हत्यारा

हेटौंडा

यी हत्याराहरूले
मारिरहेछन् मलाई
वर्षौ वर्षदेखि ।

कथित विद्वानहरू
मौनताको सितनसँग
मेरो रगत मिसिएको ब्राण्डेड
ह्वस्की पिइरहेका थिए
आँखै अगाडि
टुपीले बाँधेर यो थेप्चो नाकमा
झुण्ड्याएर मार्दा पनि मलाई ।

प्रिय देश !
तिम्रो इज्जत बोकेको
एउटा इमान्दार सिपाही
जीवनमा कति पटक मर्छ हँ ?
मलाई त पटकपटक मारिसके
यी हत्याराहरूले ।

उहिल्यै मारेको हो मलाई
आन्द्राको सुकुटी बनाएर
भूगोलको नाममा
पहिलो पटक ।

यी हत्याराहरूले
मेरो शीरको टोपी जलाएर
संस्कृतिको नाममा
दोस्रो पटक मारेको हो मलाई ।

तेस्रो पटक
धर्मको नाममा मन्दिर अघिल्तिर
सयौँ कोर्राले हिर्काएर मारेको हो मलाई ।

ब्रह्मसूत्रले घाँटी कसेर
चौथो पटक मारेको हो मलाई
जातको नाममा ।

राज्यको प्रत्येक निकायले
पाँचौँ
छैठौँ
सातौँ
आठौँ
नवौँ
दसौँ पटक
मारेको हो मलाई
भाषाको नाममा ।

प्रिय देश !
तिमी किन केही बोल्दैनौ ?

यी हत्याराहरूले मार्दामार्दै
मेरा पुर्खाहरू पनि
तिम्रो मायालु ख्याउटे
अनुहार हेरेर मरेर गए ।

मेरी सुत्केरी नानालाई
अलिकति दया पनि नराखी
सतित्व नष्ट गरेर मारे यिनीहरूले ।

मेरो ज्योज्योलाई
रातो किताब पढ्दापढ्दै
विभत्सपूर्ण हत्या गरेर मारे यिनीहरूले ।

मेरो आस्याङलाई
सेलो गाउँदा गाउँदै मारे
मेरी आङीलाई
डम्फू बजाउँदा बजाउँदै मारे ।

प्रिय देश !
यी हत्याराहरूको हातबाट
के बाँचुञ्जेल मर्नु पर्ने हो ?

तपाईको प्रतिक्रिया