राष्ट्रकवि घिमिरेको पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानसहित अन्त्येष्टि

सैलुङअनलाइन संवाददाता
काठमाडाैं

स्वर्गीय राष्ट्रकवि माधवप्रसाद घिमिरेको आज पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिएको छ । घिमिरेलाई नेपाली सेना तथा सशस्त्र प्रहरीको टुकडीले सलामी अपर्ण गरेका थिए ।

पार्थिव शरीर नेपाली सेनाको सवारीमार्फत् आर्यघाट पुर्याइएको थियो । घिमिरे नेपाली सेनाका मानार्थ सहायक रथीसमेत रहेका थिए । मानार्थ सहायक रथी घिमिरेको सम्मानमा सेनाका अधिकृत नेतृत्वको टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।

आर्यघाटमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, पूर्वरक्षामन्त्री भीमसेनदास प्रधान, उच्च सैनिक अधिकृत, साहित्यकार, कलाकारलगायतले पनि राष्ट्रकविप्रति श्रद्धाञ्जलि अर्पण गरेका थिए ।

घिमिरेको पार्थिव शरीरमा छोराहरु इन्दिवर र राजीव घिमिरेले मुखाग्नि अर्पण गर्नुभएका थिए । यसअघि उहाँको निवास लैनचौर, अलकापुरी पुगी दिवङ्गत घिमिरेप्रति उपप्रधानमन्त्री ईश्वर पोखरेल, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, नेता अर्जुननरसिंह केसी, नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीलगायतले श्रद्धाञ्जलि व्यक्त गरेका थिए ।


कविवर घिमिरेको मङ्गलबार साँझ १०१ वर्षका उमेरमा निधन भएको थियो ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका