बैदेशिक रोजगार प्रर्वद्धन बोर्डले दोलखाका ६ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । दोलखाको विभिन्न स्थानमा अध्ययनरत ६ जना विद्यार्थीलाई आर्थिक वर्ष २०७५÷०७६ मा छात्रवृत्ति प्रदान गरेको शिक्षा विकास तथा समन्वय इकाइ दोलखाले जानकारी दिए ।
बैदेशिक रोजगारीका क्रममा अभिभावकको मृत्यु भएपछि बोर्डले दोलखाको कालिन्चोक माध्यमिक विद्यालयमा अध्ययनरत एनोश अधिकारी, पशुपति कन्या माध्यमिक विद्यालयमा अध्ययनरत एनिशा अधिकारीलाई नगद १२ हजार रुपैयाँका दरले छात्रवृत्ति उपलब्ध गराएको हो ।
त्यसैगरि देवलिङ्गेश्वर माध्यमिक विद्यालय ओराङमा अध्ययनरत सर्मिला तामाङलाई १२ हजार, सोहि विद्यालयमा अध्ययनरत सबिना तामाङ, प्रबिना तामाङ र हिरोन तामाङलाई नगद ८ हजार रुपैयाँका दरले छात्रवृत्ति प्रदान गरिएको छ ।
छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरु २ वटा परिवारका रहेको शिक्षा विकास तथा समन्वय इकाई दोलखाका इकाई प्रमुख शंकरबाबु श्रेष्ठले जानकारी दिए । बैदेशिक रोजगारीका क्रममा बुवाको मृत्यु भएपछि उनीहरुले प्रत्येक वर्ष उक्त छात्रवृत्ति पाउँदै आइरहेका छन् । बोर्डले आधारभूत तहसम्मका विद्यार्थीलाई नगद ८ हजार र माध्यमिक तहका विद्यार्थीलाई १२ हजार रुपैया छात्रवृत्ति प्रदान गर्दै आएको छ ।
बैदेशिक रोजगारीका क्रममा मृत्यु, अंगभंग, अशक्त र वेपत्ता भएका कामदारका परिवारलाई बोर्डको कल्याणकारी कोषबाट कामदारका छोराछोरीको शैक्षिक विकासका लागी छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ । बोर्डले बैदेशिक रोजगार छात्रवृत्ति सञ्चालन कार्यविधि २०७१ पहिलो संशोधन २०७३ अनुसार छात्रवृत्ति प्रदान गर्ने गरेको छ ।
बैदेशिक रोजगारीका क्रममा बुबा वा आमा मध्ये कुनै एकको मृत्यु, अंगभंग, अशक्त र वेपत्ता भएमा त्यस्ता विद्यार्थीले उक्त छात्रवृत्ति प्राप्त गर्नेछन् । छात्रवृत्ति प्राप्त गर्नका लागी सम्बन्धित विद्यालयले शिक्षा विकास तथा समन्वय इकाईलाई सिफारीस गर्नेछ, भने इकाईले पर्याप्त कागजात सहित बैदेशिक रोजगार प्रवद्र्धन बोर्डमा सिफारीस गर्नेछ । बोर्डले इकाइलाई रकम पठाएपश्चात इकाईले विद्यार्थीलाई वितरण गर्छ ।