तामाङ संघसंस्थाबाट लिदी पहिरो पीडितलाई सहयोग : हालसम्मकै सबैभन्दा बढी २७ लाख रकम हस्तान्तरण

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
काठमाडाैं

भौगोलिक दूरी जति टाढा भयो, त्यति नै मानवीय भावना नजिक हुँदोरहेछ । यसमा पनि तामाङ भावना अझ कोमल र दयावान रहेको पुष्टि भएको छ । यसलाई पछिल्लो पटक विदेशस्थित तामाङ संघसंस्थाहरुले प्रमाणित गरिदिएका छन् ।

सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका वडा नं. २ स्थित लिदी गाउँमा गत साउन ३० गते गएको पहिरो पीडित तामाङ समुदायलाई अहिलेसम्मकै सबैभन्दा बढी सहयोग रकम उपलब्ध गराएर उनीहरुले प्रमाणित गरिदिएका हुन् ।

प्रवासमा रहेका तामाङ संघसंस्थाबाट २२ लाख १२ हजार ४ सय ९५ र सिन्धुपाल्चोक जिल्ला घेदुङको सक्रियताबाट ४ लाख ८९ हजार २ सय २५ गरि एकमुष्ट २७ लाख १ हजार ७ सय २०  रूपैया पीडित परिवारसमक्ष राहतस्वरुप नगद सहयोग गरेको हो ।

अस्थायी  आवास क्षेत्र जुगल गाउँपालिका-१ स्थित बाँसखर्क पुगेर शुक्रवार  संकलित रकम मृत्यु भएका १२ धुरीलाई  ६० हजारका दरले ७ लाख २० हजार, पूर्णघर क्षति भएका १७ घरधुरीलाई २५ हजारका दरले ४ लाख २५ हजार,  विस्थापित १४१ घरधुरीलाई १० हजारका दरले १४ लाख १० हजार राहतस्वरूप नगद हस्तान्तरण गरेको हो ।


नेपाल तामाङ घेदुङका सल्लाहकार तथा सिन्धुपाल्चोक जिल्लाबाट प्रतिनिधित्व गर्ने पूर्व संविधानसभा सदस्य दावा तामाङ, नेपाल तामाङ घेदुङका संघीय अध्यक्ष मोहन गोले, उपाध्यक्ष कुमार घिसिङ, महासचिव बाबु घिसिङ, नेपाल तामाङ घेदुङ विपद ब्यवस्थापन प्रमूख रामकृष्ण ब्लोन तामाङ,  अन्तर्राष्ट्रिय तामाङ परिषद्का वरिष्ठ उपाध्यक्ष टासी लामा, महिला उपाध्यक्ष अस्मिता वाईबा, सचिव रविन तामाङ, चाैतारा साँगाचोकगढी नगरपालिका प्रमुख अमानसिं तामाङ, घेदुङ केन्द्रीय सदस्य राम लामा, जिल्ला घेदुङ सि.पा. अध्यक्ष रेशम स्याङ्बो, लगायतको उपस्थितिमा नगद हस्तान्तरण गरेको थियो ।

सहयोग रकम उपलब्ध गराउनेहरुमा तामाङ समाज बेल्जियम ४ लाख रूपैयाँ, तामाङ समाज जापान ३ लाख ७० हजार रूपैयाँ, तामाङ संघ दक्षिण कोरिया र तामाङ समाज ख्यङसान बुसान ३ लाख ३२ हजार रूपैयाँ , तामाङ घेदुङ हङकङ ३ लाख ८ हजार रूपैयाँ, तामाङ घेदुङ यु.के. २ लाख १ हजार रूपैयाँ, नेपाल तामाङ घेदुङ बहराईन १ लाख ५२ हजार रूपैयाँ, नेपाल तामाङ घेदुङ कतार १ लाख २० हजार ३ सय ८४ रूपैयाँ, नेपाल तामाङ घेदुङ साइप्रस १ लाख हजार रूपैयाँ, मकाउ तामाङ घेदुङ एसोसियसन १ लाख १० हजार रूपैयाँ र नेपाल तामाङ घेदुङ मलेसिया १ लखा ४ हजार रूपैयाँ रहेका छन् ।

राहतस्वरूप नगद हस्तान्तरण कार्यक्रममा अन्तर्राष्ट्रिय तामाङ परिषद्का बरिष्ठ उपाध्यक्ष लामाले विपतिमा सहयोग पुर्याउने सबै तामाङ संस्थाहरुलाई धन्यवाद ब्यक्त गरेको छ ।

यसैगरी नेपाल तामाङ घेदुङका सल्लाहकार तथा सिन्धुपाल्चोक जिल्लाबाट प्रतिनिधित्व गर्ने पूर्व संविधानसभा सदस्य दावा तामाङले सहयोगी सबै संस्थाहरुलाई हार्दिक धन्यवाद दिएको छ । उनले पीडित परिवारलाई पुनस्र्थापित गर्न आफ्नो तर्फबाट सरकार र अन्य संघसंस्थाहरुलाई पनि आग्रह गरिरहेको बताए ।

यसैगरी घेदुङ सङ्घीय अध्यक्ष गोले तामाङले बर्षौदेखि पहिरो नगएको सुरक्षित बस्तीमा यति धेरै जनधनको क्षति हुने गरी पहिरो जानुमा गाउँदेखि तल रहेको राक्पालगान्धी (ब्रम्हायणी) नदीमा सञ्चालित हाइड्रोपावरको प्रकृति विरोधी गतिविधि र २०७२ सालमा गएको भुकम्प मुख्य कारण रहेको बताए । पहिरो पीडितहरुले यसअघि नै आफूहरुलाई सुरक्षित स्थानमा स्थान्तरण गर्न माग गरेपनि कुनै सुनुवाई नहुँदा यसखालको दुर्घटना हुनपुगेको बताए ।

बाँकी रहेको रकमबाट जुगल गाउँपालिका ५ बराम्चीमा विहिबार भिरबाट खसेर मृत्यु भएका ८ महिनाको गर्भवती ४३ वर्षीया सन्चमाया तामाङको परिवारलाई १ लाख रूपैया हस्तान्तरण गरेको छ ।

तपाईको प्रतिक्रिया