भारतका पूर्वराष्ट्रपति प्रणब मुखर्जीको सोमबार निधन भएको छ । झन्डै एक महिना अगाडिदेखि सैनिक अस्पतालमा उपचार गराइरहेका मुखर्जीको उपचार सफल हुन नसकेको चिकित्सकहरुले जनाएका छन् ।
उनी केही दिनदेखि अचेत अवस्थामा थियो । उनको स्वास्थ्य अवस्थामा कहिले सुधार आउने, कहिले स्थिर हुने भइरहेको चिकित्सकहरुले बताउने गरेका थिए । उनका छोरा तथा पूर्वसांसद अभिजित मुखर्जीले पनि सामाजिक सञ्जाल ट्वीटर मार्फत् पिता मुखर्जीको निधन भएको जानकारी दिएको छ ।
अभिजितले ट्वीटमा लेखेको छ, ‘भारी हृदयका साथ यो जानकारी गराउन वाध्य छु की मेरा पिता प्रणब मुखर्जी अब हामीबीच रहनु भएन, उहाँलाई बचाउन हरसम्भव प्रयास गर्नुभएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरु र उहाँको सुस्वास्थ्यको कामना गर्नुभएका सवै सुवेच्छुक तथा इष्टमित्रहरुप्रति हार्दिक आभार व्यक्त गर्दछु ।’
मृतक मुखर्जी भारतको १३ औं राष्ट्रपति भएको थियो । उनको कार्यकाल सन् २०१२ देखि २०१७ सम्म रहेको थियो । राष्ट्रपति हुनु पहिले भारतीय राष्ट्रिय काँग्रेसका वरिष्ठ नेता समेत रहेका मुखर्जी त्यसअघि सोही दलबाट अर्थमन्त्री समेत भएको थियो । उनको जन्म सन् १९३५ डिसेम्बर ११ मा भारतको मिरितीमा भएको थियो । उनकी श्रीमती सुभ्रा मुखर्जीको भने मुखर्जी राष्ट्रपति भएकै बेला सन् २०१५ मा निधन भएको हो ।