सर्लाहीको विष्णु गाउँपालिकाका एक युवकको भारतमा मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ । किनमेलका लागि भारतको मेजरगञ्ज पुगेर फर्किदै गरेका विष्णु गाउँपालिका–१, का २५ वर्षीय राजेश दासको बिहीबार दिउँसो भारतको मेजरगञ्ज माधोपुरस्थित सतीमाई मन्दिर नजिक भएको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको हो।
दुर्घटनामा मृतकको नातामा भतिज पर्ने २२ वर्षीय हरिकिशोर दास गम्भीर घाईते भएका छन् । घाइतेको मेजरगञ्जमै उपचार भैरहेको परिवार स्रोतले जनाएको छ । दासद्वय भारतबाट किनमेल गरी मोटरसाइकलमा घरतर्फ आउँदै गर्दा सीमाक्षेत्रमा मदिरा पिएर फर्किदै गरेका व्यक्तिहरु सवार मोटरसाइकलले ठक्कर दिएको प्रत्यक्षदर्शीले बताएका छन् ।
दुर्घटनामा परेको दुवै मोटरसाइकलको नम्वर भने खुल्न सकेको छैन् । नेपाली युवा चढेको मोटरसाइकललाई ठक्कर दिई मदिरा सेवन गरेका भारतीय नागरिक चढेको मोटरसाइकल फरार भएको छ । भारतको बिहारमा मदिरा बेचबिखनमा प्रतिबन्ध भएपछि त्यहाँका मदिरामा लत भएका व्यक्ति जाँड–रक्सी पिउन सर्लाहीको सीमा क्षेत्रमा अवैध किसिमले खुलेका भट्टीहरुमा आउने गरेका छन् । यसले गर्दा सीमा क्षेत्रमा अपराधिक र दुर्घटनाजन्य घटना बढेको स्थानीय वाषिन्दाले बताएका छन् ।