क्रेनको डोरी चुडिँदा सुरी हाइड्रोपावरमा एक मजदूरको मृत्यु

सैलुङअनलाइन संवाददाता
दोलखा

दोलखा जिल्लाको गौरीशङ्कर गाउँपालिका-५, सुरीको गुरुम्फीमा निर्माणाधीन सुरी हाइड्रोपावरमा क्रेनको डोरी चुडिँदा एक मजदूरको मृत्यु भएको छ । हाइड्रोपावरको क्रेनको डोरी चुँडिँदा पनौती नगरपालिका-६ काभ्रेपलाञ्चोकका ३१ वर्षीय महेश केसीको मृत्युु भएको हो ।

दोलखा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रेशम बोहराका अनुसार हाइड्रो पावरको भवनभित्र क्रेनबाट माथि काम गर्न जाने क्रममा क्रेनको डोरी चुँडिएर क्रेनको डब्बासहित तल ढलानमा खस्दा केसीको मुत्यु भएको हो । पैंतिस फिट माथिबाट क्रेनको डब्बासहित केसी तल ढलानमा पछारिएका थिए ।

टाउकामा तथा शरीरका विभिन्न भागमा चोट लागेका केसीको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । दुर्घटना भएको बारे थप अनुसन्धान भइरहेको र शवपरीक्षणका लागि सदरमुकाम चरिकोट ल्याएको गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

-रासस


तपाईको प्रतिक्रिया