वीर अब कोभिड अस्पताल

सैलुङअनलाइन संवाददाता
काठमाडाैं

सरकारले वीर अस्पताललाई कोरोना भाइरस (कोभिड-१९) अस्पतालका रुपमा सञ्चालन गर्ने निर्णय गरेको छ । स्वास्थ्य आपत्कालीन कमाण्ड सिस्टमको आज बसेको बैठकले सो अस्पताललाई कोभिड-१९ अस्पतालका रुपमा सञ्चालन गर्ने निर्णय गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

‘वीर अस्पतालमा हुने नियमित सेवा राष्ट्रिय ट्रमा सेन्टरबाट हुनेछ’ प्रवक्ता डा. गौतमले भने, ‘कोभिड–१९ अस्पताल भएपछि वीरमा रहेका बिरामीलाई समेत राष्ट्रिय ट्रमा सेन्टरमा सारिने छ ।’

पत्यकामा कोरोना अस्पतालका रुपमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र बलम्बुस्थित सशस्त्र प्रहरीका अस्पताल छन् । ती अस्पतालमा कोभिड-१९ बाहेकका अन्य बिरामीको उपचार गरिँदैन ।

यस्तै विभिन्न शिक्षण संस्थामा स्वास्थ्यका विभिन्न विधामा अध्ययनरत विद्यार्थीलाई मन्त्रालय र स्वास्थ्य सेवा विभागले कोभिड-१९ को रोकथाम तथा नियन्त्रणका लागि सम्झौता गरी स्वयंसेवकका रुपमा परिचालन गर्ने निर्णयसमेत गरिएको छ । ती स्वयंसेवकलाई कोभिड-१९ फैलिएको ठाउँमा गई जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न परिचालन गरिने मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिनुभयो ।


तपाईको प्रतिक्रिया