बागमतीमा बैकल्पिक सिकाइ

प्रकाश थिङ संवाददाता
ललितपुर

कोभिड–१९ को कारण देशभरका विद्यालयहरु प्रायः ठप्प छन् । यसैको बाबजुत नेपाल सरकारले अनुरोध गरे अनुसार स्थानीय तहभित्रका विद्यालयका विद्यार्थीहरूका लागि वैकल्पिक सिकाइको व्यवस्था गरेका छन् । यस्तै बागमती गाउँपालिकामा पनि भदौ १ गतेदेखि सम्पूर्ण विद्यालयमा अभ्यास पुस्तकको व्यवस्था गरेको छ ।

गाउँपालिका अध्यक्ष वीरबहादुर लोप्चनका अनुसार उक्त अभ्यास पुस्तकबाट विद्यार्थीहरुले घरमै बसेर सजिलै वैकल्पिक सिकाइ प्राप्त गर्न सकिने जानकारी दिए । उनले भने, ‘पुस्तक गाउँपालिकाले निःशुल्क उपलब्ध प्रदान गर्नेछ ।’

गाउँपालिकाभित्रका शिक्षकहरुले तयार पारेको सामग्रीलाई विशेषज्ञ टोलीद्वारा अन्तिम रुप दिएर पुस्तकको आकार दिएको शिक्षा शाखाका संयोजक तथा कालीदेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक कुमार चौलागाईले बताए ।

पुस्तकबाट विद्यार्थीहरुले पाठ्यक्रममा भएका बिषयहरुलाई सजिलै घरमा बसेर अध्ययन गर्न सक्नेछन्। यतिबेला कोभिड–१९ संक्रमण व्यापक रुपमा बढिरहेकाले उक्त पुस्तक अब विद्यार्थीहरूको हातमा कसरी पुर्याउने भन्ने विषयमा छलफल भइरहेको बागमती गाउँपालिकाका प्रेस संयोजक दीपक घिमिरे समीरले बताए ।


अभ्यास पुस्तकमा शिशु कक्षादेखि कक्षा १० सम्मका अनिवार्य विषयका महत्वपूर्ण विशेष सामग्री पाठ्यक्रम अनुसार तयार पारेको विशेषज्ञ टोलीका सदस्य नवराज सञ्जेल बताए ।

यो गाउँपालिकाको अत्यन्तै महत्वपूर्ण अथक प्रयास भएको सरोकारवालाहरुले बताएका छन्। नेपाल सरकारले बैकल्पिक सिकाइलाई शैक्षिकसत्रसँग जोड्न खोजीरहेको अवस्थामा गाउँपालिकाले गरेको यो उत्कृष्ट कार्यको सर्वत्र चर्चा र प्रशंसा गरिएको छ । गाउँपालिकाभित्र अधिकांश विद्यालयले टोल शिक्षालाई निरन्तरता दिइरहेका छन् ।

तपाईको प्रतिक्रिया