दोलखा जिल्लाको शैलुङ गाउँपालिकामा असोज १ देखि सामुदायिक विद्यालय संचालनमा आउने भएको छ । गाउँपालिका शिक्षा शाखाले भाद्र २६ गते सूचना जारी गरी विद्यालय संचालन अनुमति दिएसँगै सबै सामुदायिक विद्यालयहरु संचालनमा आउने भएको हो ।
गाउँपालिकामा हालसम्म कोरोना संक्रमण नदेखिएकोले स्वास्थ्य सुरक्षाको मापदण्ड पुरा गरी विद्यालय संचालन अनुमति दिएका अध्यक्ष भरतप्रसाद दुलालले बताए । ‘विद्यालयमा विद्यार्थी र शिक्षकले दुबैले अनिवार्य मास्क लगाउनुपर्ने र विद्यालय प्रवेश गर्नुअघि साबुनपानीले अनिवार्य हात धुनु पर्नेछ’ उनले भने, ‘मास्क र स्यानिटाइजर किन्नका लागि पालिकाबाट प्रति विद्यार्थी एक सय खर्च गर्ने गरी विद्यालयको खातामा रकम पठाउने तयारी गरिएको छ ।’ विद्यालयको अवस्था अनुसार पढ्ने बानी बसाल्नका लागि दैनिकी (रुटिन) मिलाएर कक्षा संचालन गर्नेछन्, उनले भने ।
लकडाउनको अवधिमा कुनै पनि वैकल्पिक शिक्षण सिकाइ हुन नसकेको शैलुङमा ‘विद्यार्थी सिकाई सहजिकरण निर्देशिका २०७७’ दफा ३ को उपदफा २ अनुसार ‘कुनै क्षेत्र विशेषमा नियमित विद्यालय संचालन हुन सक्ने अवस्था भएमा प्रत्यक्ष शिकाइ संचालन गर्न बाधा नपर्ने’ व्यवस्था बमोजिम विद्यालय संचालन गर्न लागेको शिक्षा शाखाद्वारा जारी सूचनामा जनाइएको छ ।
गाउँपालिका शिक्षा शाखाका अनुसार शैलुङमा ९ वटा माध्यामिक विद्यालय, ६ वटा निम्न माध्यामिक विद्यालय र १८ वटा प्राथमिक विद्यालयहरु छन् जसमा करिब ४ हजार विद्यार्थीहरु अध्ययनरत छन् । पालिकाभित्र ३ वटा निजी विद्यालय संचालनमा रहेकोमा दुईवटा सामुदायिक विद्यालयसँग मर्ज भइसेको छ भने एउटा मर्ज हुने प्रक्रियामा रहेको छ ।