समस्याप्रति बरालिएको सरकार

बहादुरसिंह तामाङ सांसद एवं नेपाली कांग्रेसका नेता
काठमाडाैं

महामारी तथा दैविक प्रकोप मानवीय कल्पना र नियन्त्रण बाहिरका बिषयहरु हुन् । मानिस पनि प्रकृति भित्रकै सचेत र सर्बश्रेष्ठ प्राणी हो । तर कुनै पनि घटनाका पूर्वसूचना प्राप्त गर्ने अब्बल क्षमता भने हुँदैन । केही प्रतिभावान तथा क्षमतावान युगपुरुषहरु छन, तिनले भने सम्भावना र जोखिमको बिषयमा आवाजहरु उठाउदै आएको पाइन्छन् । यतिबेला बिश्वभर छरिएर बसेका मानव जाति नै नयाँ महामारीको चपेटामा पिल्सिएको छ । कोरोना अर्थात् कोभिड-१९ नामको भाइरससँग लडिरहेका छन् । मानवीय व्यबहारको कारण एक व्यक्तिबाट अर्को ब्यक्तिमा सजिलैसँग सर्ने क्षमता भएको उक्त भाइरसले झन्डै ८ लाख ८९ हजार ३५२ जनाको ज्यान लिईसकेको छ भने २७ करोड १४ लाख ३ हजार ६३० भन्दा धेरै उक्त रोगबाट संन्क्रमित छन् । यो अवस्थामा विश्वका धेरैजसो मुलुक लकडाउनकै अवस्थामा छन् । यसले विश्व अर्थतन्त्रमाथि गम्भीर चोट पुर्याएको छ ।

अविकसित तथा अल्पविकसित मुलुकहरूभन्दा विकसित मुलुकहरु उक्त भाइरसबाट आजित भईसकेको छ । स्पेनकी राजकुमारी मारिया टेरेसादेखि भारतका पूर्वराष्ट्रपति प्रणम मुखर्जीसम्मलाई समेत उक्त भाइरसले छाडेन । अन्ततः मृत्युको कारण समेत कोभिड १९ बन्न पुग्यो । यसले हालसम्म कुनै यथेष्ट ठोस स्वरुप लिएको छैन । कहिलेसम्म महामारीको रुप लिईरहने हो र कहिले अन्त्य हुन्छ भन्ने स्पष्ट अवधारणा बैज्ञानिकसमेतले औल्याउँन सकिरहेका छैनन् । झन्डै दश महिना लामो कोभिडको त्रास र बिद्यमान अप्ठ्यारोको बीचमा नेपालसहित अन्य मुलुकमा रोगको गति बढिरहेको भए पनि स्थितिलाई सामान्यकरण गर्दै लैजान खोजिरहेका छन् । तर, त्यति सजिलै सहज हुने अवस्था भने छैन । विभिन्न मुलुकले यसको भ्याक्सिनको अभ्यास गरिरहेका छन् । रुस, चीन, बेलायत, अमेरिका लगायतका मुलुकले भ्याक्सिन बनाएको दाबी गरेपनि विश्व स्वास्थ संगठन(ध्ज्इ) ले आधिकारिकता दिईसकेको छैन ।

विश्व महामारीको यो परिप्रेक्ष्यमा हाम्रो देश फेरि अर्को भुमरीमा फसिरहेको छ । लाखौं रोगजार युवाहरु बेरोजगारी बन्न पुगेका छन् । संचालन भएका सयौं निजि क्षेत्रका उद्योग तथा कलकारखानाहरु ठप्प छन् । मुलुक धान्ने रेमिट्यान्सको ढोका बन्द छ । यी र यस्ता थुप्रै समस्या र अप्ठ्याराको बीचमा हामी छौं ।

राजनीतिक परिवर्तनको निम्ति थुप्रै समय र जनशक्तिको हिस्सा खर्च गरेर मुलुक विकसित द्वारमा आइपुग्न नपाउदै भुकम्प र कोरोनाको महामारीमा थिचिनु हाम्रो दुर्भाग्य हो ।


इतिहासले समृद्ध यात्राको मूलद्वारसम्म आइपुग्दा देशलाई कोल्टे फेराउने नेपाली जनताको महान अभिलाषालाई प्राकृतिक प्रकोप र महामारीले ठग्नु हाम्रो लागि दुर्भाग्य बन्न पुग्यो । ०७२ सालले हामीलाई अस्तव्यस्तमा धकेलि दियो र त्यसबाट केही उठ्न खोज्दै थियौं फेरि कोरोना महामारीको गम्भीर संकटको भुमरीमा फस्यौं । यो महामारीसँग लड्न जनता पूर्णरुपमा तयार छ । योसँगै हाम्रा सम्भावना र चुनौतीलाई आत्मसात गर्दै अगाडि बढ्ने विषयमा सरकार तयार बन्न नसक्नु भने दुःखद् हो ।

सजिलो बाटो हिडिरहेको सरकार आपतकालिन परिस्थितिमा अलमलमा पर्नु काँचोपनको पराकाष्ठा हो ।

मुलुकमा आउनसक्ने सम्भावित असन्तुलन र उत्तरचढाबलाई सजिलैसँग उपयुक्त बाटोमा हिंडाउने कर्तव्य सरकारको हो । राज्यको सबै निकायलाई परिचालन गर्दै तत्कालीन र दीर्घकालीन योजना बनाई अगाडि बढाउने दायित्वबाट सरकार अलमलमा परेको देखिन्छ । राज्य सञ्चालनको गलत कार्यलाई औंला उठाउने प्रतिपक्षीकोसमेत पूर्ण साथ र सहयोग बोकेको यो घडीमा के गर्ने र के नगर्ने भन्ने निर्णय लिन नसक्नुले आमजनताले असहज परिस्थिति ब्यहोर्नुपरेको छ । हतार र उत्तेजित निर्णयले जनतामा छिट्टै दोधारे मानसिकता उब्जाउनु सरकारको पूर्ण गैरजिम्मेवारीपन हो ।

सुरुवातको झन्डै तीन हप्ते लकडकाउन प्रतिपक्षी समेतको सल्लाह सुझाव र सहयोगमा रोग लाई नियन्त्रण गर्ने महत्वपूर्ण कारण बन्यो । तर यसबीचमा सरकार कामभन्दा धेरै एकपछि अर्को बिषयमा बिवादास्पद बन्यो । महामारीको बीचमा स्वास्थ्य सामग्री खरिद प्रक्रियादेखि कोरेन्टाईन आइसोलेसन निर्माणसम्ममा सरकारको भ्रष्ट नीति र कर्मबाट आमजनमानसमा नैराश्यता उत्पन्न भएको छ । सिङ्गो लोकतान्त्रिक अभ्यास माथि शंका उत्पन्न गराएको छ । सरकारको साख घटाएको छ । जनताको भावना माथि ठेस पुगेको छ ।

बिरोधाभाष मनस्थितिबाट ग्रस्त राजनीतिक दललाई कोरोना भाइरसले जन्माएको राष्ट्रिय सहमतिको भरपुर लाभ प्राप्त गरेको सरकार पुनः हिड्नुर्ने बाटो बाट चुकिरहेको देखिन्छ ।

प्रकोपसँगै सम्भावना र विषम परिस्थितिमा आवश्यक पर्ने अवसरको खोजी गर्नुपर्ने यो घडीमा हतारमा निर्णय गर्ने र फुर्सदमा पछुतो मान्ने लघुताभासबाट सरकार मुक्त हुन सकेन । सरकारले तीन किसिमको योजना बनाउनु पर्ने हो ।

१. कोरोनासँग लड्ने तत्कालीन योजना
२. भविष्यमा जन्मनसक्ने दीर्घकालीन योजना
३. राष्ट्रिय समृद्धिको यात्रामा आएको गतिरोध पन्छाउँदै निरन्तर अगाडि बढ्नु तत्कालीन अपरिहार्यता हो ।

मुलुक सधै लकडाउनमा बसिरहन सक्दैन । तत्कालको लागि देशको विभिन्न सहर र जिल्लामा गरिएको लकडाउनलाई खुकुलो पार्दै भविष्यमा आउनसक्ने सम्भाबित जोखिमबाट बच्ने रणनीति बनाउनु पहिलो आवश्यकता हो । त्योसँगै मुलुकभित्र संचालन भएका खरबौं लगानीमा निर्माणाधीन राष्ट्रिय गौरवका आयोजनाहरु अलपत्र छन् । यिनको व्यवस्थापन गर्ने तथा निर्माण कार्य अगाडि बढाउने विषयमा सरकार आफैं प्रष्ट छैन । आलोचनाबाट मुक्त हुने उदेश्यले यस्ता निर्माणका कामलाई चौबीसै घण्टा संचालन गर्नुपर्दछ । तर सरकार आफैं प्रतिपक्षी जस्तो भूमिकामा बस्नु निन्दनीय कुरा हो । आवश्यक कच्चापदार्थ ब्यबस्थापन संचालन गर्नुपर्ने ठूला उद्योग, कलकारखाना तथा जनशक्ति ब्यबस्थापनको विषयमा दुरदर्शिता नहुनु तथा स्पष्ट रणनीति बनाउन नसक्नुले मुलुकको बिकासमाथि अन्योल मात्र थपिएको देखिन्छ ।

अर्कातिर लाखौं युवाहरु बिदेशी भुमिमा बेवारिसे अबस्थामा गुज्रिरहेका छन् । विश्वका सबै भूमिहरु यतिबेला कोरोनाको उच्च जोखिममा छ । यस्तोबेला देशका नागरिकलाई सुरक्षा दिने जिम्मेवारीलाई सरकारले बोझको रुपमा लिनु खेदपूर्ण हो । चालिस लाखभन्दा धेरै नेपाली युवाहरू यतिबेला आफ्नो देश बाहिर कोरोनासँग जुधिरहेका छन् । सरकारले उनीहरुको उचित ब्यबस्थापन गर्नुपर्दछ । मुलुकको अर्थतन्त्रको मूल मेरुदण्ड धान्ने विदेशी भूमिमा रहेका ती युवाहरुको आँसु पुछ्ने कर्तव्यबाट सरकार च्यूत भईरहेको छ । यस कुरालाई न त सरकार, सरकारपक्षका राजनीतिक दल, न त विपक्षी दलले नै गम्भीरतासाथ लिन सकेको छ । यो नेपाली जनताको लागि दुर्भाग्य हुने पुग्नेछ ।

तपाईको प्रतिक्रिया