साउदीमा ९२ प्रतिशत कोरोना निको,२२ हजार संक्रमितको उपचार हुँदै

सोमबार २ हजार ७४५ जना कोरोना संक्रमित निको

नवराज तामाङ
नवराज तामाङ संवाददाता
साउदी अरेबिया

साउदी अरेबियामा कोरोना भाइरस (कोभिड-१९) संक्रमित झन्डै ९२ प्रतिशत उपचारपछि निको भएको छ । यसै क्रममा सोमबार दुई गुणाभन्दा धेरै अर्थात २ हजार ७ ४५ जना उपचारपछि घर फर्किएका छन् ।

उक्त संख्यामा उपचारपछि निको भएको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.मोहम्मद अल अब्दुलीले बताए । उनका अनुसार साउदीमा कोरोना भाइरस संक्रमित दुई लाख ८२ हजार ८८८ जना उपचारपछि निको भैसकेका छन् ।

त्यसैगरी साउदीमा कुल कोरोना भाइरसबाट हालसम्म तीन लाख ८ हजार ६५४ जना संक्रमित भएको प्रवक्ता डा.अब्दुलीले जानकारी दिए । उनका अनुसार तीमध्ये सोमबार १ हजार १७५ जना कोरोना नयाँ संक्रमित थपिएका हुन् ।

गत मार्च २ तारीखबाट शुरु भएको कोरोना कहर साउदीमा पछिल्ला दिन घट्ने क्रम जारी छ । अब यहाँका अस्पतालहरुमा प्रवक्ता डा.अब्दुलीका भनाइ अनुसार २२ हजार ७५ जना कोरोना संक्रमित उपचाररत छन् । अझै १ हजार ६३५ जना संक्रमितहरुको अवस्था भने गम्भीर रहेको प्रवक्ता बताउँछन् ।


यहाँ सोमबार ४२ जना कोरोना संक्रमितको उपचारका क्रममा निधन भएको प्रवक्ता डा.अब्दुलीले जानकारी दिए । उनका अनुसार कोरोनाबाट कुल मृत्यु हुनेको संख्या ३ हजार ६९१ छन् । यसअघि शुक्रबारदेखि घटेको मृत्युदर पुनः सोमबार भनेको बढेको छ ।

सोमबारको अपडेट अनुसार नयाँ संक्रमितभन्दा उपचारपछि निको हुनेको संख्या १ हजार ५७० जना बढी रहेका छन् ।

यहाँ कोरोनाको संकेत देखिएमा स्वास्थ मन्त्रालयको टोल फ्री नम्बर ९३७ मा फोन गर्नसक्ने प्रवक्ता डा. अब्दुलालीले बताए । ‘ We are all responsible ’ भन्ने नारालाई आत्मसात गरी कोभीड-१९ रोकथामका लागि सरकारले गरेका प्रयासलाई सबैले सहयोग गर्न प्रवक्ता डा.अब्दुलालीले आग्रह गरे ।

तपाईको प्रतिक्रिया