धनकुटामा पिसीआर परीक्षण हुने

धनकुटा
फोटो : फाइल

धनकुटा जिल्ला अस्पतालमा पिसीआर परीक्षण हुने भएको छ । संघीय सरकारले पीसीआर मेसिन खरिद गर्न एक करोड बजेट पठाएसँगै धनकुटामै परिक्षण हुने स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख तुलसीप्रसाद गुराँगाईले जानकारी दिए । उनका अनुसार पिसीआर परीक्षण मेसिन जडानका लागि बजेटको सिलिङ आएको र अब खरिद प्रकृया सुरु भएको छ ।

कोरोनाको परीक्षणको दायरा बढाउन संघीय सरकारले पीसीआर परीक्षण मेसिन जडान गर्न बजेट निकाशा गरेको हो ।

धनकुटामा पिसीआर परीक्षण मेसिन जडान भएपछि कोशी अञ्चलका पहाडी जिल्ला धनकुटासहित तेह्रथुम, सङ्खुवासभा र भोजपुरको स्वाब परीक्षण गरिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको असार १२ गते र कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष सञ्चालक समितिले गत भदौ २ गते धनकुटामा पिसीआर परीक्षण मेसिन राख्ने निर्णय गरेपछि बजेट निकासा भएको हो ।

कोशीका पहाडी जिल्लामा पिसीआर परीक्षण मेसिन नहुँदा यी जिल्लामा सङ्कलित स्वाब बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाउदै आएका छन् । जसले गर्दा रिपोर्ट ढिलो आउने तथा सङ्कलित स्वाब हराउने गरेको छ । धनकुटामा पछिल्लो समय आइसोलेसन तयारी हुनु र पिसीआर परीक्षण गर्ने मेसिन सञ्चालकको पनि तयारी हुनुले केही राहत महसुस भएको स्थानीयहरू बताउँछन् ।


धनकुटामा पिसीआर परीक्षण मेसिन जडान गर्न कोशी पहाडी जिल्लाका प्रतिनिधिसभा सदस्यहरुको विशेष पहलमा सम्भव भएको धनकुटाबाट प्रतिनिधिसभामा नेतृत्व गरे राजेन्द्र राईले बताए ।उनका अनुसार कोशी पहाडका प्रतिनिधिसभा सदस्यहरू तेह्रथुमका भवानी खापुङ, संखुवासभाका राजेन्द्र गौतम र भोजपुरका सुदन किराँतीले पटकपटक स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई भेटेर पहल गरेका हुन् ।

पटकपटकको पहलपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको असार १२ गते र कोरोना सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष सञ्चालक समितिले गत भदौ २ गते धनकुटामा पिसीआर परीक्षण मेसिन राख्ने निर्णय गरेको प्रतिनिधिसभा सदस्य राईले बताए ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका