कोरोनाले आमा-छोराको मृत्यु, परिवारका सबै सदस्य विचलित

सैलुङअनलाइन संवाददाता
भक्तपुर

६२ वर्षीया कोरोना सङ्क्रमित आमाको मृत्यु भएको चार दिनपछि ४० वर्षीय छोराको पनि मृत्यु भएसँगै मध्यपुरथिमि नगरपालिका-७ नगदेश निवासी सङ्क्रमित परिवारका अन्य ६ जनाको विचलित भएका छन् ।

यही भदौ १३ गते सङ्क्रमित आमाको उपचारका क्रममा पाटन अस्पतालमा मृत्यु भएको थियो र सोही अस्पतालमै भेन्टिलेटरमा उपचारका क्रममा सङ्क्रमित छोराको गए राति मृत्यु भएको हो ।

कोरोनाको सङ्क्रमण भने छोराबाट आमामा भएको आशंका गरिएको छ । श्वासप्रश्वासमा समस्या आएको आमाको परीक्षणको क्रममा कोरोना पुष्टि भएपछि परिवारका अन्य सदस्यको पनि पिसिआर परीक्षण गर्दा परिवारका सबैमा सङ्क्रमण देखिएको मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले बताए ।


भदौ १ गते आमालाई पाटन अस्पताल भर्ना गरिएको र श्वासप्रश्वासमा समस्या आएपछि ३ गते छोरालाई पनि पाटन अस्पताल नै लगिएकोमा आमाको उपचारका क्रममा १३ गते र छोराको पनि उपचारकै क्रममा १६ गते राति मृत्यु भएको हो । आमालाई दमको रोग र छोरा उच्च रक्तचापको औषधि सेवन गरिरहेका परिवार स्रोतले जानकारी दिएका छन् ।

मृतकका करीब ७० वर्षीय बाबु, गर्भवती श्रीमती, एक बहिनी, एक छोरा, एक छोरी र घरका अन्य एक सदस्यलाई पनि सङ्क्रमण पुष्टि भएपछि सबै होम आइसोलेसन मै बसेका छन् । ‘आज स्वास्थ्य टोली लिएर म घर मै गएँ, मृतकका वृद्ध बुबा र गर्भवती श्रीमतीको स्वास्थ्यमा ध्यान दिनु जरुरी छ’ नगरप्रमुख श्रेष्ठले भने, ‘हामीले सान्त्वना दिएर आएका छौँ, बिहीबार केही महिनालाई पुग्ने खाद्यान्न राहत दिन्छौँ र विचलित त्यो परिवारको अवस्था निकै हृदयविदारक छ ।’

सङ्क्रमित परिवारको घर वरिपरी डिसइन्फेक्सन गरी परिवारलाई स्यानिटाइजर वितरण गरिएको र परिवारलाई मनोपरामर्शका साथै अन्य सहयोग आवश्यक रहेको बताउँदै नगर प्रमुख श्रेष्ठले भने, ‘भक्तपुर जिल्लामा अहिलेसम्म नौ जनाको मृत्यु भएकोमा एकै परिवारका दुई जनाको ज्यान गएको यो पहिलो घटना हो ।’

तपाईको प्रतिक्रिया

Google Ads

पत्रपत्रिका