याम्बुनेर : पोस्टमार्टम रिपोर्ट

मुक्तान थेबा कवि/समीक्षक
काठमाडाैं

यसरी सुरु गरौँ ।
तामाङ, एक जाती मात्रै होइन; आफैँमा एक पूर्ण सभ्यता हो । उसको आफ्नै भाषा छ । आफ्नो मौलिक संस्कृति, परम्परा, लवाईखवाई, जीवन पद्धति र आफ्नै विश्वदृष्टिकोण छ । जीव, जीवन र जगतको उत्पत्ति र सृष्टि सम्बन्धी उसको आफ्नै विश्वास, बुझाई र आस्था छ । सुमेरु पर्वतको दक्षिणी काखमा जन्मेर, हुर्केर, बढेर त्यहाँबाट विस्तार भई मध्यतराईसम्म फैलिएको आदिवासी पहिचान नै तामाङ सभ्यता हो; तामाङ राष्ट्रियता हो । तामाङ सभ्यता मौलिक कला, साहित्य र सौन्दर्यबोधले समृद्ध सभ्यता हो ।

याम्बुको नजिकैबाट हिँड्छ ‘याम्बुनेर’ ।

अब तपाईंलाई लाग्न सक्छ कि के हो त याम्बु ? याम्बु अर्थात् ‘ह्याङला बु’ । ’ह्याङ्ला’ अर्थात् हाम्रो, ‘बु’ अर्थात् खेत । तामाङ पुर्खाको ह्याङला बु नै तामाङको याम्बु हो अर्थात् अहिलेको काठमाडौं हो ।

जुन दिन, जुन समय र कालबाट तामाङ पुर्खा आफ्नो पसिनाले सिँचित ‘ह्याङला बु’बाट लखेटिए, बिस्थापित गरिए त्यसै दिन र समयबाट नै सुरु भयो तामाङ पुर्खाका दुःख र सत्तासँगको अविच्छिन्न संघर्षयात्रा । जुन दुःख र संघर्षको लामो लडाइँ आजको दिनसम्म पनि टुङ्गिसकेको छैन । जंगबहादुर राणाले वि.सं. १९१० मा जारी गरेको नेपालको पहिलो मुलुकी ऐनमा लिखितरुपमै “मासिन्या” मतवली बनाई मासेर सिध्याउन खोजिएको एउटा उत्पीडित जाती हो तामाङ । यद्यपि आफ्नो भाषा, संस्कृति र सभ्यतालाई प्रेम गर्ने, ईमानदार र स्वाभिमानी तामाङ पुर्खा सत्ताद्वारा लादिएका सबै प्रकारका उत्पिडन, शोषण, विभेद, दमन र यातनाका बाबजुद पनि तामाङ राष्ट्रियता र सभ्यता (पहिचान)लाई जोगाउन सफल भए । म मेरा तामाङ पुर्खाहरुप्रति गर्व गर्छु । र, धन्यवाद दिन्छु ।

अब तपाईं, हातमा ‘याम्बुनेर’ लिएर पढ्न तयार हुनुहुन्छ । तपाईंले याम्बुनेर पढ्नुपर्छ । पढ्न जरुरी छ । तर तपाईं तामाङ हुनुहुन्छ र मैले माथि उल्लेखगरेको तामाङ जाती/सभ्यतामाथिको संक्षिप्त परिचय, धारणा वा मुद्दालाई मस्तिष्कमा बोकेर याम्बुनेर पढ्दै हुनुहुन्छ भने तपाईं निराश हुनुपर्नेछ । याम्बुनेरभित्र ती मुद्दाहरु उठेका छैनन् ।

याम्बुनेरभित्र तपाईं जरुर तामाङका दुःख र सम्वेदनाहरु देख्न पाउनु हुनेछ । तर ती दुःखहरुलाई तपाईं आर्थिकरुपले पिछडिएका, अशिक्षा, गरिबी, भौगोलिक विकटताको स्तरसम्म पाउनु हुनेछ । राजनीतिक, सामाजिक र मुख्यतः सत्ताको विभेदकारी चरीत्र र शोषणनै आजका तामाङका दुःखका मूल कारण हुन् भन्ने कुरा तपाईंले संग्रहमा पाउनु हुनेछैन । तामाङ समुदायभित्रका केही धार्मिक तथा सांस्कृतिक पाटाहरु भने तपाईंले अवश्य भेटाउनु हुनेछ ।

यहाँ मैले जुन अनुच्छेदहरु गाँसेको छु; ती अनुच्छेदहरु प्रत्येक कथा पढिसकेपछि मलाई लागेको कुरा सिधा र सपाट लेखिएका अनुच्छेदहरु हुन् । तपाईंलाई इच्छा लागे पढ्न सक्नुहुन्छ । तपाईंलाई ती अनुच्छेदहरु तीतो, पिरो, अमिलो, अप्रिय, छुचो लाग्न पनि सक्छन् । र, यो पोस्टमार्टम रिपोर्टको अन्तिममा मैले आफ्नो सार अनुच्छेद लेखेको छु ।

१. पहिलो कथा ‘आनी पेमा’ पढेपछि

एक वाक्यमा-
कथाको परिवेश र वस्तुगत यथार्थले मागेको भन्दा लेखकको आफ्नो भाषिक श्रीङ्गार बढी देखिन्छ ।

जस्तो कि,
जुन सामाजिक, सांस्कृतिक र भौगोलिक पृष्ठभूमि, स्थान र परिवेस(सेटिङ)मा सिङ्गो कथा बुनिएको छ कथाका कथावाचक (न्यारेटर) ‘आनी पेमा’ जो आफैँमा कथाका एक प्रमुख पात्र हो; कथामा उसले गरेको संवादको भाषाशैली स्वभाविक छैन । आनी पेमालाई ४ कक्षामा पढ्दापढ्दै गुम्बामा बुझाइएको छ । उसले कथाको अर्को प्रमुख पात्र पद्म जसलाई उनी प्रेम गर्छे; उसँग गरेको सुरुवाती संवादमा प्रयोग भएको भाषाको लय, संरचना, शब्द चयन हेर्दा विश्वविद्यालयस्तरको शिक्षा प्राप्त गरिसकेका युवा-युवतीबीचको कस्मेटिक संवाद लाग्छ । एघार वर्षकी कलिली उमेरमा दुर्गम तामाङ गाउँबाट ‘आनी’ हुन गुम्बामा बुझाएकी एक युवती जो करिब १७/१८ वर्षकी छे उसले समुन्द्रमा “ढलपल ढलपल नाउ, नदीको कतै बिचतिर, उछालिएको छालभित्र परिगएजस्तो आत्मविचलन, निरस किनारा अभुतमा ताछिरहेकी” जस्तो स्वैर कल्पना कसरी गर्न सक्छे ?

गुम्बा र आनी संस्कृतिमा बाँचेको वा त्यसलाई नजिकबाट देखेका भोगेकालाई यो कथा कति वास्तविक र जीवन्त लाग्छ यो कथाको सफलता त्यसैमा निर्भर हुनेछ । यद्यपि यश कथामा कथाकारले राम्रो मिहेनत गरेको देखिन्छ ।

२. ‘सिकोफाइभ’ पढेपछि

एक वाक्यमा-
छरपस्ट कथाहरूको संगति नमिलेको गन्जगोल कथा हो ।

कथामा ०४६ को आन्दोलनको समान्य छिटा मात्रै परेको छ । हरेक पात्रहरूको अर्ध, अधुरो र अपुष्ट कथा, मुख्य पात्र ‘छम्पेनी दिदी’को चरीत्रमाथि उठेको प्रश्नहरुको उत्तरहिनता, वेश्यालयको गोलमाल प्रसंग जस्ता छरपस्ट र टुंगोमा नपुगेर अलपत्र परेका टुक्रे कथाहरुको योगले गर्दा सामान्य पाठकले कथाको लय समात्न नसकेर कथा नै अलपत्र पर्ने खतरा ।

कथा सार-
ठाउँ ठाउँमा गाँठो परेको धागो जस्तोगरि गाँठो परेको कथा छ ।

सबल पक्ष-
यो कथामा कथाकारले राम्रो मिहेनत गरेको देखिन्छ । कथाले कम्तिमा समयको गतिलाई पक्रिन खोजेको छ ।

३. ‘याम्बुनेर’ पढेपछि

एक वाक्यमा-
उपत्यकाको काठ क्षेत्रमा बसेर पनि आर्थिक र सामाजिक हिसाबले पछाडि परेका तामाङ समुदायले वर्तमान समयमा बाँचिरहेका सामाजिक यथार्थ हो यो कथा । तर पनि यसमा नमिलेका कुराहरु धेरै छन् ।

जस्तो कि,
अकथाका मुख्य पात्र सोममायाले बोल्ने नेपाली भाषा, उसको उमेर र उ बाँचेको अहिलेको समय नमिल्दो छ । ३४ वर्षकी सोममायाले ४ कक्षा पढेर छोडेकी भए पनि उसका साथीभाइ दौँतरी र उपत्यकाको मिश्रित बसोबासको सामाजिक बनावटलाई हेर्दा सोममायाले बोल्ने खस नेपाली भाषा कथामा प्रयोग गरिएकोस्तरमा कमजोर हुनसक्दैन । यो कथा बुनिएकै स्थान वरिपरि मेरो भाउजूको माइती भएकोले मैले त्यस्तो भेटिएको छैन । बरु तामाङ भाषा लोप हुने अवस्थामा पुग्न लागेको देखिन्छ । तर त्यसको बिपरित कथामा प्रयोग भएको तामाङ भाषाका संवादमा अत्यन्त सरल तामाङ शब्दलाई पनि नेपालीमा प्रयोग गरिएको देखिन्छ ।

कथाले पक्रिन नसकेको कुरा-
काँठको तामाङ समुदाय आर्थिक, सामाजिक र राजनीतिकरुपले किन पछाडि पर्यो ? आफ्नै कारण पछाडी परेको कि सत्ताको विभेदकारी चरीत्रका कारण पछाडी ‘पारिएको’ भन्ने कुरा कथामा छुटेको छ । त्यो नछुटेको भए कथा झन् बलियो हुन्थ्यो ।

निष्कर्ष-
समग्रमा तुलनात्मक हिसाबले यो कथा राम्रो छ ।

४. ‘भगवान निवास’ पढेपछि

एक वाक्यमा-
संग्रहमा कथाको संख्या÷कोटा पुर्याउन राखिएको जस्तो मात्रै भयो ।

जस्तो कि,
कमजोर कथानात्मकता । कथा बुन्न पुगेन । जसरी बुनियो भर्खर गलबन्दी बुन्न सिकेकोले बुनेको गलबन्दी जस्तै भो । खासमा जुन भूगोल (दुर्गम तामाङ गाउँ जहाँ प्रावि भन्दामाथिको शिक्षा छैन), परिवेश र समुदाय (तामाङ)मा कथा बुनिएको छ कथाका प्रमुख पात्रको नाम ‘भगवान’ मिल्दैन । किन किन तामाङहरुले ‘भगवान’ पुकार्दैनन् । दुःख पर्दा तामाङले ’कोन्ज्योसोम’ को नाम पुकार्छन् । र तामाङ युवाको नाम कम्तिमा आजसम्म मैले चाहिँ भगवान सुनेको छैन ।

अर्को कुरा नयाँ घरको उद्घाटन वा नयाँघरमा बसाई सर्दा ‘दोमाङ’ हैन ‘थपसाङ’ गर्छ । जहाँसम्म कथामा भूकम्प आएको कुरा छ । त्यो समय दिनको १२ बजेको समय हो । कथाले त्यही भन्छ । यदि कुनै तामाङको घरमा दोमाङ पुजा हुँदैछ भने पुजाको तयारी, तोर्मो र डाजाङ बनाउनमै करिब बिहान सकिन्छ । र दोमाङ पढेर सिधिएर “वाङ” गर्दा कम्तिमा पाँच बज्छ । तर कथामा दोमाङ बिहानै सकिन्छ र त्यसको केही घन्टा पछि नै भूकम्प आउँछ; घर भत्किन्छ र छोरी पुरिन्छ ।

समस्या-
तामाङ समुदाय र संस्कारप्रतिको लेखकको अध्ययनको कमि देखिन्छ । यसले तामाङ समुदाय इतरमा गलत बुझाई पर्न जान्छ ।

विश्वासपद्धतिमा आघात पर्ने खतरा-
यस कथाको अन्त्य र सार जे छ यसले के देखाउँछ भने तामाङ समुदायले जसरी सुख, शान्ति र सुरक्षाको विश्वासले दोमाङ र लुङ्दार राखिन्छ त्यसको औचित्य छैन भन्ने देखिन्छ । जुन कुरा भौतिकवादी विचार राख्ने म जस्तोलाई त ठिक लाग्छ नै तर बाँकी समुदायको विश्वास पद्धति र आस्थामाथि चाहिँ आघात पुर्याउँछ । अनि गाउँका डकर्मिहरुप्रति अविस्वास प्रमाणित गर्न खोज्छ कथाले ।

५. ‘आयाम’ पढेपछि

एक वाक्यमा-
सार र विषयबस्तु भन्दा पनि अब्जेक्ट अथवा क्यारेक्टर आउटलुक डिस्कृप्सन धेरै छ ।

भाषा- ‘दमिनीभिर’ उपन्यास पढिसकेको पाठकलाई कथाको भाषाशैलीले दमिनीभिर पढिरहेको जस्तो आभास हुनसक्छ । मौलिक शैलीको अभाव देखिन्छ ।

समग्रमा मध्यमवर्गीय प्रेम कथा रोचक र रोमाञ्चक छ ।

६. ‘घडी फूल’ पढेपछि

एक वाक्यमा-
सानै उमेरमा भएको अन्तरजातीय प्रेम विवाह र त्यसले पुर्याएको शारीरिक र मानसिक यातनाको सरल चित्रण ।

नमिलेको समय-
आठ वर्षको बालकले साहरुखानको फ्यान हुने कुरा र बाजिगर फिलिमको टिकट तीन पटक काट्ने कुरा र उहि फिलिमको हिन्दी गाना खरर गाउने कुरा पत्याउन गाह्रो छ ?

७. ‘ड्राइभरका आँखा’ पढेपछि

एक वाक्यमा-
किशोरी मनोविज्ञानको सुन्दर चित्र उतारिएको सरल र मिठो कथा ।

८. ‘गंगारामको साइकल’ पढेपछि

एक वाक्यमा-
कथाकारको आफ्नै भोगाइ वा अनुभूति वा देखेको दृश्य नजिक भएर हुनसक्छ यो कथामा जिवन्तता छ । कथा रमाइलो र रोमाञ्चक छ ।

९. ‘गन्धे झार’ पढेपछि

एकवाक्यमा-
दसवर्षे जनयुद्धको मन्द हावा मात्रै छोएर बहेको कथा तर युद्धको जीवन र मनोविज्ञानमाथिको कम्जोर अध्ययन र प्रस्तुति ।

समस्या-
जनयुद्धको सङ्गठनात्मक जीवन र विस्तार माथि कमजोर बुझाई जसमा कथाकारको आग्रह÷पूर्वाग्रहको रिफ्लेक्सन भएको पनि हुनसक्छ ।

जस्तो कि,
कक्षामा पढाई भइरहेको बेला अनेरास्ववियुका एक हुल विद्यार्थी भित्र प्रवेस गर्छ । र, एक्कासि विद्यार्थीलाई सम्बोधन गर्छ; र त्यही सम्बोधन सुनेकै आधारमा कथाका मुख्य पात्र दिपेश थापासहित चारजना विद्यार्थी माओवादीको विद्यार्थी संगठन भन्ने थाहै नपाई सङ्गठनको सदस्य बन्छन् । माओवादीको विद्यार्थी सङ्गठन भन्ने थाहा नहुँदा-नहुँदै दिपेश क्रान्तिकारी विद्यार्थीको उपाध्यक्ष हुन्छ; र पाँचवटा गाविस हेर्ने जिम्मेवारीमा पुग्छ । अझ यसमा पनि थप ‘कहिले क्रान्तिकारी विद्यार्थी सङ्गठनले आयोजना गरेको जनकपुरको आमसभा त कहिले काठमाडौंको आमसभामा’ पुगिरहन्छ दिपेश । तर यसपटक विराटनगरमा हुँदैगरेको आमसभामा जान मन छैन उसलाई अर्थात् ऊ युद्धबाट भाग्न चाहन्छ । युद्ध छोडेर विदेश जान चाहन्छ । यसको एकमात्र कारण भनेको उसको सङ्गठनको अध्यक्ष साम्देन मोक्तान मारिनु, उसलाई पनि प्रहरीले खोजिरहेको छ भन्ने थाहा हुनु र आफू पनि पक्का मारिन्छु भन्ने त्रासमा पर्नु । तर कथाको अन्त्यमा युद्धमा मारिएको भनेको दिपेश मलेसियामा भेटिन्छ ।

अब प्रश्न उठ्छ, (कथामा व्याख्या गरिए अनुसार) गरीब निम्नस्तरीय परिवार जसको घरमा रोटि र नुनले छाक टार्नुपर्छ । आमा र दिदी अर्काको घरमा ज्याला मजदुरी गर्छन् । जो आफैंमा विद्रोही स्वभावको छ । स्कुलमा बदमासी गर्ने सरहरुका बिरुद्ध उभिन्छ । उसको बा मजदुरीको लागि भारत गएको उतै हराए । उसको परिवार सामाजिक विभेदमा छ । र, ऊ माओवादी विद्यार्थी सङ्गठनमा लागेर माथि उल्लेखगरिएका जिम्मेवारी र जनसभाहरुमा पुगेर विचारद्वारा प्रशिक्षित भइसकेका छन् । अब त्यस्तो जोशिलो युवाले आफ्नो सहयोद्धा कामरेड मारियो भनेर युद्ध छोडेर भाग्लान् कि अझ दरिलो मुठ्ठी कसेर दुश्मनविरुद्ध हमला गर्छन् त ? अवश्य दुश्मनविरुद्ध धावा बोल्छन् । यदि दिनेशलाई भगाउनु थियो भने कथाकारले उसको चरीत्र त्यही अनुसारको काँतर, लुच्चा, फटाहा वा अवसरवादी वा बदमासी देखाउन सक्नु पथ्र्यो र उसलाई जबर्जस्ती युद्धमा लगाएको देखाउन सक्नुपथ्र्यो । त्यस्तो देखिँदैन । कथामा चित्रित उसको चरीत्र एउटा विद्रोही र क्रान्तीकारी हुन योग्य देखिन्छ ।

म पनि मेरो समयको दिपेशनै थिएँ । जतिबेला म कक्षा नौमा पढ्थेँ । हामी माओवादी विद्यार्थी सङ्गठनमा लाग्दै गर्दा हामीलाई त्यो विद्यार्थी सङ्गठनको बारेमा राम्रै थाहा थियो । स्कुलमा सङ्गठन बनाउनु अघि विद्यार्थीहरुलाई पार्टीका दाइहरुले राम्रै प्रशिक्षण दिन्थे । र म आँफै पनि सङ्गठनमा लागेपछि थुप्रै ठाउँमा सङ्गठन बनाइयो तर कुनै पनि विद्यार्थीलाई झुक्याएर सङ्गठनमा लगाइएन । बरु युद्धमा लागेकै कारण आर्मी हिरासत र ६ वर्ष जेल बसेर निस्किएँ । तर युद्ध देखि भागिएन । संयोग, कथाका पात्र दिपेश र मेरो क्षेत्र एउटै छ । त्यसकारण पनि त्यस क्षेत्रमा विद्यार्थी सङ्गठन कसरी विस्तार भएको थियो भन्ने मलाई राम्रै थाहा छ । र जुन घटनामा दिपेशको मृत्यु भयो भन्ने गलत खबर आउँछ त्यो भिडन्तस्थल पनि मेरै गाउँ ‘फापरवारि’ देखाइएको छ ।

मेरो मनको लड्डु-
कथाकारले यो कथा लेखिसकेर (हाम्रो व्यक्तिगत चिनजान पनि राम्रै हो) कम्तिमा एकचोटि पढ्न दिएको भए कम्तिमा मैले अहिले यो कथामाथि यस्तो लेख्नु पर्ने थिएनछ भन्ने लाग्छ ।

१०. ‘आइतिमाया’ पढेपछि

एक वाक्यमा-
सामान्य, सरल र मसिनो, मिठो कथा ।

११. ‘जुनेदो’ पढेपछि

एक वाक्यमा-
सामान्य तर पढ्दा रमाइलो लाग्ने प्रेम कथा ।

पाठकलाई पर्नसक्ने कुरा-
कथाकारले जुनेदोको आमा अम्मिजानको मृत्यु पनि जुनेदो र सीताको प्रेम टुट्नुसँग जोडेर किन व्याख्या गरेनन् ? भन्ने पाठकलाई पर्छ ।

१२. ‘ब्याड भाले’ पढेपछि

एक वाक्यमा-
कथा रमाइलो र रोचक छ; गोरुको सुकुटी र पेवाको प्रसङ्गले तामाङ संस्कृति झल्काउँछ ।

तामाङ संवादमा देखिएको समस्या-
कथाको एक ठाउँ ‘स्याङ्म्हेन्दो’को दाइले काश्मिर भासिएको स्याङ्म्हेन्दोको लोग्नेको बारेमा यसरी सुनाउँछ- ‘आङा, एला रेम्बो काश्मिररी क्यार मुला रो । थेदा ऊ आताङनी रो । ऊ मुदेदोना दिमरि दोसि आखासेला पाङ्बा मुला रो ।’

नेपाली अनुवाद- ‘बहिनी, तिम्रो पोइ काश्मिरतिर छ रे । त्यसलाई ऊ मन परेन रे । ऊ भएसम्म घरमा फर्केर आउँदिनँ भनेको छ रे ।’

माथिको तामाङ भाषाको संवादमा यो ‘ऊ’ को अर्थ आउँदैन । तामाङमा ओडार/गुफालाई ‘ऊ’ भन्छ । तर त्यो ‘ऊ’ले झन् त्यो वाक्यमा अर्थ दिँदैन । नेपालीमा अनुवादित संवादमै पनि त्यसले के भन्न खोजेको हो भन्ने कुरा स्पष्ट छैन ।

१३. अन्तिम कथा ‘सिफनको फेरो’ पढेपछि

एक वाक्यमा-
आफ्नै फुपूद्वारा बम्बइको कोठीमा बेचिएकी एक तामाङ युवतीको कथा ।

समस्या-
यो कथा पढिसक्दा एउटा पाठकलाई के लाग्नसक्छ भने तामाङ समुदायमा छोरी चेली बेचिनु सामान्य जस्तै रहेछ/हो । आफ्नै परिवारभित्रका मान्छे, आफन्त, नातागोताका एवम् अफ्नै नजिककाले आफ्ना छोरीचेलीलाई सजिलै दलालको हातमा सुम्पिदिन्छन् वा आफैँ लगेर बेच्छन् भन्ने कुरालाई सामन्यकृत (generalise) गरेको देखिन्छ । के यथार्थ त्यही हो त ? होइन । त्यस्तो हुन सक्दैन ।

एकाध प्रतिनिधि घटनालाई लिएर त्यसरी जेनेरलाईज गर्न मिल्दैन÷हुँदैन । यसले सिङ्गो समुदायमाथि हेरिने दृष्टिकोणमै समस्या पर्नसक्छ । एक जिम्मेवार लेखक त्यसमाथि त्यही समुदायको लेखकले यस्तो विषयमा झन् धेरै सचेत र गम्भीर हुनुपर्छ ।

तामाङ समुदाय चरम गरिबी, विभेद र उत्पिडनको मारमा सधैं थियो । हिजो झन् चर्को थियो । मासेर सिध्याउन खोजिएको समुदाय हो । हिजो राणाकालमा तामाङका छोरिचेलीलाई जबर्जस्ती यौनदासीको रुपमा राणाका खोपिहरुमा थुनिन्थ्यो । बेचिन्थ्यो । पछि पञ्चायत आयो पञ्चायतका सरदारहरुले गरिब, असाहय तामाङका छोरीचेलीलाई भेँडा बाख्रा जस्तै ट्रकमा कोचेर भारत लगेर बेचे । तामाङ गाउँगाउँ छिरेर दलालहरुले आर्थिक प्रलोभनमा पारी छोरीचेलिलाई कोठीहरुमा पुर्याइए । आजको गणतान्त्रिक व्यवस्थामा आइसक्दा पनि खाडी मुलक देखि अफ्रिकी देशहरुसम्म तामाङ चेलीहरुलाई बेचिएकै छन् ।

त्यसकारण, यस कथाले देखाएको समय भनेको पञ्चायतको समय हो । जुन समयका राजनीतिक सत्ता र तामाङ समुदायमाथिको शासन/शोषण राणाकालीन सत्ताको भन्दा फरक थिएन । कथामा ‘सेर्मो’लाई लगेर मुम्बईको वेश्यालयमा बेच्ने व्यक्ति सेर्मोको आफ्नै फुपू ‘मुइसाङ’ हुन्छ जसलाई केही वर्ष अगाडि प्रधानपञ्च भिमबहादुर लामा (तामाङ)ले सेर्मोको बाउको सहमतिमा हेलिकप्टरमा राखेर ठूलागाउँ (याम्बु) ल्याउँछ । पछि त्यही मुइसाङ केटी बेच्ने दलाल हुन्छे । तर त्यो मुइसाङ बम्बइसम्म केटी लगेर बेच्ने दलाल कसरी भइन् ? के उनी आफैँ पनि बेचिएकी थिइन् ? थिइन् भने उनलाई कसले र कसरी बेचे त ? यसबारे कथा मौन छ । कथा यहीँनेर चुक्यो भन्ने लाग्छ ।

यो कथाको रोचक प्रसङ्ग फारसी युवा अब्बास र सेर्मोको प्रेम हो । अब्बास १२ सयवर्ष अगाडि ईरानबाट लखेटिएर भारत आएर बसेका फारसी भारतीय समुदायको युवा हो । उ सेर्मोको ग्राहकको रुपमा नियमित कोठी जाँदाजाँदै सेर्मोको प्रेममा पर्छ । सेर्मो पनि उसलाई प्रेम गर्छे । तर त्यहाँनेर नमिलेको कुरा चाहीँ अचानक हराएका अब्बास एक्कासी चार वर्षपछि कोठीमा फर्किनु हो । जतिबेला सेर्मो दुई वर्ष कोठीको मालिक भएर पनि नेपाल फर्किसकेकी हुन्छे । कथामा अब्बासले चार वर्षसम्म घरमा आमाबाबुसंग अंश र सम्पत्तिको लागी संघर्ष गर्छ । ऊ आफ्नो अंश छुट्याएर सेर्मोसँग विवाह गर्न चाहन्छ तर घरपरिवारबाट स्विकृति नपाए पछि बाध्य भएर घरपरिवार छोडेर सेर्मोको कोठिमा फर्किन्छ । अब प्रश्न उठ्छ । यदि रित्तो हात फर्किनुनै थियो भने चारचार वर्षसम्म सेर्मोसँग छुटिएर ऊ किन घरमा बस्यो ? सेर्मोलाई त्यति धेरै प्रेम गर्ने अब्बास चार वर्षसम्म सेर्मोसँग सम्पर्क बिहिन भएर कसरी बस्न सकिन्छ ? सेर्मो उसैको प्रतीक्षा गर्दा गर्दै थाकेर काठमाडौं फर्किन्छे । र कोठीमा कमाएको पैसाले भाइको नाममा याम्बुमा घर किनेर भाइको परिवारसँग बस्छे ।

अब अर्को प्रश्न उठ्छ । सेर्मोको फुपू मुइसाङले नेपाल फर्केर पैसाकै लोभमा सेर्मोलाई लगेर बेच्छे तर दुई वर्षसम्म कोठीको मालिक भएर पैसा कमाउने धन्दामा लागेकी सेर्मो चाहीँ कोठी अर्कैलाई जिम्मा लगाएर याम्बु आएर किन भाइसँग बस्न तयार भए ? सेर्मोमा पनि मुइसाङमा जस्तो पैसा कमाउने लोभ नजाग्नु र दलाल नबन्नुको पछाडिको कारण के होला ? यसमा कथा मौन छ ।

पारिजात दिदीको ‘साल्गिकी बलात्कृत आँसु’ पढिसकेको पाठकको लागि यो कथा असाध्य सामान्य कथा हुनेछ ।


बिसौनी ।
(यो एक बिसौनी मात्रै हो । टुङ्ग्याउनी होइन ।)

तामाङ समुदायबाट प्रतिनिधित्व गर्ने लेखकसँग मेरो सायद तपाईंको पनि त्यही हुनसक्छ सधैंको एउटा अपेक्षा हुनेगर्छ कि उसले आफ्नो लेखनमा आफ्ना मुद्दाहरुलाई प्रष्ट र जबर्जस्त ढङ्गले प्रस्तुत गरोस् । तामाङ समुदायबाट खस नेपाली भाषामा लेख्ने कविहरुका कविताको सन्दर्भमा केही हदसम्म ती मुद्दाहरु उठेका छन् । जहाँसम्म आख्यान र निबन्धको सन्दर्भ छ त्यसमा हाम्रो मुद्दाको उपस्थिति र हस्तक्षेप एकदम कमजोर छ । साँच्चै भन्नुपर्दा विद्यार्थीले परिक्षामा उत्तरपुस्तिकामा भर्नुपर्ने भन्दा लामो खाली ठाउँ बाँकी नै ।

यसपटक ‘याम्बुनेर’ हातमा पर्दैगर्दा र त्यसअघि बजारको होहल्ला सुन्दा म निकै उत्साहित थिएँ तर जब सङ्ग्रह पढिसकियो, हात्ती आयो, हात्ती आयो फुस्स भनेजस्तै भयो । खोइ कहाँ गए तामाङ पुर्खाले चारपाङ्ग्रे बोक्दै याम्बु उक्लिँदा भिमफेदीका उकालोहरुमा खसेको काँध ? खोइ कहाँ गए दरबारका खोपीहरुमा चरचरी च्यातिएका कुमारी मामहरुका आलो रगत ? खोइ दरबारका भित्ताहरुमा उनिएका मेमेहरुको करङ ? खोइ याम्बु लुटिएको कथा ? खोइ रिन्जेनको टाउको गिँडिएको इतिहास ? खोइ गाई काटेको निहुँमा गोली खाएर ढल्नुपरेको बिरबहादुर तामाङहरुका रगत ? खोइ रुद्रसिङ पाख्रिनहरुले जनताको मुक्तिको निम्ति दिएको बलिदानी ? थुप्रै थोक छुटेको छ लेख्न । अब त्यो खाली ठाउँ भर्नुपर्ने जिम्मेवारी हाम्रै काँधमा छ । आउनुस् आत्म समीक्षा गरौँ । आत्मआलोचित हुन तयार होऔँ । हामी सक्छौँ । थुजेछे !

तपाईको प्रतिक्रिया