प्रतिक्रियाका सहायक कारक हुन् ग्याल्जि लामा

मोहन गोले केन्द्रीय अध्यक्ष, नेपाल तामाङ घेदुङ
काठमाडाैं

यतिबेला केही कलाकारहरुले साङ्गीतिक भिडियो निर्माणको क्रममा नेपालको झण्डा जलाइएको बारे पक्ष र विपक्षमा सर्वत्र बहस चलिरहेको छ । केहीले झण्डा जलाउनेलाई हदैसम्मको सजाय दिनु पर्ने भनिरहेका छन् भने केहीले सजायको विपक्षमा मत जाहेर गरिरहेका छन् । यही सन्दर्भमा झण्डा जलाइएको साङ्तीतिक भिडियो निर्माण गरेर युट्युबमा हाल्ने कलाकारहरुलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

झण्डाबारे धारणा राख्नु भन्दा पहिले झण्डा के हो ? त्यसबारे बुझौं । कुनै पनि देशको झण्डा त्यो देशको राष्ट्रियता झल्काउने प्रतिक चिन्ह हो । यस्ता प्रतिक चिन्हहरु झण्डा मात्रै नभएर अरु पनि हुन्छन्- जनावर, पंक्षी, रंग, पोशाक आदि आदि । यस्ता प्रतिक चिन्हहरुले देशका सबैखाले विविधतालाई सम्बोधन गर्नु पर्दछ, सबै जनसमुदायको साझा हुनु पर्दछ र उनीहरुको भावनाको कदर हुनु पर्दछ ।

नेपाली झण्डा र प्रतिक चिन्हहरु तोक्दा के गरियो त ? नेपालको राष्ट्रिय झण्डा र प्रतिक चिन्हहरु तोक्दा त्यसले देशको सबैखाले विविधतालाई सम्बोधन गर्छ कि गर्दैन भनेर हेरियो त ? हेर्नु पर्दथ्यो तर हेरिएन । त्यसमा आफ्नो एकल छाया आयो कि आएन भनेर मात्रै हेरियो । त्यसैले गर्दा अहिले यो हेर्दा समस्या आयो ।

यस्तो किन भयो त ? नेपालमा लामो समयसम्म एकात्मक, केन्द्रीकृत, राजतन्त्रात्मक र हिन्दू राज्य सत्ता संचालन गरियो । जसले गर्दा ति सबैजसो प्रतिक चिन्हहरु हिन्दू सोच, चिन्तन, दर्शन र त्यसैद्वारा निर्देशित राजतन्त्रात्मक राज्यव्यवस्थालाई चिनाउने अर्थमा निर्माण गरियो । यसले नेपालको समग्र राष्ट्रियतालाई बोक्न सकेन । देश चिनाउनु पर्ने यहाँको आदिवासी जनजातिको विविधताले तर प्रतिक चिन्ह चाहीँ उल्टो राखिदिँदा यहाँ कुरो गडबडी भयो ।


अर्को बुझ्नु पर्ने कुरा के हो भने यस्ता प्रतिक चिन्हहरु समय अनुसार बदलिरहन्छन् । त्यसैले ती चिजहरु स्थायी हुँदै होइनन् । जनआन्दोलनबाट विकसित नयाँ परिस्थितिहरुमा त्यस्ता प्रतिक चिन्हहरु फेरिनु वैज्ञानिक र विधिसम्मत हुन्छ ।

२०६२ र ६३ को जनआन्दोलनपछि नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक, धर्म निरपेक्ष राष्ट्र घोषणा भएपछि पहिलो संविधानसभाले नयाँ संविधान निर्माण गर्ने क्रममा झण्डा परिवर्तन गर्ने बारे पर्याप्त बहस चलायो । झण्डासँगै राष्ट्रिय जनावर पनि परिवर्तन गर्नुपर्ने सम्बन्धमा जोडदार कुरा उठ्यो, उठाइयो । तर, संघीय गणतन्त्र नेपालको संविधान भनेर संविधानको कभरमा नाम लेख्न समेत नचाहने उग्रजातिवादी, अतिवादी शासकहरुबाट झण्डा परिवर्तनको कुरा सम्भव नै थिएन, भएन । जसले गर्दा एकात्मक, केन्द्रीकृत, राजतन्त्रात्मक हिन्दू राज्य नेपालकै चन्द्र, सूर्य अंकित झण्डा, राष्ट्रिय जनावर गाई र रंग सिम्रीक आदिले संघीय गणतन्त्र नेपालमा पनि निरन्तरता पायो ।

भर्खरै कलाकारहरुले नेपाली झण्डा जलाउनु त्यही असन्तुष्टिको सांकेतिक स्वरुप हो । गीतमा कुनै जात समूहप्रति नै घृणाभाव फैलाउने शब्द प्रयोग गरिएकोप्रति मेरो समर्थन रहने छैन । आदिवासी शब्दप्रति पनि जुन डा. गोपाल गुरुङको तर्क छ त्यसप्रति पनि मेरो चित्त बुझाइ छैन । मेरो अध्ययनको कमिले त्यसो हुन गएमा अध्ययनले पूर्णता पाएको दिन स्वीकार गरौंला । तर, यही कमजोरीलाई थप बुझाउनुको सट्टा उल्टै गाली गलोज गर्नु राजनीतिक संस्कारको भाषा होइन ।

कुनै पनि जाति र जातभित्रको ब्राम्हाणवादी सोच, चिन्तन वा जातिवादी दृष्टिकोण सामन्तावादी व्यवस्थाको उपज हो । त्यो जनजाति र दलितभित्र पनि छ । त्यसको विरोध अवश्य गर्नुपर्छ तर त्यसभित्रको सीमित ठालुले गरेको अपराधको भारी सबैलाई बोकाउनु भनेको फेरि पनि अर्को गम्भीर गल्ति हुनेछ । यस्तो अति कुरा सुन्दा मज्जा लाग्छ, क्या गजवको वात गर्यो भन्ने लाग्छ तर व्यवहारमा आउँदा त्यो फेल हुन्छ । यो लुतो कन्याउँदा एकछिन सन्चो भए जस्तो मात्र हो । जो निको नभई उकुच पल्टिने सम्भावना बढेर जान्छ । हामी धेरै निर्वाचनका बेला वर्तमान प्रधानमन्त्री केपी ओलीको ठट्यौली भाषणमा खुबै बहकियौ तर यथार्थमा ती त हावादारी रहेछ भन्ने अन्ततः व्यवहारले सावित गर्यो ।

वर्तमान नेपाली समाजलाई हेरौं । बसाइँसराइ, विवाह, व्यापार, रोजगारी आदि विविध कारणले मिश्रित समाजमा रुपान्तरित भएको छ, हुँदैछ । मिश्रित समाज नबनेको भए वा जात, जातिहरुको छुट्टाछुट्टै बसोबास भैदिएको भए अर्कै कुरो हुन्थ्यो होला । सायद, एकले अर्को जातिमाथि गरिने थिचोमिचो हुन्न थियो होला तर जे नहुनु थियो, भैसक्यो । अब कसैले कसैलाई सरणार्थी हुन्, आप्रवासी हुन् भन्नु सामाजीक द्वन्द्व निम्त्याउनु मात्र हुनेछ । यस्तो गल्ती सकैबाट पनि हुनु हुँदैन । भुटानबाट नेपाली मुलकालाई लखेटे जसरी कसैलाई पनि लखेट्नु सम्भव छैन र त्यसो गर्नु हुँदैन पनि । त्यसैले अब यही समाजभित्र अन्याय, असमानता, शोषण, दमन, उत्पीडनमा परेकाहरुले सामाजिक न्याय र सकारात्मक विभेदको सिद्धान्त अनुसार उनीहरुको पहिचान, प्रतिनिधित्व र पहुँचको माध्यमबाट समतामूलक समाज निर्माण गर्दै अघि बढ्नुपर्छ । सबैको पहिचान सबैको सम्मान पुँजीवादी युगको पहिलो मुद्दा हो । यसलाई अस्वीकार गरेर समाजवादको यात्रा तय गर्न सकिन्न ।

यसकारण ती कलाकार भाइहरुले झण्डा जलाउनु राज्यद्वारा लादिएको एकात्मक हिन्दू सोच, चिन्तन र दर्शन विरुद्धको सांकेतिक विद्रोह हो । यसलाई सकारात्मक पाटोबाट हेरौं । यस्तो विद्रोह फेरि फेरि नदोहोरियोस् भन्नका लागि सत्ताधारी दल नेकपा, त्यसका दुई तिहाइ बहुमतको सरकार (केपी ओली नेतृत्वकृत), जिम्मेवार राजनीतिक दलहरु र सचेत नागरिकले समस्याको दीर्घकालीन हल खोज्नु जरुरी छ । यसै बीच राजावादीहरुले दुई पक्षलाई भिडाएर आफूहरु हिरो बन्न प्रहरी प्रशासन र आमजनतालाई उचालिरहेको दृष्र्यहरु पनि सामाकि सञ्जालहरु मार्फत् बाहिरिएका छन् । धमिलो पानीमा माछा मार्न चाहने यस्ता समूहहरुको उक्साहटमा नपरि कार्यपालीका र न्यायपालीकाहरु जिम्मेवार भएर अघि बढ्न पर्दछ । अन्यथा, यसले देशलाई फासीवादको यात्रातिर नड्योहोर्याउला भन्न सकिन्न ।

कुनै पनि प्रतिक्रियाका पात्र सहायक कारण मात्र हुन् भने उत्पन्न परिस्थितीका जड मुख्य कारण हो । त्यसैले झण्डा जलाउने पात्रहरूलाई कारवाही गर्नुभन्दा उत्पन्न झण्डा जलाउने परिस्थिती उत्पन्न गराउने जड कारणको समाधान खोजिनु बुद्धिमानी हुनेछ । नत्र परिस्थितीले फेरि अर्को ग्याल्जि लामाहरु जन्माइरहनेछन् । त्यसैले यसतर्फ सचेत हुँदै पक्राउ गरिएका सबै कलाकारहरुलाई बिना शर्त रिहाई गरियोस् । धन्यवाद !

(लेखमा अभिव्यक्त गोलेका निजी विचार हुन् ।)

तपाईको प्रतिक्रिया