साहित्यकार थिङको कथा संग्रह ‘याम्बुनेर’ बजारमा

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
काठमाडाैं

पछिल्लो एक दशकदेखि कथा र कविता लेखनमा सक्रिय साहित्यकार विना थिङको नयाँ कथा संग्रह ‘याम्बुनेर’ बुधबारदेखि बजारमा उपलब्ध भएको छ ।

२०७७ को शुरुवातमै सार्वजनिक गर्ने तयारीमा रहेको भए पनि कोभिड महामारीमा लकडाउनका कारण प्रकाशन रोकिएको थियो । फिनिक्स बुक्सले प्रकाशित कथा संग्रह याम्बुनेर हाललाई अनलाइन मार्फत बजारमा ल्याएको छ ।

१३ वटा कथा रहेको संग्रहले मूलतः राज्यतहबाट ऐतिहासिक रुपमै सिमान्तमा पारिएको समुदायको कथा कहने कथाकार थिङले बताइन् । ‘यो सिमान्त समुदायको दुःख, कष्ट, पीडा मात्रै होइन उनीहरुको संघर्षको पनि कथा हो’, थिङले भनिन्, ‘यी कथामा सिमान्त समुदायमाथी भएका विभेद मात्र नभई त्यो समुदायले गरेको संघर्ष पनि अभिव्यक्त गर्ने प्रयास गरेको छु ।’

पुस्तकको नामाकरणबारे पनि कथाकार थिङले भनिन्, ‘तामाङ भाषामा काठमाडौंलाई याम्बु भनिन्छ । यो याम्बुको किनारमा छ तामाङ समुदाय । उपत्यका बाहिरबाट हेर्दा त यो पनि याम्बुकै अंग जस्तो लाग्छ तर यो समुदायले नेपाल राज्य निर्माणदेखि नै आफूलाई किनारामा पाएको छ । त्यो किनारीकृत भाव सम्प्रेषण होस् भनेरै याम्बुनेर नामाकरण गरिएको हो ।’


याम्बुको किनारमा वर्षौंदेखि राज्यबाट किनारीकृत भएर बसेको समुदायको भोगाई, समयक्रमसँगै समुदायमा आएको परिवर्तन, जीवन बोधका विभिन्न आयाम कथा संग्रहमा समेटिएको छ ।

‘यो कथा संग्रह म हुर्किएको र बाँचेको स्थान-समयको साक्षी बन्ने आशा राखेकी छु’, थिङले भनिन् ।

२०६९ सालमा ‘छुकी’ कथा संग्रह र २०७२ सालमा ‘रातो घर’ कविता संग्रह प्रकाशित गरिसकेकी थिङ विभिन्न पत्रपत्रिकामा बाल सिकाई र शिक्षा सम्बन्धमा अखबारी लेखन पनि गर्छिन् । उनी २०७५ सालको बाह्रखरी कथा प्रतियोगिताकी विजेता पनि हुन् ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका