साउदीबाट ५७४ स्वदेश फर्के, सेप्टेम्बर चार्टरउडानको टिकट सक्यो

उडान थप्न सरकारलाई पत्र पठाएको दूतावासको भनाई

नवराज तामाङ
नवराज तामाङ संवाददाता
साउदी अरेबिया
फोटो : फाइल

साउदी अरेबियाबाट सेप्टेम्बर ५, ६ र ७ तारिखको चार्टर उडानबाट ५७४ जना नेपाल फर्किएका छन् । उनीहरू नेपाली दूतावास र महावाणिज्य दूतावास जेद्दाले फरकफरक मिति सूचना निकालेर जारी गरेको चार्टरउडानहरुबाट नेपाल फर्किएको हो ।

नेपाल एयरलाइन्सको सेप्टेम्बर ५ तारिख राती भएको जेद्दा-काठमाडौंं छैटौं चार्टरउडानबाट कोरोनाका कारण रोजगारी गुमाएका, काजकिरियामा जानुपर्ने, कम्पनीसँग सम्झौता सकिएका, दीर्घ बिरामी लगायत गरी २६२ जना र छवटा शव नेपाल पठाएको महावाणिज्यदूत भूवन पौडेलले जानकारी दिए । उनका अनुसार जेद्दाबाट सातौं चार्टरउडान सेप्टेम्बर ११ राती र आठौं उडान २७ तारिख राती हुनेछन् ।

त्यसैगरी सेप्टेम्बर ६ तारिख राती दमाम शहरबाट भएको हिमालय एयरलाइन्सको चार्टरउडानमा १५४ जना यात्रुसँगै विभिन्न कारण मृत्यु भएको दुई शव पठाएको कन्ट्री मेनेजर सुवास तिमील्सिनाले जानकारी दिए । उनका अनुसार उडानमा दूतावासले सूची तयार परेका यहाँ कोरोनाका कारण अलपत्र नेपालीहरू रहेको थियो ।

दमामबाट हिमालय एयरलाइन्सले आठ चार्टरउडान पाएकामध्ये १६, १७ र २६ सेप्टेम्बरको उडानका लागि पिसिआर टेस्ट गर्नुपर्ने मेनेजर तिमील्सिनाले बताए । उनका अनुसार पिसिआर टेस्टका लागि दूतावासले सम्बन्धित यात्रीका कम्पनीसँग समन्वय गर्नेछन् । अन्य सेप्टेम्बर ९, १३, २२ र २९ हुने चार्टरउडानका लागि भने होटेल क्वारेण्टाइनको भुक्तानी साउदीमै गर्नुपर्ने मेनेजर तिमील्सिनाले स्पष्ट पारे । मेनेजर तिमील्सिनाका अनुसार हिमालय एयरलाइन्सको सेप्टेम्बरभरिको टिकट लगभग बिक्री भइसकेको छ ।


यस्तै ७ सेप्टेम्बर राती दमामबाट भएको नेपाल एयरलाइन्सको चार्टरउडानमा १५८ जना यहाँ अलपत्र परेका नेपालीहरुलाई नेपाल पठाइएको प्रतिनिधि ओमबहादुर कुमालले जानकारी दिए । उनका अनुसार आगामी १९ सेप्टेम्बर पनि नेपाल एयरलाइन्सले उडान भर्ने छन् । उक्त उडानको टिकटसमेत बिक्री भइसकेको प्रतिनिधि कुमालले बताए ।

यसैगरी मंगलबार राती नेपाल एयरलाइन्सले रियादबाट चार्टरउडान हुने साउदी प्रतिनिधि सुरेशराज त्रिपाठीले जानकारी दिए । उनकाअनुसार नेपाल एयरलाइन्सले साउदीबाट कुल १० वटा चार्टरउडान हुनेछन् । सेप्टेम्बर ८ र २४ तारिखको चार्टरउडानका लागि पिसिआर टेस्टको नेगेटिभ रिपोर्ट उपलब्ध गर्नुपर्ने प्रतिनिधि त्रिपाठीले बताए ।

त्यसैगरी रियादस्थित नेपाल एयरलाइन्सको काउण्टरले दूतावास उडानको सूचना निकालेको भोलिपल्ट टिकट सकिएको बताए । सोही दिन टिकटका लागि झण्डै आठ सय जनाभन्दा धेरै बाथस्थित काउण्टरमा पुगेको थियो । टिकट सकिएको जानकारी पाएपछि उनीहरूले नाराबाजी समेत गरेको प्रतिनिधि त्रिपाठीले बताए । प्रतिनिधि त्रिपाठीका अनुसार नेपाल सरकारको अव्यवस्थित कार्यले गर्दा कोरोनाका कारण यहाँ अलपत्र परेका नेपालीहरू थप समस्या परेको हुन् ।

यस्तै नेपाली दूतावासले भने गत अगष्टमा हुनुपर्ने चार्टरउडान स्थगित भएका कारण अहिले समस्या बढेको बताए । सेप्टेम्बरको चार्टरउडान पनि ठुलो संघर्ष गरेर ल्याएको दूतावास उपप्रमुख दिलीपकुमार पौडेलले जानकारी दिए । ‘ यद्यपि अहिलेको यो चार्टरउडानले साउदीमा चट्नी जति पनि हुदैन,’ उपप्रमुख पौडेलले भने,’ हामीले साउदीमा धेरै नेपालीहरू कोरोनाका कारण अलपत्र परेकाले सेप्टेम्बरका लागि अरु पनि चार्टरउडान उपलब्ध गराउन नेपाल सरकारलाई पत्र पठाइसकेको छौं ।’

यस्तै आइतबार साउदीको रियादस्थित समासको कम्पनीको मुख्य कार्यालयमा नेपालीहरुले नेपाल सरकार र दूतावासविरुद्ध नाराबाजी गरे । समासकोले साउदीका विभिन्न कम्पनी, स्कुल, अस्पतालहरुमा कामदारहरू दिने गर्छन् । कम्पनीले झण्डै ६ महिनादेखि कामदारहरुको इकामा नवीकरण नगर्ने, समयमा तलब नदिने जस्ता कार्य गर्दै आएको सोही कम्पनीमा कार्यरत इलामकी तारा तामाङले बताइन् । त्यस्तै रियादमा नै मुख्य कार्यालय रहेको समामा कम्पनीले पनि कामदारहरुको इकामा नवीकरण नगर्ने र तलब समेत नदिने गरेको रामेछापकी बिमाला सुवेदीले सुनाइन् । उनले कम्पनीले वास्त नगरेपछि दूतावासबाट गत हप्ता मात्र एक्जिट भिसा पाइन् । सुवेदी भन्छिन् ‘ झन्डै एक सयभन्दा धेरै महिलाहरू नेपाली दूतावासको पहलमा एक्जिट लगाएर नेपाल पठाइसकेको छन् ।’

स्रोतका अनुसार नाराबाजी गर्नेहरूलाई कम्पनीले दूतावासको सहकार्यमा सेप्टेम्बर ८ तारिखको उडानबाट नेपाल पठाउने भनिएको थियो । कम्पनीले अन्तिम समयमा दूतावासले सहयोग नगरेका कारण पठाउन नसक्ने सूचना जारी गरेपछि उनीहरूले प्रधानमन्त्री केपी ओली मुर्दाबाद, नेपाली दूतावास खारेज गर जस्ता नाराबाजी गरेको स्रोतले बतायो ।

 

तपाईको प्रतिक्रिया