सम्धी-संवाद

काठमाडाैं

चन्द्रसूर्यवाला झन्डा हल्लाउँदै
भव्य महलको गेटबाट
भर्खरै प्रवेश भएको छ-
बहालवाला मन्त्रीज्यूको करोडको पजेरो ।

दौरा-सुरुवाल, स्टकोट र ढाका टोपीमा चिटिक्क मन्त्रीज्यू
हातमा पुष्पगुच्छा बोकेर पजेरोबाट बाहिर ओर्लिँदै हुनुहुन्छ ।

आउनुस् सम्धी-संवाद सुनौँ ।

सम्धीज्यू नमस्कार !
म हजुरकै प्रतिक्षामा थिएँ
हजुरलाई सम्धीको यो सानो कुटीमा हार्दिक स्वागत छ ।

बहालवाला सम्धीज्यू पुष्पगुच्छा सम्धीज्यूको हातमा थमाउँदै,
‘बधाई सम्धीज्यू !’

‘सम्धीज्यूको कृपाले हो
सम्धीज्यू, मुख मिठ्याउनुस् ।’

लाखाछेको गुलियो लड्डु चपाउँदै
दुई सम्धीहरु भर्याङ उक्लिन्छन् ।

दुबै सम्धीहरु रुफटप गार्डेनमा टहलिँदै छन् ।
भव्य गार्डेन छ रुफटपमा ।
कुनै पाँचतारे होटलको भन्दा कम छैन ।
वरिपरि गमलामा रंगीचंगी फूलहरु फुलेका छन् ।
गार्डेनको एउटा कुनामा लटरम्म अनार फलेको छ ।
अर्को कुनामा अंगुरको झुप्पाहरु छन् ।
बाँकी दुई कुनोमा छन् भोगटे र कागतीको बोट ।
बीचमा ठाउँ ठाउँमा टेबुल र कुर्सी सजिएका छन् ।
आज त झन् खास तरिकाले सजिएका छन् कुर्सी तेबलहरु
गार्डेनको ठिक बीचको ठूलो टेबलमा बिराजमान छन् दुई सम्धीहरु ।
निकुञ्जबाट हिजैमात्र
आइपुगेको मृगको सुकुटी, कालिजको लेगपीस, कलेजो र पाँङ्ग्र, तारेको काजु र
एक फुल ब्लू लेबल सजिएको छ टेबलमा ।

सम्धीज्यू अब सुरु गरौँ ।

दुई सम्धीहरुले ब्लू लेवलको ग्लास ठोकेर चियर्स गरे ।
सम्धीज्यू तपाईं त जबजको एक मात्र शक्तिशाली मन्त्री हुनुहुन्छ
सम्धीज्यूले बोले पछि बोल्यो
सम्धीज्यूको पावर र आँट अघि सधैं नतमस्तक छु ।

लौ सम्धीज्यू
तपाईंलाई थाहा छैन र ?
म जे गर्छु, जति गर्छु, जसरी गर्छु, जति भर्छु नि
(अब त भएको ट्याङ्की भरेर पनि भर्खरै नयाँ ब्रान्डको अर्को दुई ट्याङ्की थपेको छु)
खुल्लम खुल्ला हो सम्धीज्यू !
अरुले जस्तो लुकीछिपी गर्न जान्दिनँ म
सम्धीज्यूलाई थाहै छ नि सबैभन्दा माथी को हुन्छ ?

‘ईश्वर !’

बहालवाला सम्धीज्यूको अनुहार धपक्क बल्यो ।
हाँस्दै दुई सम्धीले फेरि गिलास ठोके ।
एक एकवटा कलिजको साँप्रा टिपेर लुछ्न थाले ।
हेर्नलाई दृश्य रमाइलो छ ।

‘नमस्कार ! मन्त्रीज्यू, तपाईंले मलाई चिन्नुभो ?’

साँप्रा चपाइरहेको मन्त्री चपाउँदा चपाउँदै टक्क रोकिए ।

‘हैन एक्कासी जासुसी गर्न को छिरे ?
कतै सम्धीको षड्यन्त्र त होइन ?
यहाँ त बिल्कुल हामी दुई सम्धीको मात्रै गोप्य भेटघाट तय भएको थियो ।’

सम्धीमन्त्रीज्यूले एकफन्को आँखाको छापा हाने । कोही देखिएनन् ।

‘मन्त्रीज्यू, त्यता हैन के ? माथी हेर्नुस् न यता माथी ।’

मन्त्री माथीतिर हेर्छ ।

‘अब त चिन्नु भो होला ।
हामी उही के त तपाईंको प्रिय मित्र ट्याङ्की ।
पहिला त हजुर हामीलाई औधी माया गर्नु हुन्थ्यो ।
अचेल त ओम्नी, यती जस्ता नयाँनयाँ ब्रान्डतिर लाग्नु भएछ ।
अनि अब त झन् हजुरलाई हामी जस्ताको के खाँचो हगी ?
भकारीको जिम्मा साख्खै सम्धीलाई लगाइहाल्नु भएछ पो ।
बधाई मन्त्रीज्यू !’

के सोच्न थाल्नुभो सम्धीज्यू ?
तपाईं त टोलाउन पो थाल्नु भो ।

हैन हैन सम्धीज्यू
खासमा भरेको मन्त्रीमण्डलको बैठकमा कसको नाम सिफारिस गर्ने होला सोच्दैथेँ ।

फेरि एकचोटी दुई सम्धीले गिलास ठोके
सम्धीमन्त्रीको आईफोन प्रो–११ को घण्टी बज्यो ।

‘दर्शन भिनाजु ! म उत्तम,
तपाईंलाई दिदीले मेरो बिन्ती सुनाउनु भएन र ?’

‘ए… अँ सुनाएकी थी
हिजो ओछ्यानमा मेरो कपाल सुमसुम्याउँदै तिम्रो दिदीले सुनाएकी थी ।’

लु है भिनाजु, मेरो अन्तिम मौका यही हो
यस चोटी चाहीँ नाइँ नभनिदिनु होला
हजुर र मलाई आधा आधा गरौंला ।

तिमी ढुक्क होउ
आजको क्याबिनेटबाट तिम्रो नाम पक्का ।

थ्याङ्क यू भिनाजु
थ्याङ्क यू सो मच ।

सम्धीज्यू एक प्याक अर्को थपौँ है ?

एक हैन दुई थप्नुस् सम्धीज्यू ।

म ठोकुवा दिएर भन्छु सम्धीज्यू
जबजको एक मात्र उत्तराधिकारी हजुरनै हो ।
बधाई सम्धीज्यू !

लामो हाँसोको साथमा फेरि चियर्स !!

तपाईको प्रतिक्रिया