नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको चार वर्षे कार्यकाल सकिएको छ । २०७३ साल भदौ २९ गते नियुक्त भएका घिसिङको आइतबार कार्यकाल सकिन लागेको हो ।
उनको कार्यकालमा प्राधिकरणलाई सिञ्चित करिब ५ अर्ब नाफा र यसवर्ष ११ अर्ब नाफामा पुर्याएको छ ।
दैनिक १८ घण्टासम्म लोडसेडिङ भएको प्राधिकरणलाई उनी आएको ६ महिनामा लोडसेडिङमुक्त गरेका छन् । त्यसलगत्तै देशका प्रमुख शहर, सबै क्षेत्रका घरायसी ग्राहक हुँदै २०७५ बैशाख ३१ गते घरायसी र औद्योगिक ग्राहक सबैलाई लोडसेडिङमुक्त गराएका थिए ।
उनलाई सामाजिक सञ्जाललगायत सबैले पुनःनियुक्ति गर्नुपर्ने माग राखेपनि सरकारबाट कुनै जानकारी नभएको उनको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री केपी शर्माओली र नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच घिसिङलाई फेरि दोहोर्याउने सहमति भए पनि उर्जा मन्त्रालयले प्रस्ताव नआएपछि अन्यौलमा छ ।
प्रस्ताव मन्त्री परिषदबाट पारित भए उनको अर्को कार्यकालको बाटो खुल्नेछ ।
सांसद बहादुरसिंह तामाङको पहलमा तत्कालीन उर्जामन्त्री डा। प्रकाशशरण महतले घिसिङलाई चिलिमेको प्रमुख बनाएको हो । घिसिङ त्यहाँ पुगेपछि चिलिमे आसपासका जनतालाई अनिवार्य शेयर वितरण गरेका थिए । पछिल्लो उर्जामन्त्री राधा ज्ञवालीले भने भक्तपुर खरिबोटस्थित प्राधिकरणको तालिम केन्द्रमा सरुवा गराएर जिम्मेवारविहिन बनाइएको थियो ।