काशीमा माधव घिमिरेको शोकमा सभा

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
वाराणसी

कवि माधवप्रसाद घिमिरेको निधनमा काशी हिन्दू विश्वविद्यालयको भारतीय भाषा विभागमा आज अनलाइन शोकसभा भयो । गुगलमिटको माध्यमबाट विभागाध्यक्ष प्रो. दिवाकर प्रधानको संयोजकत्वमा भएको उक्त सभामा दुई तमिलभाषी गुरु, शोधार्थी, विद्यार्थीका साथै भूतपूर्व विद्यार्थी र शोधार्थीहरूले भाग लिएका थिए ।

विद्यार्थी अभिषेक कोइरालाले कवि घिमिरेरचित ‘राजेश्वरी’ काव्यबाट तीन पद र ‘यात्री’ कविताबाट दुई पद वाचन गरेबाट सभा आरम्भ भयो । सहभागीहरूले घिमिरेको व्यक्तित्व र कृतित्वबारे परिचर्चाअन्तर्गत उनका रचनामा व्यक्त भावले सार्वजनिक र सार्वभौमिक चिन्तनलाई समेट्नसकेको निर्क्यौल गरे । सभामा घिमिरे क्विन्स कलेज पढेका हुनाले काशीका भूतपूर्व विद्यार्थी हुन् भन्ने विषयको उठान भयो । दर्शनका विद्यार्थी भएर पनि उनका कवितामा व्यक्त दर्शनले पद्यात्मक कोमलतालाई अतिक्रमण नगरेको चर्चा क्रममा नवमञ्जरीघामपानीनयाँ नेपालकिन्नर-किन्नरी जस्ता कविता र गीतसङ्ग्रह, गौरी, राजेश्वरी, इन्द्रकुमारी, राष्ट्रनिर्माता काव्य अनि चारुचर्चाआफ्नै बाँसुरी आफ्नै गीत निबन्ध सङ्ग्रहलाई सम्झना गरियो ।

सभाध्यक्षले १०१ वर्ष आयु पाएका घिमिरेलाई स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैलीका कुशल कवि र गीतकार हुनाका साथै उनका गद्यले ‘गद्यं कविनां निकषं वदन्ति’ अर्थात् कवित्वको निकष (कसी) उसको गद्य हुँदछ भन्ने उक्तिलाई चरितार्थ पारेको कुरा गरे । प्रतिभागीहरू अन्य भाषीहरू पनि हुनाले अनि विभागको औपचारिक सभा भएको हुनाले अङ्ग्रेजीलाई सूत्र भाषाको रूपमा प्रयोग गरी सभा आयोजन गर्नुपरेको थियो ।

अङ्ग्रेजी भाषामा राखिएको शोक प्रस्तावमा घिमिरेलाई अघिल्लो पिँढीका अन्तिम कवि भनी उल्लेख गरिएको थियो भने सदस्यहरूले दुई मिनटको मौन धारण गरीकन प्रस्तावलाई अनुमोदन गरे । तब अध्यक्षले हस्ताक्षर गरीकन उक्त प्रस्तावको प्रतिलिपि दिवङ्गत कविको परिवारकहाँ पठाइयो ।


 

तपाईको प्रतिक्रिया