बहस १ : तामाङ विकास मोडल

डा. मुक्तसिंह लामा मानवशास्त्री, त्रिभूवन विश्वविद्यालय
काठमाडाैं

तामाङ समाज विकास नहुनुका कारणहरु के हुन् त ? यसलाई मसिनो रुपमा केलाउनु पर्ने हुन्छ । यो केलाएपछि अगाडि के गर्ने भन्ने कुरा हेर्नु पर्ने हुन्छ । विकास भन्ने वित्तिकै अहिलेसम्मको धारणा चाहीँ भौतिक विकास, त्यसमा पनि डोजर लगाएर बटो खन्ने भन्ने कुरामा मात्र सीमित जस्तो देखिन्छ । त्यो पनि ठीक छ, दिगो तरिकाले प्रत्येक तामाङ गाउँमा मोटर बाटो पुर्याउन सक्यो भने त्यसले बजार अनि त्यसपछि सञ्चारलगायतका अरु पनि सुगमताहरु निश्चितै रुपले ल्याउँछन् नै । प्रत्येक तामाङ गाउँमा राम्रोसँग स्थायी किसिमले मोटरबाटो खन्न सक्यो भने दूध बेच्ने, तरकारी बेच्नेदेखि सरसामान ढुवानी र आवत-जावतमा समेत सहजता हुन्छ । समस्या चाहीँ त्यो पनि हुन सकेको छैन ।

तामाङ विकास के हो ?

विकासमा तीनवटा कुरा आउँछन्- एउटा, शिक्षाको कुरा । भर्खरै मलगायत मेरा केही मित्रहरु मिलेर एउटा अध्ययन गरेका थियौं । अध्ययनले तामाङको निरक्षरता अहिले पनि २८ प्रतिशत देखाउँछ, जबकी समुदाय बाहुन वा नेवारको २-३ प्रतिशत मात्र छ । त्यसकारण शिक्षामा चिश्चित रुपले जोड दिनै पर्यो । यो त साक्षरताको कुरा मात्र भयो । अझ तपाईंले हाइस्कुल, स्नातक पास गरेको सङ्ख्या हेर्नुहुन्छ भने तामाङ समुदायमा ५ प्रतिशत भन्दा तल आइपुग्छ ।

चेतनाको कुरा गर्ने बित्तिकै अहिले गैरसरकारी संस्थाहरुले समुदायमा वा गाउँमा पुगेर चार पाँच दिनदेखि हप्ता, दश दिनको तालिम दिने कुराहरु आउँछन् । यस्ता तालिम तथा गोष्ठीले तामाङ चेतनालाई उठाउन सक्दैन, हुँदैन । वृहत रुपमा औपचारिक शिक्षा मार्फत् शिक्षालाई अगाडि बढाउनु सक्नु पर्छ । त्यसका लागि स्थानीय तहले कसरी हुन्छ प्रत्येक बालबालिकाहरुलाई आधारभूत रुपमा कम्तिमा पनि हाइस्कुल पास गर्ने कुरामा जोड दिनु पर्छ । त्यसपछि इच्छाअनुसार प्राविधिक वा अरु उच्चशिक्षा हासिल गर्ने कुरामा ध्यान नदिइकन त हुँदै हुन्न । शिक्षा यस्तो ढोका हो कि जसले हामी कहाँनेरि छौं ? हाम्रो अधिकार कहाँ खोसिएको छ ? भन्ने कुरा बुझाउँछ । बसाईदेखि लिएर परिवारको व्यवस्थापन, घरको सरसफाई सबै कुरा सिकाउँछ, बुझाउँछ । त्यसकारण शिक्षा विकासको पहिलो आधारभूत शर्त हो ।


दोस्रो, स्वास्थ्यको कुरा आउँछ । अहिले पनि ४२ प्रतिशत तामाङहरु १८ वर्ष मुनि नै विवाह गरेको अवस्था छ । मैले यो स्वास्थ्यको इन्डिकेटर किन पनि यहाँ लिएको हो भन्दाखेरि यसले शिक्षाको अवस्था, चेतनाको अवस्था र स्वास्थ्यको पनि अवस्था देखाउँछ । त्यसैले स्वास्थ्य स्थिति सुधारका लािग नेपाल सरकारले तामाङ समुदायका निम्ति विशेष कार्यक्रमहरु ल्याउनु जरुरी छ ।

तामाङले चाहेको विकास र समृद्धि जुन अहिले सरकारले भनेको छ त्यो होइन । हामीले के बिर्सनु हुँदैन भने तामाङ पहिचान, तामाङ रिमठिम (संस्कृति) नामेट गरेर हामीले विकास खोजेको होइन, जुन विकासले हाम्रो अस्तित्वलाई मेटाउँछ । त्यसले गर्दाखेरि हामीले चाहेको विकास भनेको पहिचानसहितको हो, जहाँ हामी सम्मानित हिसाबले तामाङ हौं भनि गर्वका साथ बाँच्न सक्छौं ।

तेस्रो कुरा हो गरिबीको कुरा । तामाङको विकास मोडलको कुरा गर्दाखेरि शिक्षा, स्वास्थ्य र रोजगारीको मात्र कुरा नभई गरिबीको स्थितिलाई पनि हेर्नु पर्ने हुन्छ । तामाङ समुदायको गरिबीको कुरा हेर्दा अहिले तामाङ र दलित बराबरीको अवस्थामा आइरहेको देखाउँछ । अझ ताम्सालिङ क्षेत्रमा त भूकम्प, त्यसमाथि बाढीपहिरो र अहिले थप कोभिडको कारणले गर्दाखेरि नेपालको औषत भन्दा दोब्बर गरिबी छन् । त्यसकारण गरिबी नहाटाइकन विकास सम्भव हुने कुरै भएन ।

तामाङले चाहेको विकास र समृद्धि जुन अहिले सरकारले भनेको छ त्यो होइन । हामीले के बिर्सनु हुँदैन भने तामाङ पहिचान, तामाङ रिमठिम (संस्कृति) नामेट गरेर हामीले विकास खोजेको होइन, जुन विकासले हाम्रो अस्तित्वलाई मेटाउँछ । त्यसले गर्दाखेरि हामीले चाहेको विकास भनेको पहिचानसहितको हो, जहाँ हामी सम्मानित हिसाबले तामाङ हौं भनि गर्वका साथ बाँच्न सक्छौं ।

विकासलाई कसरी बुझ्ने ?

विकासलाई कसरी बुझ्ने भन्ने सन्दर्भमा म चारवटा बुँदामा राख्न चाहन्छु । पहिलो, विकासको लागि भौतिक उपलब्धीहरु जो छ त्यो मानवीय जीवन विताउनका निम्ति आवश्यक आधारभूत कुराहरु पुरा हुनु पर्यो । अर्थात् उ गरिबी, भोकको अवस्था, रोगको अवस्थामा बाँच्नु पर्ने स्थितिबाट मुक्त हुनु पर्यो । एउटा भौतिक कुरा आयो यो । दोस्रो, उसले समाजमा आफ्नो संस्कृति, आफ्नो भाषा, आफ्नो पहिचानसहित सम्मान पूर्वक बाँच्न पाउने अवस्था हुनु पर्यो। यदि उसले सम्मान पूर्वक बाँच्न पाउँदैन, भौतिक सुविधा मात्र छ भने त्यो विकास भएन । आदिवासीहरुले खोजेको विकासको मुख्य कुरा त्यो हो । तेस्रो, सार्वजनिक जीवनका पक्षहरु राज्य संचालनमा, मिडियामा, नागरिक समाजमा, त्यस्तै अन्य सामाजिक प्रक्रियाहरुमा सहभागि हुने जुन अवसरहरु छन् त्यसमा उसलाई छेकिनु भएन । उसले त्यसमा सहभागिता हुन पाउने, हुन सक्ने अवस्था तयार हुनु पर्यो। यस्तो अवस्थालाई मात्र समृद्धि र विकास भन्न सक्छौं । चौथो, यी अवस्थाहरु प्रकृतिक हिसाबले हेर्दाखेरि दिगो पनि हुनु पर्यो । यी अवस्थाहरु प्रकृतिलाई नष्ट गरेर आउने खालको नभई प्रकृतिमैत्री हिसाबको हुनु पर्यो । वास्तवमा आदिवासी समाजले विश्वभरिकै अनुभवबाट के भन्छ भने उनीहरुको जीवन पनि त्यस्तै छ र उनीहरुले विकासको मोडल जुन दिएको छ यो पनि यी चारवटा कुरामा आधारीत छन् ।

तामाङ पछि परेका हुन् कि पारिएका ?

तामाङलगायत आदिवासी जनजाति र अन्य उत्पीडित समुदाय (दलितलगायत) पछि परेका हुन् कि पारिएका हुन् ? पारिएका पनि छन् र परेका पनि छन् । पारिएका छन् कसरी ? राज्यले वा राज्य संचालन गर्ने वा राज्यमा वर्चश्वशाली समुदायले राज्यको स्रोतहरु वितरण गर्ने प्रक्रियामा उनीहरुलाई चाहिने भन्दा पनि अर्कैतिर प्राथमिकता राख्छ । यसले आदिवासीहरु वा सीमान्तीकरणमा परेकाहरुलाई वञ्चितीकरण गर्छ, बेवास्ता गर्छ । उनीहरुलाई स्कुल नगएपछि हुन्छ, अस्पताल नगए पनि हुन्छ, त्यहाँ अति दुर्गम छ, स्रोत छैन, मातृभाषाको शिक्षा कसरी दिने ? भनेर हाम्रा प्राथमिकताहरुलाई जहिले पनि पर राख्छ ।

सूचनामा उनीहरुको पहुँच हुँदैन किनभने सरकारी भाषा उनीहरुको आफ्नो हुँदैन । उनीहरुले अरुलाई पनि भन्न सक्दैन । त्यसो भएकोले ऐतिहासिक कालदेखि राज्यले र राज्य संचालन गर्नेहरुले तामाङलगायत सबै आदिवासी र उत्पीडित समुदायहरुलाई पछाडि पारिराखेको छ । त्यो पछाडि पारिराखेको अवस्थालाई हामीले कसरी उल्ट्याउने ? कसरी त्यसलाई प्रतिरोध गर्ने ? यो मुख्य प्रश्न हो ।

सरकारी अधिकारीहरु अनि विकासका विज्ञहरुलाई सोध्दाखेरि चेपाङहरु उनीहरुकै संस्कार, उनीहरुकै जीवनशैलीका कारण उनीहरु पछाडि परेका हुन् भन्छन् । हामीले त लौ विद्यालय आउ भनेर विद्यालय खोलिदिएकै हौं, उनीहरु आउँदैनन् त के गर्ने ? भनेर उनीहरुलाई नै दोष दिएको पाउँछौ. । यसो हेर्दाखेरि त हो त्यस्तो पनि देखिन्छ । तर, जो भिक्टिम छ, पछाडि परेका छन् उसैलाई दोष थोपरिदिएपछि आफू जिम्मेवारीबाट मुक्त हुने कुरा हो यो । यो जिम्मेवारीबाट पन्छिने कुरा हो । राज्यले संविधानमार्फत् सबैको बराबरीको अधिकार छ भनेपछि त उनीहरुकै संस्कारका कारण, उनीहरुकै चेतनाका कारणले पछाडि पर्यो भन्नु मिल्दै मिल्दैन ।

तामाङलगायत आदिवासी उत्पीडित समुदायमा कमी के छ त ? भन्दाखेरि संगठनको कमी छ, आत्मविश्वासको कमी छ, राज्यमा गएर यो स्रोतसाधन हामीलाई पनि पाउनु पर्छ भनेर आफ्ना कुराहरु लैजाने र दावी गर्ने क्षमताको कमी छ । यो कुरा चाहीँ आन्तरिक कारण हुन सक्छ ।

राज्यको दायित्व  सामाजिक न्यायको स्थापना

अब के चाहियो त ? राज्यले के गर्ने त ? सामाजिक न्यायको कुरा गर्दा जहाँ जुन समुदाय तुलनात्मक रुपमा पछाडि परेको छ त्यहाँ बढी स्रोत लगानी गर्ने हो । आरक्षण भन्नुहोस्, विशेष कार्यक्रम भन्नुहोस् या कोटा भन्नुहोस्, त्यस्तो किसिमको कार्यक्रमहरुबाट अरुको तुलनामा, अरुको दाँजोमा समानताको हैसियतमा लिएर ल्याउने हो । आरक्षण, विशेष कार्यक्रम वा कोटा संविधानमा सामाजिक न्यायको हकमा प्रष्ट रुपमा लेखेको छ । त्यो राज्यले अहिले गरिरहेको छैन । त्यो कुराहरु राज्यले गर्नु पर्छ अनि मात्र नेपालमा सामाजिक न्याय स्थापित हुन्छ । गरिब भएपछि उनीहरुको चेतना पछाडि पर्नु स्वभाविक हो । यसो भएपछि सानो सानो कुरामा बेमेल हुने, परिवार व्यवस्थापन गर्न नै नसक्ने स्थितिमा पुग्ने नै भए । यी कुराहरु भनेका बञ्चितीकरणका नतिजा हुन् । त्यसैले राज्य पन्छिनु हुँदैन, राज्यले बढी लगानि गर्नु पर्छ ।

अन्त्यमा

२०१५ मा विधंशकारी भूकम्प आयो । यसले ताम्सालिङका शतप्रतिसत घरहरु भत्काइदियो । तामाङको मात्र भत्काएन सबै जातजातिको भत्कायो । तर, जो गरिब थियो उनीहरुको बढी नोक्सानी भयो । जो गरिब थियो, जसको राज्यमा पहुँच थिएन, उनीहरु फेरि पुनःस्थापित हुन सकेन । जो आर्थिक रुपले सम्पन्न थियो, जसको राज्यसँग पहुँच थियो, उनीहरुले सजिलै घर बनाए र आर्थिक रुपले सम्पन्नता पनि हाँसिल गरे । तर, तामाङहरु र अरु जो चाहीँ उत्पीडित छन् (अरु आदिवासी र दलितहरु) उनीहरु अझै पछाडि छन् । त्यसमाथि सिन्धुपाल्चोकमा बाढीपहिरोलगायतका कुराहरुले अर्को थलो पर्यो । कोभिडले अहिल जुन किसिमको नकारात्मक असर ल्यायो, ५२ प्रतिशत तामाङहरुलाई ज्यालादारि गरेर खानु पर्ने अवस्थामा पुर्याएको देखिन्छ । अब उनीहरुलाई खेतीले मात्र पुग्दैन । त्यो स्थिति ताम्सालिङका अरु आदिवासीहरुको पनि हो । यसले रोगको मात्र होइन आर्थिक रुपमा ठूलो भोकमरी र सङ्कट पैदा गरेको छ । यस्तो परिस्थितिमा तामाङहरुको निम्ति र विशेष गरी यो काठमाडौंको वरिपरीका जति पनि जिल्लाहरु छन्, कर्णालीको हाराहारीमा छ । सबै तथ्याङ्कहरुले त्यो देखाएको छ । त्यसैले यस क्षेत्रका जनताका विकास र समृद्धिका लागि विशेष कार्यक्रमहरु ल्याउनु आवश्यक छ ।

(प्रस्तुत आलेख २०७६ भाद्र ६-८ सम्म भर्च्युअल माध्यामद्वारा संचालित पाँचौं तामाङ ज्ञान महोत्सवमा डा. लामाले राखेका विचारका संपादित अंश हुन् ।)

तपाईको प्रतिक्रिया