(भाषाशास्त्री अमृत योन्जन-तामाङ लामो समयदेखि तामाङ भाषाको अध्ययन, अनुसन्धान तथा साहित्य क्षेत्रमा क्रियाशील छन् । साहित्यकार यकिना अगाध नेपाली र तामाङ दुबै भाषामा विशेष गरी कथा र कविता विधामा कलम चलाउँछन् । उनी तामाङ डाजाङ साहित्यिक मासिकका सल्लाहकार पनि हुन् । बुद्ध योन्जन लामा तामाङ डाजाङ मासिकका कार्यकारी सम्पादक हुन् भने सन्चु ब्लोन तामाङ डाजाङ साहित्यिक संस्थाका पूर्वअध्यक्ष हुन् । २०७७ भाद्र ६-८ गतेसम्म भच्र्युअल माध्यममा सञ्चालित पाँचौ तामाङ ज्ञान महोत्सवमा ‘तामाङ बालसाहित्य अनुवादका चुनैती’ विषयमा छलफल आयोजना गरिएको थियो । सैलुङअनलाइनका प्रधान सम्पादक इन्द्रकुमार तामाङले मोडरेटरको भूमिका निर्वाह गरिएको छलफल कार्यक्रममा प्रस्तुत विचारको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ । -सं.)
इन्द्रकुमार तामाङ : छलफललाई अमृत योन्जन-तामाङज्यूबाट सुरु गरौं । अमृत योन्जनज्यू तपाईं तामाङ भाषाको अध्ययन, अनुसन्धान तथा साहित्यका क्षेत्रमा लामो समयदेखि लागिरहनु भएको छ । तामाङ बालसाहित्यको वर्तमान अवस्था कस्तो छ ? यसबारे प्रष्ट पारिदिनुहोस् न ।
अमृत योन्जन-तामाङ : धन्यवाद इन्द्रजी । म छोटोमा केही कुरा राख्छु । तामाङ साहित्य लेखन अनुवादबाट नै सुरु भएको देखिन्छ । सर्वप्रथम जर्ज ए. ग्रेएर्शनले सन् १९०८ मा लिङ्गुइष्टिक सर्भे अफ इन्डिया भनेर भारतभरिको भाषामो सर्भे गरेको थियो । त्यो क्रममा दार्जिलिङको तामाङ भाषाको अध्ययन गरेको रहेछ । सर्वेक्षणका भोल्यूमका भोल्यूम पुस्तकहरु प्रकाशित छन् जसमध्ये भोल्यूम १ को दोस्रो खण्डमा चाहीँ तामाङ भाषाको बारेमा सर्वेक्षण छ । त्यहाँ दुईवटा तामाङ भाषाको कथा राखिएको छ । एउटा कथा चाहीँ दार्जिलिङबाट संकलन गरिएको छ, एउटा चाहीँ नेपाल दरबारबाट संकलन गरिएको रहेछ । उहाँहरुले अंग्रेजीमा कथा पठाएको रहेछ । त्यो कथा तामाङ बनाएर देउ भनेको रहेछ । त्यो छापेको छ । मैले तामाङ साहित्यको इतिहास लेख्दा त्यही दुईवटा कथालाई आधार मानेँ । कथाको नाम (शिर्षक) छैन । लेखनमा पटक पटक उल्लेख गर्नु पर्ने भएकोले मैले पहिलो कथालाई ‘फाङफुङे जा’ भनेँ त्यसको अर्थ ‘फजुल खर्ची छोरा’ हुन्छ । यो पश्चिमी समाजमा लोकप्रिय कथा हो । त्यसपछि अर्को चाहीँ ‘माउलविला माङ्रे’ भन्ने ठाउँमा ‘माउलविला कामरे’ (मालवीको दारी) भनेँ । अनुवाद कथाबाट तामाङ साहित्य सुरु छ । अनुवाद साहित्य पनि त्यहीँबाट सुरु हुन्छ । पछि २०३८ सालमा डा. गणेश योन्जनज्यूले रसियाली कथालाई ‘गोङगोङ थेन नाप्राङ’ (माकुरा र झिँगा) भनेर अनुवाद गर्नुभयो र पुस्तीकाको रुपमा प्रकाशन गर्नुभयो । त्यसपछि २०४८ सालमा ‘शक्ति क्यासेट व्हाइ’ भनेर त्यसमा रहेका गीतहरुलाई अनुवाद गरियो । त्यसपछि निर्मलकुमार लामा नारायणथान, काठमाडौंले ‘चाँदनी शाहला व्हाइजुगु’ (चाँदनी शाहका गीतहरु) भनेर किताब ल्याउनु भएको छ । २०६३ मा राम्रो के भएको छ भने नेपालको अन्तरिम संविधान पनि तामाङमा अनुवाद भएको छ ।
तामाङ बालसाहित्य एकदमै प्रारम्भिक छ । २०५४ सालमा जब तामाङ पाठ्यपुस्तक लेख्न सुरु गर्नु पर्यो, पाठ्यक्रम विकास केन्द्रका लागि । त्यतिबेला तामाङ बालसाहित्य केही नभएकोले धेरै बालसाहित्यहरु पढियो । किताबका लागि एउटा निबन्ध, एउटा प्रबन्ध, एउटा रुपक, संवाद भनेर तीन चारवटा विधामा सामग्री तयार गर्नु पर्ने थियो । कक्षा १ देखि ५ सम्मको सामग्री तयार गर्ने क्रममा मैल बाध्य भएर केही बालसाहित्यहरु रचेँ (गीतहरु, कथाहरु, निबन्धहरु) र केही चाहीँ अनुवाद पनि गरियो । एसपका कथाहरु ल्याउने क्रममा अनुवाद गरेर ल्याइयो । त्यसरी सुरु भएको हो । यहि क्रममा लेखिएका बालगीतहरु राखेर ‘ङ्याउङ्याउ सुरी’ भनेर बालकविता संग्रह प्रकाशन गरेँ । त्यसको क्यासेट पनि आयो । हाम्रा दुई चारजना साथीहरुले बाल साहित्य सुरु गर्नुभयो । त्यसपछि चार पाँचवटा बालसाहित्यका किताबहरु कथा, कविता, नाटक आए । विश्वराज योन्जनलगायत साथीहरुको । त्यसपछि तामाङ डाजाङले तामाङ बालसाहित्यको स्तम्भ सुरु गर्यो । त्यसले एउटा फट्को मार्यो । त्यसपछि नेत्र तामाङको किताब आएको छ । यसरी हामी एक दर्जन वरिपरी छौं । तामाङ बालसाहित्य एकदम प्रारम्भिक अवस्थामा छ ।
तर, हालै द एसिया फाउण्डेसन भन्ने संस्थाले कोभिडको बारेमा लेखिएको घटनावलीको तीनवटा किताब मलाई अनुवाद गर्न दियो र अनुवाद गरेँ । त्यसपछि फाउण्डेसनकै पचासवटा विश्वप्रसिद्ध कथाहरुलाई तामाङ भाषामा अनुवाद गर्ने काममा म, यकिनाजी, बुद्धजी, सन्चुजीलगायत आठजना साथीहरु लागेका छौं । अहिले हामीले पचासवटा बालसाहित्य तामाङ भाषामा अनुवाद गर्दैछौं ।
इन्द्रकुमार तामाङ : सन्चुजी, तपाईं तामाङ डाजाङको निवर्तमान अध्यक्ष पनि हुनुहन्छ । तामाङ डाजाङले जुन हिसाबले तामाङ बालसाहित्य प्रकाशनको लागि काम गर्यो, गरिराखेको छ त्यो तपाईंको कार्यकालमा अलि बढी देखिन्छ । यसबारे बताईदिनुहोस् न ।
सन्चु ब्लोन : सबैजनालाई फ्याफुल्ला । तामाङ डाजाङमा तामाङ बालसाहित्यलाई बढवा दिनका लागि एउटा स्तम्भ नै सुरु गरेर अघि बढ्यौं । स्तम्भमा नेत्र मोक्तान तामाङले निरन्तर लेख्नुभयो । त्यसैगरी अरु साथीहरुले पनि लेख्नु भयो जसमा कविराज काल्तान, ङेमा थाङ्पाल लगायतले विशेष गरेर कथा लेख्नु भयो । कविता भन्दा पनि कथा आउँथ्यो । त्यसलाई निरन्तरता दिने कुरामा जोड रह्यो हाम्रो । सोही क्रममा तामाङ भाषामा लेख्ने साथीहरुले तामाङमा लेख्दा थोरै मात्र पाठक हुने, त्यही तामाङ सामग्री नेपाली भाषामा लेख्दा धेरै पाठक हुने र धेरैको माझ पुग्छ भन्ने बुझाइ पनि रहेको पाइयो, केही साथीहरुमा । अहिले तामाङ बालबालिकालाई नै सहभागि गरेर तामाङ बालसाहित्य लेख्ने अवस्था छैन । हुन त हामीले विभिन्न विद्यालयका शिक्षक शिक्षीकाहरुसँग समन्वय गरेर त्यो खालको प्रयास नगरेको भने होइन । उहाँहरु मार्फत् लेख्न लगाएर संकलन गर्ने काम पनि भयो । त्यसमा चित्रकथाहरु आउने गथ्र्यो, त्यसलाई पनि हामीले पत्रिकामा छाप्थ्यौं । त्यसैले तामाङ बालसाहित्को विकास गर्ने कुरा एकदमै चुनौतीपूर्ण छ । केही लेख्नेहरुले पनि निरन्तरता नदिने र लेखिएका सामग्रीहरु पनि बालबालिकासम्म पुर्याउन नसक्ने स्थिति छ । तामाङ साहित्यमा रुची राख्ने सबैले यसमा जोड दिन सक्यो भने चाहीँ यसलाई अगाडि बढाउन सकिन्छ, होइन भने सम्भव छैन । बालसाहित्यको पनि विभिन्न विधाहरुमा लेखनका लागि हामीले कार्यशाला गोष्ठीहरु पनि संचालन गरेका थियौं । त्यसका केही उपलब्धिहरु त रह्यो नै तर त्यसलाई निरन्तरता भने दिन सकेनौं ।
इन्द्रकुमार तामाङ : बुद्धजी तपाईं तामाङ डाजाङको पूर्वअध्यक्ष अनि तपाईंले तामाङ डाजाङ मासिकको कार्यकारी सम्पादकको जिम्मेवारी पनि सम्हाल्दै आउनुभएको छ । तामाङ बालसाहित्य सम्पादनको अनुवभ बताइदिनुहोस् न ।
बुद्ध योन्जन लामा : लास्सो फ्याफुल्जि, राङनि मोक्कोनदा (नमस्कार, यहाँहरु सबैलाई) । तामाङ डाजाङ पत्रिकाको सन्दर्भमा यहाँले जोड्न भएको कुरामा मेरो अनुभवहरु थोरै राख्न चाहन्छु । तामाङ डाजाङ मासिक पत्रिका अहिले निरन्तर प्रकाशन हुँदै आएको छ । सुरुका दिनमा हामीले बालसाहित्यलाई जोडेका थिएनौं । २०७० पछि हामीलाई अबको साहित्य चाहीँ बालसाहित्य पनि आवश्यक छ भन्ने महशुस भयो । त्यही सन्दर्भमा बिजाबुमो (बालबालिका) भनेर एउटा तामाङ बालस्तम्भ नै राखेर बालचित्रहरु, बालगीतहरु, बालकविताहरु, बालकथाहरु र पछिल्लो समयमा बालनिबन्ध पनि प्रकाशन हुँदै अहिलेसम्म निरन्तर रहेको छ । हुन त म बालसाहित्य लेख्ने मान्छे त होइन तर तामाङ बालसाहित्य सम्पादन गर्ने क्रममा मैले धेरै समस्याहरु पनि देखेँ । हिजोको दिनमा बालसाहित्य लेख्नेहरु स्रष्टाहरु नहुँदा प्रकाशनको लागि बालसँग सम्बन्धित कथाहरु, कविताहरु आफैँले पनि अनुवाद गरेको छु । त्यसै सन्दर्भमा बालकोसेली पत्रिकाबाट बालकथाहरु अनुवाद गरेको छु, तामाङ भाषामा । अनुवादको क्रममा नेपालीबाट तामाङ भाषामा ल्याउँदा चाहीँ सानो सानो शब्दहरु जस्तो हामी तामाङमा ‘म्राप’ भनेर ढोका बुझ्छौ, तर झ्याललाई के भन्ने ? अनुवादमा यो समस्या आउँदो रहेछ । अर्को फलफूलहरुको नाम तामाङ भाषामा नभेटिदोँ रहेनछ । भोगटेलाई भोगटे नै र सुन्तलालाई सुन्तला नै भन्नु पर्ने आउँदो रहेछ । तामाङ शब्द ‘क्युम्बा’ फलफूलको रुपमा बुझ्ने भयो तर कुन क्युम्बा ? भन्दा नआउने रहेछ । मान्दो क्युम्बा हो कि ? जेम्बेर क्युम्बा हो कि के हो ? यस्तो खालको समस्या पाऐँ मैले । पछिल्लो समयमा आएर ईश्वर थोकर र याङ्जी थोकरले नियमित रुपमा बाल निबन्धहरु लेखिरहनु भएको छ । उहाँहरु तेमाले भाषी हुनुहुन्छ, उहाँहरु आफैँले लेख्ने बेलामा सम्पादनको त्यति आवश्यकता पर्दैन, अनुवादको क्रममा चाहीँ धेरै समस्या देखिन्छ । अर्को कुरा तामाङ बालसाहित्य जति पनि लेखेका छन्, आएका छन् हाम्रा तामाङ स्रष्टाहरुबाट त्यसमा धेरै त तामाङ शब्दहरुनै आएको छैन, अझ तामाङ बालबोलीका शब्दहरु नभेटिने गरेको छ ।
इन्द्रकुमार तामाङ : तपाईं तामाङ बाल पाठ्यसामग्री तयारी गर्ने कार्यमा पनि निरन्तर लागि रहनु भएको छ । तामाङ साहित्यको विभिन्न आयामहरुलाई यहाँले नजिकबाट नियाल्दै आउनुभएको छ । तामाङ बालसाहित्य अहिलेसम्म जति आएका छन्, प्रकाशीत छन्, लेखिराखेका छन् ती सामग्रीहरु कस्तो पाउनुभएको छ ? बालमैत्री छन कि छैनन् ? बालमनोविज्ञान अनुसार लेखिएको छ कि छैन ? बालमनोविज्ञानलाई समात्न सकेको छ कि छैन ? कस्तो छ ?
अमृत योन्जन-तामाङ : हाम्रोमा त्यति आउन सकेको छैन । अहिलेसम्म हामी जजस्ले व्यक्तिगत रुपमा तामाङ बालसाहित्य लेख्यौं, हाम्रो प्रयास चाहीँ बालबालिकाको लागि नै हो, भैराखेको छ । बालसाहित्यको दुईवटा अर्थ हुँदो रहेछ– बालबालिका आफैँले लेख्ने र बालबालिकाको लागि लेख्ने भन्ने । अहिलेसम्मको हाम्रो बालसाहित्य बालबालिकाको लागि लेख्ने खालको हो । हाम्रो प्रयास त राम्रो छ तर हामी अहिलेका विविधताहरुमा जान सकेका छैनौं । हामी चाहीँ हाम्रो बालबालिकालाई हाम्रो संस्कृति, मूल्य, मान्यता बोकाउने पक्षमा छौं । त्यसो गर्दा बालबालिकाले हाम्रो कुरा बुझ्यो होला भन्ने मलाई लागिरहेको छैन । उनीहरुलाई त मनोरन्जनको कुरा गर्नु पर्ने हुन्छ । स्वतस्फुर्त ढंगले उनीहरु आउनु पर्ने हुन्छ, गाउनु पर्ने हुन्छ तर केही मान्यताहरु हामीले थोपर्दै छौं । यो चाहीँ कुरा बच्चाले सिक्नु पर्छ भन्ने खालको छ ।
तर हामीलाई तालिमको पनि व्यवस्था छैन, धेरै कुराहरु पनि बुझिराखेको छैन । मुख्यतः पाठ्यपुस्तक तयारी गरेर जाँदा चाहीँ त्यहाँ कथा, कविता, निबन्धहरु आउने भयो । हामीले पाठ्यपुस्तक नै सुरु गर्न सकेनौं । जजस्ले सुरु गर्नुभयो उहाँहरुले बालबालिकाको कुरै बुझ्नु भएन । हामी केकेमा अल्झेर बस्यौं । त्यसैले हामीले तयार पारेको बालसामग्री बालमैत्री हुन सकेको छैन तर हामी त्यो उन्मूख चाहीँ छौं ।
अहिले जो अनुवाद गरिराखेको बालसाहित्य चाहीँ बालमनोविज्ञान मात्र होइन बालबालिकाको तह अनुसार शिशुको लागि हो कि ? कक्षा एकको लागि हो कि ? वर्गीकरण गरेर तयार भएको छ । हामीले लेखेको बालसाहित्य चाहीँ वर्गीकरण भएको छैन । अर्थात् बच्चा भनेको हो त ? कक्षा एक पढ्ने हो कि ? तीन कक्षाको हो कि ? छ वर्षको हो कि ? तीन वर्षको हो कि ? कस्को लागि हो भन्ने छैन ।
इन्द्रकुमार तामाङ : यसको लागि के गर्नु जरुरी छ ?
अमृत योन्जन-तामाङ : यसको लागि त बालमनोविज्ञान नै बुझ्नु पर्छ हामीले, एक । अर्को कुरा, तहगत रुपमा किताब तयार गर्नुपर्छ । तहगत भनेको दुई वर्ष, तीन वर्ष उमेरको बच्चालाई कस्तो कथा लेख्ने ? कविता कस्तो लेख्ने ? चार, पाँच वर्षको बच्चालाई कस्तो लेख्ने ? भन्ने चाहियो । तेस्रो चाहीँ बाल भाषाको अध्ययन गर्नु पर्यो । कस्तो शब्द उसले बढी प्रयोग गर्छ भन्ने हो । यसरी बालमनोविज्ञान अनुसारको, बालबालिकाको उमेर अनुसारको र बालबासलिकाले बुझ्ने शब्दावली प्रयोग गरेर सरल शब्दमा लेख्यो भने केही पहुँच होला । तर, अहिले जस्तो सून्य अवस्थामा यो सबै सम्भव छैन होला । यसको लागि विभिन्न खालको तालिम, गोष्ठीहरुको आवश्यकता पर्छ ।
इन्द्रकुमार तामाङ : सन्चुजी तपाई आफैँ पनि तामाङ बालसाहित्य लेख्नु हुन्छ । तपाईंको तामाङ बालसाहित्य लेखनको अनुभव सनौं न ।
सन्चु ब्लोन : मैले लगभग एउटा किताब तयार हुने तामाङ बाल कथाहरु लेखेँ । किताब प्रकाशन गर्ने तयारीमा पनि छु । अनुभवको कुरा गर्दाखेरि सुरुमा त अन्धाधुन्ध तरिकाले लेखियो भनौं न । सुरुमा कति वर्षको बच्चाको लागि कस्तो कथा लेख्ने भन्ने कुरा आफैँलाई थाहा नहुँदा अलमल भैइयो । विस्तारै विस्तारै लेख्दै जाँदाखेरि यो उमेर समूहको बच्चाको लागि यस्तो कथा लेख्नु पर्ने रहेछ भन्ने अनुभव भयो । शब्द चयनको कुरा अघि साथीहरुले पनि उठाउनु भयो । मैले जतिपनि कथाहरु लेखेँ आफू सानो छँदाको परिवेश, विषय वस्तुलाई अनुभूत गरेर लेखेको हुँ । अहिले द एशिया फाउण्डेसनले अनुवाद गर्न पचासवटा किताब दिएको छ, त्यसमा चाहीँ बालबालिकाको लागि उपयुक्त त्यसमा पनि इन्टरनेटको पहुँच हुने बालबालिको लागि लेखिएको काथाहरु छन् । त्यसले कथालाई बुझाउने चित्रसहितको कथाहरु बालबालिकाको लागि लेख्नु पर्दोरहेछ भन्ने बुझेँ । धेरै सन्देशमूलक कुराहरु बालबालिकालाई चित्रमार्फत् दिन सकिने रहेछ भन्ने बुझियो । अर्को कुरा अहिले हामी बालसाहित्य लेखनको कुरालाई जोड दिइराख्दा अहिलेको बालबालिकाले के चाहन्छन् त ? पहिले हामी सानो हुँदाको परिवेश र अहिलेको परिवेशमा धेरै फरक भैसकयो । अहिलेको बालबालिको हात हातमा मोवाइल हुन्छ, उनीहरुले गुगल सर्च गरेर पढ्न सक्छन् । त्यो खालको क्षमता अहिलेको बालबालिकाले राख्छन् । हामीले हाम्रो बालबालिकाका लागि बाल सामग्री निर्माण गर्दा डिजिटल खालको सामग्री पनि निर्माण गर्नु अति आवश्यक देखिन्छ । एकदम खट्केको विषय यो छ । हामीले हाम्रो लेखनलाई अगाडि बढाउनु त छँदैछ । अहिलेको प्रविधिसँग हाम्रो भाषा र हाम्रो बालबालिकालाई जोडेर कसरी अगाडि लान सक्छौं भन्ने चुनौती देखिन्छ ।
इन्द्रकुमार तामाङ : तामाङ बालसाहित्य अहिले जुन ढङ्गबाट अगाडि बढिराखेको छ यसले तामाङ बालसाहित्यलाई उठाउन सक्दैन । यो तामाङ बालसाहित्य विकासको लागि प्रयाप्त छैन । यसलाई अझ गति दिनका लागि के गर्नु जरुरी छ ? अथवा तामाङ बालसाहित्यलाई गतिशील ढंङ्गले अघि बढाउन के गर्न सकिन्छ ?
अमृत योन्जन-तामाङ : भाषाका सम्बन्धमा जति अनुवाद गर्यो उति समृद्ध हुन्छ भन्छ । यो काम हामीले सुरु नै गरेको छैन । नेपाली साहित्यलाई हेर्ने हो भने आदिकवि भानुभक्तले रामायण अनुवाद गर्नुभयो । अनुवादले भाषाको विभिन्न क्षेत्रमा प्रवेश गराउँछ । त्यसैले अनुवादलाई अगाडि बढाउनु पर्छ । एउटा त सिर्जनात्मक लेखन हुनै पर्यो । त्यो भन्दा बढी जति धेरै अनुवाद गर्न सक्यो भाषा समृद्ध हुन्छ । तपाईंले तिब्बती साहित्य हेर्नु भयो भने तिब्बतको पुरा वाङ्मय अनुवाद हो । बुद्धधर्मका तीनवटा ग्रन्थहरुलाई अनुवाद गरेरै त्यति ठूलो साहित्य भण्डार बनाएको हो । काङ्ग्युर, तेन्ग्युर अनुवाद नै हो । तामाङ बालसाहित्यको विकास गर्न पनि अनुवादलाई नै केन्द्रीय गर्नु पर्छ भन्ने म ठान्छु ।
इन्द्रकुमार तामाङ : तामाङ भाषा मूलतः एउटै भएपनि स्थानीय भेदहरु छन्- शब्दमा, लवजमा आदि आदि । तामाङ डाजाङले आफ्नो लेखन मानकीकरण पनि तयार गरेको छ । यो अवस्थामा डाजाङले यी शब्दहरुलाई कसरी लिन्छन् र सम्पादन क्रममा के गर्नु भएको छ ?
बुद्ध योन्जन लामाः तामाङ डाजाङले आफ्नो एउटा छुट्टै लेखन मानकीकरण तयार गरेका छ- ‘तामाङ लेखन मानाकीकरण’ । डाजाङमा आएका जति पनि सामग्रीहरु छन् ती बाल होस् या अन्य सामग्रीहरु सबै त्यही लेखन मानकीकरणको आधार सम्पादन गर्ने गर्छौं । स्थानिक भेद्हरु जस्तो काठ क्षेत्र, उता गएपछि तेमाल, अझ शैलुङ क्षेत्र भनौं त्यो नभनिकन एउटा साझा मानकको आधारमा हामी सम्पादन गर्छौं । जस्तो, ‘खाजि’ र ‘हाजि’लाई हेरौं । हामी खाजि प्रयोग र्छौं ।
सन्चु ब्लोनः बुद्धजीले तामाङ डाजाङको लेखन मानकीकरणको कुरा गर्नु भयो त्यसमा थोरै थप्न चाहन्छु । डाजाङले आफ्नो लेखन मानकीकरण अनुसार सम्पादन गरे तापनि तामाङ भाषाका स्थानिक भेद्हरु जस्तो ‘खाजि’ र ‘हाजि’लाई नै लिउँ यसमा मूल शब्दलाई प्राथमिकता दिने गरेको छ भने पश्चिमी तामाङ भाषा रसुवा, धादिङको भाषालाई उहाँहरुले जस्तो बोल्नु हुन्छ त्यस्तै प्रयोग गर्छौं । लेखनको एकरुपताको लागि भने लेखन मानकीकरणको आधारमा लेख्छौं ।
इन्द्रकुमार तामाङ : यकीनाजी, यहाँलाई आजको यस छलफल कार्यक्रममा स्वागत छ । प्रत्यक्ष वा परोक्ष रुपमा तपाईं तामाङ डाजाङ मासिकमा छापिने सामग्री सम्पादनमा हुनुहुन्छ । भौतिक रुपमा तपाईं झापा रहनु भएपनि प्रविधिको विकासले हामीलाई साथ दिएको छ । डाजाङमा छापिने तामाङ बाल सामग्री सम्पादनको अनुभव बताइदिनुकोस् न ।
यकिना अगाध : नेपाली साहित्य अहिले पचास साठी वर्ष समृद्ध भैसकेको अवस्था हो । मैले जनएकता साप्ताहिकमा काम गर्दा २०५८/०५९ तिरको कुरा हो, जनकप्रसाद हुमागाईं साहित्यकार हुनुहन्थ्यो, उहाँ बालसाहित्य लेख्नु हुन्थ्यो, उहाँसँग भेट भएको थियो । त्यो बेलासम्म नेपाली साहित्यमा पनि बालसाहित्य साहिन्य होइन भन्ने मानसिकता थियो । नेपाली साहित्यमा त्यसपछि बालसाहित्यले फट्को मारेको हो । तामाङको त अरु साहित्य (साहित्यका अरु विधा) नै सुरुआति अवस्था हो अहिले पनि । बालसाहित्यतर्फ कलम चलाउने भनेको बच्चाहरुलाई कस्तो बनाउने ? कस्तो शिक्षा दिने ? कस्तो संस्कृति सिकाउने ? कस्तो संस्कार सिकाउने ? भन्ने कुराहरु हुँदो रहेछ । मूल रुपमा हाम्रो सामाजिक परिवेश के हो ? भन्ने चिजले त्यसको पृष्ठभूमि तयार हुँदो रहेछ । राम्रो लाउने मिठो खाने भन्ने चाहीँ केटाकेटीले पछि बुढाखाडाले अघि भन्ने समाजमा हुर्केको मान्छे हो, हामी । भर्खरै भर्खरै हामी कृटाकेटीलाई विद्यालय पठाउनु पर्छ, पढाउनु पर्छ र स्वास्थ्य उपचार पुर्याउनु पर्छ भन्ने चिज हाम्रो समाजमा विकासको छ । लेखन पनि त्यहीँबाट सुरु हुने हो । हाम्रो पुस्ता जुन हामी तामाङ भाषामा लेखिरहेका छौं, तामाङ साहित्य भनेर लेखिरहेका छौैं, तामाङ साहित्यमा योगदान पुर्याइराखेका छौं, हामीहरु पनि त्यहीँ पृष्ठभूमिबाट आएका मान्छै हौं । अहिले पनि हामीले हिजो हामी भारी बोकेर, घाँस काटेर विद्यालय जान्थ्यौं, त्यो अहिलेका केटाकेटीहरुले गर्नु पर्दैन भनेर दुखेसो पोख्छौं । स्थिति यो छ । हामीले लेख्ने साहित्य भनेको बल्ल बल्ल हिजोका हाम्रा आफ्नो अनुभवहरु र पिडाहरु पोख्दैछौं । अब केटाकेटीको जीवन कस्तो हुने ? भन्ने कुरा त ख्यालै गरेनौं । अहिले जो साथीहरुले तामाङ बालसाहित्यमा चलाउन खोज्दै हुनुहुन्छ, कलम चलाइरहनु भएको छ, (अग्रज अमृत दाइदेखि अहिले नयाँ साथीहरु पनि आउनु भएको छ) उहाँहरुको मानसिकता पनि बच्चाहरुलाई कस्तो बनाउने भन्ने कुरा नै हो । कस्तो संस्कृति, कस्तो संस्कार, कुन प्रणालीमा लाने भन्ने कुरो हुँदो हो ।
डाजाङ पत्रिकासँग जोडिएर भनौं न (अरु पत्रिकाहरु त नियमित छैन) हेर्दाखेरि मैले के देखेँ भने एक त हामी सम्पादनमा बस्नेहरु नै त्यो मानसिकतामा छ, हाम्रो मानसिकता नै बच्चालाई कस्तो बनाउने भन्ने छ । जस्तो, हामीले लेखिराखेको सामग्री कुन बच्चाको लागि हो ? भर्खर भर्खर बोल्न, हिड्न सिक्ने बच्चाको लागि हो कि ? या विद्यालय जाँदै गरेको बच्चाको लागि ? या त्यो भन्दा माथिको बच्चाका लागि ? यो नै छुट्याउन सकेको छैन । भर्खर भर्खर छुट्याउँदै पनि छौं । अमृत दाइले त्यसमा विशेष महत्व राखेर काम गरिरहनु भएको छ । उहाँले म्हेन्दो ट्रष्ट स्थापना गरेर बालसाहित्यलाई नै बल गर्दै हुनुहुन्छ । त्यसैले गर्दा हाम्रो प्रौढ साहित्य लेखनै एकदमै सुरुआति हो, बालसाहित्यको त भर्खरै विकास भएको हो । त्यसैले नेपाली साहित्यले २०५८/०५९ अघिको स्थिति हेर्नुहोस्, त्योदेखि अहिलेसम्म आउँदाको स्थिति मूल्याङ्कन गरेर अब हामीले बालसाहित्य के लेख्ने ? कस्तो लेख्ने ? कसरी लेख्ने ? बालसाहित्य र बाल चेतनाप्रति संवेदनशीलता हुने लेखक कति हुने ? जस्तो मैले बालसाहित्य लेख्नु पर्यो भने म बालबच्चाहरुप्रति कति सम्वेदनशील हुने ? म उनीहरुप्रति संवेदनशील नहुने, उनीहरुको गाउने गीत मैले नसक्ने भनेपछि त मैले लेख्ने साहित्य त काम लागने । त्यसैले अबको हाम्रो छलफल कस्तो हुनु पर्छ होला भने हामी बालसाहित्यमा काम गर्ने साथीहरु जो इच्छुक छ, फुर्सद निकालेका स्रष्टाहरु हुनुहुन्छ, उहाँहरुले चाहीँ अब हामीले बालबच्चाहरुलाई कुन संस्कार, संस्कृति दिन ? कस्तो विकास गर्ने हो ? त्यतारित छलफल हुनु पर्छ होला । जस्तो, अग्रेजीमा निस्केका बालगीतहरु हाम्रा केटाकेटीहरुले मोवाइल हेरेर कन्ठष्त पारेर गाउँछन्, सामन्य ढङ्गले सिक्छन् । हामीले एउटा बालगीत लेख्यो भने अङ्क १-५ सम्म सिकाउनु पर्यो भने १० सम्मै घोकाइदिन्छौं । त्यो त उसले सक्ने कुरा भएन । एउटा बाख्राको नाम वा उउटा कुखुरा देखाउनु पर्ने ठाउँमा पुरौ सचित्र सिकाइदिन्छौं । उसले त्यो बुझ्ने कुरै भएन । यतातिर छलफल हुनुपर्छ होला भन्ने लाग्छ ।
इन्द्रकुमार तामाङ : म सन्चुजीसँग जान चाहन्छु । यहाँहरु चारै जना द एशिया फाउण्डेसनले प्रकाशन गर्न लागेको पचासवटा पुस्तकको सम्पादन गर्दै हुनुहुन्छ । अनुवाददेखि सम्पादनसम्म गर्दै हुनुहुन्छ । ती पुस्तक सम्पादन तथा अनुवादको अनुभव बताइदिनुहोस् न ।
सन्चु ब्लोन : द एशिया फाउण्डेसनले प्रकाशन गर्न लागेको पचासवटा पुस्तकको सम्पादन तथा अनुवाद टोलीमा हामी आठ जना छौं । आठ जनामा हामी चार जनाले सम्पादनसँगसँगै अनुवादको काम पनि गुर्न पर्यो । अरु चार जना साथीहरुले अनुवादको काम गर्नुभयो । सम्पादन र अनुवाद फरक हो । सम्पादनको क्रममा कतिपय जनवारहरुको नाम आएन । आमाहरुलाई त थाहा होला तर हामीहरुले बिर्सियौं होला । अनुवाद अनि सम्पादनकै बीचमा पनि हामीले छलफल गर्यौ । अनि रङहरुमा पनि समस्या छ, तामाङमा । बालबालिकालाई रङहरुको नाम चिनाउनु पर्दा तामाङमा थोरै रङहरुको मात्र नाम छ । थाङ्का लेख्नेहरुसँग बस्यो भने त्यसको विस्तृत आउन सक्छ होला । तर पनि व्यवहारीक रुपमा वाला (रातो), पिङ (हरियो), उर (पहेँलो) र तार (सेता) छ । यस्तो कुराहरुमा धेरै अन्योलताहरु रह्यो । अर्को समस्या तामाङ भाषा फरक फरक ठाउँमा फरक फरक किसिमले बोलिने हुँदा मैले अनुवाद गरेर सम्पादन गर्दा सकेसम्म धेरैलेले बुझोस् भनेर काम गरियो । द एशिया फाउण्डेसनले दिँदा खेरि नै पूर्वीया तामाङ र पश्चिमी तामाङ भेनर छुट्याएर दिएको पनि थियो । हामीले चाहीँ पूर्वी तामाङको अनुवाद तथा सम्पाद गर्यौं । पूर्वी तामाङमा केही केहीहरु शब्दहरु बाहेक धेरै मिल्छ । कतिपय नेपाली शब्दको तामाङमा नहुने हुँदा नेपाली शब्द नै राख्नु पर्ने पनि भयो । धेरै शब्दहरु चाहीँ निर्माण गर्नु आवश्यक रहेछ भन्ने कुरा पनि यो अनुवाद तथा सम्पादनबाट अनुभव भयो । तर पनि चाहिने बेलामा ती शब्दहरु कसरी निर्माण गर्ने भन्ने चाहीँ पहिचान गर्न सकेका छैनौं । अनुवादको क्रममा धेरै समस्याहरु भोग्यौं यद्यपी हामीले सकेसम्म तामाङ शब्दहरु नै राखेर सबैले बुझ्ने होस् भनेर नै काम गर्यौं ।
इन्द्रकुमार तामाङ : यकिनाजी, यहाँलाई पनि मैले सन्चुजीलाई नै सोधेको प्रश्न दोहोर्याउन चाहेँ । द यशिया फाउण्डेसनले तपाईंहरुलाई पुस्तक अनुवाद तथा सम्पादन जुन जिम्मेवारी दिइयो, त्यो जिम्मेवारी निभाउँदा र काम गर्दाको अनुभव शेयर गरौं न ।
यकिना अगाध : उहाँले अघि नै प्रष्ट पारिसक्नु भयो । यसमा मैले थप समय लिनु जरुरी छ जस्तो लाग्दैन । बरु त्यो अनुवादले चाहीँ मलाई केटाकेटीहरुका लागि कस्तो सामग्री निर्माण गर्नु पर्ने रहेछ र विश्वमा कस्तो चलन चलेको रहेछ भन्ने चाहीँ सिक्न पाइयो । अब आउने दिनहरुमा हामीले पत्रिका सम्पादनमा त्ये चलनलाई भित्र्याउन सक्ने भयो । भाषामा समस्या भनेको हामीले नदेख्ने जीवजन्तुहरुको नाम त्यो भाषामा हुँदैन नै । जस्तो, म चुरे भेगमा हुर्केँ, चुरे भेगमा भएको बोटविरुवा, जीवजन्तुको नाम माथिल्लो भेगमा हुँदैन, मिल्दैन । त्यस्तै अर्को देशबाट आउने साहित्यसँग मिल्ने कुरा नै भएन । समस्या भन्दा पनि सायद समाधान होला त्यो किनभने हामीसँग नभएका जीवजन्तु त्यताबाट आएपछि हाम्रा केटाकेटीले त्यही भनेर पढ्ने होला । साहित्यमा हामीले देखेको भोगेको चिज न आउने हो । अनुवादमा कठिन त त्यस्तो लागेन । मेरो चाहीँ कुरा के हो भने हामीसँग नभएका जनावर, बोटविरुवा, पशुपंक्षीलगायतका नामहरु त सापटी ल्याउने नै भयो । यही रह्यो रह्यो इन्द्रजी ।
इन्द्रकुमार तामाङ : बुद्धजीको अनुभव के रह्यो त्यो सम्पादनमा ?
बुद्ध योन्जन लामा : पुस्तकहरुमा पश्चिमी संसारका चित्रकथाहरु धेरै छन् । चित्रकथाहरुमा समुन्द्र, ताल, तलाउ र ठूला ठूला जनावरहरु आउँछन् । परिवेश पनि हाम्रो भन्दा फरक परिवेश छन् । त्यहाँ ठूलो समुन्द्र देखाइएको छ, हाम्रो तामाङ केटाकेटीहरुले देख्ने भनेको सानो ग्योइ (पोखरी) मात्र हो । यस्तोमा त्यसलाई कसरी देखाउने भन्ने कुरो आयो । रङहरुको कुरा अघि नै साथीहरुले उठाइसक्नु भयो । तामाङमा पिङ (हरियो) छ, निलो छैन । यता थाङ्का छोन (रङ)मा थिङ (निलो) र पाङ (हरियो) यसलाई कसरी प्रस्तुग गर्ने भन्ने कुराहरु आउँदो रहेछ । यही अनुभव रह्यो ।
इन्द्रकुमार तामाङ : म अमृत योन्जनज्यूसँग जान चाहेँ । द एशिया फाउण्डेसनको पुस्तक सम्पादनको अनुभवसँगै तपाईं भाषाशास्त्री पनि हुनुभएको नाताले भाषाशास्त्रीय हिसबले तामाङ भाषा आकारान्त भाषा हो भन्ने कुरा त यहाँहरुको अध्ययन अनुसन्धानले नै देखाइसकेको छ । तर, व्यवहारमा हामीले ‘अ’ र ‘आ’ दुबै पाउँछौं । यसलाई चाहीँ यो अनुवाद र सम्पादनमा कसरी प्रयोग गर्नु भएको छ ?
अमृत योन्जन-तामाङ : मैले द एशिया फाउण्डेसनको पहिले कोभिड सम्बन्धी तीनवटा र अहिले १३ वटा पुस्तक अनुवाद र सम्पादन गरेँ । रमाईलो के भयो भने अघि बुद्धजीले भने जस्तै परिवेश हाम्रो छैन । हाम्रो परिवेश के हो ? थाहा छ हामीलाई । अहिले त विश्वव्यापी परिवेश भयो । विश्वभरिका ज्ञान हामीकहाँ आइपुग्यो । उदाहरणको लागि मैले अनुवाद र सम्पादन गरेको मध्ये एउटा कथा छ, ‘समुन्द्रको खोजी’ । कथामा एउटा बालिका, कथाको नायीका चाहीँ समुन्द्र भित्र भित्र भित्र पस्छिन् र एउटा रमाइलो परिवेश फेला पार्छिन् । हामी चाहीँ हिमाली, पहाडी भएकोले पोकोल, नदी, कोशी बाहेक केही हुँदो रहेनछ । त्यहाँ त समुन्द्र छ, समुन्द्रभित्रको वर्णन छ, हामीसँग त्यो केही पनि छैन । त्यो कथा अनुवाद गर्ने क्रममा मलाई बडो रमाईलो भयो । अब के गर्ने त ? पछि मैले के सोचेँ भने यो खालको सामग्री हाम्रो बालबालिकाको लागि हुनु आवश्यक छ । यो खालको सामग्री भएन भने हाम्रो बालबालिकाले समुन्द्र र समुन्द्रभित्रका जीवजन्तु, परिवेश र सम्पदाबारे नबुझ्ने भयो भनेर अनुवाद प्रयास गरेँ । अर्को, ‘तिमी मेरो हिरो’ भन्ने कथा नुवाद गर्न बसेको, कथाको हिरो संसारभरि पुग्छ, नयाँ नयाँ संस्कृतिसँग भेट हुन्छ । हाम्रो तामाङ बालबालिका, एउटा निश्चित भूगोल र क्षेत्रमा बस्नेहरुका लागि संसार घुम्दाखेरिको अनुभूति त राम्रो हुन्छ नै तर शब्दले कसरी व्याख्या गर्ने ? यो एउटा अनौठो अनुभव रह्यो । त्यसकारण मैले के सोचेँ भने यसबारे हामी छलफल र बहसमा जानु पर्छ । अर्को चाहीँ अनुवाद गरेपछि कस्ले बुझ्छ ? भन्ने हो । एउटा नयाँ परिवेशमा छ, अनुवाद गरेपछि नयाँ परिवेशसँग बच्चालाई सम्वाद गराउनु छ, ज्ञान र विचारहरु प्रशारण गराउनु छ । कसरी गर्ने ? एकातिर त्यो छ भने अर्कोतिर भाषालाई कसरी सबैले बुझ्ने बनाउने भन्ने पनि छ । पुस्तक अनुवाद र सम्पादनको अनुभवको कुरा यो भयो ।
इन्द्रजीले उठाउनु भएको अर्को कुरामा भाषाशास्त्रीहरुले तामाङ भाषालाई दुई खण्डमा प्रष्ट पारिसकेको छ । यसको आफ्नो आएसओ नम्बरमा पनि फरक पारिसकेको छ । अहिले हामी तामाङ भाषा भनेर पूर्वीय भेद र पश्चिमी भेद् भईसकेको हुनाले यसमा धेरै समस्या छैन । पूवीय भेद सबै ‘आ’ हो र पश्चिमी भेद् सबै ‘अ’ हो । ‘आ’ कसरी ‘अ’ भयो भन्ने विषय आफ्नो ठाउँमा होला । भर्खरै मैले चाइनाको तान प्रणाली ९तयलभ िकथकतझ० हेर्दै थिए, त्यो पढ्ने बेलामा त्यहाँ पनि ‘अ’ रहेनछ, ‘आ’ नै रहेछ । भोटबर्मेली भाषा परिवारभित्रकै भाषा हो त्यो पनि । तिब्बती पनि ‘आ’ हो । तर, भाषा चाहीँ के हो भने त्यो जहिले पनि प्रभावीत हुन्छ, परिवेशले ल्याउँछ । हाम्रोमा नेपाली साहित्यको परिवेश पनि आयो, नेपाली समाजको परिवेश छ र अंग्रेजी भाषा र साहित्यको परिवेश पनि छ । त्यसकारण तपाईं हामीले नै भनेको (मिलाएको) के हो भने तामाङ भाषाको मौलिक शब्दलाई ‘आ’मा राख्ने र आगन्तुक शब्दहरुलाई उसको आफ्नै लेखन प्रणालीमा राख्ने भनेर जुन एउटा लेखन प्रणाली तयार गरेको छ त्यसले काम गर्छ होला अहिलेलाई ।
इन्द्रकुमार तामाङ : भाषाशास्त्रीय हिसाबले तामाङ भाषामा पूर्वीय र पश्चिमी भेद रहेको कुरा यहाँले राखिसक्नु भयो । आइएसओ नम्बर अलग प्राप्त गरिसकेको कुरा पनि आयो । यस बीचमा मौलिक शब्दको कुरा पनि उठाउनु भयो । तर, उही शब्द पूर्वमा ‘आ’ लगाएर बोल्छन् र पश्चिममा ‘अ’ लगाएर बोल्छन् । यस्तोमा पूर्वी या पश्चिमी मौलिकता छुट्याउने आधार के त ?
अमृत योन्जन-तामाङ : दुईटै भाषाको आ–आफ्नो मौलिकता हुने नै भयो । यसबारे हामी पछि छलफल गरौंला । यो अहिले नै टुङ्गिने विषय पनि होइन । तैपनि मोटामोटी विषय के हो भने वहाँहरुले आफ्नो स्थानीय भाषामै बालसाहित्य, बालसामग्री तयार गर्नु पर्यो किनकी बालबच्चाले चाहीँ साझा भाषा बुझ्न गाह्रो हुन्छ । उसको आफ्नै परिवेश वा विद्यालय परिवेशकै भाषा प्रयोग गर्नुपर्छ । कक्षा ३ सम्म बालबालिकाले आफ्नो स्थानी भाषामा पढ्न पाउने व्यवस्था पनि भएको हुनाले त्यसैमा जानु पर्छ । अर्को ठूलो कक्षाको लागि चाहीँ यी दुईटा भाषालाई जोड्ने माध्यम के हुन सक्छ ? त्यो सुत्रको खोजीमा म पनि लागिरहेको छु । दुईटै भाषाले आ–आफ्नो ठाउँमा विकास गरेर विश्वविद्यालय तहमा पुग्दाखेरि एउटै रुप तयार गर्न सक्ने अवस्था पनि छ । लेखन प्रणाली तामाङ डाजाङको ठीक छ, दुबै पक्षले त्यही प्रयोग गर्दा हुन्छ । मानक लेखन त आयो तर शब्दावली कसरी प्रयाग गर्ने ? भन्दाखेरि मानक भाषा (भाषा मानकीकरण) पनि चाहियो हामीलाई । त्यसकारण अहिले मैले अनुवाद गर्ने क्रममा चाहीँ त्यस्तो खालको भाषाको खोजी गरिराखेको छु जो चाहीँ अहिले नबुझ्ला तर कालन्तरमा दश, बीस वर्षपछि त्यो भाषाले एउटा रुप लिओस् । पूर्वको त सबैले बुझ्ने नै भयो पश्चिम भाषिकाले पनि बुझोस् भन्ने हो । दुईटै भाषिकाले बुझ्ने पाठ्यपुस्तक बनाउने प्रविधि पनि छ अहिले । यसबारे पनि हामी छलफल गर्न सक्छौं ।
इन्द्रकुमार तामाङ : अहिलेसम्म हामीले तामाङ बालसाहित्यको अवस्था, तामाङ बालासाहित्य अनुवादमा देखिएका समस्याहरु माथि छलफल गर्यौं । तामाङ बालसाहित्यले समात्नु पर्ने अबको बाटो के हो ? कस्तो हुनु पर्छ ? यसबारे बताईदिनुहोस् न ।
बुद्ध योन्जन लामा : पहिलो कुरा तामाङ बालबालिकाहरुलाई आफ्नो मातृभाषा बोल्न सिकाउनु पर्यो । जति पनि तपाईं हामी तामाङ दाज्युभाइ दिदीबहिनीहरु छौं सबैले आफ्ना नानीहरुलाई आफ्नो तामाङ मातृभाषा सिकाउँ । भाषा जान्यो भने लेख्न लेखाउन सकिन्छ । भाषा जान्यो भने उनीहरु आफै पनि लेख्न सिक्छन् । भाषा नै जानेन भने लेख्ने ? लेख्ने, लेखाउने कुरा नै हुँदैन । त्यसैले पहिलो कुरा भाषा सिकाउनेतिर लागौं । अर्को कुरा हाम्रा बालबच्चाहरुको उमेर र तह अनुसार उनीहरुका लागि तामाङ बालसामग्री तयारी वा निर्माण गर्नुपर्छ । चित्र हुन्छ कि ? चित्रकथा हुन्छ कि ? या गीत, कथा, कविता, निबन्ध, प्रबन्ध के हुन्छ ? निर्माण वा लेखनतिर लाग्यौं भने वा लेख्नहरुलाई प्रोत्साहित गर्यौं वा लेख्ने स्रष्टाहरुको लागि तालिम गोष्ठीको व्यवस्था गर्यौं भने अबको केही वर्षमा तामाङ बालसाहित्य क्षेत्रलाई उठाउन सकिन्छ ।
इन्द्रकुमार तामाङ : मैले यहाँलाई पनि बुद्धजीलाई सोधेकै प्रश्न अगाडि सारेँ । तामाङ बालसाहित्यलाई अब हामीले कसरी अगाडि बढाउन सकिन्छ ? यसबारे यहाँको धारणा बताईदिनुहोस न ।
सन्चु ब्लोन : तामाङ बालसाहित्यमा अब कसरी अगाडि बढ्ने ? भन्दा बालबालिका आफैँले आफ्नो लागि साहित्य लेख्नु पर्यो । त्यसका लागि मातृभाषाको शिक्षा एउटा कुरा हो । अहिले केही स्थानीय तहहरुले नीति नै बनाएर मातृभाषा शिक्षा संचालन गर्ने तयारी नै गरिरहेका छन् । बागमती प्रदेशको ३०/३५ वटा स्थानीय तहहरुले मातृभाषा शिक्षा नीति तयार पारेको अवस्था छ । जब बालबालिकाले आफ्नो भाषामा शिक्षा लिन्छन्, आफ्नो भाषामा पनि लेख्न मिल्दो रहेछ भन्ने बुझ्छन् त्यसपछि उनीहरुलाई आफ्नो अनुभूति लेख्न लगाएर साहित्य लेखनमा पनि जोड दिँदै गएपछि त्यसबाट तामाङ बालसाहित्यको विकास हुने हो । अर्को हामी ठूलाले बालसाहित्य लेख्ने कुरामा अझ धेरै जोड दिनु पर्छ । अघि पनि मैले उठाएँ बालसामग्रीहरु बालबालिकासम्म पुर्याउने कुरा, त्यसलाई अहिलेको प्रविधिसँग जोडेर बालबालिकाहरुलाई उपयुक्त हुने एप्सहरु निर्माण गरेर जानु पर्छ । कार्टुनहरुको माध्यमबाट पनि जान सकिन्छ । अहिले त्यस्ता प्रविधिमा दक्ष तामाङहरु पनि देखिएका छन् । उहाँहरुसँग मिलेर काम गर्न सकिने सम्भावनाहरु पनि देखिन्छ । सख नेपाली भाषामा पनि भर्खर भर्खरै आएको हो, कार्टुनहरु । अहिले विद्यालयहरुमा तामाङ शिक्षक शिक्षीकाहरु पनि छन् । तामाङ गाउँघरमा तामाङ भाषा मात्र जान्ने विद्यार्थी भाइबहिनीहरुलाई उहाँहरुले तामाङ भाषामै पढाइराखेका पनि छन् । त्यस्ता विद्यालयहरुमा हामीले कार्यक्रम नै बनाएर एउटा अभियानकै रुपमा तामाङ बालसामग्री तयार गर्ने वा तामाङ बालसाहित्यमा प्रोत्साहित गर्न पनि सक्छौं । स्थानी तहहरुले अहिले शिक्षा र अन्य विभिन्न विषयहरुका वजेट छुट्याइएको हुन्छ । त्यो वजेट हामीले लिन सकेका छैनौं । त्यस्ता वजेटहरु लिनका लागि विद्यालयहरुमा अतिरिक्त क्रियाकलापहरु र हाम्रो पनि कुराहरु लानका लागि कार्यक्रमहरु गर्न सक्छौं । त्यो एउटा दुईटा संघसंस्थाले गर्ने भन्दा पनि सबै मिलेर कार्यक्रमहरु अगाडि बढाउन सक्छौं । अबसरहरु अहिले धेरै छन्, सदुपयो गर्न सक्यौं भने अगाडि बढ्न सकिन्छ ।
इन्द्रकुमार तामाङ : यहाँले लामो समयदेखि उठाउँदै आउनु भएको कुरा ‘तामाङ भाषा बचाउनको हो भने बालबालिकामा जानु पर्छ, बालबालिकामा जान सकेनौं भने हामीले उठाउँदै आएको भाषा, साहित्यको कुरा व्यर्थ हुनेछ, असान्दर्भिक हुनेछ’ । अहिले नेपाल तामाङ घेदुङको संयोजनमा ३२-३३ ओटा स्थानीय तहहरुले तामाङ भाषामा प्राथमिक तहमा शिक्षा दिने तयारी पनि हुँदैछ भन्ने सुनिन आएको छ । यो स्थितिमा तामाङ बालसाहित्यलाई कसरी अगाडि बढाउन सकिन्छ ? र, तामाङ बालसाहित्यलाई टेवा पुग्ने किसिमको सामग्रीहरु तयार गर्नका लागि के गर्न सकिन्छ ? यसमा यहाँको धारणा बताइदिनुहोस् न ।
अमृत योन्जन-तामाङ : भर्खरै सन्चुजीले प्रष्ट पारिसक्नु भयो कि अब तामाङ बाल सामग्रीको एप्सहरु तयार गर्नु पर्छ, बालसाहित्यको लागि । मेरो पनि भनाई के हो भने विद्यालयमा पढाउने कुरा आफ्नो ठाउँमा छ । अब पनि तामाङ शिक्षक, शिक्षीकाहरु अनि तामाङ बालबालिकाको हात हातमा मोबाइ मोबाइलमा तामाङ भाषाको एप्स भएन भने काम गर्दैन । शिक्षकहरुलाई पाठमा भएको सामग्री हातमा मोबाइलमा आउनु पर्यो । मोबाइलमा बाल गीत हुनु पर्यो, बालकथा अनि बालचित्र हुनु पर्यो । शिक्षकले चाहेको बेलामा त्यो एप्स खोलेर पढ्ने पढाउने अवस्था पुग्यो भने हाम्रो भाषादेखि शिक्षाको पनि विकास हुन्छ, अहिले कोरोनाले पनि के देखायो भने अब हार्ड कपीले मात्र पनि सम्भव छैन भन्ने कुरा देखाइ सक्यो । तपाईंले हेर्नु (सुन्नु) भयो होला, महेन्द्र पी. लामाले भन्नु भयो कि अब सफ्टको जमाना आयो भनेर । हाँस्नु पनि सफ्ट पावर हो भन्नु भए जस्तै सफ्ट कपी तयार गर्नु पर्यो । कसरी लेख्ने भन्ने कुरा अघि नै आइसक्यो । उसको उमेर, तह, क्षमता अनुसार लेख्नु पर्यो । बालमैत्री हुनै पर्यो, त्यो भनेको चित्र, कार्टुन, उसले बुझ्ने सन्दर्भ आउनै पर्यो । अनलाइन मिडियामा गएर बालसाहितको गीत हुन्छ कि, संगीत होला, चित्रकथा हुन सक्छ, बाल पुस्तकहरु यस्तै अनलाइन विकासमा जानु पर्छ होला । अर्को चाहीँ के हो भन्दा विद्यालयमा शिक्षकहरु तयार छन् कि छैनन्, शिक्षकहरुलाई दिमागी रुपले पूर्ण तवरले विचलित बनाएको अवस्था छ, नेपाल सरकारले । हाम्रो शिक्षकहरुको दिमाग पूर्णरुपले उपनिवेशमा परेको अवस्था छ । उसलाई फर्काएर ल्याउनु पर्ने हुन्छ । उ तयारी नहुन सक्छ । यस्तो अवस्थामा उनीहरुलाई हातहातमा कम्प्युटरमा सामग्रीहरु पस्किन सक्यो भने पाठ्यसामग्री पनि अनलाइन मार्फत् एप्सको माध्यमबाट दिन सक्यो भने तामाङ बालसाहित्यले निक्के राम्रो फट्को मार्न सक्छ । मेरो एउटा संस्था छ भर्खरै स्थापना भएको म्हेन्दो ट्रष्ट । यसले चाहीँ यही कामको लागि प्रयास थालेको छ । हामी एक दुई महिनाभित्र केही मात्रमा सुरु गर्छौं ।
इन्द्रकुमार तामाङ : हामी तामाङ समाज यति विभाजित छौं कि कोही तामयिग भन्छन्, कोही देवनागरीमा काम गरिराखेका छन् । देवनागरीमा काम गर्नेलाई तामयिगले अस्वीकार गर्ने, अनि अर्को सम्भोटाको समूह छ उनीहरुले तामयिगलाई अस्वीकार गर्ने स्थिति छ । यो स्थितिमा यी कार्यहरु कसरी अगाडि बढ्न सक्छ ? अगाडि बढाउन सम्भव छ ?
अमृत योन्जन-तामाङ : सम्भव छ । मात्र हाम्रो मन खुल्ला हुनु पर्यो । खुल्ला मन के हो भने लिपिकै कुरा गर्दा आ-आफ्नो ठाउँमा आ-आफ्नै लिपि प्रयोग गर, जो जहाँ आफ्नो पहुँच छ । यसो गर्दा सम्भोटाले आफ्नो लिपि प्रयोग गर्छ, उसको आफ्नो निश्चिन क्षेत्र हुन्छ, तामयिगले आफ्नो क्षेत्रमा लिएर जान सक्छ र कहीँ कहीँ देवनागरी प्रयोग गर्न चाहने पनि हुन सक्छन् । हामीले लिपि चाहीँ छानोट दिनु पर्छ, विद्यालयलाई । अर्को, कुन भाषा प्रयोग गर्ने भन्ने छनोट पनि विद्यालयकै हो । मेरो बालबालिकालाई मेरो स्थानीय भाषा पढाउँछु भन्न पनि सक्छ, हैन मेरो बच्चालाई पूर्वको भाषा पढाउँछु भन्ने पनि होला, कोही होही पश्चिमको भाषा पढाउँछु भन्ने पनि हुन सक्छन् । लिपि र भाषा छनोटको अधिकार विद्यालयलाई दिने र अहिले पाठ्यपुस्तक तयार गर्ने अधिकार पनि विद्यालयलाई छ । विद्यालयले नै पाठ्यपुस्तक बनाउने हो, पाठ्यसामग्री तयार गर्ने हो, विद्यालयलाई नै लिपि छान्न दिने र विद्यालयलाई नै भाषा छान्न दिने हो भने चिन्ता धेरै हट्छ । अहिले देश चाहीँ संघीयतामा गईसक्यो, हाम्रो मानसिकता चाहीँ केन्द्रीय प्रकारको छ । राजदरबार टुक्री सक्यो, राजा जंगलमा बास बस्न गईसके । हामी फेरि पनि केन्द्रमा राख्न चाहन्छौं । त्यसो भयो भने अप्ठेरो होला । तर, हामी केही वर्ष खुल्ला भएर गयौं भने सम्भव छ । केही वर्षपछि चार पाँच वर्षपछि उनीहरुले आफैँले महसुस गर्छन् कि ए यो लिपिको आवश्यकता रहेछ, यो लिपिले हाम्रो भाषालाई टिप्ने रहेछ, यो भाषा पो प्रयोग गर्नु पर्ने रहेछ भनेर एक पटक निष्कर्षमा आउँछ । विविधतालाई हामीले अन्यथा नठानौं । यो हाम्रो सम्पदाको रुपमा प्रयोग गर्न सकिन्छ भन्ने सोच हो मेरो ।