राष्ट्रकवि माधवप्रसाद घिमिरेको देहावसान

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
काठमाडाैं

राष्ट्रकवि माधवप्रसाद घिमिरेको मंगलबार निधन भएको छ । १ सय १ वर्षको उमेरमा उनको निधन भएको हो । उनलाई स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार कवि र गीतकारका रुपमा चिनिन्छ ।

जीवन

माधवप्रसाद घिमिरेको जन्म वि.सं.१९७६ असोज ७ गते लमजुङ जिल्लाको पुस्तुन गाउँमा भएको थियो । जन्मिएको तीन वर्षमा उनकी आमा बितिन्। ६ वर्ष हुँदा अक्षर चिनेका उनले ८–९ वर्षको हुँदा गाउँको फुलेबाबासँग पञ्चांग अध्ययन गरेका हुन् । ११ वर्षको उमेरमा घर छाडेर दुराडाँडा (लमजुङ) गाउँको संस्कृत पाठशाला हुँदै काठमाडौंको रानीपोखरीमा रहेको संस्कृत प्रधान पाठशाला र तीनधारा संस्कृत पाठशालासम्म आइपुग्दा उनले प्रथमा उत्तीर्ण गरे । त्यसपछिको अध्ययनका लागि उनी बनारस पुगे । घिमिरेले भारतमा बनारसको क्विन्स विश्वविद्यालयबाट सर्वदर्शनमा शास्त्री गरेका हुन् ।

पेशागत जीवन र अन्य


१४ वर्षको उमेरमा ज्ञानपुष्प शीर्षकमा वि.सं.१९९२ मा गोरखापत्रमा पहिलो रचना छपाएर काव्य सिर्जनामा प्रवेश गरे। घिमिरे वि.सं. २००५ सालमा गोरखापत्रमै सह–सम्पादकको जागिरे पनि थिए। बनारसबाट शास्त्री प्रथम खण्ड उत्तीर्ण गरे वि.सं. १९९८ सालमा भाषानुवाद परिषदबाट मासिक २५ रुपैयाँ तलबमा लेखक पदमा र वि.सं. २००१ सालमा गोरखापत्र दैनिकमा मासिक ४० रुपैयाँ तलबमा सहायक सम्पादक रही काम गरे। त्यसपछि २०१० सालमा लक्ष्मीप्रसाद देवकोटाको अध्यक्षतामा गठन भएको काव्य प्रतिष्ठानमा चार वर्षसम्म सदस्य थिए।

वि.सं. २००८ सालमा लमजुङ फर्किएर माध्यमिक विद्यालयको प्रधानाध्यापक भएर शिक्षा क्षेत्रमा प्रत्यक्ष रूपमा संलग्न भएका थिए।
चर्चित राष्ट्रिय गीत ‘गाउँछ गीत नेपाली’का रचनाकार घिमिरेका अन्य चर्चित गीतहरूमा ‘फूलको थुङ्गा बगेर गयो’ (तारादेवी) तथा ‘आजै र राति के देखेँ सपना’ (नारायण गोपाल)ले गाएका छन्। उनी वि.सं. २०१४ सालमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको सदस्य भएपछि आजीवन सदस्य, उपकुलपति, कुलपति भएर प्रज्ञाप्रतिष्ठानमा लामो समयसम्म सक्रिय रहे।

कृति

उनको काविक यात्राको पहिलो कृति नव मञ्जरी वि.सं. १९९४ सालमा प्रकाशित भएपछिको यात्रा निरन्तर छ। गौरी राष्ट्रकवि घिमिरेद्वारा लेखिएको शोककाव्य हो। साझा प्रकाशनले वि.सं. २०१५ सालमा प्रकाशित गरेको यस काव्यमा १२ उपशीर्षकमा लेखिएका कविताहरू संग्रहित छन्।

घिमिरेका नव मञ्जरी, गौरी (शोककाव्य),मालती मङ्गले (गीतिनाटक),हिमालपारि हिमालवारि (गीतिनाटक), राजेश्वरी, इन्द्रकुमारी, राष्ट्रनिर्माता, किन्नर–किन्नरी( गीतसङ्ग्रह),चारु चर्चा (निबन्ध),आफ्नो बाँसुरी आफ्नै गीत (निबन्ध) लगायतका कृति चर्चित छन् ।

सम्मान तथा पुरस्कार

राष्ट्रकवि घिमिरेलाई वि.सं. २०६७ सालमा पद्यश्री साधना सम्मान पुरस्कार प्रदान गरिएको थियो। उनलाई वि.सं. २०७५ मा महा उज्ज्वल पदकबाट सम्मानित गरिएको थियो ।

वि.सं. २०५४ सालमा हिमालपारि हिमालवारिका लागि साझा पुरस्कार सम्मानित भएको थियो । वि.सं. २०५८ सालमा चारु चर्चा –निबन्ध) का लागि साझा पुरस्कार प्राप्त गरेका थिए ।

वि.सं. २००४ सालमा उनको जीवनसंगिनी गौरीको निधन भएको थियो ।

घिमिरेलाई २०६० साल असोज ९ गते सरकारले राष्ट्रकविको उपाधि प्रदान गरेको थियो ।

तपाईको प्रतिक्रिया