लिदीका पहिरो पीडितलाई राहत प्रदान

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
सिन्धुपाल्चोक

सिन्धुपाल्चोक, लिदीको भीषण पहिरो पीडितलाई वागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलाल (शरद) ले एक कार्यक्रममाझ राहत वितरण गरेका छन् ।

अस्थायी बसोबास क्षेत्र सेलाङ, बाँसखर्कमा आयोजित उक्त कार्यक्रममा शरदले उद्धार, तत्कालीन राहत र दीर्घकालीन बसोबास गरी तीनवटा काम प्रदेश सरकारका तर्फबाट गर्ने घोषणा गरे । उनले भने, ‘हामी यहाँहरूसँग क्षणिक भेटघाट र सहयोगका लागि मात्र आएका होइनौं बरू आफन्त गुमाउनेहरूका साथमा निरन्तर सरकार छ, नेकपा छ भन्ने प्रत्याभूति दिलाउन पनि आएका हौं । बस्ती उपयुक्त स्थानमा स्थानान्तरण गर्ने मात्र होइन । बस्तीलाई आवश्यक सम्पूर्ण पूर्वाधारदेखि रोजीरोटीको स्थायी ग्यारेन्टी गर्न सरकार पूर्ण रुपमा प्रतिबद्ध छ ।’

२५ किलो चामल, ५ किलो दाल, ४ लिटर तेल, २ प्याकेट नुन, २ किलो चिनी, १ पोका चियापत्ती लगायतका सामग्रीहरु राखेर बनाइएको पोका १७२ परिवारलाई नै राहत स्वरुप वितरण गरिएको थियो ।

कार्यक्रममा राहतको संयोजन गरेका समाजसेवी तथा स्वास्थ्यकर्मी वाङ्चुक राप्तेन लामाले भने, ‘मैले हस्तान्तरण गरेको यो सानो पोकाले यहाँहरूको पूरै गुजारा नचले पनि आलो घाउमा सानो मलम हुन्छ भन्ने मलाई लागेको छ । कसैलाई काखा र कसैलाई पाखा नहोस् भनेर मैले १७२ घर परिवारका निम्ति नै थोरै भए पनि सहयोग गर्ने जमर्को गरेको छु । सम्भव हुँदासम्म फेरि पनि राहत जुटाउने मेरो सार्थक प्रयत्न जारी रहनेछ ।’


सो राहत जर्मनीको हफम्यान फ्यामिली तथा अस्ट्रेलियाको होप अलायन्स साथै अन्य सहयोगी हातहरूले जुटाएका थिए ।

प्रतिकूल मौसम र अप्ठ्यारो बाटोमा पट्यारिलो प्रतीक्षा गर्दै र सकसपूर्ण ढङ्गले छिचोल्दै आयोजित उक्त कार्यक्रममा जुगल गाउँपालिकाका नेकपाका नेता कड्ड रेशम स्याङ्बो, वडा अध्यक्ष प्रताप लामा, टोखाका समाजसेवी तथा नेकपाका युवा नेता कड्ड भूषण महर्जन, समाजसेवी पेमानुर्बु लामा, नेकपा टोखा नगरपालिकाका युवा नेता एसके डङ्गोल, दामोदर पाण्डे, महासंघ सिन्धुपाल्चोकका जुझारू युवा समाजसेवी राजु शर्मा तथा सञ्चारकर्मी माधव घिमिरे ‘अटल’ को पनि सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका