सिन्धुपाल्चोकका २४२ बस्ती तुरुन्तै सुरक्षित स्थानान्तरण गर्न माग   

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
सिन्धुपाल्चोक

सिन्धुपाल्चोकका जनप्रतिनिधिले बाढीपहिरो पीडित र जोखिममा रहेका बस्तीलाई तुरुन्तै सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकारसँग माग गरेका छन् । बिहीबार सदरमुकाम चौतारामा बसेको प्राकृतिक विपद्का कारण जोखिममा रहेका बस्तीको पहिचान र स्थानान्तरणसम्बन्धी समन्वय बैठकमा उनीहरुले बस्ती स्थानान्तरणसँगै जीविकोपार्जनतर्फ पनि ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।

सिन्धुपाल्चोकमा जिल्ला पुर्ननिर्माण प्राधिकरणका प्राविधिकको अध्ययन तथा सर्वेक्षण अनुसार २४२ बस्ती बाढीपहिरोको जोखिममा रहेको जिल्ला विपद् समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङले जानकारी दिएका थिए ।

तथ्याङ्क अनुसार गाउँपालिकाहरुमा भोटेकोशीमा ४९, बलेफीमा १४, लिसंखुपाखरमा १०, सुनकोशीमा १, हेलम्बुमा ३४, इन्द्रावतीमा १९, जुगलमा ३३, मेलम्चीमा १९, पाँचपोखरी थाङ्पालमा ३२ र त्रिपुरामा ४ र नगरपालिकाहरुमा बाह्रबिसेमा २३ र चौतारा साँगाचोकगढीमा ४ रहेका छन् ।

तीमध्ये ७१ बस्ती रेड, ७५ बस्ती एल्लो र ७६ बस्ती ग्रिन जोनमा रहेको बताइएको छ । अतिजोखिममा रहेका जुगल र बाह्रबिसेका केहि बस्तीलाई तत्काल अस्थायी रुपमा स्थानान्तरण गरिने प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताएका छन् । अधिकारीका अनुसार जुगल गाउँपालिकाका लिदी, नाम्फा र बोल्देलाई तत्काल अस्थायी रुपमा स्थानान्तरण गरिने छन् । त्यस्तै बाह्रबिसे गाउँपालिकाको ६५ परिवार रहेको बस्तीलाई पनि अस्थायी रुपमा स्थानान्तरण गर्न लागिएको बैठकमा जानकारी दिए ।


बैठकमा पूर्वमन्त्री शेरबहादुर तामाङले उच्च जोखिममा रहेका असुरक्षित बस्तीहरु तुरुन्त स्थानान्तरण गर्न सरकार र पुनःनिर्माण प्राधिकरणलाई आग्रह गरे । सांसद तामाङले भने, ‘ढिला गर्दा अझै क्षति हुने भएकाले जनताको सुरक्षामा ध्यान जाओस् ।’

बैठकमा प्रदेशसभा सदस्य निमा लामा, मेलम्चीका प्रमुख डम्बर अर्याल, जुगल गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठ, इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङलगायतले सुरक्षित स्थानमा बस्ती स्थानान्तरण गर्नु पर्नेमा जोड दिएका थिए ।

बाढीपहिराको उच्च चपेटामा परेको सिन्धुपाल्चोकमा साउन यता मात्रै ७८ भन्दा बढी मानिसको मृत्यु भइसकेको छ । कैयौँ मानिस घरबार बिहीन बनेका छन् ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका