बस्तीमाथिको ढुङ्गाले ३५ घर जोखिममा

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
नुवाकोट

नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङ्फेदीको नेगीगाउँमा बस्तीमाथिको ठूलो ढुङ्गाले ३५ परिवार जोखिममा परेको छ । गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङका अनुसार पाँच वर्षअघि गएको भूकम्पको समयमा डगमगाएको ढुङ्गा अहिलेको बर्सात्ले बग्न थालेपछि नेगीगाउँ जोखिममा परेको हो ।

बस्तीभन्दा माथि पर्ने डाँडामा रहेको दुईतले घरभन्दा ठूलो आकारको ढुङ्गाले आफ्नो सतह छाडेर बग्न थालेपछि गाउँपालिकास्तरीय विपद् व्यावस्थापन समितिले ढुङ्गा हटाउन जिल्ला विपद् व्यवस्थापन समितिलाई अनुरोध गरेको छ । ‘ढुङ्गाको आकार निकै ठूलो भएकाले विस्फोट गराई हटाउनुपर्ने र त्यसका लागि नेपाली सेनामार्फत तत्कालै हटाउन आवश्यक रहेको’ भनी जिल्ला विपद् व्यवस्थापन समितिलाई पत्राचार गरिएको गाउँपालिका अध्यक्ष तामाङले जानकारी दिए ।

भूकम्पको कम्पनले माथिबाट ढुङ्गा र सुक्खा पहिरो जान सक्ने भन्दै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्राविधिक अध्ययन टोलीले तयार गरेको प्रतिवेदनमा समेत नेगीगाउँलाई जोखिम बस्तीका रूपमा समावेश गरेको थियो ।

तपाईको प्रतिक्रिया