ज्ञान सर्वत्र छ, ज्ञानकै व्यापार गरौं

प्रा.डा. महेन्द्र पी. लामा जवाहरलाल नेहरु विश्वविद्यालय
डिल्ली, भारत

फ्याफुल्ला (नमस्कार) ! यहाँहरु सबै सबैलाई । यहाँहरु सबै सबैमा परिवारजन, साथीभाइ र गाउँघर समेतमा सुस्वास्थ्यको कामना राख्न चाहन्छु ।

सर्वप्रथम पाँचौ तामाङ ज्ञान महोत्सवमा मलाई निम्तो दिनु भएकोमा तपाईहरु सबै सबैलाई धन्यवाद ! सरदार बहादुर सुबेदार मेजर जंगवीर लामाले गर्नु भएका सबै अति राम्रा कार्यहरुलाई याद गर्दै उहाँप्रति पनि श्रद्र्धाञ्जली अर्पण गर्न चाहन्छु ।

अमृत योन्जनज्यू, निश्नुज्यू, आजका यस सत्रका अध्यक्ष महोदय डा. गणेश योन्जनज्यू, प्राज्ञ लाक्ष्मी मालीज्यू, टाशी लामाज्यू अनि मेरो पुराना साथी डा. मुक्तसिंह लामाज्यू र कार्यक्रम संचालिका बहिनी सन्चु ब्लोनज्यू । तपाईंहरु सबैसबैलाई अनि अन्य जति पनि आजका अति नै वरिष्ठ अतिथिहरु हुनुहुन्छ देश विदेश सबैमा, उहाँहरुमा पनि फ्याफुला भन्दै मेरा केहि शब्दहरु राख्न समय माग्छु ।

म पनि एउटा भारतीय पहिला गोर्खा त्यसभित्रका पनि तामाङ भएको हुनाले भारतमा बसेर के देखेँ, गोर्खा जातिको बारेमा, तामाङ सन्तानको बारेमा त्यो म तपाईंहरुलाई एक दुईवटा कुरा भन्न चाहन्छु । म आफैँले महशुस गरेका कुराहरु, अनुभव गरेका कुराहरु भन्न चाहन्छु ।


हामी भारतमा बस्ने गोर्खा अनि तामाङ सन्तानमा र तपाईंहरु नेपालमा बस्ने नेपाली अनि तामाङ सन्तान बीचमा ऐतिहासिक, राजनीतिक र सांस्कृतिक कारणले गर्दा पनि धेरै फरक कुराहरु पाईंदो रहेछ । तपाईंहरु एउटा राष्ट्रमा बस्नु हुन्छ, राष्ट्रभित्र नेपालीहरु बस्छन् अनि नेपालीमा पनि तामाङ, राई, लिम्बू, गुरुङ, क्षेत्री, बाहुन, दलित सबै सबैभित्र नै होडबाजी हुँदोरहेछ । त्यो होडबाजीमा कस्ले कहाँ के गर्ने भनेपछि त्यहाँ विभिन्न जात गोष्ठीको सम्वद्र्धन, आकांक्षा र चिनारी (पहिचान)को कुरो हुँदो रहेछ । यता भारतमा हामी पहिला भारतीय हौं, त्यसपछि गोर्खा, त्यसपछि तामाङ, राई, लिम्बू, क्षेत्री, बाहुन आदि हौं । देशमा हाम्रो तीन स्तरीय अस्तित्व र पहिचान हुन्छ । पहिले हामी भारतीय हौं त्यसपछि गोर्खा र त्यसपछि मात्र तामाङ, राई, लिम्बू, मगर, क्षेत्री-बाहुन आदि हौं । यो सबैको लागि हो । जस्तो, तेलङ्गनामा हेर्ने हो भने पहिले उनीहरु भारतीय हुन्, त्यसपछि उनीहरु तेलगु, त्यसपछि राओर, सुनिबासहरु हुन् । बंगालमा हेर्ने हो भने पहिले उनीहरु भारतीय हुन्, त्यसपछि बंगाली अनि चाटर्जी, ब्यानर्जी, दास अरु अरु ।

भारतमा नेपालमा जस्तै नेपाली नेपालीभित्र होजबाजी हुने नभएर हामी एउटा सग्लो गोर्खा जाति र अन्य भारतीय जातजातिहरुसँग होडबाजी गर्नु पर्दो रहेछ । राष्ट्र ठूलो भएको कारणले गर्दा, राष्ट्रको प्रणाली अलग भएको कारणले गर्दा र होडबाजी गर्ने स्थान पनि व्यापक हुनाले हामी भारतीय गोर्खाहरुले भारतमा बसेर तेलगु, मराठी, आसमिस, पंजावीहरु अरु धेरै भारतीय जातजातिहरुसँग होडबाजी गर्नु पर्दोरहेछ । होडबाजी गर्न गोर्खाहरु एक हुनु पर्दोरहेछ । यहाँ खालि म एक तामाङ हुँ भनेर, बाहुन हुँ भनेर होडबाजी गर्न मिल्दैन पनि रहेछ र सकिँदैन पनि रहेछ । संविधानको बनोट नै यस्तै रहेछ यो देशको ।

यो होजबाजीमा हामीले के केलाई छुने, कहाँ कहाँ कस्तो कुरालाई चलाउने भन्ने कुरा हेर्दाखेरि हाम्रो लागि सबैभन्दा पहिलो होडबाजी गर्ने कुरो भनेको प्रजातन्त्र नै रहेछ । प्रजातन्त्रकै नाममा होडबाजी गर्नु पर्दो रहेछ, त्यसपछि शिक्षा क्षेत्रमा होडबाजी गर्नु पर्दोरहेछ । बंगाली, मराठी, तेलगु कोही त दश, बाह्र पुस्ता पढिसकेका, शिक्षा हासिल गरिसकेका जाति हुन् । हामी गोर्खाहरु ज्यादा भन्दा ज्यादा दोस्रो पिढीँका हौं । मेरो बाजे अशिक्षित हुनुहुन्थ्यो । मेरो आपा (बुबा)लाई उहाँले शिक्षित बनाउनु भयो, त्यसपछि हामी शिक्षित भयौं, त्यसपछि मेरा नानी छोरीहरु शिक्षित भए । हामी दुई पिढीँ शिक्षित र बंगाली बाह्र पिढीँ शिक्षित, महाराष्ट्रियनहरु दश पिढीँ शिक्षित । उनीहरुसित होडबाजी गर्नु पर्यो। बाह्र पिढीँ तल रहेर, दश पिढीँ तल रहेर होडबाजी गर्न एकत्रित भएर, पुरा तागत लगाएर, पुरा बल लगाएर, सम्पूर्ण आत्मा अभिमान लगाएर होडबाजी गर्नु पर्दो रहेछ ।

होडबाजी गर्ने संस्थाहरु छन् देशमा- संसद, मंत्रालयदेखि लिएर यूनियन पब्लिक सर्भिस अफ कमिशन जहाँबाट यूपीएस, आईपीएस छान्छन् देखि लिएर विश्वविद्यालसम्म होडबाजी गर्नु पर्दोरहेछ । त्यसका लागि भारतीय गोर्खाहरु एक हुनु पर्दोरहेछ ।

भारतीय गोर्खाहरुलाई अनुसूचीत जातिको रुपमा मान्यता दियो । यो यीनै संस्थाले दिएको हो । यो कुरो संविधानले नै दिएको हो । त्यसकारण यहीभित्र रहेर नै होडबाजी गर्नु पर्दोरहेछ ।

आजु हामी भारतमा हाम्रो छुट्टै राज्य हुनु पर्छ भनेर लड्दै छौं । हामीले नेपाली भाषाले संवैधानिक मान्यता पाउनु पर्छ भनेर झण्डै पचास वर्षको जो लडाईं लड्यौं, यसले संवैधानिक मान्यता पायौं । आजु हाम्रो नेपाली भाषा पनि बंगाली, मराठी, तमिल भाषा सरह काँधमा काँध मिलाएर अगाडि बढ्न सक्छौं । भारतीय कुनै पनि नोटमा हेर्नु भयो भारतीय संविधानमा व्यवस्था भएका सबैसबै भाषामा एक सय रुपैयाँ, दश रुपैयाँ भनेर लेखिएको हुन्छ । त्यसमा हामी गर्वकासाथ भन्न सक्छौं हाम्रो नेपाली भाषामा पनि लेखिएको हुन्छ भनेर ।

हामीले एकत्रित भएर लड्दाखेरि यसको नतिजा के भायो त ? तपाईं हामी सामु एउटा ठूलो प्रश्न उठ्छ । तपाईंहरुले सोच्नु हुन्छ होला यस नतिजा, यस होजबाजीको लडाईंमा गुरुङ, तामाङ, राई, लिम्बू जस्ता जातिहरु पछाडि होला भनेर । नेपालमा जस्तै क्षेत्री बाहुनहरु भारतमा पनि अगाडिए होला भनेर तपाईंहरुलाई लाग्छ होला । भारतीय गोर्खा समाजमा त्यस्तो भएन । सबैले फल्ने मौका पाए, फुल्ने मौका पाए । यो देशमा समावेशी जो संस्कार अघि आयो त्यसमा राई, लिम्बू, तामाङ, क्षेत्री, बाहुन, कामी, दमाई सबै एकत्रित भएर एकै ठाउँमा बसे । नेपालमा जस्तै दलितहरुका छुवाछुत गरिन्छ, हेयको दृष्टिले हेरिन्छ भन्ने जो देख्छु, पढ्छु, सुन्छु त्यस्तो हाम्रो राष्ट्रमा अनि हामी गोर्खाहरुभित्र पनि छैन र गोर्खामाथि त्यस्तो हिंसा र अपमान गरिएको छ भने त्यस विरुद्ध हामी डटेर लड्छौं । त्यही कारण तपाईंले हेर्नु भयो भने भारतमा जो कन्स्टिच्युयन्ट एशेम्ब्ली (संवैधानिक संस्था) बन्यो त्यसमा पनि भारतका गोर्खाहरु परे । त्यसमा हरिबहादुर गुरुङ र डम्बरसिंह गुरुङहरु परे भोटेमा हेर्नुभयो भने निडेन्ला साबहरु निक्कै माथि पुगेर आफ्नो पुरा सेवा दिएर जानुभयो । रुपनारायण सिन्हाहरु त्यस्तै स्थानमा पुग्नुभयो ।

राजनीतिमा हेर्ने हो भने कामी, दमाई, क्षेत्री, बाहुन, राई, लिम्बू सबै खेदर मुनिमदेखि लिएर मायादेवी क्षेत्री अनि रतनलाल ब्राम्हणसम्म निक्कै माथि पुग्नुभएको छ । खेदर मनिमज्यू जो कामी या दमाई हुनुहुन्थ्यो उहाँ भारतीय राष्ट्रिय कंग्रेसको मूलमन्त्री हुनुहुन्थ्यो सन् १९६० को दशकमा । तिनताका उहाँ प्रधानमन्त्री पण्डीत नेहरुको दाहिने हात भनेर भनिन्थ्यो । उहाँ पनि गोर्खा हुनुहुन्थ्यो, उहाँ दलित समुदायबाट आउनु भएको थियो ।
एल.बी. सेवा भारतीय पुलिसको कहाँ माथि पुग्नु भयो । तामाङहरुमा हर्नु भयो भने अर्जुन स्याङदान पश्चिम बंगालमा प्रिन्सिपल चिफ कन्जरभेटर अफ फोरेस्ट भएर रिटायर्ड हुनुभयो । मोक्तान चाउ बंगाल सरकारको आइजीपी (इन्पेक्टर जनरल अफ पुलिस) भएर रिटायर्ड हुनुभयो । रामकृष्णा शर्मा हाइकोर्टको जर्ज भएर रिटायर्ड हुनुभयो ।

अब म तपाईंहरुलाई आजभन्दा पचपन्न वर्ष अघिको कुरा भन्न चाहन्छु । म स्कुले विद्यार्थी थिएँ । मेरो पिताजी भारतको बंगाल सरकारको निक्कै ठूलो ओहोदामा हुनुहुन्थ्यो । उहाँले साहित्य अकादमी पाउँनु भयो । भारतको राष्ट्रपतिले उहाँलाई स्पेसल अवार्ड पनि दिनुभयो सन् १९६१ मा । उहाँले धेरै संस्थाहरुको नेतृत्व गर्नुभएको थियो र धेरै काम गरेर बित्नुभयो । सन् १९६५-६६ ताका आजभन्दा ५५/५६ वर्ष पहिले नेपालमा सूर्यबहादुर थापा प्रधानमन्त्री हुनुहुन्थ्यो र राजा महेन्द्र त्यहाँको भगवान सरह व्यक्ति भएर बस्नु भएको थियो । राजा महेन्द्रले आफ्नो जन्मदिवसको कुनै अवसरमा मलाई भारतीय नेपालीहरु (गोर्खाहरु)को एउटा सांस्कृतिक टोली चाहियो भन्नु भएपछि उहाँको मन्त्रालयले भारत सरकारलाई निवेदन पठाएपछि भारत सरकारले मेरो पिताजीलाई भनेछ लौ श्रीमान् लामा भारतीय गोर्खाहरुको एउटा सांस्कृतिक टोली लगेर नेपाल जानु प¥यो भनेर । यही टोलीमा प्रथाम पटक नेपाल जानु हुने अम्बर गुरुङज्यू हुनुहुन्थ्यो । त्यतिबेला नै अम्बर गुरुङज्यूको राजा महेन्द्र अनि प्रधानमन्त्री सूर्यबहादुर थापासँग भेट भयो मेरो पिताजीसहित । त्यतिबेला राजा महेन्द्रले मेरो आपा (पिताजी)लाई तीनवटा कुरा भन्नुभयो रे- एउटा, त्यहाँ पर तपाईंको लागि चार सन्दुकमा पुस्तकहरु राख्देको छु । त्यो लगेर जानुहोस् है अनि त्यो सबै भारतका साहितिक संघसंस्थाहरुलाई बाँडेर दिनुहोस् । तपाईंहरुले भारतमा बसेर नेपाली साहित्यलाई संरक्षण गर्ने काम गर्नुहुँदैछ त्यो अति नै राम्रो कुरा हो । दोस्रो, भारतमा जति पनि नेपालीहरुले यदि दुःख पाएको खण्डमा उहाँहरुलाई तपाईंले नेपाल पठाईदिनुहोस् है । हामी उहाँहरुलाई मधेस खण्डमा राख्छौ, नोकरी दिन्छौ र जमीन दिन्छौं । तेस्रो, संस्कृतिको क्षेत्रमा तपाईंहरुले जो काम गर्नु हुँदैछ यसलाई अघि राख्नुहोस् । त्यसरी अम्बर गुरुङज्यू नेपाल पुग्नु भयो । अम्बर गुरुङज्यूले नेपालको नयाँ राष्ट्रिय गीतमा संगीत भर्नुभयो ।

सायद विश्वमा दुईजना मात्र त्यस्तो व्यक्ति हुनुहुन्छ जस्ले एकले अर्को राष्ट्रको राष्ट्रिय गीत लेख्नुभयो । उहाँ हुनुहन्छ, महामान्य कवि रविन्द्रनाथ टेगोर जसले बंगलादेशको राष्ट्रिय गीत लेख्नुभयो । अर्को हुनुहुन्छ, अम्बर गुरुङज्यू ।

सबै क्षेत्रमा भारतीय गोर्खाहरु त्यसबीचमा तामाङहरु अगाडि रहे । त्यसमा डोफरकस राईदेखि सुभाष घिसिङसम्म, नरबहादुर भण्डारी देखि अहिलेका सिक्किका मुख्यमन्त्री प्रेमसिंह गोलेसम्म हुनुहुन्छ । ओलम्पिकमा, पत्रकारितामा, संगीत, साहित्य, शिक्षा, राष्ट्रिय सुरक्षामा भारतीय गोर्खाहरु र गोर्खाभित्र रहेका अनेक जातगोष्ठीहरु सबै राष्ट्रिय स्तरमा पुगे ।

अर्को नतिजा के भयो भन्दाखेरि नेपाल गएर पनि हाम्रा भारतीय गोर्खाहरु (तामाङहरु) अत्यन्त प्रभावशाली भएर काम गर्ने भए । यसमा अम्बर गुरुङ, लयनसिंह वाङदेल, पारिजात, गोपाल योन्जन, निर्मल लामा हुनुहुन्थ्यो । त्यसैगरी अनुराधा कोइराला हुनुहुन्छ । वहाँहरु सबैसबै मिलेर नेपालमा यति ठूलो योगदान दिनुभयो । धनबीर सुब्बा जो विदेश मन्त्री हुनुभयो । यसमा पनि मलाई अति नै विशिष्ट तामाङको याद आउँछ उहाँ हुनुहुन्छ, सन्तवीर लामा पाख्रिन । उहाँलाई दार्जिलिङमा मेरो म्हेमे (बाजे) र माम (बोज्यु)हरुले खर्साङे माईला भन्नुहुन्थ्यो ।

मेरो म्हेमेले मलाई भन्नु हुन्थ्यो- ‘तँलाई थाहा छ ? खर्साङे माईलाको नेपालमा कति प्रभाव छ ?’ ‘म्हेमे भन्नुहोस्’, मैले भन्थेँ । ‘मलाई खर्साङे माइलाले एक दिन इलाममा बोलायो’, म्हेमेले व्याख्या गर्नुहुन्थ्यो, ‘ए, तँ त यहाँनिर नेपालमा निक्कै ठूलो जमिनको मालिक भको रहेछस्, तैँले त नेपाल बसेर ठूलो नाम कमाको रहेछस्, तेरो जमिन कति छ भनेर देखाइ माग्नुभएछ हाम्रो म्हेमेले खर्साङे माइलोलाई । खर्साङे माईलाले भन्नु भयो रे ज्योज्यो (दाज्यु), लु आउनुहोस् त भनेर एउटा डाँडामा लानुभएछ । ऊ… त्यो डाँडाको अर्को डाँडा देख्नु भयो ? हो त्यहाँदेखि ऊ… यो डाँडाको अर्को डाँडादेखि सबै मेरो जमिन हो भन्नु भयो रे ।’ पछि गएर उहाँले पुस्तकहरु लेख्नुभयो ।

उहाँलाई राजाले खुब मन पराउँनुहुन्थ्यो रे । कारण उहाँले भारतमा सिकेका ज्ञानहरु लगेर त्यहाँ सिकाउनु हुन्थ्यो रे । उहाँ अलिकति माम्सपेशी पनि निक्कै बलियो मान्छे हुनुहुन्थो । खर्साङे माइला भनेपछि जो पनि लगलग काँप्थ्यो रे । उहाँ बलमा पनि अगाडि बढ्ने मान्छे, कामकुरोमा पनि अति नै अगाडि बढ्ने मान्छे । यस्तो स्थितिमा दार्जिलिङ क्षेत्र (भारत)मा बसेर हामीले भारत सरकार सबैसँग मिलेर काम गर्यौं भनेर हामीले भन्दै छौं ।

यसमा सबैभन्दा ठूलो नेपालका जति पनि जनजतिहरु छन्, तामाङ सन्तान छन्, दलितहरु छन्, माइनोरिटीमा बसेका जति पनि जातिहरु छन्, उहाँहरुले सबैभन्दा सिक्नु पर्ने पाठ मलाई लागेको के हो भने अब शिक्षा र ज्ञानको खेती तपाईंहरुले गर्नु पर्छ ।

तपाईंले डिग्री पाउँदा, मैले डिग्री पाउँदा, कक्षा कोठामा गएर श्रेणीमा गएर जब शिक्षा हाँसिल गर्छौ त्यो शिक्षा त एक प्रतिशत पनि होइन रहेछ ज्ञानको । यसको माने ज्ञानको खोजिमा मेरो पीएचडी डिग्री त एक प्रतिशत पनि होइन रहेछ । उनान्सय प्रतिशत शिक्षा र ज्ञान त श्रेणीभन्दा बाहिर पाउँदो रहेछ ।

हेर्नुहोस् शिक्षा भन्ने कुरा यति ठूलो रहेछ मैले, मेरो आपाले र साथीहरुले पनि शिक्षा पाएर नै राष्ट्रिय स्तरमा काम गर्न पायौं । गाउँमै बसेको, ढिँडै खाएको, सिस्नु नै खाएको, गुन्द्रुकै खाएको । सुँगुरको कान, पुच्छार पोलेर खान्थ्यौं हामीले । स्कुसको जरा खान्थ्यौं, स्कुसको मुन्टाको ठुटा बनाएर सिग्रेट खान्थ्यौं हामी । के को ल्यापटप ? के को सेलफोन केहि थिएन । ठण्डा महिना भएपछि चिसो हुँदै भएपनि घुम्न जान्थ्यौं हामी जंगलमा । यो पो फल टिप्ने, त्यो पो फल टिप्ने, लाप्चे भन्थ्यो के के हो के के फल टिप्थ्यौं हामी । गाउँबाटै आएको हो हामी । के ले गर्दा चाहीँ यहाँ आइपुग्यो ? भन्दाखेरि मलाई त एउटै कुराले लाग्यो, आफूमाथि विश्वास र शिक्षा । शिक्षाले तपाईंको चिनारी, अस्तित्व, आर्थिक अवस्था, राजनीतिक अवस्था, सोच्ने धारणा, देश विदेशमा होनहार भएर काम गर्ने, होडबाजी गर्ने सबै शिक्षाले नै परिवर्तन ल्याईदिँदो रहेछ । सबै शिक्षाले नै समाल्दो रहेछ । शिक्षा भनेको डिग्रीमात्र होइन रहेछ । विश्वविद्यालयमा गएर डिग्री पाउनु, म पीएचडी हुँ भनेर धाक फुकाउनु मात्रै चाहीँ शिक्षा होइन रहेछ । तपाईंले डिग्री पाउँदा, मैले डिग्री पाउँदा, कक्षा कोठामा गएर श्रेणीमा गएर जब शिक्षा हाँसिल गर्छौ त्यो शिक्षा त एक प्रतिशत पनि होइन रहेछ ज्ञानको । यसको माने ज्ञानको खोजिमा मेरो पीएचडी डिग्री त एक प्रतिशत पनि होइन रहेछ । उनान्सय प्रतिशत शिक्षा र ज्ञान त श्रेणीभन्दा बाहिर पाउँदो रहेछ । स्कुसको घारीमा पनि ज्ञान, ऊखु टिप्दा पनि ज्ञान, मौरीको डुँडबाट मह काढ्दा पनि ज्ञान, विदेश घुम्दा पनि ज्ञान, खोलामा गएर पौडी खेल्दा पनि ज्ञान, चारैतिर ज्ञानै ज्ञान हुँदोरहेछ । यो त्यही ज्ञानलाई नै अलिकत पहिला हाँसिल गरेर हाँसिल गरेका ज्ञान केही जातिहरुले हामी नजान्नेहरु माझ बाँडिदिँदा चाहीँ हामीभन्दा अलि माथि पुगेका रहेछन् । भारतमा पनि त्यहि हो । कसैले सुन्दरकाण्ड रामायण पढेर ज्ञान लिएछन्, कसैले गीता पढेर ज्ञान लिएछन्, कसैले बाईबल पढेर ज्ञान लिएछन् । हामी चाहीँ नपढ्दाखेरि बाईबल, गीता, सुन्दरकाण्ड, रामायण, शार्दुलविकृत छन्दा केही नबुझ्दाखेरि साँचिनै तल रहेछौं जस्तो लाग्दो रहेछ । पढ्दै जाँदा, लेख्दै जाँदा, कोट्याउँदै जाँदा, बुझ्दै जाँदाखेरि त ती सबै ज्ञानहरु सामन्य ज्ञान रहेछन् । कुनै पनि ज्ञान नपाइने होइन रहेछ जस्तो लाग्न थाल्यो मलाई । यही ज्ञान चाहीँ तपाईं हामी सबैले सबै क्षेत्रबाट निकाल्नु पर्यो । इन्जिनियरिङदेखि रणनीति, कुटनीति, विज्ञान-प्रविधि सबै क्षेत्रका ज्ञान निकाल्नु पर्यो ।

नेपालमा पनि तामाङहरुमा अमृत योन्जनज्यूले काम गर्नुहुँदैछ, अति नै राम्रो काम । गणेश योन्जनज्यू राम्रो कुटनीतिज्ञ भएर जापानमा राजदूत भएर बस्नु भयो । अर्को ज्ञान बोकेको मान्छे कुलमान घिसिङलाई हेर्नुहोस्, उहाँ विद्युत प्राधिकरणमा हुनुहुन्छ । ज्ञान प्राप्त गरेपछि अँध्यारै अँध्यारो नेपाललाई उज्यालै उज्यालो ल्याईदिनुहुने घिसिङज्यू हुनुहुन्छ । त्यसको माने तपाईं हामीले पनि ज्ञान आर्जन गरेर अगाडि बढौं ।

हामी सबैमा ज्ञान भरिभराउ छ । ज्ञानको व्यापार गर्नुपर्छ । म जहिले पनि भन्ने गर्छु माइक्रोसफ्टले, कोकोकोलाले, जोन्सवाडनले, दबाईहरु इस्टेप्कोमाइसिनले, अहिले कोरोनाको भ्याक्सिनले व्यापार त गरिरहेको छ । यो सबै ज्ञानको व्यापार हो । तपाईं हामीले पनि ज्ञानकै व्यापर गर्नुपर्छ । तपाईंको हातमा मोबाईल छ त्यो पनि ज्ञानकै व्यापार हो । यो ज्ञान भन्ने कुरा सर्वत्र रहेछ, यति व्यापक रहेछ, यति सीमाहिन रहेछ । हो यही ज्ञानलाई तपाईं हामीले व्यापार गर्नुपर्छ भनेर भन्दैछु म ।

व्यापार गर्ने सम्बन्धमा मलाई फेरि मेरै म्हेमेको याद आउँछ । हामी जब साना साना थियौं, नानीहरु थियौं, जब ज्वरो आउँथ्यो, बिहान उठ्दा ज्वरो आइराखेको बेला म्हेमेले मामलाई भन्नुहुन्थ्यो- ‘ल त सानुलाई ज्वारो आयो, अतिकत लु त दबाई बनाईदिई हालौं भनेर ।’ मामले सानासोले डेक्चि च्यापेर आगोमा अलिकत पानी भुक्लुक्क उमालेर तीन चारवटा दबाईका फूलहरु हालेर सेलाएपछि दिँदै भन्नुहुन्थ्यो- ‘लु बाबु यो स्वाट्टै पार त ।’ हामी खान्थ्यौं, ज्वरो जाति हुन्थ्यो ।

दार्जिलिङमा म स्कुलमा छँदाखेरि एकजना बोज्युले एउटा उकालो बाटोमा टुक्सुक्क बसेर मेलको चुक बेच्नुहुन्थ्यो । अनि बोज्युलाई यो मेलको चुकले के हुन्छ भनेको बोजुले भन्नुहुन्थ्यो- ‘वान्ता हुँदैन, उल्टिपखाला हुँदैन, सेतोमासी पर्दैन ।’ पछि गएर बोज्युको नातिनीले पनि मेलको चुक बेच्नु भयो । पछि मैले यसो विचार गरेँ यो मेल र चुकको बीचको दुरी चाहीँ ज्ञान हो । मेललाई चुक बनाउने ज्ञान बोज्युकोमा मात्र थियो । तर, बोज्यु मरेर गईन्, मेलको चुक बनाउने ज्ञान पनि लिएर गईन् ।

पछि ठूलो भएर कलेज जान थालेपछि मैले म्हेमेलाई सोधेँ के दबाई दिनु भएको थियो भनेर । अलि कौतुहलता आयो लेख लेख्नलाई । लेख बाबु भन्नुभयो, म लेख्न बसेँ । उहाँले भन्नु भयो यसलाई नेपालीमा सेतो धमाल भन्छ र तामाङ कुरामा चाहीँ ङादाङकोरकोर भन्छ भन्नुभयो । यो कहाँ पाउँछ ? भनेर सोधेँ । पहाडबाट तेरो जिते आगु (काका) आउँदा ल्याईदिएको । बैशाख महिनामा पन्ध्र दिन मात्र फूल फुल्छ, त्यो पन्ध्र दिन पर्खेर हामीलाई फूल टिपेर ल्याईदिन्छ भन्नु हुन्थ्यो । आजु आएर म यसो सोच्छु यो ङादाङकोरकोर के हो ? भनेर मेरो म्हेमेले मात्र जान्नु हुन्थ्यो । यदि म्हेमेले साइसेन्स पाएको भए (वौद्धिक सम्पत्तिको अधिकार पाएको भए) कोकाकोला जस्तै मेरो म्हेमेको पनि ङादाङकोरकोर कम्पनी हुन्थ्यो । कोकोकोलाले जस्तै मेरो म्हेमेले पनि अर्बैं रुपैयाँ कमाउनु हुन्थ्यो । अनि ओखतिमूलोको ज्ञानको व्यापार गर्नु पर्छ ।

दार्जिलिङमा म स्कुलमा छँदाखेरि एकजना बोज्युले एउटा उकालो बाटोमा टुक्सुक्क बसेर मेलको चुक बेच्नुहुन्थ्यो । अनि बोज्युलाई यो मेलको चुकले के हुन्छ भनेको बोजुले भन्नुहुन्थ्यो- ‘वान्ता हुँदैन, उल्टिपखाला हुँदैन, सेतोमासी पर्दैन ।’ पछि गएर बोज्युको नातिनीले पनि मेलको चुक बेच्नु भयो । पछि मैले यसो विचार गरेँ यो मेल र चुकको बीचको दुरी चाहीँ ज्ञान हो । मेललाई चुक बनाउने ज्ञान बोज्युकोमा मात्र थियो । तर, बोज्यु मरेर गईन्, मेलको चुक बनाउने ज्ञान पनि लिएर गईन् । यही कुरो चिनीयाँले भेटेको भए, यही कुरो कोरियनले भेटेको भए, जापनीजले भेटेको भए, अमेरिकनले भेटेको भए मेलको चुकको कम्पनी नै बनाई दिन्थ्यो । अर्बैं रुपैयाँ कमाउँथ्यो । त्यही कारण म सिक्किम विश्वविद्यालयको कुलपति भएर गएपछि मामम्हेमे (बाजेबोज्यु)हरुको मौखिक इतिहास भन्ने कार्यक्रम सुरु गर्यौं । लेखेर राखौं चिन्डोको रुख कसरी छास्नु पार्दो रहेछ, बाख्रा बिमारी हुँदा के खुवाउँनु पर्दोरहेछ भनेर । त्यतिबेला के को भेटनरी ? पशुको डाक्टर थिएन । बोज्युले के ओखतिमूलो बनाएर खुवाउँनु हुन्थ्यो, चट्टै हुन्थ्यो । त्यसमा सबैलाई आकर्षण गर्नका लागि के भन्न थाल्यौं भन्दाखेरि ‘बाजे मरे, बोज्यु मरिन्, दुईवटा पुस्तकालय दिएरै गए’ । अब यस्तो हुन दिनु हुन्न है भनेर हामीले भन्न थालेपछि मौखिक इतिहास लेख्ने काम सुरु भयो ।

अब एक दुई शब्द तामाङ जातिमा । हामी तामाङहरु सबै बौद्धधर्मवालम्वी हौं । बौद्धधर्म भन्नसाथ हाम्रो सबैभन्दा नजिक, हाम्रो सबैभन्दा आत्मिय कुरो के हो भन्दाखेरि हामी प्रकृतिको सबैभन्दा नजिकको मान्छेहरु हौं । बौद्धधर्ममा प्रकृति नै सर्वश्रेष्ठ वस्तु भएर रहेको छ । आज विश्वमा हेर्ने हो भने दुईटा शक्ति बीचमा झगडा भैराखेको छ, द्वन्द हुँदैछ । एउटा शक्ति हो हार्डपावर- कडा शक्ति । जसकोमा एटम बम छ, हाइड्रोजन बम छ, ट्याङ् छ, सवमरिन छ, पाइटरप्लेन छ, उनीहरु एकपटि भयो हार्डपावर- अमेरिका, भारत र चीन । अर्को शक्ति हो, सफ्टपावर (एकदम मुलायम शक्ति) । त्यो सफ्टपावर के हो भन्दाखेरि तपाईं हाम्रो मुस्कान, संस्कृति, खानपीन, संगीत, साहित्य इत्यादि । यी सबै सबै कुराहरु नरम शक्तिहरु हुन् । यो हार्डपावर र सफ्टपावर बीचको द्वन्द अति नै भयानक हुँदोरहेछ । आज चीनलाई हेनुभयो भने उनीहरुको हार्डपावर हुँदा हुँदै होइन यो हार्डपावरले मात्र विश्वमा तहल्का मचाउन नसक्ने रहेछ, अमेरिकालाई हेर्ने हो भने पनि हार्डपावरले मात्र तहल्का मचाउन सक्दैन रहेछ भनेर उनीहरुले सफ्टपावरलाई पनि अपनाउन थालेका छन् ।

आजु विश्वमा वातावरण परिवर्तनको बहसमा हेर्नुहोस्, जलवायु परिवर्तनको बहमा हेर्नुहोस् तपाईं हामी देख्छौं त्यसमा पनि हाम्रो बौद्धधर्मको ठूलो भन्दा ठूलो भूमिका आउँदछ । जब मेरो आमा बित्नु भयो, गाउँमा ठूलो लामा हुनुहुन्थ्यो- बबु लामा । आमा बित्नु भएपछि घेवा गर्दा उहाँले चारदिन पूजा गर्नुभयो । आमाको नामको पूजा सकेपछि बिदाइको बेलामा उहाँले के भन्नु भयो भन्दाखेरि तिम्रो आमाले अब अर्को जन्म लिन्छ, आमाको रिइन्कारनेशन (पुर्नजन्म) हुन्छ । तिम्रो आमा चाहीँ अर्को जन्ममा इस्कुरल (लोथर्के) भएर जन्मिन्छ भन्नु भयो । आजु म जहाँ पनि लोथर्के देख्छु नतमस्तक हुन्छु, टाउको निहुराउँछु । जहाँ पनि लोथर्के देख्छु हात जोड्छु, आमालाई सम्झिन्छु । बौद्धधर्ममा (हामी तामाङ समुदायमा) पुर्नजन्म पाउँदाखेरि मेरो पिताजी बाघ भए होलान्, तपाईंको बाजे, बोज्यु चरा भए होलान्, हाँस भए होलान् । यसको मर्म के रहेछ भन्दाखेरि त सबै पशु, प्राणी कसैले पनि नमार्ने, हत्या नगर्ने, नकाट्ने भन्ने रहेछ । कारण सबै पशु, प्राणीमा आपाको रुप छ, आमाको रुप छ, बोज्युको रुप छ, इष्टमित्रको रुप छ । भन्दादेरि कति ठूलो धर्म रहेछ । यसमा तपाईंले वाल्ड लाईफ कन्जरभेसन एक्ट पनि लगाउनु परेन, पशु, प्राणी बचाउनलाई नयाँ नयाँ अधिनियम जारी गर्छ सरकारले त्यो पनि लाउनु परेन । तपाईंमा अधिनियम मनभित्रबाट आयो । यसरी बुद्धधर्मले पशु, प्राणीको संरक्षण गर्छ । तामाङ समुदायमा पशु, प्राणीको संरक्षण गर्छौ हामी । यसले के गर्दारहेछ भन्दाखेरि अंग्रेजीमा भन्छौं नि हामी ‘कल्चरल इकलजी’ (सांस्कृतिक परिस्थितिकी) यसलाई हामीले समाल्दा रहेछौं ।

बुद्धधर्मले एकापट्टि प्रकृतिको यस्ता नियम, कानुन सिकाएका छन् भने अर्कोपट्टि बौद्धधर्ममा फेरि अर्को आँच आयो, अर्को क्राइसिस आयो । हाम्रो धर्मले जहिले पनि शान्तिको मार्ग अपनाउँछ, ‘अहिंसा परमो धर्म’ भन्छ । सिंसा नै गर्नु हुन्न हाम्रो धर्ममा । मैले पनि धेरै गुम्बाहरु घुमिसकेँ । गत वर्ष म तिब्बत गएर ल्हासादेखि तल ग्यात्से, सिगात्से, चगा, थाप्चे हुँदै कैलाश मानसरोवरको यात्रा पनि गरेँ । सबै गुम्बाहरु घुमेँ । जापानमा गएर किङ्कागुची मन्दिरदेखि लिएर क्योटोको सबै मन्दिरहरु घुमेँ । बर्मामा गएर त्यहाँको गोल्डेन प्यागोडामा ढोग गरेँ । कम्बोडिया गएँ । चाइनामा गएर इजासान्चोब पर्वतमा गएर शिर निहुँराएँ । भूटानमा राजाले निम्तो गरेर उहाँले नै मेरो आमा (क्यूइन मदर)ले बनाएको मन्दिर छ पारोमा, त्यहाँ पनि जानुहोस् भनेर पठाउनु भयो । पाकिस्थानमा गएर तक्षशिला । यस्तै यस्तै धेरै मन्दिरहरु गएपछि मलाई के लाग्यो भन्दाखेरि कस्तो धर्म यो ? सबै जातिले यो धर्मलाई आलिङ्गन गर्न मान्छन् । सबै जातिले बुद्धधर्मलाई जहिल्यै पनि मनमा राख्न मान्छन् । एकापट्टि यो मनको धर्म भयो, युगको धर्म भयो, मस्तिष्कको धर्म भयो ।

तर, यो धर्मले तपाई हामीलाई मस्तिष्क र मनमा जो समनिश्चिन्तता हुन्छ, एकै धर्म भएर बसेको छ त्यहीँ हिंसा व्यापक भएर फैलिएको छ । तपाईंले तिब्बतमा देख्नु भयो, थाइल्याण्डमा, भोटाङ, श्रीलङ्क, बर्मा, कम्बोडिया, भियतनामै देख्नुभयो । बंगलादेशको चिटगोन सानो क्षेत्रमै हेर्नुहोस् । नेपालमा त लुम्बिनीमा बुद्ध भगवान नै जन्मिनभयो । नेपालमै पनि त्यति भयानक हिंसा देख्नु भयो तपाईंहरुले । त्यो के हो ? एकापट्टि राज्यले पनि बुद्धधर्म मान्ने, साधारण मानिसले पनि बुद्धधर्म मान्ने, बुद्धधर्ममाथि तपाईं हामीले गर्व गर्ने, आलिङ्गन गर्ने, त्यही बुद्धधर्म मान्ने देश चाहीँ हिंसको गुँड भएर बस्ने ? यो के हो ? धर्मले सिकाएको त छैन यस्तो । के ले सिकायो यो ? राजनीति र धर्म मिलाएर यस्तो भएको हो कि ? राजनीतिले धर्मलाई चलाएको हो कि ? यो कुराहरुमा तपाईं हामीले गहिरो रुपमा अध्ययन गर्नुपर्छ । विद्यार्थी साथीहरुले, हाम्रा बुढापाकाहरुले, हाम्रा धर्म गुरुहरुले, हाम्रा विज्ञ समुदायका मानिसहरुले यस कुराहरुलाई राम्रो प्रकारले अध्ययन गर्नुपर्छ भनेर म तपाईंहरुलाई भन्न चाहन्छु ।
अन्त्यमा, भारतमा हामीले अतिकति भएपनि लड्ने ज्ञान पनि पायौं, कुटनीति पनि अलिक सिक्यौं, अलिकति अड्काउने उतापट्टि नदेख्ने पर्खालहरु पनि भत्काउन सिक्यौं । म आफैंले पनि धेरैवटा पर्खालहरु भत्काइदिएँ । नेपालमा पनि तामाङले, जनजातिले थिचोमिचो गरिएका, बञ्चित गरिएका, खोसिएकाहरुले, दमन गरिएकाले, तिरस्कार गरिएकाले, बोक्राइएकाहरुले अब त्यहाँ पनि रणनीति, कुटनीति सबै कुरा मिलाउनु प¥यो । यो गर्दाखेरि सबैभन्दा ठूलो कुरा ठूलो सोच हुनु पर्छ है जस्तो लाग्छ । भव्य सपना देख्नु पर्छ है, अनि विस्तृत कल्पना गर्नुपर्छ है जस्तो लाग्छ । कारण सपना देख्नु र कल्पना गर्नुमा तपाईंलाई कसैले रोक्दैन, कसैलाई एक पैसा तिर्नु पनि परेन, कसैलाई गाली गर्नु पनि परेन, हिर्काउनु पनि परेन । सपना देख्नुलाई, कल्पना गर्नुलाई तपाईं सपना-कल्पनाको घोडा चढेर जहाँ उडे पनि हुन्छ ।

यो विकास गर्ने कुरामा सबैले परिकल्पना परिकल्पना भन्छन् । आजकाल सबै विकास गर्ने परिकल्पनाको ‘परि’ उडेर गयो खालि ‘कल्पना’ रह्यो । र पनि त विकास हुँदो रहेछ । परि उडेर जाँदा पनि त विकास गर्दोरहेछ । नेपालमै भैराखेको छ, भारतमै भैराखेको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाले आफ्नो ‘कल्पना’ निबन्धमा पहिलो हरफमा नै लेख्नु भएको छ ‘कल्पना नै आनन्दको आत्म हो’ भनेर । कति राम्रो कुरा लेख्नुभयो । तपाईंले आनन्द केहिबाट पाउनु भएन भने कल्पनाबाटै त पाउनुहुन्छ । म त जुन दिन मलाई विरक्त हुन्छ, जुन दिन मलाई न्यास्रोपन आउँछ, जुन दिन म अब केहि गर्दिन भन्छु त्यो दिन म दुईटा काम गर्छु- एउटा, म तामाङ सेलो सुन्छु, नेपाली गीतहरु सुन्छु । अर्को, व्यर्थ, व्यर्थको कल्पना गर्न सुरु गर्छु । अनि त्यो कल्पनामा उडेर म मेरो गाउँमा पानी पिइराखेको हुन्छु, धाराको । त्यो कल्पनामा उडेर फेरि म मेरो म्हेमेसँग हात समाएर घुम्न जान्छु । त्यो कल्पनामा उडेर मेरो आमाको मजेत्रो समाएर आमाले मलाई डोर्याएको यादमा हराउँछु । कल्पनाले मलाई कहाँ कहाँ जरा, कन्दरा, पहाडमा पुर्याउँछ । कल्पना धेरै ठूलो कुरा हो ।

आजु नेपालमा म दुईटा स्थिति देख्छु । जनजातिका लागि, तामाङका लागि, दलितका लागि हामी अबसरबाट बञ्चित भयौं, तिरस्कार गरियो, थिचियो, दमन गरियो, अत्यचार गरियो भनेर दुःखमय स्थितिमा बस्नु, गुनासोको संसारमा बस्नु एउटा कुरो हो । गुनासै पोख्छु, दुःखभित्रै बस्छु म भन्नु एउटा कुरा हो । तर, थिचिएको स्थितिले नै धेरै मानिसले धेरै कुराहरु निकाल्छन् भन्ने कुराको पनि तपाईं हामीले कल्पना गर्नुपर्छ । भारतमा गान्धी, बाबा अम्बेडकर त्यसैगरी विश्वमा निस्केका अनेकौं नेताहरुलाई हेर्नुभयो भने थिचिएका, पिसिएका, पेलिएका स्थितिबाटै निस्केका छन् । मैले ‘रेरेस्ट ब्लू’ पुस्तक पढ्दै थिएँ । कोरोना भाईरस आएपछि लकडाउनले अझै अलिकति पढ्न पाएँ । यसको लेखक हुनुहुन्छ बरुच स्टरम्यान, जेवीस स्ट्यन्डर्ड स्टरम्यान । पुस्तक सन् २०१२ मा प्रकाशन भएको । यो पुस्तकमा लेखिएको छ- तपाई हामीले विशिष्ट वैज्ञानिक सर आइज्यक न्यूटनका बारेमा पढेकै छौं । सन् १६६५ देखि १६६६ सम्म सर आइज्यक न्यूटन क्याम्ब्रिज यूनिभर्सिटिमा अध्ययनरत हुनुहुँदो रहेछ । त्यतिबेला अहिलेको कोरोना जस्तै बुबोनीक प्लेग महामारी सुरु भयो । महामारी सुरु भएपछि विश्वविद्यालय बन्द हुने भयो । बन्द भएपछि सबै विद्यार्थीहरुलाई लौ अब तिमीहरु कुम्लो कुटुरो कस, घर घर जाउ, घरमा गएर जे गर्छौ गर भनेपछि न्यूटन पनि कुम्लो कुटोरो कसेर सत्रौं सताब्दीमा घर फर्के । जबरजस्त दिएको छुट्टिमा घर फर्केपछि मन बहलाउन उनले आफ्नो वैज्ञानिक अनुसन्धान सुरु गरे । त्यो वैज्ञानिक अनुसन्धान, खोजको ठूलो परिणाम हो, संसारले मानेको गुरुत्व आकर्षनको नियम । तपाईं गुनासोको संसारमै बस्नु हुन्छ कि ?! अर्को संसार पनि छ ।

हाम्रा नानीहरु होनहार छन्, होडबाजी गर्न सक्छन् । नेपाल त के विश्वमै होडबाजी गर्न सक्छन् । तर, मौका पाएका छैनन् नानीहरुले, बाटो देखाउने नेतृत्व पाएका छैनन् । समाजले राम्रो मार्गदर्शन गरेका छैनन्, संस्थागत प्रयास भएको छैन । अब यो सब गर्नु पर्छ भन्छु म ।

नानीहरुलाई तपाईंले छनोट दिनुहोस् । के गर्छन् ? कहाँ पढ्छन् ? के लेख्छन् ? के खान्छन् ? भन्ने कुराहरुमा ठूलो सोच लिएर छनोट दिनुहोस् । जब राई, लिम्बू, क्षेत्री, बाहुन, तामाङ काँधमा काँध मिलाएर, आङमा आङ मिलाएर होनहार भएर होडबाजी गरेर माथि पुग्दा रहेछन् भने हामी सक्दा रहेछौं ।

मैले भने म पनि एउटा गाउँबस्तिबाट नै आएको मान्छे । डिल्लीमा चालीस वर्ष भयो म बसेको । जब म डिल्ली आएँ, त्यतिबेला मेरो गडफादर कोही पनि थिएन । अहिले पो म कसैको गडफदार छु, ए नानी यसो गर भनेर भन्छु । त्यतिबेला त यसो गर भन्ने कोही पनि थिएन । पसिना, गरम, मलेरिया, टाइफाइट कहिल्यै नसुनेको बिमारहरु । दार्जिलिङमा खुल्ला अक्सिजन खाएर बाँच्ने मान्छे हामीहरु । डिल्लीमा आएर अक्सिजन खोज्नु प¥यो, कहाँनेरि चाहीँ खुल्ला अक्सिजन पाउँछ भनेर । प्रदुषण नै प्रदुषण । त्यस्तो स्थितिमा श्रेणीमा गएर पढ्यौं, अंग्रेजी बोल्न जान्दैन थियौं होला सायद । तर, होडबाजी भनेपछि गर्नैपर्ने । त्यसले दश घण्ट पढ्दारहेछन् भनेदेखुन म लुकि लुकि अठ्ठारा घण्टा पढ्छु, अनि के हुँदो रहेछ । यो होडबाजी हाम्रो नानीहरुले पनि गर्न सक्नु पर्छ ।

अहिले जब म भारतको यूपीएस, आईपीएस, इन्डियन फरेन सर्भिस, युनियन पब्लिक सर्भिस कमिसनको इन्टभ्यूमा बस्छु अनि म आफैंलाई भन्छु अरे ! हाम्रा नानीहरुले पनि सक्दो रहेछ त । जब मलाई प्रधानमन्त्रीले भारतको सुरक्षा परिषद्को सदस्य बनाएर राख्नुभयो, अस्तिसम्म गोर्खाहरुलाई चौकीदार, बहादुर हो भन्थ्यो आजु भारतको सबैभन्दा उच्चतम सुरक्षा परिषद्को सदस्य भएर पुग्दाखेरि म आफैंलाई गर्व महसुश गरेर भन्थेँ एउटा अर्को पर्खाल पनि भत्काइदिएँ भनेर । म सदस्य भएपछि हुलका हुल, बथानका बथान गोर्खाहरु राई, लिम्बू, तामाङ, क्षेत्री, बाहुनहरु सदस्य हुन्छन् भन्न थालेका छन् । तपाईं हामी पढेलेखेका जति पनि राजनीतिज्ञहरु, लेखकहरु, डाक्टरहरु, इन्जिनियरहरु सबैको लक्ष विशेष गरी नेपालमा अगाडि पट्टि जो पर्खाल राखिदिएको छ कसैले, यो पर्खाल तिमीले नाघ्न सक्दैनौ, यो पर्खाल नाघ्ने क्षमता, बल, बुद्धि तिमीमा छैन भनेर जो एउटा बनावटी क्रितिम पर्खाल खडा गरिदिएको छ, त्यो पर्खाललाई तपाईंहरुले एक एक गरी तोडिदिनु पर्छ । अनि त्यसपछि निस्किन्छ एकजना तामाङ प्रधानमन्त्री । अनि त्यसपछि निस्किन्छ एकजना दलित उच्च न्यायलयको न्यायकर्ता । तपाईंहरुलाई मेरो आव्हान यही छ ।

इख लिनुहोस् । इख लिएर काम गर्नुपर्छ । इच्छ्या शक्ति अगाडि ल्याएर काम गर्नु पर्छ । चौबिसै घण्टा, बाह्रै महिना, दशक-दशक काम गर्नु पर्छ । मैले त सफलताको खुट्किलो यसरी नै देखेँ । आजु बाह्र घण्टा काम गरेर, भोली पन्ध्र घण्टा काम गरेर, एक हप्ता सुत्छु भनेर हुँदैन रहेछ । कन्सिस्टेन्सी भन्छ यो गर्नु पर्छ । सबैभन्दा ठूलो तपाईं हामीलाई के छ भन्दाखेरि पिढीँ नै फेरिनु पर्यो, जबसम्म पिढीँ फेरिँदैन, पिढीँमा परिवर्तन आएन त्यो पिढीँ जस्ताको तस्तै रहने भयो । बंगालीहरुमा पिढीँ पिढीँ फेरियो, जापनिजहरुमा पिढीँ पिढीँ फेरियो । चाइनिजहरुमा पिढीँ पिढीँ फेरियो । तपाईं हामीले देख्यौं त्यहाँको सांस्कृतिक क्रान्तिको समयमा जो एउटा पिढीँ थियो, आजको पिढीँ कस्तो भयो । भारतको सन् १९६० को दशकको र आजको पिढीँ कस्तो भयो । तपाईंहरु सबै सबैलाई यही कारण म के आव्हान गर्छु भने हाम्रा नानीहरु एकस एक होनहार छन्, ठिक बाटो समाई दिनुहोस् ।

मलाई भारतका राष्ट्रपति महोदयले विदेका राष्ट्रपतीहरु, प्रधानमन्त्री, आउँदाखेरि राष्ट्रपति भवनमा रात्रीभोजमा बोलाउनु हुन्छ । प्रधानमन्त्रीले हैदरावाद हाउसको दिनको भोजमा निम्त्याउनु हुन्छ । त्यही नै मैले नेपालका राजा विरेन्द्र, गिरीजाप्रसाद कोइरालालगायत अन्य मन्त्रीहरु र अहिलेका प्रधानमन्त्री खड्क प्रसाद ओलीज्यूलाई भेटेको हो । जम्मै जनजातिहरु, दलितहरु, थिचिएकाहरु, मिचिएकाहरुलाई जब म नेपाल जान्छु, भेट्छु । भारतमै पनि गएर यहाँनेरि भेट्दाखेरि भन्नुहुन्छ हामी त खोरभित्रको बाघ हौं । तामाङलाई भेट्यो त्यसै भन्छन्, राईलाई भेट्यो त्यसै भन्छन्, मंगरलाई भेट्यो त्यसै भन्छन्, उता मधेसको यादवलाई भेट्यो त्यसै भन्छन् । तपाईं खोरभित्रको बाघ हो भने के गर्नुहुन्छ ? भन्दाखेरि निस्किन त दियोस्, निस्किन त पाओस्, हामी उखरमाउलो लाउँछौं, ढोल पिट्छौं, संसार खान्छौं भन्छन् ।

म साथीहरुलाई जिस्किएर भन्छु- के भन्नु भएको हो ? खोरभित्रको बाघ भएर बसेको यतिका भैसक्यो । आजु त प्रजातन्त्रले, नयाँ संस्कृतिले, संविधानले बाघको खोर त खोलिदियो तर बाघ त निस्किनु मान्नुहुन्न, फेरि उखरमाउलो कसरी लाउनुहुन्छ ? खोरबाट तपाईंहरु निस्किनुहोस् म भन्छु । तर, खोरबाट निस्किदाँखेरि जरा नभुल्नुहोस्, परम्परा नभुल्नुहोस्, संस्कृति नभुल्नुहोस्, भाषा नभुल्नुहोस्, साहित्य नभुल्नुहोस् । माम-म्हेमे, आमा-आपा, आसेङ-आङि कसैलाई नभुल्नुहोस् । सम्पूर्ण जाति, जानजाति, राई, लिम्बू, क्षेत्री, बाहुन, गुरुङ, तामाङ, सबैसबैलाई यस्तै सोचले नै संसार जित्न सकिन्छ । तपाईंहरु सबै सबैलाई फेरि पनि यो जित्ने आव्हान गर्दै, विजयी हुने आव्हान गर्दै बिदा हुन चाहन्छु । धेरै धेरै धन्यवाद !

(प्रस्तुत सामग्री २०७७ भाद्र ६-८ गतेसम्म तीन दिन भर्च्युअल माध्यमबाट संचालित ‘पाँचौ तामाङ ज्ञान महोत्सव’को उद्घाटन सत्रमा प्रा.डा. लामाले मुख्य वक्ताको रुपमा प्रस्तुत मन्तव्यको आधारमा तयार गरिएको हो- सं. ।)

तपाईको प्रतिक्रिया

पत्रपत्रिका