आनन्दवन अस्पतालबाट पनि कोरोनाको पिसीआर परीक्षण

प्रकाश थिङ संवाददाता
ललितपुर

गोदावरी नगरपालिकास्थित आनन्दवन अस्पतालमा आइतबारदेखि पीसिआर परीक्षण सुरु गरेको छ । बाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले अस्पताल परिसरमा निर्माण गरिएको नयाँ पिसीआर प्रयोगशालाको एक कार्यक्रमका बीच उद्घाटन गरी सुरु गरेका हुन् ।

बाग्मती प्रदेशमन्त्री युवराज दुलालले यो प्रयोगशाला १२ औं प्रयोगशाला रहेको र आगामी दिनहरुमा पनि आवश्यक मात्रामा अरु प्रयोगशालाहरु वृद्धि गर्ने कार्य भइरहेको जानकारी दिए । अहिले सरकार लगायत सबै क्षेत्रको साझा प्रतिबद्धता माहामारी उन्मुलन गर्नु नै आजको आवश्यकत रहेको भन्दै यस्ता स्वास्थ्य सम्बन्धी संकट र प्राकृतिक विपत्तिहरु सधैंका लागि नहुने बताए । यसको निवरणका लागि हामी सबैले आ आफ्नो क्षेत्रमा सतर्क रहँदै दायित्त्व निर्वाह गर्नु आजको आवश्यकता रहेको मन्त्री दुलालले बताए ।

पछिल्लो समय कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या वृद्धि भईरहेको र परीक्षण गराएकाहरुको पनि समयमा रिपोर्ट नआउने समस्या बढिरहेको समयमा अस्पतालमा ल्याब स्थापना भएको छ । यो सेवाबाट दक्षिण ललितपुरका ३ वटै गाउँपालिका र मकवानपुरका उतरी गाउँपालिकाको जनताले समेत लाभ लिनसक्ने अस्पतालले जनाएको छ।

परीक्षणपछि भेटिएका विरामीको लागि अस्पतालको तालिम केन्द्रमा तत्कालका लागि १५ शैय्याको आईसोलेसन बेड निर्माण गर्ने तयारी भईरहेको पनि अस्पतालले जनाएको छ।


यसैगरी लेप्रोसी मिसनका नेपालका कन्ट्री डाईरेक्टर डा शोभाकर कँडेलले समय अनुरुप कुष्ठरोगको विरुद्ध काम गर्दै आएको लेप्रोसी मिसन नेपाल आनन्दवन अस्पतालले कोभिड–१९ को निवारणका लागि भूमिका खेल्ने बताए । उनले अस्पतालका सबै स्टाफ तथा प्राविधिकको विगत ६ महिनादेखिको अथक मेहनतका साथ ल्याब स्थापना गर्न सफल भएको बताए । यसबाट समाजमा चेतना फैलाउन र जनतालाई कोरोनाको विषयमा सुसुचित गराउन स्थानीय जनप्रतिनिधि र पत्रकार मार्फत आमसमुदायमा सुचना पुर्याउन अनुरोध गरेका छन् । कोरोना भाइरस रोकथाम गर्नको लागि समेत आफूहरु प्रतिबद्धताका साथ सक्रिय हुने डा कँडेलले बताए ।

यसैगरी अस्पतालका डा. सन्तोष दुलालले धेरै मेहनत र संघर्षबाट कोभिड–१९ को प्रयोगशालाको छिटै नयाँ संरचना तयार गरी सरकारी निकायबाट मान्यता प्राप्त गरिसकेको र आगामी दिनहरुमा कोरोना परीक्षण तथा निदानको लागि नेपाल सरकारको मापदण्ड बमोजिम कोरोनाको परीक्षण गरिने जानकारी गराए ।

तपाईको प्रतिक्रिया