साउदीमा कोरोना भाइरस घट्दै, ९ सय संक्रमित उपचारपछि निको

शनिबार नयाँ संक्रमित ६ सयभन्दा धेरै

नवराज तामाङ
नवराज तामाङ संवाददाता
साउदी अरेबिया
saudi

साउदी अरेबियामा कोरोना भाइरस कोभिड-१९ नयाँ संक्रमित घट्नेक्रम जारी रहदा, उपचारपछि निको हुनेको संख्या भने बढेको छ ।

यसै क्रममा शनिबार साउदीमा कोरोना भाइरसको उपचार गरिरहेका ९०३ जना बिरामी घर फर्किएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.मोहम्मद अल अब्दुलीले पत्रकार सम्मेलनमा बताए । उनका अनुसार हालसम्म साउदीमा कुल तीन लाख १ हजार ८३६ जना कोरोना भाइरस संक्रमित उपचारपछि निको भैसकेका छन् ।

त्यसैगरी यहाँ शनिबार ६४३ जना कोरोना भाइरस संक्रमित थपिएको प्रवक्ता डा.अब्दुलीले जानकारी दिए । उनका अनुसार अहिलेसम्म साउदी अरेबियामा कुल संक्रमित तीन लाख २५ हजार ५० जना पुगेका छन् । ‘ संक्रमितमध्ये १८ हजार ९७४ जना बिरामी यहाँका विभिन्न अस्पतालहरु गरिरहनु भएको छ ,’ प्रवक्ता डा.अब्दुललीले भने,’ एक हजार ३४३ जना बिरामीहरु गम्भीर अवस्थामा रहेको चिकित्सकहरुले जानकारी दिनुभएको छ ।’

शनिबार यहाँ कोरोना भाइरसको उपचार गरिरहेका २७ जनाले ज्यान गुमाएको प्रवक्ता डा.अब्दुलीले बताए । उनका अनुसार अहिलेसम्म यहाँ कोरोना भाइरसबाट कुल ४ हजार २४० जनाले मृत्यु भैसकेका छन् ।


साउदीमा शनिबारको अपडेट अनुसार कोरोना भाइरस नयाँ संक्रमितभन्दा उपचारपछि निको हुने २६० जना बढी रहेको पत्रकार सम्मेलनमा प्रवक्ता डा.अब्दुललीले जानकारी दिए ।

यहाँ कोरोनाको संकेत देखिएमा स्वास्थ मन्त्रालयको टोल फ्री नम्बर ९३७ मा फोन गर्नसक्ने प्रवक्ता डा. अब्दुलालीले बताए । ‘ We are all responsible ’ भन्ने नारालाई आत्मसात गरी कोभीड-१९ रोकथामका लागि सरकारले गरेका प्रयासलाई सबैले सहयोग गर्न प्रवक्ता डा.अब्दुलालीले आग्रह गरे ।

साउदी अरेबियामा ५ हजार ५ सय महिलासहित झन्डै तीन लाख १५ हजारको हाराहारीमा नेपालीहरु कार्यरत रहेको नेपाली दूतावासको अनुमान छ । दूतावासका अनुसार दैनिक कोरोना संक्रमित निको र नयाँ थप्ने हुँदा नेपालीहरु यतिनै संख्यामा कोरोना भाइरस पोजिटिभ भएको भन्न नसक्ने अवस्था छन् । कोरोनाबाट मृत्यु हुनेको संख्या पाँच दर्जन नजिक रहेको दूतावासले जनाए ।

 

तपाईको प्रतिक्रिया