तामाङ प्रज्ञा प्रतिष्ठानको स्थापनाः औचित्य र आवश्यकता

काठमाडाैं

१. पृष्ठभूमि

जनगणना २०६८ मा कुल १५,३९,८३० जनसङ्ख्या तामाङ भाषिक वक्ता जनसङ्ख्या १३,५३,३११ रहेको छ जुन कुल जनसङ्ख्याको ५.८१ हो । तामाङ जातिआदिवासी जनजातिमध्ये तामाङ जाति तेस्रो स्थानमा रहेको छ भने भाषिक आधारमा भने दोस्रो स्थानमा रहेको छ । तामाङ समुदायको भाषा, भाषाप्रतिको बफादारिता उच्च रहेको कुरा तामाङ भाषा बोल्ने जनसंख्याः ८७.८८ प्रतिशत रहेबाट प्रस्ट हुन्छ । तथापि १२.११ प्रतिशत वक्ताले तामाङ भाषा बोल्न छोडेको पाइएको छ ।

तामाङ वाङमयमा तामाङ भाषा, साहित्य, संस्कृति, कला, दर्शन र सामाजिक क्षेत्रको विकासमा तामाङ घेदुङजस्ता संस्था वि.सं. २०१६ सालदेखि नै क्रियाशील देखिन्छ । तामाङ सेमल्हेङ सेनजाङ, तामाङ डाजाङ, तामाङ न्हाङखोर, गोर्खापत्र (नयाँ नेपाल तामाङ पृष्ठ), टेलिभिजन, रेडियो कार्यक्रमका साथै तामाङ भाषामा पत्रपत्रिका प्रकाशन कार्यले विस्तार हुँदै आएको छ । यसरी राजनीतिक, सामाजिक, सांस्कृतिक क्षेत्रमा तामाङ समुदायको व्यक्ति वा संस्थाको विशेष र उच्च योगदान हुँदै आएको छ ।

वि.सं.२०६३ सालमा तामाङ प्राज्ञसभा गठन भई तामाङ जर्नल २०६३ समेत प्रकाशन भएको पाइन्छ । तर वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भई तीन तहको सरकार गठन गरेपछि संविधानतः विशेष स्वायत्त वा संरक्षित क्षेत्र घोषणा गर्न पाउने अधिकार प्रदान गरेको विद्यमान अवस्थामा उक्त प्राज्ञसभा मात्र पर्याप्त हुने देखिँदैन । यस प्रयोजनका लागि तामाङ जाति समुदायको समग्र जीवनजगत समेट्ने विशाल छहारीसहित ओत दिने शीलत चौतारी मात्र होइन समष्टि तामाङ जातिको पहिचान, प्रतिनिधित्व, पहुँच सुरक्षित गर्न सक्ने साझा प्राज्ञिक छानोको अपरिहार्यता छ । जुन कार्यको लागि तामाङ प्रज्ञा प्रतिष्ठान जस्तो प्राज्ञिक संस्था स्थापना गर्नुको विकल्प देखिँदैन ।


२. अवधारणा

तामाङ समुदायको गौरवमय इतिहास र संस्कृतिको पहिचान, हक, हितको संरक्षण र सम्वर्धन तथा तामाङ समुदायको सशक्तीकरण गर्न एकीकृत छाता संस्था र प्रतिष्ठानको नितान्त आवश्यक रहको छ । साथै तामाङ भाषा, साहित्य, कला, संस्कृति र रैथाने ज्ञान, सीप तथा प्रविधिलाई संरक्षण, सम्वद्र्धन र विकास गर्नुपर्ने कुरालाई हृदयङ्गम गर्दै तामाङ भाषा, साहित्य, संस्कृति, कला, दर्शन तथा सामाजिकशास्त्रको अनुसन्धान एवम् मौलिक सिर्जनाका माध्यमद्वारा तामाङ समाजोपयोगी कृतिहरू तयार गर्न, गराउन र यस क्षेत्रका विद्वान तथा प्रतिभाहरूको सम्मान र कदर गर्ने सम्बन्धमा आवश्यक व्यवस्था गर्नका साथै आधुनिक सूचना प्रविधिसँगको आत्मसात गरी तामाङ रैथानेपनलाई विश्वसित जोड्नका लागि तामाङ प्रज्ञा प्रतिष्ठान नेपालको परिकल्पना गरिएको छ ।

३. औचित्य र आवश्यकता

तामाङ भाषा, साहित्य, संस्कृति, कला, दर्शन, इतिहास र मौलिक सम्पदाहरूको केही व्यक्तिगत र संस्थागत प्रयासमा संरक्षण, सम्वद्र्धन र विकासको प्रयास हुँदै आएको छ । ती प्रयासहरू तामाङ जाति वा समुदायको पुख्र्यौली अमूल्य विरासतका रूपमा रहेका तामाङ भाषा, संस्कृति, साहित्य, कला र ज्ञान विज्ञान पुस्तान्तरण गर्नका लागि अभिलेखन र आपसमा सञ्चारण गर्नमा प्रशंसनीय छँदैछन् । तथापि तामाङ जाति वा समुदायको इतिहास, भाषा, साहित्य, संस्कृति, कला र दर्शनलगायत तामाङ समाजमा लोकजीवनमा रहेका अथाह मौलिक लोक परम्परा, संस्कार र संस्कृतिहरूको संरक्षण, सम्वद्र्धन र विकासका लागि एकीकृत संस्थागत प्रयास नहुँदा व्यक्तिगत र संस्थागत रूपमा गरिएका प्रयासहरू छिरलिएका छन् । तामाङ वाङमयमा व्यक्ति र विभिन्न थरीका सानामसिना संस्थाहरूले गरेको प्रयासको कारण विधागत र क्षेत्रगत उल्लेख्य उपलब्धि भएका छन् । तर, उक्त उपलब्धिहरू सीमित व्यक्ति वा संस्थाको आफ्नो सीमित प्रयास पहल र सीमाभित्रै छन् जसलाई आम तामाङ समुदायको लागि सार्वजनिकरण मात्र होइन पुस्तापुस्तासम्म पुस्तैनी विरासत हस्तान्तरण हुने एकीकृत बृहत आम तामाङको लागि प्राप्यताका लागि साझा थलोको अभाव खट्किएको छ । तसर्थ तामाङ जाति समुदायको अमूल्य विरासतको संरक्षण, संवर्धन र विकास गरी सार्वजनिकीरण गर्नको लागि तामाङ प्रज्ञा प्रतिष्ठान जस्तो प्राज्ञिक संस्था वा थलोको आवश्यक छ । यस्तो प्राज्ञिक केन्द्रको आवश्यकता पर्नका कारणहरू निम्न छन् :

(क) तामाङ वाङमयका लागि गरिएका प्रयासहरू वा कार्यहरू व्यक्तिगत वा सानातिना संस्थागत कार्यमा सीमित छन् ।
(ख) एकीकृत वा छाता प्राज्ञिक संस्थाको अभावमा गरिएका कार्यहरू वा प्रयासहरू छिरलिएका छन् ।
(ग) तामाङ ज्ञान, विज्ञान, भाषा, साहित्य, कला, दर्शन, संस्कृति र सामाजिकशास्त्रमा गरिएका कार्यहरू संस्थागत हुन नसक्दा व्यक्तिगत जस्तो देखिएको छ ।
(घ) बृहत संस्थाको नेतृत्वको अभावमा विभिन्न समूह वा धारमा काम भएको हुँदा आधिकारिकताको प्रश्न मात्र होइन विवादको सिर्जना समेत भएको छ । जस्तो, लिपि विवाद ।
(ङ) राई, लिम्बू, नेवारजस्ता समुदायले प्रतिष्ठान स्थापना गरेर उल्लेख्य काम गर्दै आए पनि जनसङ्ख्याको हिसाबले पाँचौ स्थानमा रहेको तामाङ जातिको भने प्रतिष्ठान अझै बनेको छैन ।
(च) तामाङ जातिको ज्ञान विज्ञान नेपालबाहिर सात समुन्द्रपारि फैलिएको छ । ती समस्त अपार तामाङ सम्पदा जुन मूर्त र अमूर्त रूपमा रहेका छन् तिनको सङ्ग्रह, अभिलेखन र सार्वजनीकरण बिना हराउने सम्भावना रहन्छ ।
(छ) तामाङ वाङमयमा भएका अहिलेसम्मका उलपब्धिलाई सङ्कलन गरेर कहीँ न कहीँ एकीकृत, सङ्ग्रहित र अभिलेखित गर्न ढिलो भइसकेको छ ।
(ज) तामाङ जाति समुदायसम्बन्धी अध्ययन अनुसन्धान कार्य प्रायः विदेशी विद्वानहरूबाट भएका छन् ती प्रतिवेदनहरूको सङ्ग्रह गर्नका लागि प्राज्ञिक प्रतिष्ठानको जरूरी छ ।
(झ) तामाङ भाषा, साहित्य, संस्कृति, कला, दर्शन जस्ता विषय क्षेत्रमा विभिन्न विद्वान, व्यक्तित्व, प्रतिभाहरू रहेका छन् तिनको साझा सङ्गम वा युवा पुस्तालाई मार्गदर्शन गर्ने संस्थाको आवश्यक छ ।
(ञ) प्रतिष्ठन जस्तो प्राज्ञिक थलोको स्थापनाले तामाङ वाङमयले किस्ता किस्तामा गरिएको कार्यलाई थोकमा बदल्ने छ जुन कार्य तामाङ प्राज्ञिक क्षेत्रको लागि नयाँ थालनी हुनेमा विमति छैन ।

(प्रस्तुत अवधारण शिक्षाविद् एवं भाषा आयोगका उपसचिव लोप्चनले भदौ ६-८ सम्म संचालित पाँचौं तामाङ ज्ञान महोत्सवमा प्रस्तुत गरिएको हो ।)

तपाईको प्रतिक्रिया