जिल्ला प्रशासनमा डिजिटल सूचना बोर्ड जडान

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
नुवाकोट

निजामती दिवसका अवसरमा जिल्ला प्रशासन कार्यालयले कार्यालयमा डिजिटल सूचना बोर्ड सञ्चालनमा ल्याएको छ । ‘स्वच्छ र सक्षम निजामती प्रशासन ः समृद्धि र सुशासन’ भन्ने नाराका साथ आज १७ औँ निजामती दिवसका अवसरमा सेवाग्राहीलाई प्रशासन कार्यालयको सेवासम्बन्धी निरन्तर जानकारी दिनका लागि बोर्ड जडान गरिएको प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकालले बताए ।

डिजिटल बोर्डमा जिल्लामा सरकारी निकायबाट हुने प्रमुख कार्यक्रम, जिल्लाभित्र कुनै स्थानमा विपद्का घटना भएमा, भ्रष्टाचारलगायत अन्य कुनै विषयमा गुनासो भएमा जानकारी दिने सम्पर्क नम्बर, सूचना अधिकारीको नाम र सम्पर्क नम्बर छन् ।

प्रजिअ ढकालका अनुसार बोर्डमा राहदानी तयार भई आएको विवरण, द्रुत राहदानी सिफारिसका लागि आवश्यक फाराम जिल्ला प्रशासनको राहदानी शाखाबाट निःशुल्क उपलब्ध गराइने विषय, स्थानीय तहबाट सिफारिस भई आएको कुनै पनि कागजात जिप्रकामा पेश गर्दा निवेदन दिइरहनु नपर्ने विषयसहित जिप्रका नुवाकोटको वेबसाइट, इमेल ठेगानालगायत सूचना समावेश गरिएको छ ।

कोरोनाका कारण जिल्लामा निजामती दिवसका अवसरमा औपचारिक कार्यक्रम सञ्चालन गर्न नसकिए पनि सेवाग्राहीलाई सहजताका लागि बोर्ड स्थापना गरेर मनाएको प्रजिअ ढकालको भनाइ छ । जिप्रकाले पछिल्लो समय आफ्ना सेवालाई सेवाग्राहीको सहज पहुँचमा जोड दिएको छ । कार्यालयमा आएका सेवाग्राहीले फोटोकपी गर्न बाहिर धाउन नपरोस् भनेर अत्यावश्यक कागजातको फोटोकपीसमेत निःशुल्क गरिदिने व्यवस्था मिलाएको छ ।


यसैबीच तादी गाउँपालिकाले खरानीटारस्थित कार्यालय परिसरमा वृक्षरोपण गरेर दिवस मनाएको जनाएको छ ।

तपाईको प्रतिक्रिया