उपचार

42 Shares
काठमाडाैं

घाँस खाने आमा
अर्थात् यो गाईको राज्यमा
के साँच्चै,
हाम्रा आमा, दिदी-बैनीहरु, छोरीहरु
‘बधुशिक्षा’का नयाँ संस्करणहरुबाट मुक्त भैसके त ?
योगमायाहरु, राममाया च्यामिनीहरु,
चुनु या उमाहरु बाँधिइएका छैनन् ?

पृथ्वीनारायणहरुको ‘फूलबारी’
‘गुराँसबारी’ न हो, खासमा !
त्यो भन्दा बढी त
हामीलाई थाहै छ,
कि मुलुकी ऐन, थरगोत्र प्रवरावली,
‘नेपालमा शिक्षा’ प्रतिवेदन, संविधानहरु…
बिसे नगर्चीहरु
लखन-गंगालालहरु
सुपति-रामप्रसादहरु
भीमदत्त-वेदानन्दहरु
अनेकौँ विद्रोहहरु…

साथै यतिखेर,
भी.सी. कुलबीर–थमनहरुका
ती सुदूर पीडामा
हाम्रो पनि इतिहास दुख्छ

हामी ढुङ्गाको, माटोको
अर्थात् ढुङ्गाहरुको देशको बासिन्दा
कैले मानिसहरुकै ‘नेपाल’ हुन्छौँ ?
तैपनि न्याय बोल्छाैँ, लेख्छौँ
(अ)नेपाली नै तुल्याइरहे पनि

हिजोसम्म म्लेछ मानिएको थियो,
तिनीहरुको त भव्य स्वागतार्थ
हरसाल जसो,
‘पर्यटन दिवस’हरु थमाइरहेकै छन्
तर, बिर्ता–जागिरको देशमा
‘‘…ईश्वरको छोरा, मान्छेको भाइ…’’ कमलु सदाहरुको देश कहाँ छ ?
के देश भनेको पर्खाल हो ?

एउटा विशाल घैँटाभित्र, मानौँ,
हेर्नलाई दुईचार छिद्रहरु पनि पारिएका छन्,
हाम्रो टाउको कैद गरिएको छ
शताब्दी-शताब्दी देखिन्
यो स्वयम् ‘नेपाल’को टाउको कैद पारिनु पनि हो
यात्रा गाह्रो छ यसरी त !
हत्या गर्नु नै खाँचो नहुने थुप्रै विकल्पहरु पनि छन्
लोक-कथामा जस्तो घाँटी छिनाउने हाम्रो समाधान हैन,
बस् त्यो विभेदकारी घैँटो मात्र फुटाउन चाहन्छौँ
यत्ति हो,
कि उज्यालो, सहअस्तित्व र समानताकै सवाल हो
घैंटोमा संसार कैद किन गर्ने ?
राज्य त हाम्रो पनि हो,
जेहोस्,
यो घैँटो-मतलब-एकलीकरण हो !

तिमीलाई जसरी यो महामारीमा
आफ्नै आदेशहरु, केही उर्दीहरु समेत
कर्फ्यू-बन्दी सहनु पर्दा
कुनै षड्यन्त्र नभए पनि,
आप्mनै जीवनकै लागि भए पनि
केही निश्चित मिटरको भौतिक दूरी पालन गर्न ज्यादै कठिन
सडकमा भोक-रोगको कुरा त छोडौँ
कोठाभित्र टहलिरहन, सुतिरहन पनि दिक्कै छ
कति भयानक सन्त्रास छ,
कति झिँजो लाग्दो छ
आक्रोश विष्फोटिन खोज्छ,
खडेरी-छटपटी हुन्छ
जर्बजस्ती तोकिएकै सीमाभित्र
स-साना पाइलाहरु चाल्नु पनि कति अत्यास लाग्छ
यो कोभिड-१९ कफ्र्यूकालमा
उसरी नै हामीलाई
जुगौँ भो,
हाम्रा लागि,
यी भाइरसहरु हुन्- एक भाषा, एक संस्कृति, एकै भेष…
इतिहासभरि महामारीमा धकेल्दिएका हुन्
अल्मल्याइदिएका थिए

हामी सबैको,
इतिहासको पनि
उपचार जरुरी छ है !

तपाईको प्रतिक्रिया