मगर संघ साउदीद्वारा बिरामीहरुलाई सहयोग

रविन थुलुङ राई संवाददाता
दमाम, साउदी अरेबिया

नेपाल मगर संघ प्रवास शाखा साउदी अरेबियाले गत शुक्रबार विभिन्न रोगका बिरामीहरुलाई आर्थिक सहयोग गरेका छन् ।

संघले दुई जना मृगौला फेल भएका र एकजना कोरोना भाइरसका कारण साउदीमा रोजगारी गुमाएकालाई सहयोग गरेको अध्यक्ष बम थापा मगरले बताए ।

अध्यक्ष थापाका अनुसार संघले बागलुङ निसिखोला गाउँपालिका-१ कि मृगौला फेल सुशीला पुन,पाल्पा पूर्वखोला गाउँपालिका-३का चेतबहादुर सारुलाई जनही ११ सय रियाल र कोरोना भाइरसका कारण साउदी रोजगारी गुमाई बेखर्ची भएका गोर्खाका राधाकृष्ण सेढाईलाई विभिन्न संघसंस्थाहरुको सहयोगमा हवाई टिकट उपलब्ध गराइएको थियो ।

त्यस्तै रोजगारी गुमाएका सेढाईका लागि क्वारेण्टाइन खर्चका दुई सय रियाल अन्तर संस्था समन्वय समिति साउदीका कोषाध्यक्ष सन्तोष फुयाललाई उपलब्ध गराएको संघका अध्यक्ष थापाले जानकारी दिए ।


बागलुङकी मृगौला फेल सुशीलाको लागि संघका सदस्य बेदप्रसाद बुढालाई हस्तान्तरण गरेको अध्यक्ष थापाले बताए । उनका अनुसार पाल्पाका मृगौला फेल चेतबहादुरका लागि सदस्य नरु रुचाललाई रकम हस्तान्तरण गरेको थियो ।

नेपाल मगर संघ एउटा जातीय उत्थानको लागि संघर्षरत संस्था भए पनि प्रवास शाखा साउदीले विभिन्न कारण पीडित भएकहरुलाई सहयोग गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया