‘तीनधारे झरना’ हेर्न पर्यटकको घुँईचो

सैलुङअनलाइन संवाददाता
बनेपा, काभ्रे
तस्बिर : तेमालअनलाइन

पनौतीका जयराम मानन्धर लकडाउनकै बीच रोशी-२ स्थित ‘तीनधारे झरना’ पुगे । सामाजिक सञ्जालमा आकर्षक झरनाको तस्बिर देखिपछि आफ्ना साथीसँग सल्लाह गरेर पहिलो पटक त्यहाँ पुगेका जयरामले भने, ‘हाम्रै वरिपरि पनि यस्तो राम्रो झरना रहेछ, धेरै खुशी र आनन्द लाग्यो ।’

झरनासम्म पुग्ने बाटो असहज भएपनि झरनाको आकर्षणले यात्राको असहजता भुलाइदिने झरना हेर्ना पुगेका पर्यटकहरुको भनाइ छ ।
बनेपाकै सुमन मानन्धरको पनि साथीसँग झरनामा रम्न पाउँदा निकै आनन्द महसुस भएको भनाइ छ । ‘झरना हेर्न जाने अवसर मिल्यो, धेरै राम्रो रहेछ’ उनले भने, ‘यो ठाउँलाई पर्यटन प्रबद्र्धनको लागि योजनाबद्ध रुपमा विकास गर्न आवश्यक छ ।’ मासिनहरुको भीड लाग्ने गरेकोले सवारी पार्किङको व्यवस्थापनसहित अन्य पूर्वाधार निर्माणमा स्थानीय तहले ध्यान दिनुपर्ने मानन्धरले बताए ।

बनेपाकै अर्का स्थानीय यादव फैंजु पनि आफ्ना साथीहरुका साथ लागेर सो झरनाको दृष्र्य अवलोकन गर्न पुगे । ‘सामाजिक सञ्जालमा धेरै प्रचार भएको देखेपछि झरना अवलोकन गर्न आइतबार गएको थिएँ, धेरै आकर्षक र मनमोहक लाग्यो’ उनले भने, ‘सामाजिक सञ्जालमा देखेकोभन्दा वास्तविकता अझै सुन्दर पाएँ ।’

झरनासम्म पुग्ने यातायातको सहज व्यवस्थान भएको खण्डमा प्रचुर मात्रामा आन्तरिक तथा बाह्य पर्यटनको आकर्षक गन्तव्य बन्ने देखिन्छ । बनेपा-नमोबुद्ध-दाप्चा-पिपलटार-फलामेसाँघ हुँदै काफलडाँडासम्म कच्ची मोटरबाटोको यात्रा र त्यसपछि करिब एक किलोमिटर गोरेटोबाटो हिँडेपछि झरनामा पुग्न सकिन्छ ।


झरना अत्यन्तै मनमोहक भएका कारण केही दिन यता ‘तीनधारे झरना’मा आन्तरिक पर्यटकको घुँईचो लाग्दै आएको छ । कोरोना कहरकै बीचमा पनि विशेषगरी शहर बजार क्षेत्रका मानिस घुम्न त्यहाँ पुग्ने गरेका छन् । महाभारत जङ्गलबाट निस्केको मुहानको चिसो पानीको झरनामा रम्दै तस्बिर लिनु, नुहाउनु र झरनामा लुकामारी खेल्न पाउने भएपछि सवारी साधनसहित त्यहाँ घुम्न जानेहरुको सङ्ख्यामा उल्लेख्य बृद्धि भएको छ ।

टाढाटाढाबाट पनि झरना अवलोकनका लागि पर्यटकको आगमन बढेसँगै स्थानीय सरकारले भने कोरोना सङ्क्रमण फैलिन सक्ने भन्दै भीडभाड नगर्न आग्रह गरेपनि बन्दाबन्दीको पछिल्लो समयमा पनि दैनिक रुपमा मोटरसाइकलमा झरना हेर्न आउनेको भीड उतिकै रहेको वडा नं. २ का वडा अध्यक्ष पोते लामाले बताए । ‘दैनिक २०० सम्म मोटरसाइकल आउने गरेका छन् । कोरोना सङ्क्रमण फैलिन सक्ने अवस्थालाई मध्यनजर गरेर सतर्कता अपनाउन प्रयत्न गरेपनि झरना हेर्न आउनेको घुँईचो उतिकै छ ।’ लामाले भने, ‘पछिल्ला समयमा दैनिक चार÷पाँच सय झरनामा आउने गरेका छन् ।’ तीन वर्ष अगाडि ड्रोनमार्फत दृश्य कैद गरेर प्रचाररप्रसार गर्न थालेपछि विस्तारै पर्यटन आगमन बढ्न थालेकोमा अहिले धेरै बृद्धि भईसकेको उनको भनाई छ ।

रोशी गाउँपालिका अध्यक्ष दलबहादुर लामाले पालिकाभित्रका पर्यटकीय क्षेत्रको पहिचान गरी पर्यटन प्रबद्र्धनको काममा पालकिा लागिपरेको बताए । लामाले तीनधारे झरनाको लागि यसै आर्थिक वर्षमा बजेट छुट्याईसकेको र पर्यटन प्रबर्ध्दनकाे लागि पर्यटन बोर्डसँग समन्वय गरेर काम गर्ने योजनामा रहेको जानकारी दिए । लामाका अनुसार झरनासँगै वडा नं. ३ मा रहेको गुरु रेन्पोर्छे (गुरु पद्मसम्भाव) को मूर्ति र सो ठाउँबाट पूर्वपट्टि करिब एक किलोमिटर अगाडि रहेको महाङ्काल देवीस्थान धार्मिक पर्यटनको लागि उपयुक्त स्थल हुन् । त्यसैगरी ताराखसे लेक अर्को पर्यटन प्रबद्र्धनको सम्भावना बोकेको क्षेत्र हो ।

तस्बिर : तेमालअनलाइन

तपाईको प्रतिक्रिया