बाबा !

इजरायल

आज कता कता यो मन भारी भएको छ
बाबाको सम्झनाले मर्माहित बनेको छु
हामी जब साना साना थियौं
हजुरको ममताबाट बन्चित भएका थियौं
बाबाको माया कस्तो हुन्छ भनी
हामीले स्पर्श पनि गर्न पाएनौं ।

स्कुल पढ्दा साथीभाइले कुरा गर्थे
हाम्रो बाबाले माया गर्नुहुन्छ,
यो किनेर ल्याउनुभयो, त्यो किनेर ल्याउन भयो
तर, म सधै निःशब्द हुन्थेँ
मलाई माया गर्ने बाबा मसँग थिएन
मलाई गाली गर्ने बाबा मसँग थिएन
मलाई हौसला दिने बाबा मसँग थिएन
मलाई नाना, पापा, चाचा ल्याइदिने बाबा मसँग थिएन ।

साँच्चै आज पनि ती हर कुराहरु कल्पना गर्छु
सायद हाम्रो बाबा हामीसँग भैदिएको भए !
कति भाग्यमानीमा गनिन्थ्यौ होला हामी
हाम्रो आमाको दुःखमा साथ र हौसला मिल्थ्यो होला
मेरो भाइहरुको आधार भैदिनु हुन्थ्यो होला ।

बाबा !
हामीलाई छाडेर त्यो ताराहरुमा बिलिन हुनुभयो
गहिरो चोट अनि आलो घाउ छाडेर जानूभयो !
यो मनमा लागेका घाउ जति गर्दा पनि निको भएन
सायद मलम पट्टि पनि हजुरसँगै पुगेछ !

बाबा !
छोरी सधैं बाबाकी प्यारी हुन्छिन् रे
म हजुरको प्यारी बन्न सकिन
के हाम्रो माया हजुरलाई लागेन ?
किन हामीलाई टुहुरा बनाई जानूभयो ?
अस्ताएको घामझैं बिलिन हुनुभयो
किन बाबा ? यति धेरै पीडा छोडि जानूभयो ।

आज हामी आफ्नो पौरखमा बाचेका छौं
दुई छाक खाना र दुई सरो राम्रै लगाएका छौं !
तर, पनि यी मन र आँखाले हजुरलाई नै खोज्दो रैछ
हजुरको माया खड्किदो रैछ
सबै कुरा पाएर पनि अधुरो र अपुरो छौं
टुहुरो भएका छौं हजुर बिना बाबा !!

तपाईको प्रतिक्रिया

पत्रपत्रिका