काभ्रेको ७ हजार भुकम्प लाभग्राहीलाई सूचीबाट हटाउने भएको छ । भुकम्प गएको ४ बर्ष बितिसक्दा पनि सम्झौता गर्न नआएपछि लाभग्राहीबाट हटाउने तयारी गरेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ, अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय काभ्रेपलाञ्चोकले जानकारी दिए ।
प्राधिकरणले लाभग्राहीको सूचीमा परेर पनि सम्झौता गर्न नआउनेलाई असार मसान्तसम्मको समयसीमा दिएका थिए । तर, अझै आएका नआएपछि त्यस्ता लाभग्राहीलाई पहिलो चरणमा निलम्वनमा राखिएको छ, जिल्ला आयोजना कार्यान्वयन एकाइ काभ्रेपलाञ्चोकका प्रमुख सागर आचार्यले भने, ‘जिल्लामा त्यस्ता लाभग्राही सात हजारभन्दा बढी रहेको छ ।’ अझै पनि घर बनाउन चाहनेका लागि मर्का नपरोस् र अन्तिम अवसर प्रदान गर्ने उद्देश्यले निलम्वनमा मात्रै राखिएको आचार्यले बताए ।
अहिलेसम्ममा कूल सर्वेक्षण भएको ९० हजार ४९७ जनामध्ये ८३ हजार ३६५ लाभग्राही पहिचान भएको छ । ७३ हजार ३६५ ले सम्झौता गरेर ५० हजार लिइसकेको कार्यालयले जनाइएको छ ।