माया

बिना थिङ तामाङ बुढानिलकण्ठ, काठमाडाैं
0 Shares
कथा

‘आमा खै… अँ…’

पुक्क परेका गाला, चिम्सा आँखा, थेप्चो नाक तर फराकिलो निधारकी माया आफ्नो घाँघरको फेर निहुरिएर नियाल्दै भन्छे । यस्तै तीन वर्षकी होलीन् म अनुमान लाउँछु । भर्खरै मैले ल्याईदिएकी घाँघरमा माया पुतली जस्तै देखिएकी छे ।

‘माया, माया । खेल्न जाउँ ।’

खितिति हाँस्दै एकहुल केटाकेटी आउँछन् र जान्छन् उसरी नै हाँस्दै, मायालाई सँगै लिएर ।

म उनिहरु गएको हेर्छु एकपटक अनि फरक्क फर्कन्छु । अगाडी एउटा घर छ । घर के जस्ताको टहरा मात्रै छ । त्यसको ठिक मास्तिर साईनबोर्ड झुण्डिएको छ । लेखिएको छ, ‘पर्वत बाल आश्रम’ र त्यसको ठिक मुनि म देख्छु सविना म्याडम ।

खरानी रङ्गको साडी र कालो ब्लाउज लगाएकी एकदम हँसिली सविना म्याडम मलाई आफूतिर आउन ईशारा गर्छिन् । म सरासर उनी भएतिर पुग्छु । सबनम दुईवटा मेच लिएर आईपुग्छे । उ मेच राख्छे र मुसुक्क मुस्कुराएर कुद्छे ।

‘यो सबनम । पन्ध्र वर्षकी भई । नौ कक्षामा पढ्दै छे । मेरो दाँया हात भनेपनि हुन्छ अहिले त । एउटी दिदी छिन् खाना बनाउने । कपडा धुन चाँहि बाहिरबाट आउँछन् दुईजना हप्तामा दुईपटक ।’

‘ए ए ।’ म टाउको हल्लाउँछु ।

सबनम चिया लिएर आईपुग्छे । हामी चियाको कप उचाल्छौं । सबनम पुनः मुस्कुराएर जान्छे ।

हल्का साँवला रङ्गकी सबनमको थर चाँहि चौधरी हो । आमा टि.बि. लागेर मरेपछि बाउले अर्को बिहे गरेछन् । त्यतिखेर जम्मा ७ वर्षकी थिई सबनम । कान्छीआमाको अचाक्ली र बाउको कुटाई खपिनसक्नु भएपछि कताकताबाट ‘पर्वत बाल आश्रम’ आईपुगेकी रहेछिन् ।

अहिले उ घर सम्झिन पनि चाहन्न । घरपरिवारको कुरा कसैले झिके भने एकदम निली हुन्छे मानौं उ अझै सन्त्रासमा छे । त्यसैले अचेल सबनमसँग घरको कुरा गर्दैनन् । त्यसैले उ खुसी छे । अहिले उ सविना म्याडम र आश्रमका अरु केटाकेटीसँग खुब झ्याम्मिएकी छे । मुस्कुराउन सक्ने भएकी छे । सबनम जस्ता केटीहरु हाम्रो देशमा कति होलान् ? उफ् ! बेहिसाब छन् । म एकदम अत्यासिन्छु ।

‘अँ त मायाको कुरा के हो ? तपाईंको पोजेटिभ मेल पाएर नै म यहाँ आएकी छु ।’

म प्रसंगमा आउँछु ।

‘ए माया ! माया थापा मगर । यहाँ ल्याईएकी जम्मा जम्मी ४ महिना भयो । खासमा माया यहाँ आउँदा एकदमै विक्षिप्त जस्तै अवस्थामा थिईन् । कसैसँग नबोल्ने । डराउने पनि । अहिले निकै कम भएको छ । गएको आषाढमा पहिरोले बाबु, आमासँगै दिदीलाई पनि थिचेपछि उनी नितान्त एक्लीएकी हुन् । उनी चै छिमेकमा खेल्न गएकीले जोगिएकी रहेछिन् । आज पनि परिवारको त्यो विभत्स मृत्युबारे उनलाई केही थाहा छैन । कसैले उनलाई भनिदिएको रहेछ आमा कतै जानुभएको छ भनेर । उसले पत्याएको छ र आमा आउँछिन् भन्ने आशामा छिन् । बरा ! आमाको नियास्रो अझै देख्छु मायाको आँखामा । अरु त लगभग लगभग धुमिल भैसके उनको स्मृतिबाट । तर, आमा त निद्रामा पनि बर्बराईरन्छिन् । अति माया लाग्छ मायाको । तपाईले एडप्ट गर्छु भन्ने आशय व्यक्त गर्नुभएपछि खुब सोच्यौं हामीले र अन्ततः तपाईंबाट आमाको अभाव, प्रेम प्राप्त गरिन् भने मायाको जीवन सहज हुनेछ भन्ने विश्वास लिएर त्यो मेल गरेका थियौं ।’

‘हो, अब हेर्नुस न म पनि त एक्ली छु । नितान्त एक्ली । विवाह भएको दशौं वर्ष वितिसक्दा पनि हाम्रो सन्तान भएन । हामीले डक्टरको सहायता पनि लियौं । तर, सम्भावना एकदम न्युन भएको बताए । वास्तवमा बच्चा नहुनुको प्रमुख कारण आफ्नो प्रजनन क्षमतमा खराबी रहेको सत्यलाई आत्मसाथ गर्न नसक्ने मेरो लोग्ने भनाउँदोको नजरमा मुख्य दोषी म थिएँ । उसले भ्रम र अंहम एकै पटक टेकेर मलाई जथाभावी भन्न थालेपछि मलाई सहृय भएन । आफ्नो कमजोरी म माथि थोपर्ने उसको बद्नियताप्रति ममा एककिसिमको रोष थियो जुन मैले डिभोर्स गरेर प्रकट गरेँ । अहिले हामी अलग छौं । स्वतन्त्र छौं । तर, म अर्को विवाह गर्ने सुरमा छुईन । अहिले विस्तारै मलाई लोग्नेमान्छे देखेर रिस उठ्न थालेको छ । यसो भनौं न, घिन लागेको छ । उनिहरुको पुरुष अहंमले नारीको मन कति रेटेको छ त्यो कहिल्यै चिह्याउने प्रयास समेत गर्दैनन् । सबै त नभनम् तर अधिकांश पुरुष यस पवृत्तिबाट अछुत छैनन् । उनीहरु एककिसिमको भ्रम पालेर बसेका पाईन्छन् । उनीहरु हामी महिला पुरुष बिना बाँच्न सक्दैनौ । एक न एक दिन पुरुषको अधिनमा आफूलाई समर्पित गर्छन् भन्ने सोच्छन् । म त्यो भ्रम च्यात्न चाहन्छु, भत्काउन चाहन्छु । यद्यपी म भित्र वात्सल्यता भरपूर मात्रामा छ । जुन म पोख्न चाहन्छु कुनै बालकमा । त्यसैले मैले मायाको बारेमा पत्रिका पढेपछि तपाईंलाई मेल गरेकी थिएँ । म मायालाई चाहिने भन्दा बढी स्नेह प्रदान गर्न सक्छु । मलाई यस्तै लाग्छ ।’

यतिखेर सविना म्याडम प्रफुल्लित मुद्रामा देखिन्छिन् । उनी मेरो कथाले छोईन् वा मायाप्रतिको मेरो प्रेमको कथाले । जे होस् उनी खुब खुसी देखिन्छिन् ।

म फेरी बोल्छु । ‘म मायालाई छोरीको रुपमा आत्मसाथ गर्न उद्यत छु । यसको लागि यहाँले उनको परिवारको कोही सदस्य भए जानकारीसहित प्रस्ताव लगिदिनु भई मेरो आशय बुझाईदिन भए म तपाईं र यस आश्रमप्रति आभारी हुने थिएँ ।’

‘हुन्छ । मैले तपाईंको बारेमा हल्काफुल्का त जानकारी पाएकी छु । आज भेटेर गफ गरिसकेपछि तपाईंको शालिनताबाट अझ प्रभावित भएँ । धन्यवाद, म तपाईंलाई पुन मेल गर्नेछु । मायाको आफ्नै भन्ने त सबै पहिरोमै परिहाले । मामाघरपटिका हजुरआमा छिन् । म यसको बारेमा कुरा चलाएर खबर गर्नेछु ।’

सविना म्याडमको सकारात्मक जवाफले म उत्साहित हुन्छु ।

‘ओके, म मेरो वकिलसँग कुरा गरेर सम्पूर्ण कागजात तयार पार्नेछु । यो भ्याकेशन लगत्तै मेरो स्कुल खुल्ने हुदाँ जतिसक्दो छिटो यो काम गर्न पाए म ढुक्क हुने थिएँ । अँ साच्चै, आश्रमका केटाकेटीका लागि केही कपडाहरु ल्याएकी छु । मायको लागि अघि झिकेर लगाईदिएँ । अरु एकजना दिदीलाई दिएकी छु । सायद् भित्र राख्नु भएको होला । हस् त अहिले म फर्कन्छु ।’

म विदा हुन्छु । सुलभ मोटरमै मेरो प्रतिक्षा गरिरहेको रहेछ । सुलभ मेरो बाल्यकाल देखिको साथी । मेरो सुख दुःखमा हरहमेशा साथ रहने अनन्य मित्र । हामी त्याहाँबाट हुईकिन्छौं काठमाण्डौको लागि । बाटोभरि सुलभ र म मौन छौं । वास्तवमा सुलभलाई मेरो आश्रम आउने कुरा मन परिरहेको छैन र पनि मेरो अनुरोधलाई नाँई भन्न नसकेर यतिखेर मसँग छ । उसको गुनासो छ यसपटक मसँग ।

‘तिमी बच्चा चाहन्छौ भने अर्को विहे गर । यसरी एक्लै जीवन जिउने तिम्रो यो ढिपी मलाई पटक्कै मन परेको छैन ? के तिमि तिमीलाई पनि कसैले हदभन्दा बढी माया गरोस् भन्ने लाग्दैन ?’ सुलभले हल्का आक्रोश पोखेको थियो ।

‘सुलभ, जीवन जिउने आ–आफ्नै कला हुन्छ । कसैलाई के मनपर्ला कसैलाई के ? मलाई १० वर्ष त्यो जीवन जिउन मन लाग्यो जिएँ । अब यसरी जिउन मन लाग्यो । मैले यो बितेको दश वर्ष स्वास्नी कम र दास बढ्ता भएर बिताएँ । अब म स्वतन्त्र भएर जीवन जिउन चाहन्छु । म आफै मालिक भएर जीवन जिउन लालायित छु । प्लिज यसमा मलाई कुनै किसिमको फोर्स नगर । फेरि विवाह भनेको प्रेमलाई यो सामाजिक स्वाकारोक्ति दिलाउने एउटा आधिकारिक प्रकृया मात्र त हो । अब मलाई कसैसँग प्रेम नै छैन भने मैले त्यो झन्झट किन व्योहोरिरहनु ? बस् अब म कुनै बच्चा एडप्ट गर्न चाहन्छु । बरु मलाई सहयोग गर ।’

मैले हाँस्दै प्रतिवाद र अनुरोध एकैपटक गरेकी थिएँ ।

‘तर, आफ्नो रगतले जतिकै अपनत्व र सुरक्षा दिन्छ र अर्काकोले ? सुलभ अझै सशंकित छ ।’

‘उफ् ! तिमी पनि । के सबै छोराछोरीले आमाबाबुको जिम्मा लिएका छन् ? के तिनीहरुले उमेर पुगेका अशक्त आमाबाबुको सेवा गरेकै छन् ? शत्प्रतिशत देखेका छौ ? सब स्वार्थमा लिप्त हुँदै गएका छन् । आफ्नै सन्तानले वृद्धाआश्रम पु¥याएका छन् अभिभावकलाई । यो मान्छेको स्वाभाव र उसको परिवेशमा भर परिने कुरा हो । असल सिकाई र परिवेशले के आफ्नो के पराया त्यसमा भेद राख्दैन । म त्यो परिवेश दिन सक्छु भन्ने लाग्छ ।’

त्यतिखेर सुलभले आँखा तरेको थियो तर आज छैन । उ सिधा बाटो हेरेर मोटर हाँक्दै छ । उसलाई आज कुनै दिक्दारी छैन । आखिर उ मेरो साथी हो ।

हामी करिब चार घण्टाको यात्रापश्चात आईपुगेका छौं काठमाण्डौ । मलाई घर पु¥याएर सुलभ आफ्नो घर जान्छ । मेरोमा चिया पिएर जाने प्रस्तावलाई केही दिनको लागि थातीं राखेर उ गएको छ ।

हामी केही दिनमा पुनः कुश्मा जानेछौं । यो हप्ताभरिमा सबै कागजातहरु मिलाउनु छ । दौडधुप पनि गर्नुछ ।

………

सुलभ ठिक समयामा आईपुगेको छ । सविना म्याडमको मेल प्राप्त गरेपछि मैले सुलभलाई खबर गरेकी थिएँ । हामी कुश्माको लागि निस्कन्छौं । आश्रममा सबै हामीलाई पर्खिरहेका होलान् ।

गाढा निलो रङगको भेष्ट र निलै जिन्समा आज सुलभ प्रफुल्लित देखिएको छ ।

‘खुब खुसी छौ ?’

मेरो प्रश्न भुईंमा खस्न नपाउँदै उ प्रतिउत्तर दिन्छ ‘हो खुसी छु’ ।

‘तिमी पनि खुसी छौ । तिम्रो वर्षौदेखिको आमा बन्ने सपना जो पूरा हुँदैछ आज । भन्नुपर्दा आज हामी विशेष कामको लागि यात्रा तय गर्दैछौं ।’

‘थ्याङ्स यु सो मच् । वास्तवमै आज म असाध्यै खुसी छु । आजबाट म आमा बन्दैछु । रगतको सम्बन्ध भन्दा पनि गहिरो र गाढा आत्मियताको सम्बन्ध हुन्छ भन्ने विश्वास छ । म चाहन्थें त आफ्नै रगतको सम्बन्ध स्थापित गर्न सक्थेँ । तर, त्यसको लागि कुनै पुरुषको वीर्य धारण गर्नु परिहाल्छ । जुन पुरुषलाई म माया नै गर्दिन उसको वीर्य प्राप्तीमा मलाई ग्लानी हुनेछ । जसलाई माया गरेँ उबाट यो सम्भव छैन । माया जस्ता हजारौं बालबालिकाहरुमा हामी आफ्नो सन्तान किन खोज्दैनौं ? किन रगतकै सम्बन्ध प्यारो ? म भावविभोर हुन्छु साथै आक्रोशित पनि ।’

‘हो, यहाँ मायाहरु अलपत्र छन् । तिनीहरुको भविष्य अन्योलमा छ । हामीहरुले यस्ता एक एक मायाहरु स्वीकार्यौं भने न मायाहरुले मातृत्व अभावमा आफूलाई गलाईरहनु पथ्र्यो न हामीहरु सन्तान अभावमा पिल्सिरहनु पथ्र्यो । त्यसैले हामीले मायाहरुलाई माया गर्नुपर्छ ।’

सुलभ पनि भावविभोर मुद्रामा देखिन्छन् ।

सुलभ आज मन मष्तिस्कले एकदम खारिएको अनुभव गर्दैछु । केही दिनदेखि लगातार उसले मसँग मायाको बारेमा चासो देखाईरहेको छ ।

माया, सविना म्याडम, सबनम, आश्रमका अरु केटाकेटी र एकजना बुढी आईमाई सबै हामीलाई पर्खिरहेका रहेछन् । हामीलाई देखेर सबै खुसी हुन्छन् । उज्याला देखिन्छन् ।

‘उहाँ मायाको हजुरआमा ।’

त्यो बुढी आईमाई मायाको हजुआमा रहेछिन् । सविना म्याडमले परिचय गराउँछिन् । म नमस्ते गर्छु ।

‘यसको बाबु, आमा, दिदी सबैलाई पहिरोले लग्यो । यही एउटी टुहुरी बाँचेकी छे । म उमेरकी हुदोँ हुँ त आफैं राख्थेँ । पढाउँथेँ । सक्दिन अब त काम गर्न पनि ।’

हजुरआमा बलिन्द्र आँशु बगाउँछिन् ।

सबैको आँखा भिजेको छ यतिखेर ।

म सबै कागजातहरु निकालेर धमाधम दस्तखत गर्छु । सविना म्याडम आश्रमको छाप निकालेर ठोक्छिन् । हजुरआमा थरथराउँदो हातले औठा लाउँछिन् ।

सुलभ मोटरबाट बडेमाको केक झिकेर ल्याउँछ । माया केक काट्छिन् । मलाई एक टुक्रा खुवाउँछिन् । म पनि त्यसैगरी एक टुक्रा केक मायाको मुखमा हालिदिन्छु । उ खुब खुसी हुन्छे । हामी सबै मिलेर मायाको जन्म दिनको उत्सव मनाउँछौं । हो आज माया मेरी छोरीको रुपमा जन्मिएकी छे । उ विस्तारै मलाई बडो स्नेहपूर्वक बोलाउँछे ।

‘आमा ।’

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया