जनैपूर्णिमाको दिन रसुवास्थित गोसाइकुण्डमा लाग्ने मेलाको लागि गोसाइकुण्ड क्षेत्र विकास समितिमार्फत उपसमितिहरु गठन गरेका छन् । जसमा सरसफाई, स्वास्थ्य, वातावरण, यातायात, उद्वार व्यवस्थापन, स्वयंसेवक, अनुगमन, समन्वय तथा आन्तरिक प्रवद्र्वन, आर्थिक व्यवस्थापन र नेपाल प्रचारप्रसार उपसमिति रहेका छन् ।
सरसफाई उससमितिले मेला अघि र पछि सरसफाई गर्नेछ । मेला अघि साउन १९ गते धुन्चेदेखि घट्टेकुलोसम्म, २० गते सोहीबाट ढिम्सासम्म झाडी फँडानी, सरसफाई लगायत गर्ने तयारी रहेको छ । मेला अवधिभर कुण्डमा ज्यालादारी फोहोर संकलनकर्ता परिचालन गर्ने, ठाउँठाउँमा फोहोरको लागि डोकोको व्यवस्थापन, निश्चित स्थानमा मात्रै फोहोरजन्य वस्तु फाल्न रेडियो, एफएम र फ्लेक्स बोर्डमार्फत सुचना, कुण्डमा स्नान र पूजा गर्न निश्चित स्थान तोक्ने र सोको व्यवस्था मिलाउनेछ । धुन्चेदेखि गोसाइकुण्डसम्मका व्यवसायीहरुलाई सरसफाई र फोहोर व्यवस्थापन गर्न लागि सूचना लगायत गरिने जानकारी दिए ।
मेलाको समयमा भक्तजनहरुको भीडभाडमा स्थायी चर्पी पर्याप्त नहुने हुँदा मिनि गोसाइकुण्डदेखि चन्दनवारी, चोलाङपाटी, लौरीविना, बुद्वु मन्दिर, मेला भर्ने स्थानसम्म अस्थायी चर्पी निर्माण गरिनेछ ।
वातावरण उपसमितिमा लाङटाङ राष्ट्रिय निकुञ्जले पहल गर्नेछन् । मेला भर्न आउने भक्तजनहरुको कठिनाईलाई मध्येनजर गरी निगालोको लठ्ठी उपलब्ध गराउनेछ ।
स्वास्थ्य उपसमितिले बिशेषतः मेला लाग्ने स्थानसम्म पुग्दा लेक लाग्न सक्ने, मौसमअनुसार विरामीलाई मध्येनजर गरी जिल्लाका स्वास्थ्य कार्यालयको संयोजकमा अन्य स्वास्थ्य संस्थाहरु खटिएका छन् । मेलाको समयमा ५ स्थानमा स्वास्थ्य शिविर राखिनेछ ।
समितिले भक्तजनहरु उमेर, स्वास्थ्य, हाइअल्टीच्युडका कारण गोसाइकुण्ड पुुग्न नसक्नेले मिनि गोसाइकुण्डमा नै जनै फेर्ने एवं स्नान गर्ने व्यवस्था मिलाइएको बताए ।
यातायात उपसमितिले सवारीसाधनको व्यवस्थित गर्नेछ । जसमा धुन्चे बजारभित्र पार्किङ निषेध गरिएको छ । यात्रुवाहक सवारीसाधन र घोडाको दररेट फ्लेक्समार्फत जानकारी गराउने, पदमार्गहरुमा संकेत बोर्ड राख्ने लगायत गर्नेछ । यातायात व्यवस्थापन उपसमितिमा बस व्यवसायीहरु रहेका छन् ।
उद्वार व्यवस्थापन उपसमितिमा कालिजंग गण, नेपाल प्रहरी र सशस्त्र प्रहरीले सम्हालेका छन् ।
स्वयंसेवक उपसमितिमा नेपाल रेडक्रस सोसाईटी, अनुगमन उपसमितिमा जिल्ला समन्वय समिति खटिएका छन् । यसैगरी समन्वय तथा आन्तरिक प्रवद्र्वन र आर्थिक व्यवस्थापन उपसमितिमा गोसाईकुन्ड क्षेत्र विकास समिति र प्रचारप्रसारमा नेपाल पत्रकार महासंघ रसुवाले गर्नेछन् ।