सुरु भयो पाँचाैं तामाङ ज्ञान महोत्सव

भर्च्युअल माध्यमबाट तीन दिनसम्म तामाङ ज्ञानमाथि बहस

सैलुङअनलाइन संवाददाता
काठमाडाैं

पाँचाैं तामाङ ज्ञान महोत्सव शनिबार प्रारम्भ भएको छ । भर्च्युअल माध्यमबाट तीन दिनसम्म चल्ने महोत्सवको उद्घाटन सत्रमा प्रा.डा. महेन्द्र पी. लामाले भारतीय गोर्खाहरुलाई सिङ्गो भारतीय जातजातिसँग होडबाजी गर्नका लागि ठूलो राष्ट्र भारत र त्यहाँका अलग राष्ट्र प्रणालीले नै सग्लो गोर्खा जातिको रुपमा उभ्याइएको बताए ।

‘सग्लो गोर्खा जाति एकत्रित भएर लडेकै कारण आज सबै भारतीय गोर्खाहरुले फल्ने, फुल्ने मौका पाएका छौं ।’ प्रा.डा. लामाले भने, ‘यहाँ राई, लिम्बू, गुरुङ, क्षेत्री, बाहुन, कामी, दमाई सबै एक ठाउँमा एकत्रित भएर बस्छौं । नेपालमा जुन रुपमा दलितहरुमाथि छुवाछुत गरिन्छ, भेदभाव गरिन्छ, हेयाको दृष्टिले हेरिन्छ भन्ने सुन्छु, पढ्छु, त्यो भारतीय गोर्खा समाजभित्र वपन छैन र अरुले हामीमाथि त्यस्तो हिंसा र अपमान गर्छ भने पनि त्यसको विरुद्धमा हामी डटेर लड्छौं ।’

मुख्य वक्ताको रुपमा महोत्सवको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा लामाले अधिकारको लागि एकढिक्क भएर लड्नुपर्ने बताउँदै विश्वविद्यालयको डिग्रीले भन्दा बाहिरी ज्ञानले विज्ञ बनाउने कुरा पनि बताए । सोही क्रममा उनले अब तामाङले ज्ञानको व्यापार गर्नुपर्ने पनि सुझाएका छन् ।

त्यसैगरी उद्घाटन समारोहका सत्राध्यक्ष जापानका लागि पूर्वराजदूत डा. गणेश योन्जनले नेपालका तामाङ राष्ट्रले आफ्ना गुमाएका पहिचान, इतिहास, सभ्यता, भाषा र संस्कृति सबै सबैको पुर्नप्राप्तिका लागि एउटा नयाँ राजनीतिक धार, एउटा नयाँ राजनीतिक शक्ति निर्माण गर्नुको विकल्प नरहेको बताउँदै राजनीतिलाई अलग राखेर तपशिलका कुराहरुमा तामाङहरु अल्झियौं भने फेरि पनि अहिलेका तामाङहरुले त भोग्यौं भोग्यौं भावि पुस्ताका तामाङ सन्ततिले पनि पचासौं वर्षसम्म त्यो पिडालाई भोग्न बाध्य हुने बताए । योन्जनले भने, ‘त्यसका लागि तामाङहरुको ऐक्यवद्धता, तामाङहरुको परिकल्पना र सपना निर्माण गरे हामी अगाडि बढ्नु पर्छ ।’

कार्यक्रममा नेपाल प्रज्ञा-प्रतिष्ठान मातृभाषा साहित्य विभाग प्रमुख प्राज्ञ लक्ष्मी मालीले आदिवासी जनजातिहरुले आफ्नो बालबालिकाहरुलाई आफ्नो मातृभाषा सानैदेखि सिकाउनुपर्ने बताइन् । ‘भाषा बाँचे मात्र संस्कृति बाँँच्छ’, उनले भनिन, ‘हाम्रो संस्कृति ज्ञान, कलाको ज्ञान हाम्रो भाषासँग जोडिएको छ । प्राकृतिक ज्ञानालाई बचाउँन भाषा बचाउन आवश्यक छ ।’

उद्घाटन सत्रलाई सम्बोधन गर्दे अन्तर्राष्ट्रिय तामाङ परिषद्का वरिष्ठ उपाध्यक्ष टासी लामाले तामाङ ज्ञानको अन्तराष्ट्रियकरण गर्दै गर्दा तामाङ ज्ञान महोत्सवको योगदान महात्वपूर्ण हुने बताए । उनले राजनीतिक पहुँच कमजोर हुँदै जाँदा तामाङको ज्ञान पनि जोखिममा पर्दै गएको बताउँदै तामाङ संस्कार र संस्कृतिको खोजी, मौलिक ज्ञान र सभ्यताको खोजी गर्न यस खालको महोत्सवहरुको आवश्यक रहेने पनि औल्याए ।
उद्घाटन सत्रको समापन लगतै शुरु भएको पहिलो दिनको पहिलो कार्यपत्र प्रस्तुती सत्राध्यक्ष शिक्षाविद् एवं भाषा आयोगका उपसचिव आयोगका डा. लोकबहादुर लोप्चनले गरेका थिए ।

उक्त सत्रमा तामाङ भाषा र साहित्यका सन्दर्भमा दश कार्यपत्र प्रस्तुत भएका थिए । जसमा डा. बालकृष्ण बलले ‘तामाङ-नेपाली यान्त्रिक अनुवादको प्रणाली र चुनौती’, समीरा श्रेष्ठले ‘द एशिया फाउन्डेसनमा तामाङ बालसाहित्य’, तारामणि राईलें, ‘तामाङ र किराती भाषामा लैङ्गिक व्यवस्थाको प्रकार्यपरक अध्ययन’ शिर्षकका कार्यपत्र प्रस्तुत गरेका थिए ।

यसैगरी नेपाल सरकारका पूर्वसचिव धनबहादुर तामाङले ‘तामाङ भाषाको ध्वनि (टोन) : चुनौती, अवसर, जोखिम तथा सम्भावनाहरू’, रमेश तामाङले ‘तामाङ भाषामा शिक्षा, चुनौती र सम्भावना’, टिका भट्टराईले ‘तामाङ भाषा शिक्षामा हस्तक्षेप’, सोनाम एम. लामा, ‘भाषाले जोगाएको पहिचान’, डा.कुमारी लामाले ‘कवितामा तामाङ पहिचान’, कमला तामाङले ‘भारतीय नेपाली साहित्यमा तामाङ सर्जकहरु’, भाषाशास्त्री अमृत योन्जन-तामाङले ‘सरकारी कामकाजको भाषाको रूपमा तामाङ भाषा : ‘दावीपत्र’ र ‘तामाङ ग्रन्थकोश’ (तेस्रो संस्करण) प्रस्तुत गरेका थिए ।

कार्यक्रमको दोस्रो सत्रमा ‘तामाङ विकासका मोडल र कार्यान्वयनको पक्ष’ विषयमा छलफल भएको थियो । डा. शुरेस तामाङले संचालन गरेको विषय केन्द्रीत बहसमा कार्यक्रममा विषयविज्ञहरु डा. मुक्तसिंह लामा, डा. संग्रामसिंह लामा, शासनविज्ञ बुद्धि तामाङ, इन्द्रसरोबर गाउँपालिकाका अध्यक्ष जीवन तामाङ, बाह्रबिसे नगरपालिकाका उपमेयर सुशिला पाख्रिन, रुबीभ्याली गाउँपालिकाका प्रशासकीय अधिकृत टंकबहादुर नेगीले आ-आफ्ना विचार प्रस्तुत गरेका थिए ।

८८ औं तामाङ पहिचान दिवसको अवसरमा तामाङ न्हाङखोर, तामाङ डाजाङ र कर्तव्य फाउण्डेसनले आयोजना गरेका तीन दिने तामाङ ज्ञान महोत्सवमा विविध विषयमा ३० वटा कार्यपत्र प्रस्तुत हुनेछन् ।

तपाईको प्रतिक्रिया