भारतको सीप नेपालमै खन्याउँदै गरेका वैद्यराज

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
काठमाडाैं

सूर्योदय नगरपालिकास्थित पशुपतिनगरका कुलबहादुर राईले २०१३ सालमा भारतको कलकत्तामा आयुर्वेदिक शिक्षा शुरु गरे । शुरुमा जटिल लागेको यो विषय सात वर्ष अध्ययन गरेपछि मात्र केही उर्जा थपियो । विशेष गरी महिलामा बाँझोपन, पाठेघरको समस्या, प्रसूति तथा यौन रोगको उपचार गर्नुहुने राईले आफ्नो उपचारबाट अहिलेसम्म धेरै जनालाई निको भएको बताए ।

आफै जडीबुटी सङ्कलन गरेर औषधि बनाउने गरेका राईले औषधि तयार पार्न धेरै दुःख झेल्नु परिरहेको बताए । आफूले बनाउने औषधिमा दुर्लभ किसिमको जडीबुटी पर्ने भएकाले यसका लागि कर तिर्नुपर्ने, नापी गर्नुपर्ने र सम्बन्धित कार्यालयबाट स्वीकृति लिएपछि मात्र ल्याउनु पर्नेजस्ता झन्झट बेहोर्नु परिरहेको उनको भनाइ छ । ‘जटामसी, लेमन ग्रास, खैरको बोक्रा, पाँचऔलेलगायतका जडीबुटी मिसाएर औषधि तयार गर्नुपर्छ । यी औषधि किन्न वन कार्यालयको स्वीकृत चाहिन्छ’, उनले भने, ‘वन कार्यालयको स्वीकृति लिएर पहिलै निश्चित जग्गा खरीद गर्नुपर्छ र त्यसबाट उत्पादित औषधि लिँदा पनि कर बुझाउनु पर्छ । साहै्र सकस छ ।’

घरेलु तथा साना उद्योग विकास शाखाबाट आफूले प्रशिक्षकका रुपमा विभिन्न ठाउँमा आयुर्वेदिक उपचार पद्धति सिकाए पनि पछिल्लो पुस्ताले यसप्रति खासै चासो नदेखाएको राईको भनाइ छ ।

सूर्योदय नगरपालिकाकै लोकश सुब्बाले पनि लामो समयदेखि आयुर्वेदिक उपचार पद्धतिबाट उपचार गर्दै आउनुभएको छ । आफ्नै घर छेउमा औषधालय खोलेर हड्डी खिएको र मर्किएको बिरामीलाई उहाँले उपचार गर्दै आउनुभएको छ । ‘जडीबुटीबाट बनेको मात्र औषधि चलाउँछु । अहिले सम्म ठिक भएन भन्दै कोही आउनुभएको छैन’, उनले भने, ‘२०६१ सालदेखि पेसागत रूपमा आयुर्वेदिक पद्धतिबाट उपचार गर्न थालिएको र यसका लागि ‘सुब्बा आयुर्वेदिक उपचार केन्द्र’ नामक औषाधालय समेत खोलेको छु ।’


आयुर्वेदिक उपचार पद्धतितर्फ बढ्दो आकर्षण

इलाम जडीबुटीबाट बनेका औषधिले एलोपेथिक औषधिको जस्तो साइडइफेक्ट नरहने र रोग निको भई शारीरिक दुर्वलता पनि कम हुने भएपछि पछिल्लो समय आयुर्वेदिक उपचार पद्धतितर्फ सर्वसाधारणको आकर्षण बढेको छ ।

आयुर्वेद विधिबाट रोग लाग्न नदिने र रोग लागेपछि पनि सस्तोमा उपचार हुने तथा साइडइफेक्टको सम्भावना न्यून रहेकाले आकर्षण बढेको हो । कोरोना भाइरस सङ्क्रमणबाट बच्नका लागि पनि आयुर्वेदिक औषधि सेवन गर्नुपर्ने आयुर्वेदिक चिकित्सकको सुझाव छ । जडीबुटीबाट बनेका औषधिको सेवनले रोग प्रतिरोधात्मक शक्ति बढाउने भएकाले यसको उपभोग गर्नुपर्ने उनीहरुको सुझाव छ ।

तपाईको प्रतिक्रिया