एथलेटिक्स संघद्वारा खेलाडी आक्रमण गर्नेलाई कारवाहीको माग

संघद्वारा उपचारका लागि २१ हजार रुपैयाँ सहयोग

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
काठमाडाैं

नेपाल एथलेटिक्स संघले एथलेटिक्सका कीर्तिमानी खेलाडी चन्द्रकला लामगादेमाथि गरिएको कुटपिटको घटनामा संलग्नललाई कारवाहीको माग गरेको छ ।

संघका अध्यक्ष राजीवविक्रम शाहले बुधबार विज्ञप्ति जारी गर्दै खेलाडी चन्द्रकलालाई आक्रमण गर्नेलाई कानुनी दायरामा ल्याउन माग गरेको हो । चन्द्रकलालाई सोमबार राति झापाको मेचीनगर नगरपालिकाको चारआलीमा छिमेकीले आक्रमण गरेका थिए । कुटाईबाट खेलाडी चन्द्रकला सख्त घाइते भएकी छिन् ।

गर्भवती रहेकी चन्द्रकलाको झापाको बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा उपचार भइरहेको छ । नेपाल पुलिस क्लबमा आवद्ध चन्द्रकला कोरोना महामारीका कारण गत चैतमा लकडाउन हुनुअघि झापा गएकी थिइन् । यसैबीच नेपाल एथलेटिक्स संघका अध्यक्ष शाहीले लामगादेको उपचारका लागि २१ हजार रुपैयाँ सहयोग गरेको छ ।

अध्यक्ष शाहीका अनुसार चन्द्रकलालाई कुटपिट गर्नेलाई इलाका प्रहरी कार्यालय धुलाबारीले पक्राउ गरेको छ । एथलेटिक्स खेलाडी चन्द्रकलाले पूर्वाञ्चलमा सम्पन्न सातौं राष्ट्रिय खेलकूद र प्रदेश नं ५ मा सम्पन्न आठौं राष्ट्रिय खेलकूदमा सटपुट र ज्याभलिनथ्रोमा स्वर्ण पदक जितेकी थिइन् । चन्द्रकलाको नाममा आठौं राष्ट्रिय खेलकूदमा एथलेटिक्सको सटपुटमा १२.०४ मिटर तथा ज्याभलिनथ्रोमा ४४.०४ मिटर थ्रो गरेको राष्ट्रिय कीर्तिमान छ ।


 

तपाईको प्रतिक्रिया

पत्रपत्रिका