ठाउँमा लगाइने काठ) ले छोएकोले दुखीराछ भन्थे आपाले । वर्षाको बेलामा सामान्य चोटपटक लागेमा जडीबुटीको रुपमा पाइने एक प्रकारको झारको रस निचोरेर घाउमा लगाउने गरिन्थ्यो । हिउँदको बेलामा भने ठूला ठूला ढुंगामा पाइने झ्याउलाई खैनी माडेझैँ माडेर घाउमा छर्ने गरिन्थ्यो । यि दुबै कुरा पिखुवा किनारमा पाइएको हुनाले त्यही झारको रस र ढुंगाको झ्याउलाई ओखतीको रुपमा आपाको घाउहरुमा लगाइयो । थाप्लोमा नाम्लोमुनी राख्नलाई बोकेको पछ्यौरा च्यातेर तीघ्रामा बाँधेपछि दुईजना खेतालाले आपालाई बोकेर घर ल्याए ।

साउने मध्यदिनको टन्टलापुर चर्को घाम र खोँचको टट्याउने तातो हावामा खोला किनारबाट धानको बोरा बोकेर नाक ठोक्किने उकालो उक्लियौँ । खाजा खाने ठाउँमा खाजा खाएर केही बेर थकाइ मार्यौं । फेरि बाटो लाग्यौँ । जमिनबाट आउने तातो हावा र माथिबाट पोल्ने घामको तापमा आँखै उघार्न सक्न छाडेँ मैले । मेरा पाइला चल्नै छाडे । आठ पाथी धानको भारी बीचैमा छाड्न नि नमिल्ने, लिएर जान नि नसक्ने स्थितिमा म आधाबाटोमा थुप्रिएँ । खेतालामध्यकी बेलुमा दिदीले मेरो भारी सबैजनाले बाँडेर बोक्ने जुक्ति निकालिन् र सबैलाई मनाइन् पनि । निष्पट्टै अध्यारोमा मुश्किलले ठूलै युद्ध जितेझै घर पुगेँ । दैलोनेरको खाटमा लडेँ ।

डोकोमा बोकीमागेर भोलिपल्ट उपचारको लागि आपा धरान झरे । म कहिले अर्धचेत अवस्थामा, कहिले अचेत अवस्थामा र कुनै कुनै बेला पुरै चेत खुलेको अवस्थामा लडिरहन्थेँ । दिनभरि मलाई रुङ्ने र सुम्सुम्याउने झिँगाहरु खुबै हुन्थे । झिँगाबाहेक कोही मान्छे आउँलान् कि भन्ने ठूलो आशामा हुन्थे पलपल । आफ्नै सास फेराइको चर्को आवाज र झिँगाहरूको भुनभुन आवाजबाहेक बेलाबेलामा मकैबारीमा हावा चलेको सरर्रर्र आवाजले म बाँचेकै रहेछु भन्ने सोच्थेँ । खेतबारी, लेकबेँसी जताततै कामको चटारोको बेला भएकोले मलाई थालमा खाना र एक अमखोरा पानी छेवैमा राखेर हिँडेकी सानीआमा साँझ झ्याउकिरीसँगै आउँथिन् । अघिपछि मलाई मिठो-नमिठो, चिसो-तातो, साजी-बासी जे भएनि मलाई काफी हुन्थ्यो । त्यस बेला त थालको भातले खाइस् कि ठाडै माथि पुगिस् भनीरहेझैँ लाग्थ्यो । मलाई नभए नि झिँगाहरुलाई भोज हुन्थ्यो । बाँकी सुँगुरको खान्की बन्थ्यो ।

आँखाले देखेको कुरा महसुस गर्न सकिरहेको थिएँ । अनि अरुण सुसाएको पनि ठम्याउँन सकिरहेको थिएँ । काका र दिदी घरी मलाई हेर्दै, घरी एकअर्कालाई हेराहेर गर्दागर्दै बर्रर्रर्र आँसु चुहाउँदै गरेको पनि महसुस गरिरहेको थिएँ ।
दिदीले झटपट हाँस्न खोज्दै काकालाई भन्छिन् ‘जाँट्ठा किन रुन्छस्, बित्थामा ।’

रातपरेपछि मलाई साथी दिन छरछिमेकबाट कोही न कोही आउँथे । दिनभरिको थकानले उनीहरु ओछ्यान लाग्नासाथ भुसुक्कै निदाउथे । म भने कत्तिखेर उज्यालो हुन्छ र मेरो आँखाबाट अँध्यारो हट्छ भन्ने ब्यग्र पर्खाइमा हुन्थेँ । शारीरिक रुपमा असक्त, मानसिक र भावनात्मक रुपमा म कमजोर बन्दै गइरहेकोले चेतमा रहनुभन्दा अचेत हुनै निको लाग्थ्यो मलाई । दिनको उज्यालोमा भने म थोरै भएपनि ढुक्क हुन्थेँ र आफूले फेर्ने साससँग भरोसा राख्थेँ । त्यही झिनो भरोसामा मैले एउटा प्रण गरेँ- यदि बाँचेछु भने मैले जिउँदै आएको जीवनचर्या र माहोलबाट मुक्त भएरै छाड्छु । त्यसको लागि जसरी भएपनि एसएलसी परीक्षामा सामेल भएर उतीर्ण हुनुको विकल्पै छैन मसँग भन्ने मेरो ठहर थियो ।
केटाकेटीहरुलाई स्कूल पठाउने संस्कृति स्थापित थियो गाउँमा । तर लेखपढको संस्कृति भने ठ्याम्मै थिएन । अधिकांश विद्यार्थी गणित, विज्ञान र अँग्रेजी विषयमा गुल्टिएकै हुन्थे । भाषाको कारण नेपाली र अरु विषयमा पनि खासै गतिलो नतिजा कसैको आउँदैनथ्यो । पढ्ने लेख्ने कुरा स्कूलको कक्षाकोठाभित्रै, अझ मास्टरले पढाईरहँदासम्म मात्रै सीमित हुन्थ्यो । म स्कूल पढ्छु भन्ने अरुले नि सुनेका थिए होलान् । तर कति दिन स्कूल जान्थे, स्वयं मलाई पनि थाहा हुँदैनथ्यो । किताब, कापी, कलम मसँग आक्कलझुक्कल हुन्थे । कक्षा नौ र दश स्कूले जीवनको विशेष वर्ष भनिन्थ्यो र मानिन्थ्यो । तर नौ कक्षामा हुँदा म लगातार पाँच महिनासम्म गयल भएको थिएँ । नतिजाबारे सोच्दै नसोचि दुःसाहस गरेरै मैले जाँच दिए । बडो खुशीको कुरा, जसोतसो पास पनि भएँ ।

स्कूल जाने सुर कस्यो कि ‘स्कूल जानु समय र श्रम खेर फाल्नु हो’, ‘घरको कामकाजबाट भाग्नु हो’, ‘अर्काको घर र बच्चा स्याहार्नलाई पढ्नै पर्दैन’ भन्दै कामको सूचीसहितको आदेश नपाएको दिन सायदै हुन्थे मेरा । कहिले नसुनेझैँ अटेर गर्दै ध्वाँसोले कट्कटिएको थोत्रो कापी र कलम च्यापेर स्कूलतिर लाग्थेँ । कहिले मुर्मुरिदै डोको नाम्लो टिपेर मेलातिर लाग्थे । यस क्रममा म अटेरी र थेत्तरो दुबै बनेँ । साथै केही हदसम्म मुखाले पनि बन्दै गएँ । मेरो अटेरी र थेत्तरोपनको क्षतिपूर्तिको पनि कायदा थियो- म आफ्नो खुशीले जहाँ जाउँ या जेसुकै गरुँ मेरो भागमा परेको काम सम्पन्न गर्नैपथ्र्यो । त्यस्तो बेलामा पढेर केही गरुँला, पढेरै खानलाउन सकुँला भन्ने सोच्नु मेरो कल्पनाबाहिरको कुरा थियो । तर स्कूल जानु मेरो रुचि र बाध्यता दुबै थियो । तर पढ्नु मेरो पहिलो प्राथमिकता थिएन । त्यत्तिखेर स्कूल जानुको पहिलो उद्देश्य आफ्नो लागि बिश्रामको समय फुत्काउनु हुन्थ्यो । दोस्रोमा साथीसँगीहरुसँग भेटघाट र हँसीमजाक । पढाइ तेस्रो नम्बरमा मात्र पथ्र्यो । यिनै तीन कुराहरुबाट मैले आफ्नो दिनचर्या धान्ने उर्जा बटुल्ने गर्थे । आफू बाँचेको छु भनेर बोध गर्ने मेरा प्रयत्न वा माध्यम थिए ती ।

मेरो स्थिति बिग्रिदै गएपछि बेलुमा दिदी दिउँसोको समयमा निरन्तरजसो मेरो रेखदेखमा आउन थालिन् । अनेक नामधारी जडीबुटी खुवाउँथिन् । धामीझाँक्री ल्याएर झारफुक गराउँथिन् । काठमाडौँको चिडियाखानाबाट लगेको गैँडाको पिसाब दिनहुँ खुवाउँथिन् । डाक्टर वा स्वास्थ्यकर्मी ल्याएल्याएनन् मलाई थाहा हुन सकेन । मेरो आहार तिनै जडीबुटी र गैँडाको पिसाब थियो । मैले नखाइदिए हकार्थिन्, गाली गर्थिन्, जिद्दी गर्थिन् । गाली जनाउने शब्दहरुको प्रयोग गर्दै हकारेझैँ गरी माया र स्नेह दर्शाउने उनको स्वभाव र शैली दुबै थियो । उनी जोसुकैसँग एकदमै सहज र कमलो गरी गाली शब्दहरु फुत्काउँथिन् । बिस्तारै मेरो दिमाग र नजरबाट सबैकुराहरु धमिलिने समय लम्बियो । घरीघरी मेरो कानामा फरक फरक महिलाका चर्को चर्को आवाज एकैसाथ ठोक्किएझैँ लाग्थ्यो ।

हाम्रो घरभन्दा ठिक एक कान्लामाथि पश्चिम दक्षिणमा रहेको घर बेलुमा दिदीको हो । आँगनमा निस्केर बोलाउँदा टड्कारै सुनिन्छ । साइनोले मेरो मावाली दिदी । घरकी कान्छी छोरी । अरु सबै दिदीहरु आ-आफ्नै घरव्यवहार सम्हालेर बसीसके । उनका दुई जना दाइहरूमा एक जना युवावस्थामै घरबाट बाहिर निस्केपछि हराए र कहिल्यै फर्केर आएनन् । अर्को दाइ मासी परेर स्कुले बेलैमा औषधोपचारको अभावमा बितेका थिए रे । उनको संसार आपाआमा र घरव्यवहार नै थियो । सामान्य लेखपढ गर्न सक्ने उनी राजनीतिमा रुचि राख्थिन् । हामीकहाँ पार्टीका कोही मान्छे आएभने खानपिन सत्कारमा सघाउन आइपुग्थिन् । खासमा आपा र पाहुनाहरुबीचमा हुने देशदुनियाँ अर्थात् राजनीतिका कुराकानी सुन्ने उनको धोको पूरा गर्न उनी त्यसरी आउने गर्थिन् । मेरो आपासँग त जहिले पनि सहज रुपमा कुरा गर्ने गर्थिन् तर बाहिरबाट आएका विशेष पाहुनाहरुसँग घुलमेल हुन भने थोरै धकाउँथिन् ।

कुनै दिनको उज्यालोमा कताकता मान्छेको आवाज आइरहेझैँ महसुस गरेँ । मेरो आँखासामु बिशाल निलो आकाश थियो । म हल्लिरहेझैँ पनि महशुश गरेँ । सकभर वास्तविकतालाई ठम्याउने प्रयास गरेँ । बिस्तारै आवाज स्पष्ट हुँदै गयो । चार जनाको काँधको आड लिएर स्ट्रेचरमा लमतन्न परेर हल्लिदै गरेको अवस्थामा रहेछु । उनीहरू मेरै कुरा गर्दै एकआपसमा तालमेल मिलाउँदै ओरालो हिँडिरहेका रहेछन् । कुरैकुरामा बेलुमा दिदी खुशीले चिच्याइन् ‘बाबु (काका) माइला ! आइपुग्नुभो ।’

काकाले भारी स्वरमा ‘अँ आइपुगे, तर ढिलो आइपुगेछु’ भनेको प्रष्टै सुने ।

दिदीले मेरो झक्झकाउँदै भनिन् ‘ओई, ओई एता हेर, ओई एता हेर न, बाबु माइला आईपुग्यो तँलाई लिन । होई होसमा आइज, हेर एता ।’
‘म होशमै छु, मलाई थाहा भो’ सकुञ्जेल मुस्काउँन खोज्दै भनेँ । त्यत्तिखेर साँच्चै मेरो चेत खुलेको थियो । सब कुरा स्पष्टसँग बुझ्न सकिरहेको थिएँ । आँखाले देखेको कुरा महसुस गर्न सकिरहेको थिएँ । अनि अरुण सुसाएको पनि ठम्याउँन सकिरहेको थिएँ । काका र दिदी घरी मलाई हेर्दै, घरी एकअर्कालाई हेराहेर गर्दागर्दै बर्रर्रर्र आँसु चुहाउँदै गरेको पनि महसुस गरिरहेको थिएँ ।
दिदीले झटपट हाँस्न खोज्दै काकालाई भन्छिन् ‘जाँट्ठा किन रुन्छस्, बित्थामा ।’

दुवै जनाको आँसु झर्नुको आ-आफ्नै कारण थिए । काका उकालो लाग्दै गर्दा हल्लाखल्ला सुनेपछि दाउरा काट्न जंगल हिडेको गाउँलेसँग सोध्दा एक वाक्यको जवाफ पाएछन्, ‘तिम्रो भतिजीलाई झार्दैछन् ।’

हाम्रो गाउँमा मान्छे मरेपछि त्यही बाटो भएर अरुणमा दाहसंस्कारको लागि झारिने हुनाले काकाले त्यस्तै बुझेछन् र थचक्क भुईँमा बस्न पुगेछन् । त्यही अवस्थामा हामीले काकालाई भेट्न पुगेका रहेछौँ । बेलुमा दिदीले भने दुई दिन लगातार मेरो सानीआमासँग गलफत्ते गरेर उनको मञ्जुरीबिनै अचेत अवस्थामा रहेकी मलाई लिएर हिँडेकी रहिछन् । बाटोमा तलमाथि परेमा जिम्मेवारी लिन नसक्ने भन्दै मलाई बोक्न धेरैले नमानेपछि आइपर्ने सबै कुरा आफैले ब्यहोर्ने बोलकबोल गरेर मलाई बोक्न चारजना सहयोगीलाई मनाएकी रहिछन् ।

घरबाट हिँडेको दोस्रो दिन दिउँसो धरानको एक प्राइभेट अस्पतालमा मलाई पुर्याइएछ । इन्जेक्सन र स्लाइन पानी चढाएर सुताइदिएछन् । मेरो चेत खुलेपछि देखेँ, आपा, कान्छी काकी अनि अरुपनि आफन्तहरुको ओइरै लागेको थियो । मैले आँखा घुमाएर सबैलाई हेरेँ, तर कोही पनि मसँग बोलेनन् । कोही मलाई हेर्थे र मुन्टो अन्तै फर्काउँथे । कोही चुपचाप टुलुटुलु हेरिरहन्थे र नबोलीकनै उठेर अर्कोतिर लाग्थे । आपा पनि एकछिन चुपचाप झ्यालबाहिर हेरेर उभिइरहे । उनीहरुको त्यस्तो व्यवहारदेखि मलाई नरमाइलो लाग्यो । सुक्कसुक्क आवाज पहिलेदेखि कतैबाट आइरहेको थियो । म आँखा चिम्लेर त्यो आवाज सुनिरहेको थिएँ । बिस्तारै रुवाईका स्वरहरु थपिँदै गए । बेलुमा दिदीले साम्य पार्न खोज्दै सबैलाई थम्थमाउदै थिइन्, उही आफ्नै शैलीमा । डाक्टर आएर मलाई छामछुम पारेर गएलगत्तै आपासँग भेटे ।

खै के कुरा भयो कुन्नी तर मलाई अस्पतालमा भर्ना भएर बस्नु परेन । हाडछाला मात्रै बाँकी रहेको सुकेको जिंरिंग कालोमैलो शरीर, लट्टा परेको जुम्रैजुम्राको कपाल, पाइतालाभरि कालै काई लागेको । आफैले आफैलाई टिठाउँदै भनेँ, ‘कठै ! तेरो जुनी । जे होस् बाँचिस् केटी, अब गरिखा ।’
अरुको भरमा उठबस गनुपर्ने म क्रमशः आफै उठवस गर्ने हुँदै हिँडडुल गर्न सक्ने भएँ । धरानस्थित काकाकाकीको घरमा उनीहरुको स्याहारसुसारमा पूर्णतया आराम गरेर तन्दुरुस्त बन्न चार महिना लाग्यो ।

मसँग पुगनपुग दुई महिना समय थियो एसएलसीको तयारीको लागि । घर नजिकैको एकजना मास्टरसँग गणित विषयको ट्युसन पढ्ने जोहो गरेँ । एसएलसीको जाँच दिन पहाड निस्केँ । सँधैजस्तै आपा घरमा थिएनन् । स्थानीय निर्वाचनको दौडधुपमा थिए उनी । परीक्षा सकेपछि पुनः उही खेतीपाती, घाँसपातको चटारो र भनाभनको दिनचर्यामा फर्किएँ । एसएलसीको नतिजा आयो भन्नेसँगै म पास भएँ रे भन्ने पनि हल्ला सुनेँ । तर मलाई आफैले निक्र्यौल गर्ने हुट्हुटी थियो । हप्तादिनपछि गाविसमा गोरखापत्र आइपुग्यो भन्ने सुनेपछि म आफ्नो सिम्बल नम्बर हेर्न हानिएँ बेगले ।

सिम्बोर नम्बर भेटेँ । अहो ! चरम आनन्दको पल ।

म हाँसूँ या रोऊँ, के गरुँ के गरुँ भयो ।

गाविस भवनबाट थोरै अगाडि बढेपछि मलाई के लाग्यो कुन्नी मकैबारीभरी दौडिएँ बेजोडले ।

त्यो खुशीको पलमा पनि आपा घरमा थिएनन्, सदरमुकामतिर गएका थिए । आतुरिदैँ आफै विद्यालय गएर प्रमाणपत्र हात पारेँ । त्यही दिन आपा घर फिरेका थिए ।

‘आपा, भोलिविहानै म हिँड्छु’, बेलुकीको खाईधन्दा सकेपछि चुरोटको धुवाँ उडाउँदै बसेको आपाको अगाडि ठिङ्ग उभिँदै भनेँ ।
‘कहाँ ?’

‘क्याम्पस पढ्न ।’

‘अहिले पैसा छैन । क्याम्पसले पढाउने बेला नि भएको छैन’, सानीआमाले नम्र स्वरमा हामीतिर नर्फकीकनै भनिन् । ‘चाहिँदैन तिमेरूको पैसा । मलाई जा भनिदिए पुग्छ । मैले सबै तयारी गरिसकेँ, म भोलि नै जान्छु ।’

कहाँ जाने, के पढ्ने, कसरी पढ्ने केही थाहा थिएन तैपनि मैले निर्धक्कसँग यी वाक्य भनेँ । भनिसकेपछि म आफैलाई सन्तोष लागेको थियो भित्रैदेखि । त्यो उकुसमुकुससरीको पारिवारिक माहोल र जति आफ्नो ठानेर माया माने पनि कहिल्यै आफ्नोपन र माया पाएको महसुस गर्नै नपाएको सम्बन्धहरूबाट एउटा राम्रो कारणसहित केही स्वतन्त्रता भनुँ वा छुटकारा पाउने मेरो व्यग्रताको विष्फोट भएको थियो त्यत्तिबेला ।
आपा र सानीआमा एकार्कामा हेराहेर गरे । मौनता छायो । आपाले सरासर चुरोट तानिभ्याए । भुइँमा ठुटा निभाएर फुत्त जस्किलाबाट घुर्यानतिर ठुटा फाले । अनि मतिर हेर्दै भने, ‘एक्लै नबस् । आफन्तकोमा बसेर पढ् ।’

बस्, मलाई त्यहाँबाट फुत्किनु थियो ।

त्यही रात बेलुमा दिदीसँग बिदा माग्न गएँ । उनले भनिन्, ‘रेडियोमा बज्ने एउटा गीतको हरफ छ-

मोती दिएर आँसु बटुलेँ हार भएन जीत
हाँगाबाट झरेको फूलले भुल्न सकेन प्रीत ।

मलाई मन पर्छ यो गीत, खासगरी यो हरफ चाहिँ तेरो लागि । तँ र म एउटै रुखको हाँगाको पनि कहाँकहाँको स्यानो-स्यानो डाला मात्रै हौँ । छासेर फालिनेमा पर्छौ । तर प्रीत चाहिँ रहिरहोस् है तेरो-मेरो । मैले धेरै पटक सुनेको र साह्रै घत परेको अर्को पनि कुरा तँलाई भनिहाल्छु– ‘सादा जीवन उच्च विचार भन्ने कुरालाई ख्याल राखेर अघि बढ्नू ।’

हामी दुबैको आँखा रसाएका थिए । मनमा गहिरो छाप बनाएको उनको त्यो आशीर्वादस्वरुपको बिदाइ वाक्य मेरो हृदयमा गुञ्जिरहेको छ आज पनि ।

दिमाग रन्थनिने सानीआमाको खटन र ज्यान गलाउने कामैकामको चटारोमा निद्रा पुर्याएर सुत्न पाए त्यो जत्तिको स्वर्ग कहाँ हुँदो हो र ! भन्ने मलाई त्यो रात भने निद्रै लागेन । उज्यालो भुइँमा खस्न नपाउँदै आफ्नै बलबुतामा सहज जीवन जीउन पाउने सपना र जोस लिएर घरबाट निस्केँ- जीवनको नयाँ क्षितिजतर्फको यात्रामा ।

(समाज विज्ञानकी अध्येता, लेखक तथा सम्पादक राईको यो स्मृति कथा अर्चना थापाको सम्पादनमा अक्षर क्रिएसन्सबाट भर्खरै प्रकाशित ‘स्मृतिकथामा सत्व’ पुस्तकको अंश हो ।)

तपाईको प्रतिक्रिया

पत्रपत्रिका