धर्मनिरपेक्ष मुलुकको धार्मिक झन्डा !

काठमाडाैं

गत साउन १५ गते मार्टिन चौतारीको आइतबारे छलफलमा त्रिभुवन विश्वविद्यालय मानवशास्त्रका प्राध्यापक डम्बर चेम्जोङले नेपालको संविधान २०७२ ले कसरी पृथ्वीनारायण शाहको डिजाइन र इच्छाको “असली हिन्दुस्तान” बनाउने काम गरिरहेको छ भन्ने विद्यावारिधिको शोधपत्र बारे प्रस्तुति दिए । नेपालको संविधान र नेपाली राज्य सीमित हिन्दुहरूको कसरी बनेको छ र सीमित हिन्दुइतरका जनताको अपनत्व कसरी छैन भन्नेबारेमा प्रस्तुति केन्द्रित थियो ।

दिनेश पन्त
प्रतीक गुरूङ

उनको शोधपत्रको निचोड नेपालको संविधानमा उल्लेखित तीन शब्द “सनातन”, “गाई” र “आर्य”ले हिन्दु “हेजिमोनी” अर्थात वर्चस्व लाद्न नियतवश प्रयोग भएको भन्ने थियो । यी तीन शब्दबाहेक नेपालको चन्द्र सूर्य अङ्कित द्वित्रिभुजीय झन्डा जसलाई नेपाली राज्य र संविधानले अङ्गीकार गरेको छ, त्यसले पनि यो देशलाई सच्चा हिन्दुस्तान बनाउने काम गरेको छ भन्ने हाम्रो ठहर रह्यो ।

डम्बर चेम्जोङको अध्ययनको दायरामा नेपालको झन्डा पर्न नगएकाले, हामीले झन्डाबारे केही खोतल्ने प्रयास गर्यौँ र हामीले हाम्रो मुलुकको झन्डा हिन्दुवादी मात्र नभई ब्राह्मणवादी पनि भएको पायौँ ।

झन्डा एक परिचय


सामान्यतया राज्य एक निश्चित सार्वभौम भूगोल, शासन व्यवस्था र त्यसभित्र पर्ने राष्ट्र वा राष्ट्रहरू बुझिन्छ । राष्ट्र अर्थात् निश्चित संस्कृति, चालचलन, परम्परा र धर्म मान्ने समुदाय बुझिन्छ । राष्ट्रहरूको उत्पत्ति भएदेखि राष्ट्रलाई चिन्ह छापले चिनाउने गरिन्छ । यी चिन्हहरूलाई समाजशास्त्री इमाइल दुर्खिमको भाषामा “टोटेम” भनिन्छ ।

सामान्यतया राष्ट्रको झन्डा, राष्ट्रिय गीत, जनावर, फूल, चरालाई टोटेम मानिन्छ । यी टोटेमहरू संस्कृति, सामाजिक धार्मिक विकास वा राज्यका ठूला परिवर्तन अर्थात क्रान्तिका “एस्पिरेसन” आकाङ्क्षाले जन्मिन्छन् । यी टोटेमले मुख्यतया दुई काम गर्छन्, एक विशिष्ट पहिचान झल्काउने काम गर्छ र दोस्रो आफूलाई अरू राष्ट्र समाजबाट पृथक देखाउने काम गर्छ । यसइतर आफ्नो राष्ट्रप्रति श्रद्धाभाव, प्रेम र बफादारिता देखाउन पनि यी टोटेमहरूको प्रयोग हुन्छ ।

कुनै पनि मुलुक, समूह, पन्थको झन्डाले पनि यही काम गर्छ । हामीले यस आलेखमा झन्डा भनेर मुलुकको झन्डा बुझेका छौँ । भेक्सिलोलोजिस्ट (झन्डाविद) ई.एम.सी ब्यराक्लगको पुस्तक “फ्ल्याग्स अफ द वल्र्ड”मा रहेको झन्डाको परिभाषालाई सर्वमान्य रूपमा लिइएको हुन्छ । जसअनुसार झन्डाको परिभाषा यस्तो रहेको छ- “राष्ट्रको समग्र इतिहास, संस्कृति र आकाङ्क्षालाई प्रतिविम्बित गर्ने पवित्र उद्देश्यले सान्दर्भिक र अर्थयुक्त रङ्ग तथा चिन्ह विन्यासलाई प्रतीकात्मक रूप दिएर राष्ट्रकै अखण्ड सार्वभौमिकतालाई निर्विवाद अभिव्यक्त गर्न उच्च स्थानको हावामा फहराइरहने सामान्य रूपले आयातकार कपडा नै राष्ट्रिय झन्डा हो ।”

माथिको परिभाषाअनुसार झन्डा हावामा फर्फराइरहने कपडाको टालो मात्रै होइन, यो त राष्ट्रको हरेक नागरिकको आस्था, विश्वास, अपनत्व र एकताको प्रतीक हो । झन्डाले मुलुकका हरेक समुदायको नागरिकको इतिहास, अपनत्व र पहिचान बोक्ने गरेको बुझिन्छ । त्यसैकारण झन्डाको अहमियत धेरै हुन्छ र यसको उच्च सम्मान हुन्छ र झन्डा प्रयोगको आफ्नै नियम र संहिताहरू हुन्छन् ।

अब प्रश्न उठ्छ, हाम्रो मुलुकको चन्द्रसूर्य अङ्कित द्वित्रिभुजीय झन्डाको ऐतिहासिकता के ? यसको उत्पत्तिको कसरी भयो ? के यो झन्डाले नेपालका हरेक नागरिक समुदायको इतिहास बोक्दछ ? के हरेक नागरिकले यो झन्डामा अपनत्व महसुस गर्छन् ? के हाम्रो झन्डाले गणतन्त्र र धर्मनिरपेक्षताको मर्मलाई मनन गरेको छ कि छैन ?

जनयुद्ध, जनआन्दोलन र मधेस आन्दोलनपछि नेपाललाई कसरी “मोडर्न स्टेट” अर्थात आधुनिक राज्य बनाउन सकिन्छ भनेर विभिन्न गम्भीर सङ्थन, छलफल र मन्थन भइरहेको छ । यी बहसमा झन्डा अछुतो रहनुहुन्न, माथि उल्लेखित प्रश्नको उत्तर खोज्नैपर्नेहुन्छ ।

नेपालको झन्डा : अर्थ र सान्दर्भिकता

नेपालको झन्डाको इतिहास निकै पुरानो छ । भेटिएका स्रोत र अध्ययनले नेपालको झन्डाको उत्पत्ति करिब ईशापूर्व १३०० देखि १००० को बीचमा हुन गएको मानिन्छ । ठ्याक्कै अहिलेकै जस्तो हुबहु आकार र संरचना मिल्ने द्वित्रिभुजीय झन्डा लिच्छवीकालदेखि रहन आएको अभिलेख, मुद्रा (मुद्रामा अङ्कित चिन्ह) मठ मन्दिरका धातुका पताकाले पुष्टि गर्छ । यसर्थ नेपालको झन्डाको ऐतिहासिकतामा कुनै दुई मत रहेको पाइन्न । तर यो ऐतिहासिकतासँग हिन्दु र आर्य अर्थात् वैदिक मान्यता निर्विवाद जोडिएर आउँछ ।

प्रा.डा. दयाराम श्रेष्ठ, योगी नरहरिनाथ, बालचन्द्र शर्मा, शङ्करमान राजवंशी, ढुण्डीराज भण्डारी जस्ता विभिन्न इतिहासवेत्ता र विद्वानहरूले आफ्ना लेख र खोजमा (प्रा.डा. दयाराम श्रेष्ठको त्रिकोण प्रकाशनले प्रकाशित “नेपालको राष्ट्रिय झन्डा : इतिहास, वैशिष्ट्य र प्रयोग”, अन्य व्यक्तित्वहरूको विभिन्न समयमा प्रकाशित लेखहरूमा) नेपालको झन्डा वैदिक भएको उल्लेख गरेका छन् ।

सामान्यतया झन्डालाई दुई किसिमले मूल्याङ्कन र परिभाषित गर्ने गरिएको छ । एक हो “सिन्ट्याक्स” अर्थात झन्डाको आकार प्रकार, रङ्ग संयोजन र झन्डामा प्रयोग भएका चिन्हहरूको स्थान । आर्को पाटो हो “सिम्यान्टिक्स” अर्थात झन्डाको रङ्ग र चिन्हको अर्थ ।

नेपालको झन्डाको सिम्यान्टिक्स बुझ्दा झन्डामा प्रयोग गरिएको रातो रङ्गलाई आगोको लप्काको रङ्गको मानिएको छ । लिङ्गपूजा र मूर्तिपूजा गर्नुभन्दा पहिलेका हिन्दु (आर्य)हरूले अग्निपूजा गर्थे भन्ने मान्यता रहिआएको छ र अग्निको रङ्ग कि रातो, कि पहेलो वा हल्का सुन्तला रङ्ग भनेर चिनिन्छ र यसको पुष्टि आर्य सभ्यतासँग जोडिएको जारुथ्रस्त पन्थ (प्राचीन इरानी सभ्यताको धर्म)ले पनि आगोलाई धार्मिक प्रयोगमा ल्याउने चलनले देखाएको छ ।

हिन्दु दक्षिणपन्थी सङ्गठन राष्ट्रिय स्वयम्सेवक सङ्भको द्वित्रिभुजीय झन्डालाई आर्को उदाहरणको रूपमा लिनसकिन्छ । झन्डामा रहेको निलो रङ्गले आकाश वा समुद्रको फैलावट वा गहिराइ बुझिन्छ । चन्द्र र सूर्य हिन्दुधर्मको वर्णव्यवस्थाका प्रवर्तक मनुको दुई सन्तान छोरी इला (चन्द्रवंश) र छोरा इक्षवाकु (सूर्यवंश) को वंशलाई बुझिन्छ ।

पद्म विभूषणबाट विभूषित हिन्दु र वैदिक दर्शनशास्त्री एवं अमेरिकी वैदिक अध्ययन प्रतिष्ठानका संस्थापक संयोजक डा. डेविड फ्रलेको पुस्तक “गड्स, सेजेस एन्ड किङ्गस ः वेदिक सेक्रेट्स अफ एन्सिएन्ट सिविलाइजेसन” मा सूर्यवंश र चन्द्रवंश बारेमा स्पष्टरूपमा लेखिएको छ । यस सम्बन्धमा भारत र दक्षिण एसियाविज्ञ हेनरिक रबर्ट जिमरको पुस्तक “मिथ्स एन्ड सिम्बल्स इन इन्डियन आर्ट एन्ड फिलोसोफिज अफ इन्डिया” पनि हेर्नसकिन्छ । चन्द्रवंश र सूर्यवंशको विम्बका रूपमा रहेकै कारण चन्द्र-सूर्यको रङ्ग सेतो बनाइयो । सफेद रङ्गलाई हिन्दूधर्म व्यवस्थामा पवित्रता बुझिन्छ । अब रह्यो कुरा सिन्ट्याक्सको अर्थात् रङ्ग, चिन्ह र स्थानको विन्यास । हाम्रो झन्डा दुई त्रिभुजीय पताका जोडी बनाइएको छ ।
माथि उल्लेख गरेझैँ झन्डाको रङ्ग रातो हुनुको कारण आगोको लप्काको रङ्ग हो र यज्ञविधि गर्दा लप्काको आकार त्रिकोणात्मक हुनेभएकाले झन्डा त्रिभुजीय बनाइएको हो । झन्डामा दुई त्रिभुजीय पताका जोडिनु हिन्दु धर्ममा रहेको मुख्य तीन शक्ति (इच्छा, ज्ञान र क्रिया) र तीन गुण (सत, तम, रज)लाई मानिन्छ । यी कुराहरूलाई योगी नरहरिनाथको वि.सं. २०४६ सालको पृथ्वी जयन्ती (पुस २७) मा प्रकाशित “राष्ट्रिय ध्वजा विशेषाङ्क”को लेखको यो पङ्तिले थप बल पुर्याउँछ ।

“हिमवत खण्डमा विश्वकै प्रथम राजा यी मनुले पनि यसै वैदिक ध्वजालाई नै आफ्नो ध्वजा मानेका थिए । यस ध्वजामा त्रिशक्तिरूपी त्रिकोण र त्रिगुणरूपी त्रिकोण गरी दुई त्रिकोण रहेकाले यो ध्वजा केवल वैदिक मात्र नभई शक्तिप्रधान तन्त्र सम्प्रदाय र वैष्णव शैव आदि समस्त हिन्दु जगतकै साझा आदर्शको प्रतीक बन्न पुगेको छ ।”

बाँकी रह्यो चन्द्र र सूर्यको स्थानको कुरा यसलाई दुई कोणबाट बुझ्न सकिन्छ । एक त पृथ्वीनारायण शाह जो सोमवंशी (चन्द्रवंशी) हुन् । उनको गोर्खा राज्यविस्तारका क्रममा नेपाल उपत्यकाका सूर्यवंशी राजालाई जितेपछि आफ्नो जीतलाई प्रतीकात्मक रूपमा देखाउन चन्द्र चिन्हलाई माथिल्लो पताकामा राखिएको र सूर्य चिन्हलाई तल्लो पताकामा राखिएको हुनसक्छ । अर्को कोणबाट बुझ्ने हो भने चन्द्रलाई ब्राह्मणको राजा मानिन्छ, हिन्दु धर्मव्यवस्थाको वर्णाश्रममा ब्राह्मणलाई उच्च स्थानमा राखिने भएकाले चन्द्र चिन्ह माथिल्लो पताकामा रहन गएको मान्न सकिन्छ ।
यी यावत “ढाचाकाँचा”ले गर्दा संयुक्त राष्ट्र सङ्घको झन्डासम्बन्धी आधिकारिक पुस्तक “फ्ल्याग बुक अफ युनाइटेड नेसन्स”मा स्पष्टरूपमा “परम्परागत हिन्दु ढाचाकाँचाले गर्दा नेपालको झन्डा विलक्षण प्रकारको रहेको छ” भन्ने लेखिएको छ । प्रष्ट रूपमा नेपालको कथित राष्ट्रिय झन्डामा हिन्दु संस्कृति, इतिहास र धार्मिक विश्वास पाउन सकिन्छ, तसर्थ चन्द्रसूर्य अङ्कित द्वित्रिभुजीय झन्डा हिन्दुको ध्वजा बढी र राष्ट्रिय झन्डा कम हो भनेर निष्कर्ष निकाल्न सकिन्छ । अझ अघि सरेर भन्ने हो भने मनुका दुई सन्तानको वंश, त्यससँग जोडिएर आउने पवित्रताको रङ्ग र सिद्धान्त (सत, तम र रज)ले हाम्रो झन्डालाई ब्राह्मणवादी भएको ठहर गर्न सकिन्छ । थुप्रै अरू उदाहरण छन्, जसले नेपाली झन्डा हिन्दुवादी हो भन्ने तर्कलाई थप बल पुर्याउँछ । यो मामिलामा भारतका दक्षिणपन्थी सङ्ठन राष्ट्रिय स्वयम् सेवक सङ्घ र हिन्दुत्वका प्रवर्तक विनायक दामोदर सावरकर (वीर सावरकर)ले सन् १९३७ को अलाहवादमा भएको अखिल भारतीय हिन्दु महासभामा नेपालको झन्डा हिन्दुत्वको प्रतीक भएको र यही कारणले नेपालको झन्डा र तत्कालीन प्रधानमन्त्री जुद्ध शमशेर राणाको खुलेरै प्रशंसा गरेका थिए ।

यदाकदा नेपाली झन्डालाई वैज्ञानिक भन्ने गरेको तर्क पनि सुन्न पाइन्छ । नेपालको झन्डा झट्ट हेर्दा ७, ८ कक्षामा पढ्ने स्कुले विद्यार्थी यसलाई अवैज्ञानिक प्रमाणित गर्न सक्छ । पहिलो कुरो त चन्द्रलाई सूर्यको शिर बनाउनु नै अवैज्ञानिक हो किनभने चन्द्र सूर्यको एक ग्रहको फगत उपग्रह मात्रै हो । आर्को कुरो छ चन्द्रका किरण सूर्यका भन्दा बढी छन् अर्थात अर्धचन्द्रको ८ किरण देखाइएका छन्, जसले पूर्ण चन्द्रको १६ किरण भएको देखाउँछ । पूर्ण चन्द्र आकार बनाउँदा सूर्यसँग आकार बाझिन जानेभएकाले अर्ध चन्द्र बनाइएको तथ्य प्रा.डा. दयाराम श्रेष्ठको पुस्तकमा प्रष्टरूपमा उल्लेख गरेको पाइन्छ र सूर्यको १२ किरण छन् । सबैले जानेको तथ्य हो चन्द्रमा आफैँमा एउटा प्रकाशविहीन पिण्ड हो र सूर्य एक ज्वजल्यमान पिण्ड हो । वैज्ञानिक भाषामा भन्ने हो भने सूर्य एक मध्यम स्तरको तारा हो । चन्द्रमामा देखिने उज्यालो वा किरण पृथ्वीबाट परावर्तित सूर्यको किरण वा प्रकाश हो । यस अर्थले नेपालको झन्डा विज्ञानसम्मत पनि छैन । नेपालको झन्डाको यो अवैज्ञानिकताले शक्ति उपभोग (शासक) गर्ने शक्ति उत्पादक (जनता) भन्दा ठूला हुन् भन्ने एउटा स्पष्ट सामन्तवादी सन्देश दिएको छ ।

निष्कर्ष

नेपालको झन्डालाई हिन्दुवादी र ब्राह्मणवादी होइन भन्ने कुनै आधार, तथ्य र तर्क छैन । किनभने ब्राह्मणवादको मुख्य सिद्धान्त भनेकै “प्युरिटी र पल्युसन” हो अर्थात पवित्रता र अपवित्रताका र यसकै आधारमा “स्ट्राटिफिकेसन” गरिन्छ अर्थात वर्णहरू छुट्याइन्छ ।

नेपालको झन्डाको “सिन्ट्याक्स” र “सिम्यान्टिक्स” दुवैले पवित्रता र अशुद्धताको सिद्धान्तलाई मज्जैले मलजल गर्छ । राज्यसत्ता कुलीन हिन्दु जातिहरूको हातमा रहनगयो र स्वभावतः उनीहरूकै झन्डा लादियो । यो झन्डामा बहुसङ्यायक नेपाली जनताको अपनत्व छैन । भलै स्वीकार्यता हुनसक्छ किनभने अहिलेको पुस्ताको सोच पञ्चायती हिन्दुवादी महेन्द्रीय राष्ट्रवादबाट आक्रान्त छ । मधेस आन्दोलन र आदिवासी जनजातिको पहिचानको सङ्घर्षले भने कालो बादलमा चाँदीको घेरा देखाएको छ । यी सङ्घर्षले अपनत्व र पहिचान खोज्दछ । त्यही पहिचान र अपनत्वको कडी सम्पूर्ण मुलुकलाई जोड्ने साझा ध्वजा हो । अर्थात् अहिलेको झन्डा फेरिनैपर्छ । हुन त तर्क गर्नेहरू त्रिभुजीय झन्डा विश्वमै पृथक छ भनेर एउटा आत्मरतियुक्त खोक्रो गर्व महसुश गर्छन् । अमेरिकी समाजशास्त्री करेन ए. सेरुलोको विश्वभरिको झन्डाको अध्ययनले पृथक, बढी बुट्टेदार र रङ्ग प्रयोग गरिएको झन्डा भएको मुलुक आर्थिक, सामाजिक, राजनीतिक रूपले कमजोर भएको देखाएको छ । हाम्रो मुलुक यस अध्ययनको निचोबाट अछुतो छैन । “रेसनल” अर्थात भावनामा उत्तेजित नभई हेर्ने हो भने झन्डाको आकारमा गर्व गर्नुपर्ने कुनै कारण छैन । यदाकदा झन्डाको परिभाषा फेरौँ भन्ने आवाज नसुनिएको होइन तर प्रश्न के उठ्छ भन्दा परिभाषा फेर्दैमा झन्डाको भाव फेरिन्छ होला त ? यदि हो भने राष्ट्रिय झन्डा जस्तो देखिने मन्दिरको ध्वजालाई कुन परिभाषाले बुझ्ने ?

संविधानतः हाम्रो मुलुक जातीय विभेद र छुवाछूतमुक्त मुलुक हो । तर हाम्रो कथित राष्ट्रिय झन्डाले वर्णाश्रम व्यवस्थाका प्रवर्तक मनुको वंश अर्थात चन्द्रवंश र सूर्यवंशको पहिचान जोगाइराख्छ । यो झन्डाको नियत संविधानकै छुवाछूत र जातीय विभेदको व्यवस्थाविरुद्ध गएको प्रष्ट देखिन्छ । गणतन्त्र नेपालको यो “समाजवाद” उन्मुख संविधानलाई पञ्चायती प्रेतबाट मुक्त गर्ने हो अथवा देशलाई साँचो अर्थमा समावेशी र धर्मनिरपेक्ष स्थापित गर्ने हो भने डम्बर चेम्जोङले औँल्याएका तीन शब्द “सनातन”, “गाई” र “आर्य” का साथसाथै देशको अहिले कायम चन्द्रसूर्य अङ्कित द्वित्रिभुजीय झन्डा पनि हटाउनैपर्छ ।

झन्डा परिवर्तन हुँदा आकाश नै खस्ने भन्ने हुँदैन । झन्डा फेरिनु कुनै नौलो कुरा होइन । विश्व इतिहासमाझन्डा फेरिएका थुप्रै उदाहरणहरू भेट्न सकिन्छ । हाम्रा छिमेकी भारत, चीनदेखि लिएर अमेरिका, फ्रान्स, भेनेज्युएला, म्यान्मार, लिबिया, रुवाण्डालगायतका थुप्रै मुलुकहरूका झन्डा फेरिएका छन् । रुवाण्डाको झन्डा परिवर्तनका बारेमा चर्चा गर्दा उपयुक्त हुन्छ किनभने लामो राजनीतिक अस्थिरता (अल्पसङ्ख्यक तुत्सी जातिको जातीय नरसंहार) पश्चातको समयमा रुवाण्डामा झन्डा परिवर्तन भएको थियो । ठ्याक्कै नेपाल पनि अहिले जनयुद्धपछिको एउटा राजनीतिक अवतरणको समयमा रहेको छ । बेल्जियम उपनिवेशमा अल्पसङ्ख्यक तुत्सीजातिद्वारा शासन गरिएको रुवान्डामा सन् १९५९ मा हुतु (बहुसङ्ख्यक जाति) जातिले विद्रोह गरे र सन् १९६१ हुतु जातिको प्रभुत्व झल्काउने गरी प्यान (अमेरिकी ढाँचामा (हरियो, कालो, रातो, पहेलो रङ्गको अफ्रिकी पहिचान बुझाउने) झन्डा तयार गरियो र अन्ततः सन् १९६२ मा रुवान्डा बेल्जियम उपनिवेश मुक्त भयो र हुतु प्रभुत्वको शासन चल्यो । हुतु राज्यसत्ताको चरम दमनले ९० को दशकमा रुवान्डन पेट्रोइटिक फ्रन्ट नेतृत्वमा विद्रोह उब्जियो । जसलाई हजाराैं तुत्सी शरणार्थी र सहिष्णु हुतुले साथ दिए । यो विद्रोहले सन् १९९४ मा इतिहासकै नृशंस जातीय नरसंहार निम्त्यायो र करिब ५ लाखभन्दा बढी तुत्सी र सहिष्णु हुतुहरूको कत्लेआम भयो र कत्लेआम बाबजुद पनि रुवान्डन पेट्रोइटिक फ्रन्टले हुतु प्रभुत्ववादी सत्ता टिक्न दिएनन् । तत्पश्चात बनेको सरकारले सन् २००१ मा हुतु प्रभुत्व जनाउने झन्डालाई हटाई सर्वस्वीकार्य झन्डा बनाइयो । यस अतिरिक्त न्युजिल्यान्डमा अङ्ग्रेजी साम्राज्यवादले छोडेको युनियन ज्याकवाला झन्डा परिवर्तन गर्न सङ्घर्ष चलिरहेको छ ।

हामीलाई नेपालको झन्डाले दलित आन्दोलन, पहिचानको आन्दोलन, जनयुद्ध, जनआन्दोलन र मधेस आन्दोलनले उपलब्धिका रूपमा रहेको गणतन्त्र, सङ्घीयता र धर्मनिरपेक्षताको अवमूल्यन भएको लाग्यो । राष्ट्रिय झन्डा सामाजिक, आर्थिक र धार्मिक व्यवस्थाको प्रतिविम्ब मात्रै होइन राष्ट्रिय झन्डा मुलुकको राजनीतिक व्यवस्था र त्यसका आयामहरूको चित्र पनि हो । संविधानतः हाम्रो मुलुक जातीय विभेद र छुवाछूतमुक्त मुलुक हो । तर हाम्रो कथित राष्ट्रिय झन्डाले वर्णाश्रम व्यवस्थाका प्रवर्तक मनुको वंश अर्थात चन्द्रवंश र सूर्यवंशको पहिचान जोगाइराख्छ । यो झन्डाको नियत संविधानकै छुवाछूत र जातीय विभेदको व्यवस्थाविरुद्ध गएको प्रष्ट देखिन्छ । गणतन्त्र नेपालको यो “समाजवाद” उन्मुख संविधानलाई पञ्चायती प्रेतबाट मुक्त गर्ने हो अथवा देशलाई साँचो अर्थमा समावेशी र धर्मनिरपेक्ष स्थापित गर्ने हो भने डम्बर चेम्जोङले औँल्याएका तीन शब्द “सनातन”, “गाई” र “आर्य” का साथसाथै देशको अहिले कायम चन्द्रसूर्य अङ्कित द्वित्रिभुजीय झन्डा पनि हटाउनैपर्छ । यो झन्डा रहिरहने हो भने एउटा दलितले नेपालको झन्डालाई मल्ल जातिको मन्दिरको ध्वजा मात्रै देख्नेछ । यदि समयमै झन्डा फेरिँदैनभने तत्काललाई केही असर गरेजस्तो नदेखिए पनि निकट भविष्यमा जनताबीच भित्रभित्रै एउटा मतभेद पक्कै रहिरहने छ ।

(अध्येता लेखकद्वयका २०७४ मंसिर ६ मा रोतोपाटी अनलाईनमा प्रकाशित यो लेख हालै नेपालको झन्डा जलाएइपछि यसबारे बहस चलिरहेको बेला सान्दार्भिक लागेकोले साभार गरी पुनः छापेका छौं । – सम्पादक)

तपाईको प्रतिक्रिया