मलेसियाका विदेशी पर्यटकलाई प्रवेशका लागि लगाइएको प्रतिवन्ध थप लम्ब्याइएको छ । कोरोनाभाइरसको महामारी फैलिएको देशबाट आएका पर्यटकहरुलाई प्रतिवन्ध लगाउने निर्णय भएको अधिकारीहरुले जनाएका छन् ।
विदेशी पर्यटकलाई लगाइएको प्रतिवन्धको अवधि यही वर्ष सन् २०२० को अन्त्यसम्म पुर्याइएको पनि उनीहरुले बताएका छन् । मलेसियाका प्रधानमन्त्री मुहीद्धिन यासिनले एक टेलिभिजनमा सम्वोधन गर्दै विश्वभरी नै कोरोना संक्रमितहरुको संख्या बृद्धि भइरहेकाले अन्तरदेशिय आवतजावतलाई निषेध गरिएको स्पष्ट पारे ।
प्रधानमन्त्री यासिनले आफ्नै देशमा पनि संक्रमितहरुको संख्या दिनप्रतिदिन बढीरहेकोले अन्तरिक सतर्कता पनि उत्तिकै बढाउनु पर्ने आवश्यकतामा जोड दिए । बेलामा सचेत नभएर लापर्वाही गरिएमा अनियन्त्रित अवस्था सृजना हुनसक्ने चेतावनी पनि प्रधानमन्त्री यासिनले दिएको छ ।
मलेसियामा अहिलेसम्म कोरोना भाइरसबाट नौ हजारभन्दा बढी संक्रमित भएका छन् , भने अरु १२५ जनाको कोरोनाकै कारण मृत्यु भएको छ । थप प्रतिबन्धका दैनिक क्रियाकलापमा अवरोध खडा नगर्ने प्रायः व्यवसाय र विद्यालयहरू पुनः सुरु भइसकेका मुहिद्धिनले बताएको छ । नाइटक्लबहरू र मनोरन्जन केन्द्रहरू बन्द रहनुका साथै अन्तर्राष्ट्रिय खेल कार्यक्रमहरू प्रतिबन्धित भएको उनले बताएको छ ।
मलेसियामा सामाजिक दुरी कायम गर्ने, मास्क लगाउने, सेनिटाईजर वा सावुनको प्रयोगमा ध्यान दिने लगायतका आधारभूत स्वास्थ्य मापदण्डहरु भने पालना गर्न सबैलाई प्रधानमन्त्रीले आह्वान गरिरहेका छन् ।